भर्खरै :

११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा क्रान्तिकारी महिलाबिच प्रवचन कार्यक्रम

११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा क्रान्तिकारी महिलाबिच प्रवचन कार्यक्रम

काठमाडौँ, २४ फागुन । ११५ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा त्रिवि केन्द्रीय क्याम्पसको अडिटोरियम हलमा शनिबार प्रवचन कार्यक्रम सम्पन्न भयो । नेपाल क्रान्तिकारी महिला सङ्घद्वारा आयोजित उक्त कार्यक्रममा विभिन्न वक्ताहरूले विचार राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव तथा सङ्घीय सांसद प्रेम सुवालले महिला शिक्षित भए सिङ्गो समाज अगाडि बढाउन मद्दत पुग्ने र शिक्षित समाजले पृथ्वीको उत्पति र मानव समाजको विकासबारे विज्ञानसम्मत ढङ्गले बुझ्न सक्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “जीव विकासको सिद्धान्त डार्विनले पत्ता लगाए । माक्र्स–एङ्गेल्सले मानव समाज जङ्गली अवस्था, आदिम साम्यवाद, दास युग, भूदास युग हुँदै सामन्तवाद, पुँजीवाद पार गर्दै समाजवाद र साम्यवादसम्म पुग्ने नियम पत्ता लगाउनुभयो । ढिलो वा चाँडो समाजवाद र साम्यवादमा पुग्नेछ । यसलाई कसैले रोक्न सक्ने छैन ।”
आदिम साम्यवादमा व्यक्तिगत सम्पत्ति थिएन । विवाह, परिवार र व्यक्तिगत सम्पत्तिसँगै समाज वर्गमा विभाजन भयो । राजा महाराजाहरू देखा परे । बेलायतको पुँजीवादी क्रान्तिमा राजा महाराजाहरू समाप्त भयो । युरोप र अमेरिकाको सामन्तवादविरूद्धको सङ्घर्षमा कामदार वर्गले पुँजीपति वर्गलाई साथ दिएको थियो । पुँजीपति वर्ग सत्तामा पुगेपछि कामदार वर्गमाथि दमन यथावत भयो, उहाँले भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “नेपालमा २००७, २०४६ र २०६२/६३ सालको आन्दोलनमा नेपालका कामदार वर्गले साथ दिएको थियो । तर, सरकारहरू पुँजीपति वर्गको सञ्चालक समितिको रूपमा अगाडि बढ्यो ।”
सन् १८७१ को पेरिस कम्युनले मजदुर वर्गको पहिलो सरकार गठन भएको तर, मजदुर वर्गको पार्टी विकास भइनसकेको हुँदा त्यो सरकार ३ महिनामा विघटन भएको उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “सन् १९७१ को अक्टोबर समाजवादी क्रान्तिले सोभियत सङ्घ स्थापना ग¥यो । लेनिन र स्तालिनको नेतृत्वमा १८–२० वर्षमा रूस संसारको दोस्रो अर्थतन्त्र बन्यो । सोभियत सङ्घले संसारका धेरै देशका विद्यार्थीलाई छात्रवृत्तिमा उच्च शिक्षामा पढायो ।”
कम्युनिस्ट पार्टीभित्र घुसेका प्रतिक्रियावादीहरूले लेनिन र स्तालिनको हत्या गरेपछि नेतृत्वमा आएका ख्रुश्चेभ, ब्रेजनेभ, गोर्वाचोभ, एल्सिनले रूसलाई पुँजीवादमा पतन गरायो, सचिव सुवालले भन्नुभयो ।
उहाँले भन्नुभयो, “सोभियत सङ्घ नेतृत्वको समाजवादी देशहरूको सङ्गठन वार्सा प्याक्ट खारेज गरियो । तर, अमेरिकी नेतृत्वको नाटो सैन्य सङ्गठन यथावत छ । नाटो सैन्य सङ्गठनमा ३२ देश पुग्यो । अमेरिकी साम्राज्यवादले युक्रेनलाई नाटोमा सदस्य बनाउन हतियार पठाउँदै रूसविरूद्ध युद्ध गराएको हो । युक्रेनको उर्वर भूमि अमेरिकी कम्पनीहरूले किनेका छन् । राष्ट्रपतिमा ट्रम्पको पुनरागमनसँगै युक्रेनको दुर्लभ खनिज कब्जा गर्ने तयारी गर्दै छ ।”
युरोप र अमेरिकाले प्यालेस्टिनको तेल, ग्यास र भूमिगत पानी भण्डारण कब्जा गर्न इजरालयललाई हतियार पठाएर आक्रमण गराएको सचिव सुवालले प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “सरकारहरूले नेपालको नदीनाला, हरियो वन, खनिज भारतलाई दिइसके । दैलेखको पेट्रोल उत्खनन् पनि भारतले कब्जा गर्ने तयारी गर्दै छ । गरिब देशको खनिज र प्राकृतिक स्रोत संसारका शोषकहरूले कब्जा गर्दै आएका छन् ।”
सचिव सुवालले भन्नुभयो, “सरकारले अमेरिकासँग गरेको एमसीसी सम्झौता नेपालको बिजुली भारतलाई कब्जा गराउने जाल हो । सरकारहरूले करोडौँ युवालाई वैदेशिक रोजगारीमा पठाएर दाल, चामल, तरकारी, फलफूल भारतसँग महँगोमा किनिरहेको देशघात हो ।”
इतिहासका विभिन्न कालखण्डमा नेपाल क्रान्तिकारी महिला सङ्घले खेलेको क्रान्तिकारी भूमिबारे चर्चा गर्दै नेमकिपा काठमाडौँ अध्यक्ष नारायण महर्जनले भन्नुभयो, “महिलाहरू राजनीतिकरूपमा शिक्षित र सचेत नबनेसम्म समाजवादी आन्दोलन अगाडि बढ्न गा¥हो हुन्छ ।”
सोभियत रूसले केही दशकमै महिलाको जीवनस्तर उकासेको चर्चा गर्दै वाग्मती प्रदेशसभा सदस्य सिर्जना सैँजुले भन्नुभयो, “केवल महिलावादी हुने भन्दा पनि माक्र्सवादी विचारले महिलाको मुक्ति हुन्छ ।”
महिलाहरू पुँजीवाद र साम्राज्यवादी युद्ध दुवैबाट प्रताडित भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “अबको आन्दोलन पुँजीवाद र अन्तर्राष्ट्रिय स्तरमा साम्राज्यवादविरूद्ध हुनुपर्छ ।”
नेमकिपाकी सल्लाहकार नर्मा गुरूङले कामदार वर्गका महिलाहरूको उत्सव श्रमिक महिला दिवसको इतिहासबारे चर्चा गर्नुभयो । उहाँले महिलाहरू दुई वर्गमा विभाजित रहेको हुँदा शासक महिलाहरूले ‘श्रमिक महिला दिवस’ को नाममा बजेट निकासा गरेर ठुला होटलमा कार्यक्रम गर्ने तर तल्लो वर्गका महिलाले पुरूष र समाजको डर तथा लाजका कारण धेरै समस्या झेलिरहेको बताउनुभयो ।
संसारका विभिन्न क्रान्तिकारी वीरङ्गाना व्यक्तित्वहरू र श्रमजीवी जनताको पक्षमा उहाँहरूले गर्नुभएको कठोर सङ्घर्षबारे नेक्रामसङ्घकी केन्द्रीय कोषाध्यक्ष रोशनमैँया सुवालले विस्तारपूर्वक बताउनुभयो । नेपालका महिला तथा पुरूष दुवैलाई राज्यसत्ताले नै विदेश पठाएको अनेक पीडा दिइरहेको स्मरण गर्दै उहाँले भन्नुभयो, “हाम्रो शत्रु पुरूष होइन, पुँजीवादी सोचका शासकहरू हुन् ।”
प्रवचन कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य गीता काफ्लेले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई वर्गीय मुक्तिको ऐतिहासिक दिन भन्नुभयो । शासक दलभित्रै बलात्कारी र महिला हिंसामा मुछिएका व्यक्तिहरू नेता भएको चर्चा गर्दै उहाँले शासक महिलाहरूले व्यक्तिगत स्वतन्त्रताको विषय मात्र उठाएर महिला दिवसको फलाको गरिरहेको बताउनुभयो ।
नेक्रामसङ्घ केन्द्रीय सदस्य पवित्रा शाहीले मन्त्रिपरिषद्, स्थानीय निकाय तथा कर्मचारीतन्त्रमा थोरै संख्यामा महिलाहरूको सहभागिता भइरहे तापनि शैक्षिक तथा वर्गीय रूपमा महिलाहरू सक्षम नहुञ्जेल दुईचार महिला अघि बढ्दैमा समाजमा समग्र महिलाको स्तर नउकासिने बताउनुभयो ।
कार्यक्रममा विचार राख्दै नेक्रामसङ्घ केन्द्रीय सदस्य मञ्जु चौधरीले पुँजीवादी समाजमा महिलालाई वस्तुको रूपमा हेरिने भन्नुभयो । अन्तर्राष्ट्रिय महिला दिवसलाई ‘नारी दिवस’ भन्दै शासक महिलाहरू सस्तो नाचगान र बियर पार्टीमा रमाइरहेको उहाँले बताउनुभयो ।
देशमा विद्यमान विभिन्न कूप्रथाबारे चर्चा गर्दै उहाँले सामाजिक, आर्थिक र राजनीतिक दृष्टिले पिछडिएका महिला नै तराईमा चक्रीय मिटरब्याजीले प्रताडित रहेको बताउनुभयो ।
नेक्रामसङ्घ सुर्खेतकी अध्यक्ष तुल्सी खड्काले अन्धविश्वास तथा चेतनाको अभावका कारण कर्णालीका महिलाहरूको खस्किँदो जीवनस्तरबारे विस्तारपूर्वक बताउनुभयो ।
छाउपडी, बालविवाह तथा पाठ्यघर खस्ने जस्ता समस्याले कर्णालीका महिलाहरू पीडित रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “सरकारले छाउपडी त भत्कायो तर मनको डर भत्काउन सकेन । पहिले भत्काएका छाउगोठ फेरि बनाइएको छ । दिदीबहिनीमा राजनीतिक चेतना नहुनाले पश्चिममा महिलाले छाउगोठ प्रथाको प्रतिकार गर्न सक्दैनन् ।”
प्रवचन कार्यक्रममा जनगायक विनोद विक, जनगायिका सपना शाही तथा विद्यार्थी मनिषा थापाले क्रान्तिकारी गीत–कविता प्रस्तुत गर्नुभएको थियो भने आस्था सांस्कृतिक परिवारका कलाकारहरूले क्रान्तिकारी नृत्य प्रस्तुत गर्नुभएको थियो ।
नेक्रामसङ्घ केन्द्रीय अध्यक्ष अनुराधा थापामगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सुलोचना छ्वाजुले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *