भर्खरै :

अरूलाई नङ्ग्याउँदा आफैँ नाङ्गियो साम्राज्यवाद

अरूलाई नङ्ग्याउँदा आफैँ नाङ्गियो साम्राज्यवाद

गत शुक्रबार (फेब्रुअरी २८) अमेरिकी राष्ट्रपतिको कार्यालयमा जे भयो, त्यसले विश्व राजनीतिमा एउटा तरङ्ग सिर्जना गरेको छ । नेपालमै पनि त्यसबारे चर्चा चुलिएको छ । विश्लेषकहरू ट्रम्प र जेलेन्स्कीबिच विभाजित बनेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी प्रचारको क्रममा ‘युक्रेन युद्ध’ टुङ्ग्याउने वाचा गरेका थिए । ट्रम्पले युक्रेनलाई संरा अमेरिकाले खरबौँ डलर बराबरको हातहतियार तथा सैन्य सामग्री सहयोग गरेको हुनाले सोही रकम बराबरको खनिज युक्रेनले अमेरिकालाई तिर्नुपर्ने बताए । साथै, रुस र युक्रेनबिच सम्झौता गराउने आश्वासन दिए । लगत्तै अमेरिका र युक्रेनबिच सम्झौताको तयारी भयो । युक्रेनभित्र देशको खनिजबाट आउने राजस्वको आधा रकम संरा अमेरिकालाई दिँदा युक्रेनको सार्वभौम अस्तित्व नै नरहने भनेर जेलेन्स्कीको आलोचना भयो ।
शुक्रबार ह्वाइट हाउसको ओभल कक्षमा विभिन्न पत्रकारहरूका सामुन्ने राष्ट्रपतिद्वय ट्रम्प र जेलेन्स्कीबिच सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम थियो । ४९ मिनेट लामो वार्ताको सुरुआत मित्रवत् रह्यो । तर, वार्ता टुङ्गिँदै गर्दा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सोधेको एउटा प्रश्नले समग्र कार्यक्रम बिथोलियो । जेलेन्स्की र ट्रम्पबिच भनाभनको माहोल बन्यो । सम्झौतामा हस्ताक्षर भएन । ट्रम्प–जेलेन्स्कीबिच भएको झन्डै १० मिनेट लामो भनाभनबाट संरा अमेरिकाको साम्राज्यवादी रवैया र अर्काको युद्ध लड्न खोज्ने साम्राज्यवादपरस्त साना देशको दुर्गति छर्लङ्ग भएको छ । जे हिजोसम्म पर्दा पछाडि हुन्थ्यो, यसपालि त्यो दृश्य संसारभरि प्रत्यक्ष प्रसारण भयो ।
रुसविरुद्ध भइरहेको युक्रेन युद्ध वास्तवमा पश्चिमा साम्राज्यवादको छद्म युद्ध हो । युद्धका तीन वर्षबिच युक्रेनलाई संरा अमेरिकाले १२० अर्ब डलर, बेलायतले साढे १५ अर्ब डलर र जर्मनीले १८ अर्ब डलर बराबरको हातहतियार तथा अन्य सैन्य सामग्री उपलब्ध गराएका छन् । यसबाहेक फ्रान्स, क्यानडालगायत अन्य देशले समेत युक्रेनलाई उल्लेख्य सहयोग गरिसकेका छन् । तसर्थ, ‘युक्रेन युद्ध’ अमेरिकाको बाइडेन सरकारको युद्ध हो; अमेरिकी युद्ध हो । ट्रम्प–जेलेन्स्की भनाभनबाट पनि यो कुरा पुष्टि हुन्छ ।
कतिपय विश्लेषकले ट्रम्पसामु आफ्नो दृष्टिकोण राखेर जेलेन्स्कीले आफ्नो देशको स्वाभिमान जोगाएको दाबी गरेका छन् । यो दाबी सरासर गलत छ । जेलेन्स्कीले दिएको जवाफ सही थिएन । उनले सन् २०१४ देखि नै रुसले युक्रेनमा हमला गरिरहेकोमा पश्चिमा देशहरू चुप लागेकै हुनाले सन् २०२२ को स्थिति आएको तर्क दिए । यो कुतर्क हो । जवाफमा ट्रम्पले युक्रेनको किचलो बाइडेन, उनका छोरा हन्टर बाइडेन र उनीहरूका आसेपासेहरूले सुरु गरेको बताए । एक हदसम्म यो कुरा सत्य हो । सन् २०१४ मा रङ्गीन विद्रोह गराएर संरा अमेरिकाले नै युक्रेनका निर्वाचित राष्ट्रपति भिक्टर यानुकोभिचलाई सत्ताच्युत गरेको थियो । त्यस विद्रोहको सारा निर्देशन अमेरिकी कूटनीतिज्ञ भिक्टोरिया न्युलेन्डले दिएकी थिइन् । बाराक ओबामाको उपराष्ट्रपति छँदा बाइडेनले आफ्ना छोरा हन्टरलाई युक्रेनको सरकारी तेल कम्पनी बुरिस्माको प्रमुख बनाएका थिए । यसबाहेक युक्रेनको मलिलो माटो तथा खनिज पदार्थमा समेत अमेरिकी बहुराष्ट्रिय कम्पनीहरूको गिद्दे आँखा गढेको थियो । आज ट्रम्पले अमेरिकालाई युक्रेनी खनिज दिनुपर्छ भन्नुको कारण उनका ‘परम मित्र’ इलन मस्क हुन् । मस्कको कम्पनी ‘टेस्ला’ लाई लिथियम धातु चाहिएको हुनाले ट्रम्पले युक्रेनलाई अँठ्याउन खोजेका हुन् । यो कुरा सचेत जनताबाट लुकेको छैन ।
जेलेन्स्कीले भान्सलाई सुनाए – पुटिन (रुस) ले नै ‘मिन्स्क सम्झौता’ भङ्ग गरेको हो । यो दाबी पनि झूटो हो । जर्मनीकी पूर्वचान्सलर एँगेला मर्केलले एक अन्तर्वार्तामा युक्रेनलाई युद्धको लागि तयार पार्न समय चाहिएको हुनाले ‘मिन्स्क सम्झौता’ गराइएको थियो भनिसकेकी छिन् । यसबाट पनि रुसविरुद्ध युद्ध गराउनु पश्चिमा साम्राज्यवादको नियोजित चाल थियो भनी स्पष्ट हुन्छ ।
राष्ट्रपति ट्रम्पले घरमा पाहुना बोलाएर जेलेन्स्कीलाई झपारे, धाकधम्की दिए र आफूले भनेअनुसार सम्झौता गर्न भने । जेलेन्स्कीले ‘स्वाभिमान जोगाउन खोजे’ तर त्यो स्वाभिमान आफैमा झूटो र फोस्रो थियो । अमेरिकी सहयोगबिना युक्रेन रुसविरुद्ध ‘तीन दिन पनि टिक्न सक्ने थिएन’ । ट्रम्प र भान्सको खप्की खाएपछि अर्काको उक्साहट र भरथेगमा युद्ध लडेपछि के हुँदोरहेछ भनेर जेलेन्स्की प्रस्ट भएको हुनुपर्छ ।
अर्कोतर्फ, सानै भए पनि प्रत्येक मुलुकको सार्वभौमिकता बराबरको हुन्छ । यही अन्तर्राष्ट्रिय नियम हो । तर, जेलेन्स्कीलाई ट्रम्पका उपराष्ट्रपति भान्सले अपमानपूर्वक केरकार गरेको देख्दा साम्राज्यवाद संसारका साना देशको सार्वभौम अस्तित्वका लागि कति खतरनाक छ भन्ने कुरा घामजत्तिकै प्रस्ट भयो । संसारभरिका सोझा जनताले समेत साम्राज्यवादको सक्कली अनुहार देख्न पाए । जेलेन्स्कीलाई नङ्ग्याउन गरिएको वार्तामा अमेरिकी साम्राज्यवाद आफै नाङ्गिन पुग्यो । तर, संयोग कस्तो प¥यो भने जेलेन्स्की र ट्रम्प दुवै फासीवादी हुन् ! वार्ताको क्रममा जेलेन्स्कीले लगाएको लुगामा फासीवादी प्रतीक चिह्न स्पष्ट देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *