भर्खरै :

नेपाललाई आत्मनिर्भर बनाउनेतर्फ चिन्तनमनन गरौँ !

नेपाललाई आत्मनिर्भर बनाउनेतर्फ चिन्तनमनन गरौँ !

देशलाई आत्मनिर्भर बनाउनको निम्ति शासक दलहरूको पहलमा सरकारले कुनै पनि पूर्वधारहरू तयार गरेको देखिँदैन । विदेशीहरूको भरमा बस्ने, विदेशी शक्ति राष्ट्र या दातृ राष्ट्रहरूको सहयोगमा देश चलाउने शासक दलहरूको दूषित मान्यताले देश आत्मनिर्भरतर्फ त के विकासशील देशतर्फ पनि उन्मुख हुनेछैन । बहुदल र गणतन्त्रपछि बनेका सत्तासीन दलका नेताहरूमा अहिले पनि विदेशी शक्ति राष्ट्र या दातृ राष्ट्रहरूकै भरमा देश चलाउने दास मानसिकता छ । हरेक देश स्वावलम्बी बन्नुपर्छ या स्वावलम्बी बनाउने प्रयास गर्नुपर्छ । जसरी भए पनि ठुलो दल बनाउने र सरकारको नेतृत्व गरेर रजाइँ गर्ने, ऐøयासी जीवन बिताउने, भागबन्डा गर्ने, पदको दुरूपयोग गरी अकुत सम्पत्ति कुम्ल्याउने, सिद्धान्त र विचार बन्धक राखेर गठबन्धन गर्नेतर्फ सत्तासीन दलका नेता, मन्त्री र सांसदहरूको ध्यान गएको हुँदा देश झन्झन् परनिर्भर हुँदै गएको हो । अरुको भरमा बसेको, टिकेको सरकारले कहिले पनि देशलाई विकासको उचाइमा पु¥याउन सक्दैन; सही मार्गमा लान सक्दैन । अहिले भइरहेको यही हो । यही कारण देशको आर्थिक स्थिति दयनीय छ ।
छिमेकी देश भारतले बेलाबखत नाकाबन्दी गरेर नेपाल र नेपाली जनतालाई समस्यामा पारेकै हो; नेपाली जनजीवनलाई अप्ठेरोमा पारेकै हो । अहिले साम्राज्यवादी देश अमेरिकाले नेपाललगायत विभिन्न देशमा आर्थिक सहयोग र विकास कार्यमा रोक लगाएको छ । भारतले पनि आर्थिक सहयोग र विकास योजनामा रोक लगाउन सक्छ । यसरी नै अरु देशले पनि सहयोग र साथ दिएन, आवश्यक सामान पठाएन भने नेपालको हालत के हुन्छ ? नेपाली जनताले कसरी जीवन बिताउने ? पेट्रोलियम पदार्थ नपठाउँदा हाहाकार भएको देशमा अरु कुनै पठाएन भने के देशमा आर्थिक सङ्कट हुँदैन ? जनजीवन कष्टकर हुँदैन ? देशमा हाहाकार भयो भने, खान लाउन पाएन भने के जनता सहेर बस्छन् ?
अबदेखि देशलाई आत्मनिर्भर बनाउन कुन कहाँ उद्योगधन्दा, कारखाना या संस्थानहरू खोल्न सकिन्छ, त्यतातर्फ सरकार लाग्नुपर्छ । देशमा रहेका स्रोत र साधनको उपयोग गरी उत्पादन बढाउनेतर्फ लाग्नुपर्छ । देशको जनशक्तिलाई अधिकतम उपयोग गरी नेपाली जनतालाई काम दिनुपर्छ । योग्यताअनुसार काम र कामअनुसारको ज्याला दिनुपर्छ । विदेशी पलायन रोकेर आफ्नै नेपाली भूमिमा आफनो श्रम, समय, सीप र अनुभव आफ्नै देशमा उपयोग गर्नुपर्छ । बिनाभेदभाव योग्यता र क्षमताको आधारमा नेपाली नागरिकलाई काम दिनुपर्छ । भेदभाव गरियो, असमान व्यवहार भयो र सत्तामुखी राजनीति भयो भने सबैले समान अवसर पाउँदैनन् ।
तर, सरकार या सत्तासीन दलका नेताहरू अहिलेसम्म चेतिएका छैनन्† बिउँझिएका छैनन् । विदेश पलायन भएका, विदेशमा रम्न चाहेका नेपाली नागरिकहरूलाई अमेरिकाको ट्रम्प सरकारले झैँ निकाल्न थाल्यो भने नेपालीको स्थिति के होला ? फागुन २२ गते प्रकाशित ‘अन्नपूर्ण पोष्ट’ दैनिकमा ‘९० लाख खर्चिएर अमेरिका पुगे, हत्कडी लागेर स्वदेश फर्किए’ शीर्षकको समाचार छापियो । समाचारमा ८ जनाको हातमा हत्कडी र खुट्टामा नेल लगाइएको उल्लेख छ । अमेरिका पुग्नको निम्ति उनीहरूले ५० लाखदेखि ९० लाख खर्च गरेको बताइएको छ । विमानमा राखेको २४ घण्टासम्म उनीहरूलाई हत्कडी र खुट्टामा चेनसमेत लगाइएको थियो । अमेरिकी प्रशासनले नेपालीहरूप्रति गरेको यो व्यवहार निन्दनीय छ । मानिसलाई पशुजस्तो व्यवहार गर्ने अमेरिकी प्रशासनको क्रूर तथा अमानवीय कामको जति निन्दा र भत्र्सना गरे पनि पुग्दैन ।
शासक दलका नेताहरूको विदेशमुखी प्रवृत्ति र कार्यशैलीको कारण देश आर्थिक सङ्कटमा पर्ने र नेपाली जनता हाहाकार हुने विश्लेषण र टिप्पणी राजनीतिक विश्लेषक र परराष्टविद्हरूले गर्न थालेका छन् । सरकार ठुलठुला व्यापारी, धनाढ्य, उद्योगपतिसँग कर उठाउन चाहँदैन । सरकार प्रगतिशील कर लागु गर्दैन । अझ सरकार तिनै उद्योगपति, ठुलठुला व्यापारीलाई कर छुट दिन्छ, सरकारले सेवा सुविधा दिन्छ । ठुलावर्गलाई पोसेर गरिब जनतालाई पेल्ने, चुस्ने काम सरकारले गरिरहेको छ । सरकारले बजेट मात्र बढाउने होइन बजेट व्यावहारिक हुनुपर्छ; बजेट सन्तुलित हुनुपर्छ; बजेट देशलाई आत्मनिर्भर बनाउनेतर्फ उन्मुख हुनुपर्छ । अब सरकार विदेशमुखी हुनुहुँदैन । अब सरकार विदेशको भरमा होइन आफ्नै खुट्टामा उभिएर अघि बढ्नुपर्छ । देशलाई आत्मनिर्भर बनाउनेतर्फ योजना अघि सार्नुपर्छ । सरकारको आफ्नो कार्यकाल पूरा गर्नु नै उपलब्धि होइन; त्यो आफ्नो दायित्व हो । नेपाल जोगाउने, नेपाल बनाउने, नेपाली जनताको जीवन सुनिश्चित गर्नेतर्फ सरकार अघि बढ्नुपर्छ । त्यसैमा नेपाल र नेपाली जनताको कल्याण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *