भर्खरै :

प्रदूषण फाल्ने उद्योगहरू उपत्यका बाहिर स्थानान्तरण गर्नुपर्ने

प्रदूषण फाल्ने उद्योगहरू उपत्यका बाहिर स्थानान्तरण गर्नुपर्ने

भक्तपुर, २३ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा समाज सुधार माध्यमिक विद्यालयको ५४ औँ वार्षिकोत्सवको अवसरमा शिक्षक सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम शुक्रबार सम्पन्न भयो । सोही अवसरमा प्रमुख प्रजापतिले विद्यालयले प्रकाशन गरेको स्मारिका पनि विमोचन गर्नुभयो ।
कार्यक्रममा उहाँले भक्तपुर औद्योगिक क्षेत्रका केही उद्योगहरूले वर्षौँदेखि कर नतिरेको कारण त्यस्ता उद्योगहरूमा तालाबन्दी गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।
उहाँले जनताको स्वास्थ्यमा असर पर्ने गरी प्रदूषण गर्ने उद्योगहरू सञ्चालन गरी नाफा खाने तर नगरपालिकालाई कर नतिर्ने उद्योगहरू अब उपत्यका बाहिर स्थानान्तरणको विकल्प नभएको बताउनुभयो ।
उहाँले स्थानीय जनताको मागबमोजिम ती उद्योगहरू स्थानान्तरणको लागि नेपाल सरकारसमक्ष पहल गरिरहेको पनि जानकारी दिनुभयो ।
नेपालमा दुईथरीको शिक्षा नीतिको कारण सरकारी र निजी क्षेत्रका विद्यालयबिच शैक्षिक गुणस्तरमा भिन्नता भए पनि भक्तपुर नगरपालिकाभित्र सञ्चालित सामुदायिक र निजी विद्यालयबिच शैक्षिक गुणस्तरमा थप वृद्धिका लागि प्रतिस्पर्धाको नीति नगरपालिकाले लिएको बताउनुभयो ।
उहाँले सामुदायिक विद्यालयले शैक्षिक गुणस्तरमा उत्कृष्टता प्रदान गर्न नसकेसम्म निजी विद्यालयको औचित्य कायम रहिरहने बताउनुभयो ।
उहाँले विद्यार्थीलाई पढाइसँगसँगै असल व्यवहार, स्वयम्सेवी भावना, देश र जनताको सेवा गर्ने विचार र इमानदारीपूर्वक काम गर्ने तथा श्रमलाई माया गर्नुपर्ने शिक्षा पनि शिक्षकहरूले दिनुपर्ने बताउनुभयो ।
शिक्षकहरूले विद्यार्थीहरूलाई पढाउने मात्रै नभई भविष्यको समाज निर्माण गरिरहेको भन्ने सोचले काम गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
सार्वजनिक मावि संयुक्त परीक्षा समितिका प्रतिनिधि एवम् नेपाल क्रान्तिकारी शिक्षक सङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष गणेशराम थुसाले शिक्षालाई अघि नबढाएसम्म देश पछि पर्ने विचार व्यक्त गर्नुभयो ।
संविधानअनुसार शिक्षा निःशुल्क र अनिवार्य नभएको विचार व्यक्त गर्दै उहाँले सरकारले शिक्षामा पर्याप्त बजेट नराख्दा विद्यालयमा समस्या देखिएको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले आजभन्दा चार दशक अगाडिसम्म भक्तपुर शैक्षिक क्षेत्रमा निकै पछाडि रहेको बताउँदै उहाँले शिक्षा, स्वास्थ्य, सरसफाइलगायतका क्षेत्रमा भक्तपुरले परिवर्तन गरेको बताउनुभयो । जनताको साथ र सहयोगमा यहाँको विकास निर्माण कार्य अगाडि बढेको बताउँदै उहाँले विद्यार्थीहरूलाई नैतिकवान् र देशभक्त नागरिक बन्न प्रेरित गर्नुपर्ने बताउनुभयो ।
विद्यालयका पूर्वप्रअ लक्ष्मीनारायण दुवालले जीवनमा बाँचिरहन सङ्घर्ष गर्नुपर्ने आवश्यकता औँल्याउँदै विद्यालयको शैक्षिकस्तर उठाउन पनि शिक्षक, अभिभावक र विद्यार्थीले सङ्घर्ष गर्नुपर्छ भन्नुभयो ।
विद्यालयका प्रधानाध्यापक जगन्नाथ प्रजापतिले विद्यालयको वार्षिक प्रगति प्रस्तुत गर्दै विद्यालयमा न्यून आय भएका अभिभावकका छोराछोरी अध्ययन गरिरहेको बताउँदै विद्यालयको गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा जोड दिँदै आएको बताउनुभयो ।
समाज सुधार मावि व्यवस्थापन समितिका अध्यक्ष राम प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा कक्षा ९ का विद्यार्थी युनिसा प्रजापतिले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा नगर प्रमुख प्रजापति र अन्य अतिथिहरूले शिक्षकहरूलाई सम्मान, विद्यार्थीहरूलाई पुरस्कार वितरण तथा सेवा निवृत्त शिक्षक र एसईई उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान तथा मायाको चिनो प्रदान गर्नुभएको थियो ।
अतिथि प्रजापतिले धिमेको धुनमा उद्घाटन गर्नुभएको सो कार्यक्रममा विद्यार्थीहरूको विभिन्न सांस्कृतिक कार्यक्रम देखाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *