भर्खरै :

सन्दर्भ : मार्च ३ ‘लेखन दिवस’ – मौन समय

सन्दर्भ : मार्च ३ ‘लेखन दिवस’ – मौन समय

हरेक दिन मेरो दिनचर्या उस्तै थियो । म बिहान ६ बजे कलेज जान्थेँ र बिहान १० बजे खाना खान घर फर्कन्थेँ । त्यही सानो विश्रामको समयमा घर फर्कँदै गर्दा मैले उनलाई देखेँ, त्यो वृद्ध मानिस आफ्नो घरबाट बाहिर निस्किँदै थिए, आफ्नी बुहारीको सहारामा । उनको कमजोर शरीर बिस्तारै चलिरहेको थियो, तर उनको अनुहारमा आफ्नो दिनचर्याको शान्त स्वीकृति झल्किरहेको थियो । उनकी बुहारीले उनलाई सावधानीपूर्वक बाहिर परालको सुकुलमा लगिन्, जहाँ बिहानको घामले उनलाई न्यानो स्वागत गरिरहेको हुन्थ्यो । उनी आँखा बन्द गरेर आरामसँग बसे, मानौँ सूर्यको हरेक किरणलाई सोस्दै र सूर्यलाई धन्यवाद दिँदै ।
खाना खाएर ११ः३० बजे फेरि कलेजको लागि निस्किएँ । बुढो मानिस आफ्नो ओछ्यानमा बसिरहे, कुनै हलचल नगरी वरपरको संसारलाई हेर्दै । उनी न त कुनै पत्रपत्रिका पढिरहेका थिए न त उनको हातमा कुनै किताब थियो । उनी त्यहीँ बसिरहेका थिए, जीवन बितिरहेको हेर्दै ।
सधैझैँ दिउँसो ३ बजे कलेजबाट फेरि घर फर्किएँ, मैले उनलाई फेरि देखेँ । यसपटक उनी आफ्नी बुहारीको सहयोगमा घरभित्र छिर्ने तयारी गर्दै थिए । उनले धैर्यपूर्वक उसलाई मद्दत गरेको तरिकाले मलाई सोच्न बाध्य बनायो, के यो उनको दिनको मुख्य आकर्षण थियो ? चिसो, शान्त कोठामा फर्कनु अघि केही घण्टा घाममा बिताउने ?
म प्रायः उनको बारेमा सोचिरहेको हुन्थेँ । दिनभरि उसले घरमा कसरी बिताए होला ? घाम तापिरहँदा के सोचेर बस्छन् होला ? पढ्ने र लेख्ने बानी नहुँदाको अवस्थामा आफ्नो समय कसरी बिताउँदो हो ? उनलाई व्यस्त राख्ने कुनै किताब थिएन, ढोका बाहिरको संसारको बारेमा बताउन कुनै पत्रपत्रिका थिएन, विगतको सम्झना गराउन पुराना साथीहरूबाट कुनै सन्देश आएन । लेख्ने बानी नहुँदा उनी आफ्ना विचार वा सम्झनाहरू लेख्न पनि असमर्थ थिए ।
उनी ओछ्यानमा बसिरहेका थिए, भित्तातिर हेरिरहेका थिए, कसैसँग कुरा गर्न पाइन्छ कि भन्ने आशा थियो होला सायद । सायद, आफ्नो युवावस्थाका क्षणहरूलाई आफ्नो दिमागमा दोहो¥याइरहेका थिए । अथवा हुनसक्छ उनले सुनिरहेका थिए, बाहिर खेलिरहेका केटाकेटीहरूको टाढाको हाँसो, पातहरूको कोमल सिरिङ्ग आवाज, समय बितिसक्दाको ढिलो, टिकटिक आवाज ।
यही सोचले मेरो दिमागमा गहिरो उदासी क्षण भरिँदै गयो । यदि उनमा पढ्ने र लेख्ने बानी भएको भए, उनको दिन यति धेरै न्यास्रो हुने थिएन । शरीर कमजोर भए पनि किताबहरूले उनलाई कहिल्यै नदेखेका ठाउँमा लैजान सक्थे, कथाहरूले आनन्द दिन सक्थे । यदि उनी लेख्न सक्थे भने, उनले ज्ञानको भण्डार आगामी पुस्तालाई छोड्न सक्थे, उनका विचार, उनका सङ्घर्ष र उनका सपनाहरू एक दिन उनका नातिनातिनाहरूले पनि पढ्न सक्थे । केही लेख्ने साधारण बानीले पनि उनलाई हरेक दिनको लागि केही न केही उत्सुकता दिन सक्थ्यो र दीर्घायु हुने आशा जीवितै हुन्थ्यो । जिउनुको सार्थकता पनि बुझ्थे ।
एक दिन, म हतारमा थिएँ । म आफ्नो वरपरको कुरामा ध्यान नदिई खानाको लागि घर दौडेँ । बिहान ११ बजे कलेज फर्किँदा, मैले उनको घरतिर हेरिनँ । अनि दिउँसो ३ बजे, म घर फर्कँदा मलाई फरक महसुस भयो । ओछ्यान थिएन र उनी पनि थिएनन् । ठाउँ खाली थियो । घर असामान्यरूपमा शान्त देखिन्थ्यो ।
सुरुमा मैले बेवास्ता गरेँ, सोचेँ कि सायद उनलाई सञ्चो थिएन होला । तर, भोलिपल्ट पनि उनी हराइरहेका थिए । अनि भोलिपल्ट, मेरो छातीमा एउटा अनौठो बेचैनीले डेरा जमाएको थियो ।
मैले खबर सुनेँ । उनी यो संसारबाट बिदा भइसकेका थिए ।
ममाथि गहिरो सन्नाटा छायो । मैले उनलाई हरेक दिन देखेको थिएँ, उनको दिनचर्या अवलोकन गरेको थिएँ, उनको विचारको बारेमा सोचेको थिएँ । तर पनि, मैले कहिल्यै उनीसँग कुरा गरेको थिइनँ । मैले उनलाई कहिल्यै उनको जीवनको बारेमा सोधिनँ । अब, ती सबै नभनिएका शब्दहरू, ती सबै नभनिएका कथाहरू सदाको लागि हराए ।
त्यो रात, म खाटमा पल्टिरहेको थिएँ । मैले एउटा नोटबुक र कलम उठाएँ, मैले मेरो नोटबुकको खाली पानालाई हेरेँ । एउटा अनौठो भारीपनले मेरो मन भरियो । उनीसँग छोड्नको लागि कुनै शब्द थिएन, रेकर्ड गर्न कुनै कथा थिएन, लेख्न कुनै पत्र थिएन । उनका विचार, उनका अनुभव र उनको मौन एक्लोपन – सबै कुरा उनीसँगै गायब भए ।
मैले पहिले कहिल्यै महसुस नगरेको जरुरी महसुस गर्दै कलम उठाएँ । यदि उनी आफ्नो कथा लेख्न सक्दैनन् भने, सायद हामीले लेख्नुपर्छ ताकि उनलाई जस्तै अरूलाई नबिर्सियोस् । हामीले संसारलाई सम्झाऔँ, एउटा साधारण ‘पढ्ने–लेख्ने’ बानीले खाली समय भर्न सक्छ, आत्मालाई मौनतामा डुब्नबाट बचाउन सक्छ । एकपटक लेखिएका शब्दहरूले सबैभन्दा लामो र अँध्यारो दिनहरूमा पनि उज्यालो ल्याउन सक्छ । किनभने, जीवनको अन्त्यमा, शब्दहरू केबल कागजमा छरिएको मसीमा सीमित हुँदैनन् ।

लेखन संस्कृति विकास गरौँ, गल्ती होला भनी नडराऔँ !
लेखन दिवसको सबैमा शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *