भर्खरै :

काठमाडौँमा एक गुप्त पुस्तकालय

काठमाडौँमा एक गुप्त पुस्तकालय

काठमाडौँ सहरमा छ हेल्पिङ हेन्ड्स अस्पताल । त्यसको भुइँतलामुनि एउटा भेटघाट कक्ष छ । कोठाको दाहिने र देब्रे दुवैतिर ठेलीका ठेली किताब लहरै राखिएको छ । कति किताबका गाता च्यातिएका छन् । यी दुर्लभ किताब हुन् कार्ल माक्र्स, लेनिन, स्तालिनलगायत क्रान्तिकारीहरूका । किताबहरू बन्दीजस्ता लाग्छन् । कोही पाठक आएर हामीलाई मुक्त गर्छन् कि भनेर पर्खिबसेजस्ता !
यो ठाउँको नाउँ हो ह्यारी म्यागडफ स्मृति पुस्तकालय ।
पुस्कर गौतम बेलाबेला जान्छन् यस पुस्तकालयमा । फेब्रुअरीको दोस्रो साता उनले हामीलाई पनि सँगै लगे ।
“यो पुस्तकालय सबैको लागि खुला छैन,” गौतमले पुस्तकालयको ढोका खोल्दै भने । उनले थपे, “पुस्तकालयमा दुर्लभ किताब छन् । हिजोआज यी किताब बजारमा पनि पाइन्नन् ।”
पुस्तकालयभित्र
गौतमले एकपछि अर्को किताब देखाउन थाले । विश्वमा किन युद्ध मच्चियो ? माक्र्स के चाहन्थे ? स्तालिनको भूमिका कस्तो थियो ? (अमेरिकी गुप्तचर निकाय) सीआईएले क्यास्त्रोलाई मार्ने योजना कसरी बनायो ? माओ त्सेतुङ कसरी सत्तामा आए ? यी प्रश्नका सबै जवाफ यी किताबमा पाउन सकिन्छ ।
यहाँ विभिन्न राजनीतिक नेताहरूको उदय र पतनसम्बन्धी किताब पनि छन् । “धेरै महँगा किताब हुन् । एक करोड रुपियाँभन्दा बढी मूल्यका होलान् ।”
यी किताब नेपालमा गृहयुद्ध चलिरहेको बेला संरा अमेरिकाबाट ह्यारी म्यागडफले पठाएका थिए । म्यागडफले पानीजहाजबाट झन्डै १८ हजार किताब पठाएका थिए । यस काममा सघाएका थिए डा. महेश मास्केले ।
“पुस्तकालयको इतिहास लामो छ । त्यो जान्न महेश मास्केजीलाई भेट्नुहोला,” गौतमले भने ।
त्यसपछि हामीले मास्केलाई भेट्यौँ । उनले हामीलाई पुस्तकालयको इतिहास सुनाए । सन् १९९९ मा मास्के संरा अमेरिकामा पढ्दै थिए । त्यही बेला उनले मानवशास्त्री मेरी डेशेनलाई भेटे । नेपालसँग घनिष्ट थिइन् डेशेन ।
अमेरिकाबाट नेपालसम्म
डेशेनले मास्केलाई कोलम्बिया विश्वविद्यालयमा हुने एक कार्यक्रममा निम्त्याइन् । कार्यक्रमका मुख्य वक्ता थिए अमेरिकी दिग्गज विलियम हिन्टन । कार्यक्रमकै दौरान मास्केले ह्यारी म्यागडफको पुस्तक सङ्ग्रहबारे थाहा पाए । उति बेला म्यागडफ थिए ‘मन्थली रिभ्यु’ पत्रिकाका सम्पादक ।
म्यागडफ आफ्ना किताबलाई कम्युनिस्टहरू बाहुल्य भएको कुनै देशमा पठाउन चाहन्थे । मास्केले यो कुरा पनि थाहा पाए । डेशेनले ती किताबलाई नेपाल लग्न सकिन्छ कि भनेर बुझबाझ गरिन् ।
कार्यक्रम टुङ्गियो । मास्के र डेशेनले जोन मेजलाई भेटे । मेज थिए मन्थली रिभ्यु पत्रिकाका अर्का सम्पादक । “त्यसपछि किताबलाई नेपाल ल्याउने मयोजना अघि बढ्यो,” मास्केले बताए ।
नेपालमा गृहयुद्ध चल्दै थियो । नेकपा (एमाले) पनि सक्रिय थियो । नेपालमा वामपन्थी विचार राख्ने मानिसहरूको बलियो उपस्थिति थियो । त्यसैले मन्थली रिभ्यु पत्रिकाले किताबहरू नेपाल पठाउनु हितकारी हुने ठाने ।
सन् २००१ मा मास्के नेपाल फर्किए । तर, उनले ती किताबलाई तुरुन्तै नेपाल झिकाउन सकेनन् ।
“तिनताका नेपालमा कम्युनिस्ट किताबहरू ल्याउनु जोखिमपूर्ण थियो,” मास्केले विगत सम्झिए ।
सकस
मास्के नेपाल फर्केको केही समयमै तत्कालीन राजा ज्ञानेन्द्र शाहले देशमा सङ्कटकाल लगाए ।
एकातिर नेकपा माओवादीहरू सङ्घर्ष गर्दै थिए । अर्कोतिर, संसद्वादी दलहरू थिए । मिलनबिन्दु कतै भेटिन्छ कि भनेर बौद्धिक जमातमा छलफल सुरु भयो । संविधानसभालाई त्यो बिन्दुको रूपमा हेरियो । मास्के पनि सोही जमातका सदस्य थिए ।
भारतका वामपन्थीहरूले शान्ति प्रक्रियाको लागि मिलनबिन्दुको खोज हुँदै छ भन्ने थाहा पाए । अनि तिनले मास्केलगायतको टोलीलाई भारत निम्त्याए । श्याम श्रेष्ठ, प्रमोद काफ्ले र मास्के भारत जाने भए ।
तर, तिनलाई सादा पोशाकमा आएका सैन्य अधिकारीले विमानस्थलमा पक्राउ गरे । परिणाम, तिनीहरू भारत जान पाएनन् ।
आँखामा पट्टी बाँधेर तिनलाई स्वम्भू लगियो । पछि तिनको हात पनि बाँधियो ।
“विकराल अवस्था थियो । ११ दिनसम्म थुनामा राखेर हामीलाई छोडियो,” मास्केले भने ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले पनि भारत भ्रमण गरे । माधवकुमार नेपाल हामीलाई भेट्न आए ।
“हामी पक्राउ परेको ८–९ दिनपछि उहाँ हामीलाई भेट्न आउनुभयो । उहाँले हामीलाई छुटाउन पहल गर्ने वाचा गर्नुभयो,” मास्केले सम्झिए । उनले भने, “त्यसपछि नेपालले प्रतिनिधिसभालाई हामी सुरक्षित छौँ भनेर जानकारी गराए । तर, सेनाको डरले हामीलाई कहाँ राखिएको छ भनेर खुलस्त बताउन सकेनन् ।”
माधवकुमार नेपालसँगको भेटको तीन दिनपछि थुनुवाहरू रिहा भए । तिनैताका संरा अमेरिकाबाट (म्यागडफका) किताब झिकाउने कुराकानी चल्यो । केही समयपछि किताब ल्याउने प्रक्रिया अघि बढ्यो । ती किताब जहाजको बाटो हुँदै भारत ल्याउने र त्यहाँबाट नेपाल भित्र्याउने तय भयो ।
अमेरिकाबाट भारत ल्याइएका किताब केही समय कलकत्तामा अड्किए । त्यसपछि तिनलाई रक्सौल ल्याइयो । फेरि अर्को सङ्कट आइलाग्यो । वीरगञ्ज नाकाबाट तिनलाई कसरी नेपाल ल्याउने त भन्ने समस्या उत्पन्न भयो ।
किताबलाई नाकापार गराउने काममा मास्के र डा. शरद वन्त मिलेर लागे । वन्त र मास्के डाक्टर हुन् । त्यसैले वन्तले तत्कालीन स्वास्थ्यमन्त्रीसँग किताब झिकाउन मद्दत मागे ।
दुवैले ऋतुराज भण्डारीलाई भेटे । भण्डारी थिए श्रम मन्त्रालयका तत्कालीन सचिव ।
“भण्डारी घनिष्ट मित्र थिए । त्यसैले हामीले किताब झिकाइदिन अनुरोध गर्दै एउटा पत्र लेख्यौँ र ती पुस्तक स्वास्थ्यसम्बन्धी हुन् भन्यौँ । जोखिम मोलियो, पत्र लेखियो र किताब अन्ततः नेपाल आए ।”
ती वामपन्थी किताबहरू अङ्ग्रेजी भाषामा थिए । सन् २००३ किताब नेपाल आइपुगे ।
“ती किताब ल्याउन वन्त र मैले कडा मिहिनेत ग¥यौँ,” मास्केले भने ।
किताब नेपालमा त आए तर देशमा सङ्कटकाल नै थियो । किताब राख्नका लागि ठाउँको जोहो गर्नु अर्को समस्या बन्यो ।
“त्यतिबेला यस्ता किताबलाई जलाइन्थ्यो । मेरो घर बनिरहेको थियो । त्यहाँ हामीले एउटा गोदाम बनायौँ र किताबलाई त्यही राख्यौँ,” मास्केले भने ।
पछि ती किताबलाई ‘सामाजिक उत्तरदायित्वका निम्ति चिकित्सक, नेपाल’ नामक संस्थाको संरक्षणमा राख्यौँ । त्यो डाक्टरहरूको सङ्गठन हो ।
ती किताबलाई डाक्टरी किताबको रूपमा राखिएको थियो । डा. भरत प्रधानले ती किताबलाई लुकाउन सघाए । त्यस्तै, डा. मथुरा श्रेष्ठले पनि किताबलाई जोगाउन मद्दत गरे ।
यी किताब राखिएको पुस्तकालय सुरुमा बागबजारमा थियो । कोठाको बहाल तिर्न नसकेपछि पुस्तकालयलाई हेल्पिङ हेन्ड्स अस्पतालमा सारियो ।
पुस्तकालय अस्पतालको सभाहलमा छ । तैपनि, ‘सामाजिक उत्तरदायित्वका निम्ति चिकित्सक, नेपाल’ ले पुस्तकालयको हेरविचार गर्दै छ ।
संस्थाका अध्यक्ष डा. गणेश गुरुङले पुस्तकालयका लागि स्थान उपलब्ध गराउन तयार जोकोहीसँग सहकार्य गर्न राजीखुसी रहेको बताए ।
“सबै पुस्तकको ‘पीडीएफ’ संस्करण उपलब्ध गराउने सोचमा छौँ । तर, आर्थिक अड्चनले गर्दा केही गर्न सकिएको छैन,” गुरुङले भने ।
“राजनीतिक अर्थशास्त्र, समाजशास्त्र र इतिहासको अध्ययनका लागि अनुसन्धानको ठुलो सम्भावना बोकेको पुस्तकालय हो यो,” मास्केले भने । उनले थपे, “तर, वामपन्थीहरू धेरैचोटि सत्तामा पुगे पनि यो पुस्तकालयले पाउनुपर्ने रेखदेख पाउलाजस्तो लाग्दैन ।”

स्रोत : एमआर अनलाइन
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *