नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
अमेरिकाको पछिल्लो राष्ट्रपति निर्वाचन चलिरहँदा नै डोनाल्ड ट्रम्प पुनः निर्वाचित भएको खण्डमा उनले प्रकृतिप्रति कुनै दया देखाउने छैनन् भन्ने जगजाहेर थियो । लगत्तै जलवायु विज्ञान तथा त्यससम्बन्धी क्रियाकलापमाथि प्रहार हुन थाल्यो । यी वाक्यहरू लेखिरहँदा राष्ट्रपति ट्रम्पले जलवायु तथा वातावरण विज्ञानलाई नै प्रहार गर्नेगरी सरकारी आदेश दिँदैछन् र यस विज्ञानको प्रगतिलाई बिथोल्ने र रोक्ने व्यक्तिहरूलाई राजनीतिक नियुक्ति दिँदैछन् ।
संरा अमेरिकाको कृषि मन्त्रालयलगायत विभिन्न सरकारी निकायले आ–आफ्ना वेबपेजबाट ‘जलवायु परिवर्तन’ जस्ता शब्दहरू हटाइरहेका छन् । वन्यजन्तु संरक्षण तथा जलवायु परिवर्तनका लागि किसानलाई दिइने अनुदान रोक्का गरिएको छ । यसले गर्दा किसानहरू जलवायु परिवर्तनको मारसामु निरूपाय बन्नेछन् । क्यालिफोर्नियामा हालै लागेको डढेलोको चर्किनु र फैलिनुको कारण जलवायु परिवर्तन नै थियो । भविष्यमा यस्ता वनडढेलोको सङ्ख्या बढ्ने निश्चित छ । अमेरिकाको वन मन्त्रालयको वेबसाइटबाट जलवायु परिवर्तनसम्बन्धी सूचना हटाउनाले भावी डढेलोबाट जोगिनका लागि गर्नुपर्ने तयारीमा अवरोध पुग्नेछ ।
वातावरण संरक्षण निकायका नयाँ प्रमुखमा ली जेल्डिन आएका छन् । उनी जलवायु परिवर्तनका सम्बन्धमा देखाउनुपर्ने तदारुकतालाई उति महत्व दिँदैनन् । बरु उनी जलवायु, जीवाश्म इन्धन र यातायातसम्बन्धी अमेरिकी अनुसन्धान तथा नीतिबाट तथाकथित वामपन्थी झुकाव हटाउनुपर्नेमा जोड दिन्छन् । उनले अमेरिकी घरधुरीहरूलाई सस्तो ऊर्जा प्रदान गर्ने र ऊर्जाको क्षेत्रमा अमेरिकी दबदबा कायम गर्नुपर्ने विषयमा ध्यान दिनुपर्छ भने । यो दृष्टिकोणमा केही तथ्यलाई पूर्णतः बेवास्ता गरिएको छ । पैसा र स्वास्थ्यका हिसाबले जलवायु परिवर्तनका कारण ठूलो मूल्य चुकाउनुपर्नेछ† सामान्य अनुकूलन तथा सुधारात्मक नीतिले केही हुने छैन† अमेरिकी समाजको सबैभन्दा निर्धन तप्का नै वातावरणीय परिवर्तनबाट सबैभन्दा बढी प्रताडित हुनेछ । ऊर्जा रूपान्तरणको बोझ समाजको कुन तप्काले बोक्ने भन्ने विषय नीतिगत हो । एउटा न्यायोचित रूपान्तरणले खासगरी सङ्कटपूर्ण जीवन बाँचिरहेका जनतालाई आर्थिक तथा स्वास्थ्यजन्य लाभ दिनेछ । यस्तो नीति निर्माण गर्न सम्भव पनि छ ।
ट्रम्पको सरकार अमेरिकामा प्राकृतिक सम्पदाको दोहन बढाउन चाहन्छ । यसको लागि ऊ वैज्ञानिक प्रमाण तथा वातावरण संरक्षण कानुनहरूलाई पनि बेवास्ता गर्ने ताकमा देखिन्छ । राष्ट्रपति ट्रम्पले राष्ट्रिय ऊर्जा आपतकाल नै घोषणा गरेका छन् । उनले तेल र ग्यासको उत्खन्न बढाउन उत्साहित गर्दै छन् । अमेरिकाको आर्कटिक क्षेत्र तथा राष्ट्रिय वनजङ्गलहरूमा इन्धन उत्खनन गर्न र वन फडानी गर्न सघाउ पुग्ने गरी अलग्गै आदेश दिइएको छ । साथमा वायु ऊर्जाको विकास तथा उत्पादनका लागि सरकारले दिँदै आएका अनुदानलाई केही समयलाई रोक्का गरिएको छ ।
ट्रम्प र उनका राजनीतिक मित्रहरू वायु ऊर्जा प्लान्टका पर्यावरणीय प्रभावमा चासो लिँदै छन् । उनीहरूले बिनाप्रमाण तिनको ‘असर’ को मुद्दा उठाउँदै छन् । अमेरिकाको जैविक विविधता संरक्षण ऐनमाथि ठूलो प्रहार भयो । यस्तो गर्दैगर्दा अमेरिकाको पहिलो राष्ट्रिय प्रकृति मूल्याङ्कन कानुन खारेज गरिएको खबर छ । यसअघिको अमेरिकी सरकारले देशको ३० प्रतिशत जैविक विविधता संरक्षण गर्ने लक्ष्य लिएको थियो । तर, ट्रम्पको कार्यकालमा त्यही लक्ष्य पनि हराउने सम्भावना छ ।
विविधता, समता तथा समावेशी गतिविधिमाथि प्रतिबन्ध लगाउने ट्रम्पको आदेशका कारण वातावरणीय न्यायसँग सम्बन्धित सम्पूर्ण सरकारी रोजगार तथा कार्यक्रम स्थगनमा परेका छन् । नयाँ दोहनकारी क्रियाकलाप तथा औद्योगिक विकासका कारण वातावरणमा आउने ¥हास तथा त्यसले ल्याउने स्वास्थ्यजन्य समस्याबाट संरक्षित विपन्न समुदायका लागि ती कार्यक्रम ल्याइएका थिए । यसबाहेक तथाकथित ‘लैङ्गिक विचारधाराको उग्रवाद’ सम्बन्धी आदेशले गर्दा स्वास्थ्य मन्त्रालयजस्ता प्रमुख सरकारी निकायका वेबसाइटहरूमा लैङ्गिक विविधतासम्बन्धी अथाह सूचना हटाइएको छ । यसका साथै शारीरिक सञ्चारमा अस्थायी प्रतिबन्ध लगाइएको छ भने ‘लैङ्गिक विचारधारा’ सम्बन्धी वैज्ञानिक खोजबिन तथा प्रकाशनमा पनि बन्देज लगाइएको छ । वातावरण र यौनिक वा लैंगिक विषयसँग सम्बन्धित वैज्ञानिक शब्दावलीमाथिको दमन विस्मातपूर्ण छ । वास्तवमा वाक स्वतन्त्रताको रक्षक भनाउँदो राजनीतिक नेतृत्वले नै त्यसको घाँटी रेट्दै छ ।
राष्ट्रपति ट्रम्पले संरा अमेरिका पेरिस जलवायु सम्झौताबाट पछि हट्ने र अन्य मुलुकहरूलाई अमेरिकाले दिँदै आएका सम्पूर्ण जलवायु सहायता रोक्का गर्ने आदेश दिए । पेरिस सम्झौता हालसम्मकै सबैभन्दा उत्कृष्ट कार्ययोजना हो । यसअन्तर्गत जलवायु परिवर्तनका सबैभन्दा घातक परिणामबाट बच्न विश्वव्यापीरूपमा ग्रीनहाउस ग्यासको उत्सर्जन घटाउनुपर्नेमा वैज्ञानिकहरू एकमत छन् । संरा अमेरिका नै सारा संसार होइन । बरु ऊ विश्वका ठूला प्रदूषक, शक्तिशाली राष्ट्र तथा वैज्ञानिक अनुसन्धानमा ठूलो योगदान गर्ने देशहरूमध्ये एक हो । अमेरिकी राजनीतिले जलवायु परिवर्तनप्रतिको विश्वव्यापी सहकार्यमा ठूलो असर पर्छ ।
ट्रम्पको कार्यकालको सुरुआतमै देखिएको यो नाटकीय परिवर्तन कानुनी र राजनीतिक चुनौतीहरूसामु टिक्ला–नटिक्ला, त्यो अर्कै विषय हो । तर, यसबाट विज्ञान र वैज्ञानिक प्रमाणहरूमाथि राइँदाइँ नै चलेको छ । यो उथलपुथलबिच अध्येताहरू, क्षेत्रीय तथा स्थानीय अभियन्ता र निजी क्षेत्रले जलवायु तथा वातावरणीय परिवर्तनसम्बन्धी वैज्ञानिक प्रमाणहरूलाई पछ्याउन र प्रस्ट हुन छोड्नुहुँदैन । जलवायु परिवर्तनको यथार्थबाट भागे अमेरिका मात्र होइन सारा संसारलाई हानि पुग्ने निश्चित छ ।
(स्रोत : एमआर अनलाइन । सम्यक)
Leave a Reply