नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
प्रसिद्ध माक्र्सवादी दार्शनिक जर्ज लुकासले एकपल्ट भनेका थिए, “सबैभन्दा निकृष्ट समाजवादसमेत सबैभन्दा उत्कृष्ट पुँजीवादभन्दा गतिलो थियो ।” सन् १९६९ मा बोलेको भए पनि लुकासले सन् १९७१ मा यही भनाइ पुनः दोहो¥याए । सोभियत सङ्घ तथा पूर्वी युरोपका समाजवादबारे लुकासको धारणा अरूको भन्दा भिन्दै थियो । त्यसैले त्यतिबेला पश्चिमा वामपन्थीहरूले उनलाई शङ्कालु आँखाले हेर्थे । तर, संरा अमेरिकाबाट बालबालिका तथा महिलालगायत प्रवासीहरूको खेदाइ हेर्दा तिनलाई हत्कडी र नेल ठोकेर सैन्य विमानमा राखी भारतलगायत तेस्रो विश्वका देशहरूमा लघारिएको हेर्दा लुकासको भनाइ झल्याँस हुन्छ । सोभियत सङ्घ र पूर्वी युरोपका समाजवादका दुई आकर्षक विशेषता थिए, जसले तिनलाई कुनै पनि पुँजीवादी मुलुकभन्दा नितान्त फरक बनाएका थिए ।
विश्वको नेतृत्वदायी पुँजीवादी मुलुकबाट भइरहेको पछिल्लो खेदाइका पछाडि धेरैले जातिवादी सोचलाई दोष दिएका छन् । कुनै पनि समाजवादी मुलुक यस्तो दोषबाट आधिकारिक रूपमा पूर्णतः मुक्त हुन्छ । समाजवादी देशका कतिपय जनतामा बेलाबखत जातीय पूर्वाग्रहले टाउको उठाएको देखिएको थियो । तर, सरकारी निकायहरूमा यस्तो समस्या थिएन । समाजवादको पतनपछि भने यी पूर्वाग्रह पुनः प्रकट भए । उन्नत पुँजीवादी मुलुकहरूमा प्रगतिशील शक्तिले पछिल्लो समय जातीयलगायत विषयमा थप सहिष्णु समाज निर्माण गर्नका लागि धेरै ठुलो प्रयास गरेको पनि देखिएकै हो । तर, आप्रवासीहरूको खेदाइमा देखिएको अमानवीयताको दोष धेरैले पुँजीवादलाई भन्दा पनि ट्रम्पवादलाई दिने गरेका छन् । यसको अर्थ उनीहरू अमेरिकी सत्तामा आसीन नवफासीवादी गिरोहको अमानवीयतालाई यसमा कसुरदार ठह¥याउँछन् ।
निश्चय पनि ट्रम्पवाद पुँजीवादको आदर्श रूप होइन तर त्यसलाई पुँजीवादभन्दा एकदम फरक र बिरानो परिघटना मान्नु भने गलत नै हुन्छ । आधुनिक समयको जातिवाद साम्राज्यवादकै उपज हो । साम्राज्यवादबेगर पुँजीवादी उत्पादन पद्धतिको अस्तित्व कल्पनासम्म गर्न सकिन्न । पुँजीवादभित्र देखिने प्रगतिशील तह र तप्काले समेत साम्राज्यवादलाई शोषणकारी र घृणास्पद परिघटना मान्न अस्वीकार गर्छन् । साम्राज्यवादले अतीतमा गरेका ती नकामलाई समेत तिनीहरू कुनाकन्दराका समाजमा प्रगति र ‘आधुनिकता’ पु¥याउने परिघटना मान्छन् । यो दृष्टिकोणभित्र दुइटा धारणा पाइन्छ । पहिलो, ती समाज आफ्नै बलबुत्तामा प्रगति गर्न र ‘आधुनिक बन्न’ सक्दैनथे । दोस्रो, यस दृष्टिकोणले साम्राज्यवादलाई हितकारी शक्ति मान्छ । यो जातीय श्रेष्ठता स्वीकार्ने सोच हो । यसरी साम्राज्यवाद आफैमा जातिवादी साबित हुन्छ । आजका साम्राज्यवादी मुलुकमा रहेका प्रगतिशील समुदायको नियत जतिसुकै असल किन नहोस्, जबसम्म यसले साम्राज्यवादको निन्दा गर्दैन, यसले जातिवादी कलङ्कबाट आफूलाई मुक्त गर्न सक्ने छैन । पुँजीवादको यो प्रगतिशील समुदायले आज पनि साम्राज्यवादलाई अस्वीकार गर्दैन भन्ने तथ्य पछिल्लो दुई ठूला युद्धबाट प्रस्ट भइसकेको छ । यी (युक्रेन र गाजा) युद्धमा सबै पश्चिमा शक्ति एकै ठाउँमा आए । जबकि गाजा युद्ध समग्र जनताविरुद्ध जातिसंहार थियो भने युक्रेन युद्ध पश्चिमा साम्राज्यवादको विस्तारकारी सोचको नतिजा थियो ।
जातिवाद साम्राज्यवादी मुलुकहरूको बाहिर देखिने पूर्वाग्रह मात्र होइन, तिनको अन्तर्निहीत गुण नै हो । त्यहाँका शासकहरू जातिवादी छन् । आफूलाई उदारवादी भन्ने तत्वहरू जातिवादले ग्रस्त छन् । पुँजीवादी सङ्कटको अवधिमा जातिवाद जुर्मुराएर उठ्छ । जातिवादलाई प्रयोग गर्दै एकाधिकार पुँजीले केही अभागी आप्रवासी समूहलाई ‘पराइकरण’ गर्छ र तिनलाई आफ्नो प्रभुत्वका निम्ति खतराको चित्रण गर्छ । यसरी पुँजीवादी सङ्कटको बेला एकाधिकार पुँजीले कामदार वर्गका जनताबिच फाटो पार्छ । यसको विपरीत समाजवादी देशहरूमा राजनीतिक सत्ता पूर्णतः जातिवादविरोधी थियो र समाजमा जातिवादलाई मुन्टो उठाउनबाट रोक्थ्यो । यसलाई कसैकसैले थोपरेको भन्न सक्छन् । तर, यहाँ थोपरेको हो–होइन भन्ने विषय मुख्य होइन । समाजवादी देशमा ट्रम्पवादजस्तो विचारले टाउको उठाउने ठाउँ नै पाउँथेन । महत्वपूर्ण कुरा यो हो ।
समाजवादी देश अब्बल रहेको दोस्रो पक्षतर्फ जाऔँ । समाजवादी देशमा सबैजना रोजगार थिए । यसको अर्थ समाजवादी देशमा बेरोजगारी उन्मूलन गरिएको थियो । यसले गर्दा आप्रवासीहरूप्रतिको द्वेषको भावना थिएन । विकसित पुँजीवादी मुलुकहरूमा बेरोजगारीका कारण पनि आप्रवासीहरूप्रति द्वेषको भावना बढेको हो ।
देशमा बेरोजगारीको चङ्गुलमा परेपछि नै तेस्रो विश्वका मानिसहरू अमेरिकाजस्ता देशमा बसाइँ सर्छन् । निश्चय नै बसाइँ सर्नेहरू सबै दीनहीन जनता नहुन सक्छन् । दलाललाई ५० लाखभन्दा बढी रकम बुझाएपछि मात्र अवैध बाटो हुँदै तिनीहरूलाई अमेरिका पु¥याइन्छ । यसको अर्थ अमेरिका पुग्नेहरूसँग केही न केही धन हुन्छ नै । तर, उसमा बसाइँ सर्ने सोच मूलतः दुई कारणले पैदा हुन्छ । एक, पर्याप्त आम्दानी दिने रोजगारीको अभाव । दुई, उसको स्वदेशी समाजमा अचाक्ली असमानताका कारण ऊ आफ्नो भौतिक (सामाजिक) स्तरदेखि असन्तुष्ट हुन्छ । कुनै पनि देशमा पुँजीवादको निर्माण गर्ने क्रममा यी दुई पक्ष स्वतःस्फूर्त देखापर्छन् । देशको आर्थिक वृद्धिदर (जीडीपी) जति तीव्र देखिए पनि अथवा त्यहाँको ‘जीडीपी’ खरबौँ डलर पुगे पनि यी दुई पक्ष जीवित रहिरहन्छन् । यसको अर्थ कुनै पनि पुँजीवादी देशमा बसाइँ सर्ने आकाङ्क्षा राख्ने एउटा समूह सधैँ हुन्छ ।
भारत स्वतन्त्र भएको ७५ वर्ष बितिसक्यो । अझै भारतीय समाजमा बसाइँ सर्न लालायित मानिसहरू रहिरहनु लाजमर्दो कुरा हो । यसरी बसाइँ सर्दा पशुवत् व्यवहार भोग्नुपर्ने, पिँजडामा राखेर स्वदेश खेदिनुपर्ने जस्ता जोखिम मोलेरै पनि मानिसहरू विदेसिनु विडम्बना हो । आजका मितिमा तेस्रो विश्वका मुलुकहरूमा पुँजीवादी समाजको निर्माण गर्दा यी समस्यालाई चाहेर पनि पन्छाउन सकिन्न ।
अर्कोतर्फ, रैथाने जनताको भूमिमा युरोपेली आप्रवासीहरूले कब्जा जमाएर आप्रवासनकै माध्यमबाट अमेरिकी समाज जन्मेको थियो । तैपनि, ट्रम्पले दण्डफराक भएर आप्रवासीहरूलाई तिनको मूलभूमि पठाउन सक्नुको कारण व्यापक बेरोजगारी नै हो । पुँजीवादी आर्थिक सिद्धान्तकारहरू एउटा हावादारी दाबी गर्छन् । पुँजीवादी अर्थतन्त्रको दीर्घकालीन वृद्धिदर श्रमशक्तिको वृद्धिदरमाथि निर्भर हुन्छ भन्छन् । यो दाबी सही हुन्थ्यो भने अमेरिकामा आफ्नो अर्थतन्त्रको वृद्धिदर बढाउने माध्यमको रूपमा आप्रवासीहरूलाई स्वागत गर्नुपर्ने थियो । बेरोजगारीको कहरले गर्दा आप्रवासीहरूप्रतिको ट्रम्पको कठोर नीति पनि लोकप्रिय बन्यो । स्थिति कति विरोधाभाषपूर्ण रह्यो भने जर्मनीको सबैभन्दा वामपन्थी पार्टी ‘साहरा’ ले समेत आप्रवासीहरूको मामिलामा त्यहाँका दक्षिणपन्थी शासकहरूले भन्दा फरक नीति लिन सकेन । (जर्मनीको वामपन्थी पार्टी डाइ लिङ्के पार्टीले भित्रभित्रै नेटोको युक्रेन युद्धको पक्ष लिएपछि त्यसैबाट अलग्गिएर साहरा वागेङ्कनेख्त नामक नयाँ वामपन्थी पार्टी बनेको थियो ।) बेरोजगारीको कहर कति व्याप्त छ भने यसले मूलभूमि र बसाइँ सरिएको देश दुवैतिर कैँची चलाउँछ । पुँजीवाद अस्तित्वमा आएदेखि नै यो समस्या पुँजीवादको छायाँझैँ कायम छ । हिजोआजको जस्तो पुँजीवादमा सङ्कट चलिरहेको बेला यो समस्याले उग्र रूप लिन्छ । त्यही भएर हामीले अमानवीय खेदाइ देख्नुपरेको हो । मान्छेलाई पशुलाई जस्तै हत्कडी र नेल ठोकेर लघार्नुको वास्तविक कारण पुँजीवादी विरोधाभाष हो ।
यसको विपरीत समाजवादी समाजहरू यो कहरबाट पूर्णतः मुक्त थिए । वास्तवमा त्यहाँ बेरोजगारी होइन, श्रमको अभाव हुन्थ्यो । हङ्गेरीका प्रसिद्ध अर्थविद् जानोस कोर्नाइ खासमा समाजवादी थिएनन् । उनले अर्का अर्थविद् कालेक्कीको विचारलाई पछ्याएर ‘माग–बद्ध’ र ‘स्रोत–बद्ध’ प्रणाली भनी सीमा कोरेका थिए । उनी पुँजीवादलाई ‘माग–बद्ध’ र समाजवादलाई ‘स्रोत–बद्ध’ प्रणाली भन्थे । यसको अर्थ समाजवादी देशमा अभाव, सीमित रसद र लाइन लगाउनुपर्ने बाध्यता हुन्थ्यो भन्न खोजिएको हो । यसैलाई अर्को कोणबाट हेर्दा समाजवादी समाजमा स्रोतसाधनको पूर्ण प्रयोग हुनाले जति उत्पादन हुन्थ्यो त्यो विद्यमान दरभाउअनुसार सर्वसाधारण जनताको क्रयशक्तिले खरिद गर्न सक्नेभन्दा कम हुन्थ्यो । यसको अर्थ उपलब्ध श्रमशक्तिलगायत स्रोतसाधनको पूर्ण प्रयोग हुन्थ्यो । वास्तवमा यी समाजवादी मुलुकहरू नै आधुनिक समयमा पूर्ण रोजगारी दिलाउने एकमात्र समाज थिए । समाजवादी मुलुकहरूमा उत्पादनमा महिलाहरूको बढ्दो सहभागितालाई पनि त्यो श्रमशक्तिमा थप्नुपर्छ । महिला सहभागिताले समाजमा गहिरो परिवर्तन ल्याएको थियो । अर्को कुरा, रोजगारीबाट जति आयआर्जन हुन्थ्यो त्यसले गर्दा कामदारहरूले समाजवादी समाजमा आफ्नो स्वाभिमान गुमाउनुपर्ने झन्झटै आइलाग्थेन । बेरोजगारीका कारण पुँजीवादी समाजमा यस्तो समस्या काउछोझैँ टाँसिइरहन्छ ।
समाजवादी समाजबारे धेरैले धेरै कुरा लेखिसकेका छन् । वामपन्थी लेखकहरूले पनि धेरैथोक लेखेका छन् । तर, ती समाजको पतनपछि पुँजीवादी समाजको विकल्प नै छैन भन्ने भान पार्ने गरी प्रचारप्रसार गरिएको छ । सत्य के हो भने पुँजीवादको बाटोमा अघि बढुञ्जेल देशमा केही अर्बपतिहरू त जन्मलान् तर भारत औपनिवेशिक युगमा छँदाजस्तो भारतीय जनताको निधारबाट ‘नीच वर्ग’ को कलङ्क कहिल्यै मेटिने छैन । सर्वसाधारण जनतालाई पशुजस्तो व्यवहार गर्न छोडिने छैन । असल जीवनको खोजीमा तिनीहरू भारत छोडेर अन्त पुगे नै भने पनि तिनलाई हातखुट्टामा हत्कडी र नेल ठोकेर पुनः स्वदेशतिर धपाइनेछ । विगतका गल्तीहरूलाई सुधार्दै समाजवादी समाजको बाटोमा देश निर्माणलाई अघि बढाए मात्र देशले बेरोजगारीको कहरबाट पार पाउन सक्छ । तब मात्र पिँजडामा थुनिएको पशुको जस्तो हविगतबाट जनता मुक्त हुनेछन् ।
(प्रसिद्ध भारतीय राजनीतिक विश्लेषक प्रभात पटनायक राजनीतिक अर्थशास्त्री हुन् । ‘पुँजीवादमा अर्थसञ्चय र स्थायित्व’ (सन् १९९७), ‘मुद्राको मूल्य’ (सन् २००९) र ‘समाजवादको परिमार्जित सोच’ (सन् २०११) उनका प्रसिद्ध कृति हुन् ।)
स्रोत : एमआर अनलाइन । सम्यक
Leave a Reply