यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
आर्थिक उत्पादन तथा व्यावहारिक क्रियाकलापहरूको क्रममा भौतिक एवम् सामाजिक जगत्लाई आफ्नै विशेष धारणा र नियमहरूमार्फत प्रतिबिम्बित गर्दै जाँदा विज्ञानको उद्भव हुन्छ । यसरी समाजसित सम्बद्ध रहेको कारणबाट वर्गीय हितको लागि नै त्यसको पनि उपयोग हुँदै आएको छ र त्यो पनि वर्गसङ्घर्षमा मुछिन पुगेको छ । पुँजीवादी युगमा, उत्पादक शक्तिको रूपमा शोषकवर्गहरूले त्यसलाई मुख्यतः नाफा कमाउने र उपनिवेश खडा गर्नको लागि युद्ध चलाउने साधन बनाए । उनीहरूले जनतामाझ वैज्ञानिक दृष्टिकोणको प्रभाव रोक्नको लागि, विज्ञानका सिद्धान्तहरूको अधिभौतिकवादी वा धार्मिक व्याख्या गर्ने प्रत्ययवादी दर्शनहरूलाई नै प्रोत्साहित गरे । तर, समाजवाद तथा साम्यवादअन्तर्गत विज्ञानको प्रयोग जनताको शिक्षा, दीक्षा र भौतिक सुख–सुविधाको निम्ति गरिनेछ ।
माक्र्सवादको ज्ञानसम्बन्धी प्रतिबिम्बत सिद्धान्त द्वन्द्वात्मक भौतिकवादी ज्ञानमीमांसाको मूल धारणा हो । त्यसअनुसार हाम्रो संज्ञानको अन्तिम परिणाम त्यसको मूल स्रोतसित पर्याप्तरूपमा अनुकूल हुनुपर्दछ । तर, त्यो प्रतिबिम्ब बाह्य जगत्को निष्क्रिय चित्राङ्कन वा यान्त्रिक नक्कल मात्र नभएर द्वन्द्वात्मक स्वरूपको हुन्छ । जसमा संवेदात्मक, तार्किक, मानसिक र व्यावहारिक प्रक्रियाहरू पनि समाहित रहेका हुन्छन् । त्यस्तो प्रक्रियामा मनुष्य बाह्य जगत्प्रति निष्क्रिय र असहाय नरहेर क्रियाशील तथा सचेष्ट रहन्छ, अनि त्यस क्रममा उसले प्रकृति एवम् समाजलाई पनि परिवर्तित गरिरहेको हुन्छ । त्यसैगरी, भौतिक जगत्का नियमहरूलाई दैवी र अजेय ठानेर तिनका सामु निरूपाय वा नतमस्तक हुने भावनावादी दर्शनको नियतिवादविरुद्ध माक्र्सवादले ती नियमहरू वस्तुगत भएकाले ती विज्ञानको अध्ययनका परिधिभित्र पर्दछन् र तिनलाई ठीकसँग बुझेर प्रयोग गर्दै मनुष्यले सभ्यताको विकास गर्दै आएको दृष्टान्तद्वारा मनुष्य दैवको अधीन हैन बरु स्वामी हुनसक्दछ भन्ने प्रमाण दिन्छ । माक्र्सवादको दृष्टिमा खुला प्रतिस्पर्धाको अराजकतापूर्ण क्रियाकलाप र अनियन्त्रित शोषणलाई युक्तिसङ्गत ठह¥याउनु नै पुँजीवादको स्वतन्त्रतासम्बन्धी दर्शनको सारतत्व हो । त्यसअनुसार विज्ञान प्रविधिको विकास र सामाजिक प्रकृतिसँगसँगै मनुष्यको त्यस्तो स्वाधीनतामा पनि विस्तार हुँदै जानेछ र समाजवादमा त्यो अझै विकसित हुनेछ । यस्तो ऐतिहासिक अनिवार्यता र मानव स्वतन्त्रतामाझको द्वन्द्वात्मक सम्बन्ध देखाउँदै माक्र्स र एङ्गेल्स के बताउँछन् भने वस्तुगत अनिवार्यताको ज्ञान तथा मनुष्यको हितमा त्यसको उपयोग गर्ने कुरा नै मनुष्यको स्वतन्त्रतामा निहित रहेको हुन्छ । यसबाट मानव–समाजमा भौतिक पक्षहरूको सर्वोपरि निर्णायक भूमिका र ऐतिहासिक विकासको वस्तुगत अनिवार्यतामा जोड दिएर माक्र्सवादले सामाजिक विकासमा सिर्जनात्मक विचारको महत्वपूर्ण स्थान तथा इतिहासमा व्यक्तिको भूमिकालाई पूर्णतः अस्वीकृत गरिदिएको छ भन्ने आरोप निराधार देखिन्छ ।
माक्र्सवाद क्रान्तिकारी दर्शन ठानिएकोले क्रान्तिसम्बन्धी त्यसको दृष्टिकोणबारे पनि स्पष्ट ज्ञान हुनु आवश्यक छ । त्यसअनुसार एउटा राज्य व्यवस्था वा सामाजिक आर्थिक सङ्घटन र त्यसमा अडेको शासक वर्गको ठाउँ अर्को व्यवस्था वा सङ्घटन र शासकवर्गले लिने प्रक्रिया नै सामाजिक क्रान्ति हो । त्यसैले, राज्यसत्ताको प्रश्न कुनै पनि क्रान्तिको केन्द्रीय प्रश्न हुन पुग्दछ । त्यसको क्रान्ति भावनावादीहरूले ठानेझैँ न स्वस्फूर्त वा आकस्मिक हुन्छ, न त कुनै सम्राट, सेनापति वा प्रतिभासम्पन्न भविष्यद्रष्टाको इच्छाअनुसार जन्मने – बढ्ने कुरा हो । त्यो त विभिन्न मनोगत तथा वस्तुगत कारणहरूसहित सामाजिक विकासका वस्तुगत नियमहरूको आधारमा सञ्चालित हुने प्रक्रिया हो । क्रान्तिलाई उग्रवादी र दुस्साहसवादीहरू आत्मगत कुरा मान्छन् भने संशोधनवादी वा सुधारवादीहरू त्यसको आवश्यकतालाई नै स्वीकार गर्दैनन् । यी दुवै अतिवादी धारणाहरूको खण्डन गर्दै माक्र्सवादले त्यसलाई वैज्ञानिक अध्ययनको विषय मान्दछ । लेनिनको विश्लेषणअनुसार साम्राज्यवादको युगमा समाजवादी क्रान्ति अनिवार्य हुन्छ । समाजवादी क्रान्तिले सदासर्वदाको लागि सबै प्रकारका शोषणहरूलाई निर्मूल गर्दै वर्गहीन शोषणरहित समाजको रचना गर्ने ढोका खोलिदिन्छ ।
यसरी द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद परस्परमा अविभाज्य रूपबाट जोडिएर रहेका, एउटै सत्यका दुईवटा पाटाहरू हुन् । ती दुवै मिलेर नै माक्र्सवादी दर्शनको पूर्ण आकृति तयार हुन्छ र तिनलाई छुट्टयाएर वा एकाअर्काको विरुद्ध उभ्याएर बुझ्न सकिन्न । त्यो भौतिकवादी विश्वदृष्टि र द्वन्द्वात्मक पद्धतिको निरपवादरूपमा अनुसरण गरेर प्रकृति, मानव समाज र चिन्तनका सर्वसामान्य नियमहरूको उद्घाटन गर्दै तिनको बुद्धिमत्तापूर्ण प्रयोगबाट समाजमा क्रान्तिकारी परिवर्तन ल्याउनको लागि बाटो देखाउने एउटा नयाँ दर्शनको रूपमा देखापर्दछ । माक्र्स र एङ्गेल्सको उदयपछि नै दर्शनले सामाजिक क्षेत्रमा आफ्नो वर्गीय अडानको सार्वजनिक घोषाणासहित सचेत र सक्रिय रूपबाट त्यस्तो भूमिका खेल्न थालेको हुनाले नै त्यसलाई ‘दर्शनमा माक्र्सवादी क्रान्ति’ पनि भनिएको छ । पन्ध्रौँ शताब्दीताका युरोपमा पुँजीवादी उत्पादन पद्धति सुरु भएदेखि नै, सामन्तवाद र चर्चको विरोध गर्ने शक्तिहरू बढ्न थालेका थिए । त्यसकै परिणामस्वरूप विज्ञानमा पनि प्रगति हुँदै आएकोले अधिभौतिकवादी र भौतिकवादी विश्वदृष्टिहरूमाझको सङ्घर्षमा तीव्रता देखाप¥यो तर उन्नाइसौँ शताब्दीको पूर्वाद्र्धसम्म पनि जर्मनीमा अन्य युरोपेली मुलुकहरू हेरी, सामन्तवादी शक्तिहरू नै सत्तामा रहिरहेको हुँदा त्यहाँ भौतिकवादी दृष्टि अझै राम्ररी फुल्न फल्न सकेको थिएन । त्यसैले कान्टजस्ता प्रतिबुद्धिवादी र अज्ञेयवादी, हेगेलजस्ता भावनावादी र फायरबाखजस्ता अधकल्चा भौतिकवादीहरूको प्रभाव कायमै रहेको थियो । त्यस बेलासम्मको भौतिकवाद यान्त्रिक र भावनावादी दृष्टिबाट मुक्त हुन नसकेकोले विरोधाभाषपूर्ण देखिन्थ्यो । त्यस्तो पृष्ठभूमिमा वैज्ञानिक तथ्य र सामाजिक यथार्थता यी दुवैको समुचित लेखाजोखा गरेर माक्र्स र एङ्गेल्सले के निष्कर्ष झिके भने यो विश्व आफ्नो मूल प्रकृतिमा भौतिकमात्र नभएर द्वन्द्वात्मक पनि छ र ती दुवैलाई एक अर्काबाट छुट्टयाएर बुझ्नु असम्भव पनि छ । उनले के पनि देखाए भने त्यस्तो द्वन्द्वात्मक भौतिकवाद नै विश्वको सङ्गतिपूर्ण व्याख्या गर्न समर्थ हुन सक्दछ । त्यसरी नै, भौतिकवाद र द्वन्द्ववादको एकत्वले त्यस बेलासम्मको एकपक्षीय चिन्तनशैलीको अन्त्य पनि गरिदिएको थियो । अझ त्यसका साथै समाज र इतिहासको क्षेत्रमा पनि त्यसको प्रयोगमार्फत वैज्ञानिक समाजशास्त्रको सूत्रपात गरिएकोले ऐतिहासिक भौतिकवादको रूपमा त्यो पूर्णतः क्रान्तिकारी दर्शनमा परिणत हुन गयो ।
मुख्यतः कला र यथार्थमानको सम्बन्ध पहिल्याउने समस्या नै सौन्दर्यशास्त्रको आधारभूत दार्शनिक प्रश्न हो । त्यस प्रश्नलाई लिएर युरोपमा विगत दुई हजार वर्षभन्दा बढी समयदेखि चैतन्यवादी र भौतिकवादी चिन्तकहरूबिच प्रचण्ड विवाद चल्दै आएको छ । प्लेटोले सौन्दर्यबोधलाई चिरन्तन, परम, अपरिवर्तनीय एवम् इन्द्रियानुभूतिभन्दा माथिको भावना र कलालाई त्यस परम सत्ताको प्रतिच्छाया मात्र ठाने । त्यसको विरुद्ध सौन्दर्यको भौतिकवादी व्याख्या गर्दै डेमोक्रेटस, अरिस्टोटल, एपिक्यूरस र लुक्रेटियसले त्यसलाई बाह्य जगत्मा आधारित भौतिक पदार्थका गुण, सम्बन्ध, प्रभाव आदिमा खोजे । पछि पुनर्जागरणकालताक सौन्दर्य–चेतनाको सम्बन्धमा सन्त अगस्टिन र थोमस एक्विनासका दैवी प्रेरणासम्बन्धी मध्यकालीन सिद्धान्तहरूको खण्डन गर्दै त्यसको मानवीय तथा यथार्थवादी पक्षमा बढी बल दिइयो । त्यसै क्रममा रुसो, दिदेरो, लेसिंग, होगरथ र पछि शिलर, गेटे आदिले कला र वास्तविक जीवनको घनिष्ठतालाई महत्व दिए तर ती सबै लेखकहरू, केही मात्रामा वस्तुवादी भए पनि अधिभौतिकवादी दृष्टिकोणबाट पूर्णतः मुक्त हुन सकेका थिएनन् । युरोपको दार्शनिक परम्परामा उन्नाइसौँ शताब्दीताक अत्यन्त प्रभावकारी मानिएका कान्ट, हेगेल, फायरबाख आदि चिन्तकहरूबाट पनि कला र यथार्थ माझका सम्बन्धहरूको समस्याबारे कुनै स्पष्ट र चित्तबुझ्दो उत्तर पाउन सकिएन ।
कान्टले विचार र रूप, सौन्दर्यबोध र उपयोगिता आदिबिचका सम्बन्धहरूको व्याख्या गर्दा रूपवादलाई नै बढी प्रश्रय दिए, अनि हेगेलले वस्तुगत चैतन्यवादको आधारमा सौन्दर्यलाई परम सत्ताको अपूर्ण अभिव्यक्ति मात्र ठाने । त्यसैगरी, फायरबाखले आफ्नो नृशास्त्रीय भौतिकवादी कोणबाट भौतिक जगत्लाई कलाको मुहान माने पनि सौन्दर्यात्मक अनुभूतिको व्युत्पति मानव स्वभाव र जीवशास्त्रीय नियमहरूबाटै भएको कुरा माने । हेगेल र फायरबाखका त्यस्ता समाजनिरपेक्ष दृष्टिकोणहरूको आलोचना गर्दै रसियाका बेलेन्स्की चेनिशिब्बुकी, दोब्रोल्यूभजस्ता विचारकहरूले यथार्थवादी कलाको सामाजिक आधार र भूमिका, विचारधारात्मक निर्माणमा त्यसको योगदान, कला तथा साहित्यमा प्रतिबद्धताको समस्या आदि विषयहरूबारे महत्वपूर्ण अभिमत प्रस्तुत गरेर तत्कालीन साहित्य सङ्गीत र चित्रकलाका क्षेत्रहरूमा आलोचनात्मक यथार्थवादको प्रभाव बढाउन सहयोग पु¥याए तापनि तिनको चिन्तन आदर्शवादी समाजवादका धारणाहरूको घेराभित्रै परेकोले वैज्ञानिक हुन सकेको थिएन । माक्र्सवादको उदयपछि अन्य विषयहरूमा झैँ सौन्दर्यशास्त्रको क्षेत्रमा पनि अभूतपूर्व परिवर्तन आयो ।
माक्र्स र एङ्गेल्सद्वारा प्रतिपादित द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादको विश्वदृष्टि नै साहित्य, कला र सौन्दर्यको मूल्याङ्कनसम्बन्धी माक्र्सवादी दृष्टिकोणको पनि मूलाधार हो । उनीहरूले ती विषयहरूका विभिन्न पक्षहरूबारे छुट्टै पुस्तक वा विस्तारपूर्ण विवेचना लेखेका छैनन्, तर विभिन्न ग्रन्थ र समकालीन साहित्यकारहरूसितका दर्जनौँ चिठीपत्रहरूमा छरिएर रहेका सम्बद्ध विचारहरूबाट सौन्दर्यशास्त्रबारे उनीहरूको सर्वाङ्गीण दृष्टि प्रस्तुत हुन जान्छ । यथार्थमा त्यो कुनै पृथक विषय नभएर उनीहरूको वैज्ञानिक तथा क्रान्तिकारी विश्वदृष्टिकोणभित्रकै एउटा अभिन्न अङ्ग हो । द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादको आधारमा उन्नाइसौँ शताब्दीको उत्तराद्र्धदेखि नै सौन्दर्यशास्त्रको विवेचना गर्न थालिएको पनि पाइन्छ, तर माक्र्स र एङ्गेल्सका विचारहरूलाई प्रायः समाजशास्त्रअन्तर्गत व्याख्या मात्र गर्ने सङ्कीर्ण प्रवृत्तिले गर्दा सौन्दर्यशास्त्रको दृष्टिबाट तिनका मूल तथ्यहरूको अर्थवत्ता र मूल्य नै ओझेलमा पर्न जाने खतरा पनि देखा प¥यो । गुणात्मक र सङ्ख्यात्मक दुवै गरी, साहित्य तथा कलासम्बन्धी माक्र्स तथा एङ्गेल्सका विचारहरू माक्र्सवादी सौन्दर्यशास्त्रको रचना गर्न पर्याप्त छन् भन्ने तथ्यहरूलाई दृष्टिगत गरी, समाजवादी सोभियत सङ्घको स्थापनापछि १९१७ देखि १९२९ सम्म त्यहाँका शिक्षामन्त्री रहेका ए.बी. लुनाचास्र्कीको तत्परता र सहयोगमा माक्र्स र एङ्गेल्सका साहित्य तथा कलासम्बन्धी विचारहरूको एउटा ठेलीका साथै त्यस विषयका अन्य पुस्तकहरूको पनि प्रकाशन गरिएको थियो । माक्र्सवादी सौन्दर्यशास्त्रलाई प्रतिष्ठित तुल्याउन तिनले उल्लेखनीय योगदान गरे । त्यसबाट माक्र्सवादमा सौन्दर्यशास्त्रको कुनै स्थान छैन भन्ने आरोप पनि खण्डित भयो । समाजको आर्थिक आधारमा हेरफेर हुनासाथै त्यसैबमोजिम सम्पूर्ण अधिरचनामा पनि उत्तिकै गतिसाथ रूपान्तरण हुन थाल्दछ । साहित्य र कला पनि विचारधारात्मक अधिरचनाका अङ्ग भएकोले आर्थिक भौतिक आधारबाटै अनुकूलित हुन्छन् र भौतिक आधारमा हुने परिवर्तनसँगै परिवर्तित भइरहन्छन् तर त्यो परिवर्तन वा रूपान्तरण यान्त्रिक नभएर जटिल द्वन्द्वात्मक स्वभावको हुन्छ । त्यसैले आर्थिक आधार र कलात्मक रूपहरूमाझको भेदलाई बुझिराख्नु आवश्यक छ । स्वयम् आफूलाई जन्म दिने आर्थिक–भौतिक आधारमाथि र परस्परमा एक अर्कोमाथि पछि गएर सामाजिक चेतनाका त्यस्ता विभिन्न रूपहरूले पनि प्रभाव पार्दछन् ।
यथार्थतः सौन्दर्यका अनुभूति, आस्वादन, अभिरुचि वा आवश्यकताहरू, मनुष्यमा नैसर्गिक वा जन्मजात नभएर सामाजिक अस्तित्वकै प्रतिबिम्ब हुन्, अनि ती उत्पादन, श्रम र दीर्घकालीन ऐतिहासिक विकासका परिणाम पनि हुन् । श्रमले गर्दा नै मनुष्यका ज्ञानेन्द्रिय र कर्मेन्द्रियहरू विकसित भए । भाषाको जन्म र विकास पनि श्रमबाटै भएको हो । सुरुदेखि नै श्रमको स्वरूप सामाजिक रहिआएको छ । त्यसैले, परस्परमा भाव–प्रकाशनको लागि भाषाले पनि क्रमशः आफ्नो रूप ग्रहण गर्दै गयो । यसैले भाषा मानव चिन्तनको भौतिक अभिव्यक्ति हो । श्रमको प्रयासबाटै मनुष्यको हातले त्यो दक्षता प्राप्त गरेको छ जसले गर्दा राफेलको जस्तो चित्रकारी, थोर्वाल्दसेनको जस्तो मूर्तिकला र पागानिनिको जस्तो सङ्गीत उत्पन्न हुनु सम्भव भयो । साहित्य तथा कलालाई ऐतिहासिक विकास र सामाजिक विकासको धरातलबाट अलग्याएर तिनका आन्तरिक विकासका नियमहरूबाट मात्र बुझ्न सकिन्न । त्यसरी निरपेक्ष रूपबाट हेर्ने दृष्टिकोणले गर्दा नै अझसम्म भावनावादी चिन्तकहरूले कला, साहित्य र सौन्दर्यशास्त्रलाई अलौकिक, रहस्यमय, दैवी प्रेरणा वा परम सत्ताको अभिव्यक्ति ठान्दै आएका हुन् । त्यसैले अमूर्तवाद, रूपवाद अन्तर्मुखतावादजस्ता आत्मकेन्द्रित असामाजिक दृष्टिकोणहरूबाट कलाको व्याख्या हुनु असम्भव छ । मानव समाज विभिन्न वर्गहरूमा विभाजित भएपछि कला र साहित्यले पनि वर्गीय स्वरूप ग्रहण गरे र तिनमाथि विशेष वर्गको राजनीति तथा विचारधाराहरूको प्रभाव पर्न थाल्यो । त्यस्तो समाजको वर्गसङ्घर्षमा तिनको पनि महत्वपूर्ण भूमिका रहँदै आएको छ ती शोषकवर्गका सहायक हुन सक्दछन् वा घातक पनि । त्यसकारण, सामन्तकाल तथा बुर्जुवा युगका कला र साहित्यको अध्ययन गर्दा हामीले तिनको प्रगतिशील र प्रतिक्रियावादी पक्षहरूमाझ स्पष्ट अन्त राख्नुपर्दछ । वर्गहरूको पारस्परिक सम्बन्ध युगअनुसार बदलिइरहने हुनाले तिनको भूमिकालाई पनि अचल ठान्न सकिन्न । सामन्तकालमा बुर्जुवा साहित्य र कलाले सिर्फ प्रगतिशील भूमिका निर्वाह गरे, तर सर्वहारावर्गको उदय भएपछि ती प्रतिक्रियावादी पक्षमा उभिन पुगे । सत्ताधारीवर्गको विचार नै प्रत्येक युगमा सत्ताधारी विचार रहँदै आएको छ । पुँजीवादले समाजका सबै कुराहरूलाई, अझ मनुष्यलाई समेत मालतालको रूपमा परिणत गरिदिन्छ पुँजीवादी व्यवस्थामा मनुष्यहरूमाझको सम्बन्ध वस्तुहरूमाझको सम्बन्धमा परिणत हुन्छ । मनुष्यहरूको अमानवीयकरण र व्यक्तित्वलोप हुन पुग्दछ तर सम्पत्तिहरूको भने मानवीकरण हुन जान्छ । त्यसले वास्तविक कविता र कलाप्रति वैरभाव पनि राख्दछ, किनभने तिनका मानवीय मूल्य र आदर्शहरू तथा पुँजीपतिहरूको अमानवीय शोषण र विश्वलाई बजारका रूपमा मात्र हेर्ने विकृत दृष्टिकोणमाझ चर्को अन्तर्विरोध उत्पन्न हुन्छ । यो नै पुँजीवादी व्यवस्थाभित्र कला तथा साहित्यको द्वन्द्वात्मक लक्षण हो । यस्ता अन्तर्विरोधहरूको समाधान सर्वहारा क्रान्ति र त्यसपछिको सामाजिक पुनः रचना पछि मात्र गर्न सकिनेछ ।
साहित्य र कलाले विशिष्ट कलात्मक प्रतिकृति वा बिम्बहरूद्वारा आफ्नै खास किसिमबाट विश्वलाई प्रतिबिम्बित मात्र गर्दैनन् । ती यथार्थलाई बुझ्ने माध्यम र सामाजिक परिवर्तन ल्याउन सक्ने सशक्त साधन पनि हुन् । त्यसै कारण प्रवृत्ति र शैली दुवै रूपमा यथार्थवाद साहित्य तथा कला क्षेत्रको एउटा ठुलो उपलब्धि हो । तर, त्यो सामाजिक वस्तुस्थितिको ठाडो नक्कल वा निष्क्रिय वर्णन मात्र नभएर समकालीन यथार्थको भित्रसम्म पसेर त्यसको सारतत्व झिक्ने, त्यसको विशिष्टता, उदीयमान र अग्रगामी प्रवृत्तिहरू द्वन्द्व र सङ्घर्षहरू तथा सर्वसामान्य परिस्थितिमा सर्वसामान्य चरित्रहरूको पुनः रचना र साधारणीकरण गर्ने कलात्मक विधि पनि हो । विश्वसाहित्यको इतिहासमा शेक्सपियर, बाल्जाक, तुर्गनेभ, गोगोल, पुश्किन, सेर्वान्तेस, गेटे, डिकेन्स, थैकरे, गैस्कल, दाँते, इस्खिलस, स्विफ्ट बोल्तेयर, दिदेरो, रुसो, चेर्निशेब्स्की, दोब्रोल्युबोभ आदिको उल्लेखनीय स्थान र लोकप्रियताको व्याख्या पनि त्यसै आधारमा गर्न सकिन्छ ।
साहित्य र कलामा प्रयोजन, सोद्देश्यता र प्रतिबद्धताको निर्विवाद महत्व हुन्छ तर त्यसको अर्थ तिनलाई अर्ती उपदेश, आदेश, नाराबाजी वा पर्चा–पोस्टरमा सीमित गरिदिनु होइन । यसबारे एड्गेल्सले मीना काउत्स्कीलाई लेखेको पत्रमा भनेका छन् –
साहित्य र कलाको प्रयोजन, स्वयं स्थिति तथा क्रियाकलापमार्फत नै, त्यसलाई विशेष रूपबाट लक्षित नगरिकनै प्रकट हुनुपर्दछ र आफूले वर्णन गरेका सामाजिक द्वन्द्वहरूको भावी ऐतिहासिक समाधानलाई पाठकसामु पूर्वनियोजितरूपमा प्रस्तुत गरिदिनु लेखकको काम होइन । साहित्यमा विचार र कला दुवैको राम्रो संयोजन तथा एकता हुनु आवश्यक छ । त्यसकारण, रूपवाद र प्रकृतिवाद दुवै एकपक्षीय हुनाले अमान्य छन् । माक्र्स र एङ्गेल्सद्वारा फर्डिनान्ड लासाललाई लेखिएका केही पत्रहरू पनि यथार्थवादको माक्र्सवादी व्याख्या बुझ्नका लागि अतिशय महत्वपूर्ण दस्ताबेज हुन् ।
माक्र्सवादी सौन्दर्यशास्त्रमा विशेषतः सामाजिक चेतना तथा भौतिक धरातलमाझको सम्बन्ध र त्यसमा आर्थिक आधारको निर्णायक भूमिका, साहित्य र कलाको वर्गीय स्वभाव, विषयवस्तु र शैली (विचारधारा र कला) बिचको सम्बन्ध यथार्थवाद र समाजवादी यथार्थवादको स्वरूप आदि विषयहरू नै प्रमुख वादविवादका केन्द्र रहिआएका छन् । माक्र्सवादका आलोचकहरूले मात्र हैन, स्वयम् माक्र्सवादीहरूले पनि त्यसबारे विभिन्न प्रश्नहरू उठाएको र मतभेद प्रकट गरेको देखिन्छ तर समग्रतामा हेर्दा त्यस्तो स्थिति मुख्यतः माक्र्सवादको जडसूत्रवादी व्याख्या र उदारवादी व्याख्यामाझका अन्तर्विरोधहरूबाट उत्पन्न हुने गरेको छ । त्यो द्वन्द्वात्मक भौतिकवादलाई अति सरलीकरण गरेर हेर्ने प्रवृत्तिको परिणाम पनि हो । विचारधारालाई राजनीतिक आर्थिक विचारमा मात्र सीमित नगरिदिएर त्यसमा सम्पूर्ण मानवीय मन जगत्का सूक्ष्म पक्षहरूलाई पनि समाविष्ट गर्ने र विचारलाई ठाडै साहित्य तथा कलामाथि थोपरिदिने, आर्थिक, भौतिक आधार अन्तिम विश्लेषणमा निर्णायक भए पनि त्यसमाथि अधिरचनाको समेत प्रभाव पर्ने, विशेषतः कला र साहित्यका आफ्नै विशिष्टता र खास नियमहरूलाई दृष्टिगत गरी तिनको सापेक्ष स्वायत्ततालाई स्वीकार गर्ने अन्तर्वस्तु पनि रूपबाट प्रभावित हुने आदि आधारभूत द्वन्द्वात्मक भौतिकवादका मान्यताहरूको अस्पष्ट समझदारी वा अवहेलनाले गर्दा पनि त्यस्ता अधिकांश विवादहरू उठेका हुन् ।
– ‘गोविन्द भट्टका दार्शनिक रचनाहरू’ बाट
Leave a Reply