दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीमाथि आपराधिक मुद्दा
- आश्विन ८, २०८२
माक्र्स र एङ्गेल्सले सामाजिक अधिरचना र भौतिक आधारमाझको सम्बन्ध यान्त्रिक नभएर जटिल तथा द्वन्द्वात्मक रहने तथ्यतर्फ बरोबर सतर्क पारेका छन् । हो, कला सामाजिक विकासका सर्वसामान्य नियमहरूकै अन्तर्गत रहने र तिनबाट सञ्चालित हुने गर्दछ । तर, चेतनाको विशेष रूप भएकोले त्यसका आफ्नै नियम र खास स्वभाव हुन्छन् भन्ने कुरालाई पनि बिर्सन सकिन्न । उदाहरणको लागि आज पनि हामीलाई सौन्दर्यात्मक आनन्द प्रदान गर्न सक्ने अनि केही अर्थमा सौन्दर्यात्मक सिर्जनाका मापदण्ड वा मोडेलसमेत मानिने प्राचीन युनानका कला र महाकाव्यहरूलाई दृष्टिगत गर्दा के पाइन्छ भने केही कला कृतिहरूको आफ्नै कारणले गर्दा महत्व हुने गर्दछ । ती मध्येका केहीमा त शाश्वत कलात्मक मूल्य वा पछिसम्मको लागि ताजा आकर्षण रहिरहन सक्छ । त्यसैगरी, कला र साहित्यको अर्को विशिष्ट लक्षण के देखिन्छ भने इतिहासको कुनै अवधिमा पाइने सिर्जनात्मक लहर र भौतिक उत्पादन तथा सामाजिक प्रगतिमाझको संयोग पनि यान्त्रिक नभएर द्वन्द्वात्मक किसिमको हुन्छ । समाजको भौतिक उत्पादनले मात्र हैन, तत्कालीन सामाजिक सम्बन्धहरूको विशिष्ट स्वरूप, वर्गद्वेषको वृद्धिमात्रा, मानव व्यक्तित्वको विकासको लागि कुनै अवधिमा खास परिस्थितिहरूको प्राप्यता आदि कारकहरूले पनि कला र साहित्यको सिर्जनासित सम्बद्ध रहेर तिनको विकासलाई निर्धारित गरिरहेका हुन्छन् ।
मुख्यतः समाजको विकास स्तर र त्यसको संरचनात्मक ढाँचाबाटै कला तथा साहित्यका विषयवस्तु, शैली आदि निर्धारित हुने गर्दछन् । यस ऐतिहासिक तथ्यको आधारमा स्वतः कलाका विषयवस्तु र रूप स्थिर नभएर निरन्तर परिवर्तित तथा विकसित भइरहने, प्रत्येक युगका आफ्नै विशिष्ट कलात्मक सिर्जना, सौन्दर्यात्मक आदर्श र समीक्षात्मक मापदण्ड हुने र तिनको अन्य युग वा अवस्थाहरूमा पुनरावृत्ति हुन नसक्ने जस्ता महत्वपूर्ण निष्कर्षहरू पनि उत्पन्न हुन्छन् । त्यसैले, माक्र्स र एङ्गेल्सका अनुसार राफायल, लियोनार्दो दा भिन्ची र टिटियानका रचनाहरूलाई तत्कालीन रोम, फ्लोरेन्स र भेनिसको सामाजिक पृष्ठभूमिमा मात्र बुझ्न सकिन्छ । त्यसैगरी, प्राचीन युनानका पुराणकथा र महाकाव्यहरूमा पाइने कल्पना र युनानी कलाको मूल आधारमा अन्तर्निहित प्रकृतिका सामाजिक सम्बन्धहरूबारेको दृष्टिकोण पनि स्वचालित कतुवा, रेललाइन, इन्जिन र बिजुलीतार प्रणाली भएको उन्नाइसौँ शताब्दीमा सम्भव हुनसक्दैन ।
आफ्नो समयका कला र साहित्यका साथै प्राचीन काल, मध्ययुग, युरोपको पुनर्जागरण र ज्ञान–प्रसारण, रोमान्सवादी धारा आदि विषयहरूमा माक्र्स र एङ्गेल्सले गरेका विश्लेषणहरूबाट अतीतका सांस्कृतिक उपलब्धिहरूको ऐतिहासिक भौतिकवादी दृष्टिबाट मूल्याङ्कन गर्ने, तिनका सबल र दुर्बल पक्षहरूलाई छुट्याएर उपयोगी कुराहरूलाई वर्तमानमा संश्लेषण र संवद्र्धन गर्ने, प्राचीन भन्दैमा पूर्णतः नकारात्मक नहुने, अमूर्त र एकाङ्गी हैन ठोस ऐतिहासिक तथा वर्गीय दृष्टिबाट विचार र रूप दुवैको संयोजनलाई महत्व दिएर हेर्ने, द्वन्द्वात्मक भौतिकवादी समीक्षा शैलीका साथै संस्कृतिका इतिहासको सर्वाङ्गीण विवेचना गर्ने नवीन अनुसन्धानपद्धति पनि प्रस्तुत भएको छ । यसै सन्दर्भमा प्राचीन र नवीनको वैज्ञानिक लेखाजोखा गर्ने विषयबारे क्लारा जेटकिनद्वारा उद्धृत लेनिनका विचारहरू, ताल्स्तायसम्बन्धी लेनिनका लेखहरू तथा प्राचीन परम्पराको विश्लेषणबारे जर्ज लुकाचका भनाइहरू पनि उल्लेखनीय छन् ।
कला र साहित्यको प्रसङ्गमा नीतिशास्त्रको पनि चर्चा गर्नु आवश्यक हुन जान्छ । माक्र्स र एङ्ग्ेल्सले आचारशास्त्रलाई कुनै पृथक वा स्वतन्त्र विषय नठानेर ऐतिहासिक विकासको क्रममा विभिन्न वर्गहरूद्वारा अँगालिने सामाजिक आचार विचारको रूपमा लिए र त्यो पनि सधैँको लागि स्थापित वा स्थिर नभएर समयानुसार परिवर्तनशील हुन्छ भने । त्यसैले राम्रा र नराम्रा शुभ र अशुभ, न्यायपूर्ण र अन्यायमूलक, सुन्दर र असुन्दर, उदात्त र नीच, दुःखान्त र सुखान्तजस्ता धारणाहरू निरपेक्ष नभएर इतिहास– सापेक्ष हुन्छन् । माक्र्सवादमा आचारशास्त्रको मूल अवधारणा सर्वहारा मानवतावाद हो । सौन्दर्यशास्त्रमा त्यसको अभिव्यक्ति समाजवादी यथार्थवादको रूपमा भएको छ र साहित्य तथा कलाको क्षेत्रमा त्यसलाई प्रगतिवाद पनि भनिन्छ । व्यक्तिगत सम्पत्तिमा आधारित पुँजीवादी समाजमा अधिकांश मनुष्यहरू आफैबाट खण्डित भएर विराग, आत्महीनता तथा अमानवीकरणको शिकार हुन पुग्दछन् । आफ्नो स्वाधीनता र सृजनशीलतालाई गुमाएर ती जड वस्तुका रूपमा बाँच्दछन् । माक्र्सका अनुसार सर्वहाराको जीवन यापनको अवस्था समकालीन समाजमा विद्यमान सम्पूर्ण अमानवीय अवस्थाहरूको केन्द्रबिन्दु हो । त्यस्तो समाज व्यवस्थाको चरित्र स्वतः अनैतिक र मानवताविरोधी हुन्छ । त्यस्तो पुँजीवादी समाजलाई बदल्ने र निर्मूल पार्ने ऐतिहासिक उत्तरदायित्व सर्वहारा वर्गको काँधमा परेको छ । अतः इतिहासको यस वस्तुगत आग्रहलाई बुझेर सबै साहित्यकार र कलाकर्मीहरूले सर्वहारा क्रान्तिमा लाग्नु नै सर्वोच्च नैतिकता र मानवतावादी कर्तव्य हो । प्रगतिशील कला वा साहित्यले पनि सौन्दर्य र नैतिकताको एकताद्वारा समाजमा परिवर्तन ल्याउने उद्देश्य राख्नुपर्दछ ।
अक्टोबर क्रान्तिपछि सोभियत सङ्घमा समाजवादी यथार्थवादलाई सौन्दर्यशास्त्रको निर्णायक मापदण्ड बनाइयो । अन्य समाजवादी मुलुकहरूले पनि त्यसलाई सोही रूपमा स्वीकार गरे । तर, पछि गएर साहित्य तथा कलाको फाँटमा देखिएका सैद्धान्तिक अनुदारता र सर्वाधिकारवादी हाकिमतन्त्रले गर्दा त्यसको प्रयोगमा केही अतिवादी प्रवृत्तिहरू पनि देखापरे जसले गर्दा कृतिमता, यान्त्रिकता, रूढिगत विचार र शैलीको प्रधानता, पार्टीको निरङ्कुश हस्तक्षेप, राजनीतिक सैद्धान्तिक प्रतिबद्धताको नाउँमा कलात्मकताको पूर्ण तिरस्कारजस्ता विकृतिहरू पनि उत्पन्न भए । त्यसले प्रगतिवादी साहित्यको रचनात्मक विकासमा निकै आघात पु¥यायो । पूर्वी युरोप तथा अन्य समाजवादी राष्ट्रहरूका बुद्धिजीवीहरूले कला र साहित्यको अति राजनीतीकरणको विरोधमा र लेखकीय अभिव्यक्तिको स्वतन्त्रताका लागि सङ्घर्ष पनि गरे । यसै सन्दर्भमा आलोचनात्मक यथार्थवाद तथा समाजवादी यथार्थवादको स्थानबारे जर्ज लुकाच र बर्तोल्ड ब्रेख्तमाझ चलेको लामो सैद्धान्तिक सङ्घर्षले पनि त्यस अन्तर्विरोधलाई बाहिर ल्याएको थियो ।
माक्र्सवादअनुसार साहित्यमा प्रगतिवादको धारणा कुनै आदर्श कल्पना वा अतिरञ्जित क्रान्तिकारी उत्साहको उपज नभएर आजसम्मका ठोस ऐतिहासिक अनुभवहरूको वैज्ञानिक निष्कर्ष हो । भावनावादी सामाजिक विकासका वस्तुगत नियमहरूलाई नमानेर मनोवैज्ञानिक, जीवशास्त्रीय वा अनुभववादीहरूले मनोगत दृष्टिबाट तिनको व्याख्या गर्दछन् । त्यसैले उनीहरूमा सामाजिक प्रगति वा ऐतिहासिक विकासको सङ्कीर्ण मनोगत समझदारीमात्र पाइन्छ । त्यसैगरी, उनीहरू सामाजिक प्रगतिलाई पनि नकार्दै, इतिहास सधैँ कालचक्रको परिधिभित्र घुमिरहन्छ र त्यसको पुनरावर्तनमात्र हुन्छ भन्ने अधिभौतिकवादी सिद्धान्तको प्रतिपादन गर्न पुग्दछन् । तिनको विचारमा मानव सभ्यताको प्रगति वास्तविक नभएर आत्मप्रवञ्चना वा मिथ्या कल्पनामात्र हो । त्यसैले मानव जातिको भविष्यप्रति उनीहरूको दृष्टिकोण प्रायः निराशावादी, पराजयवादी वा स्वच्छन्दतावादी हुनु स्वाभाविकै देखिन्छ । त्यसको विपरीत माक्र्सवादीहरू, इतिहासलाई भौतिक उत्पादनको विकासको आधारमा बाङ्गोटिङ्गो गतिसाथ उत्तरोत्तर विकसित हुँदै जाने यस्तो प्रगतिशील प्रवाह मान्दछन् जुन पछि नफर्केर निरन्तर अगाडि मात्र बढिरहने गर्दछ । सामाजिक विकासका वस्तुगत नियमहरूको यो ज्ञान नै जीवनप्रति आशावादी र संसारको भविष्यप्रति आशा र विश्वास राख्दै प्रगतिवादी बनिरहने उनीहरूको विश्व दृष्टिकोणको अटल आधार हो ।
माक्र्सवाद सम्पूर्ण मानव जातिका उत्कृष्ट सांस्कृतिक उपलब्धिहरूप्रति सम्मानपूर्ण अभिरुचि राख्दछ । त्यसको दृष्टिमा विकसित र अविकसित, ठुला र साना सबै राष्ट्र तथा जातिहरूले विश्व सभ्यताको अभिवृद्धिमा आ–आफ्नो विशिष्ट योगदान गर्दै आएका छन् । त्यसकारण, साना तथा अविकसित राष्ट्र वा जातिका संस्कृति, कला, साहित्य आदिलाई पनि तिरस्कृत नगरेर उत्तिकै महत्वपूर्ण र मूल्यवान् ठान्नुपर्दछ ।
माक्र्सवादी सौन्दर्य चिन्तनको विकासमा समाजवादी शिविरभित्र र बाहिर उठेका विभिन्न सैद्धान्तिक विवादहरूबाट ठुलो योगदान मिलेको छ । त्यसै क्रममा गत शताब्दीको अन्त्य र यस शताब्दीको सुरुतिर पश्चिम युरोपका सामाजिक जनवादीहरू, विशेषतः एड्वर्ड बर्नस्टाइन र कार्ल काउत्स्कीद्वारा साहित्य तथा कलाबारे गरिएको सङ्कीर्ण अर्थशास्त्रीय व्याख्याको विरुद्ध पाल लफार्ग, फ्रेन्ज मेहरिङ तथा जी.बी. प्लेखानोभले, त्यस्ता रूपवादी एवम् भावनावादी विकृतीकरणको खण्डनमार्फत द्वन्द्वात्मक भौतिकवादी सौन्दर्यशास्त्रको रक्षा गरे । ती सबैमा प्लेखानोभको व्याख्या बढी महत्वपूर्ण मानिन्छ । तर, उनीहरूमा पनि कलाका आफ्नै विशिष्ट नियम र पद्धति, तिनको सापेक्ष स्वायत्तता र भौतिक वर्गीय स्वरूपबारे त्यतिको स्पष्टता थिएन । ती मनोवैज्ञानिक एवम् जीवशास्त्रीय अवधारणाहरूबाट पनि मुक्त भइसकेका थिएनन् । त्यसपछि लेनिनले साहित्य र कलाका विभिन्न सैद्धान्तिक एवम् व्यावहारिक पक्षहरूको माक्र्सवादी दृष्टिबाट अझै गहन एवम् विस्तारपूर्ण व्याख्या गरे । विशेषतः उनको प्रतिबिम्बन सिद्धान्तले साहित्यको क्षेत्रमा अत्यन्त महत्वपूर्ण रहिरहेका पक्षधरता र स्वायत्तताका समस्याहरूको समाधान गर्ने दिशामा अत्यन्त ठुलो काम ग¥यो । यसै क्रममा लुनाचाकका योगदानहरू पनि उल्लेखनीय रहे । स्तालिनकालताक विभिन्न कारणहरूले गर्दा त्यसतर्फको सिर्जनात्मक क्रियाकलापमा केही शिथिलता आयो ।
उता पाश्चात्य जगत्मा एलिक वेस्ट, जर्ज थोम्सन, राल्फ फक्स र विशेषरूपमा क्रिस्टोफर कडवेलले माक्र्सवादी दृष्टिबाट सौन्दर्यशास्त्रका विभिन्न पक्षहरूको सूक्ष्म व्याख्या गरे । त्यसैगरी, जर्ज लुकाच, वाल्टर बेन्जामिन, लुसिए गोल्डम्यान, हर्बर्ट मार्कुस, अर्नेस्ट फिशर, रेमन्ड विलियम्सका कृतिहरूमा पनि साहित्य, कला, सङ्गीत आदि विषयहरूको माक्र्सवादी विवेचना प्रस्तुत गरिएको छ । विशेषतः फ्रैङ्कफर्ट स्कूलका लेखकहरूले पाश्चात्य बुर्जुवा संस्कृतिमा देखा परेका विभिन्न प्रवृत्तिहरूको विश्लेषण गरे । उनीहरूले विकसित औद्योगिक समाजमा संस्कृतिको व्यापारीकरण, टीभीजस्ता व्यापक जनसञ्चारमाध्यमहरूबाट व्यक्तिको स्वतन्त्र चिन्तन र सिर्जनात्मक विकासमाथि पर्ने प्रतिकूल प्रभाव, उपभोक्ता – मानसिकता र तिनले उब्जाएका विकृतिहरूजस्ता समस्याहरूमाथि पनि विचार गर्दै यान्त्रिक सभ्यताको अमानवीय स्वभाव र त्यसका खतराहरू औँल्याए ।
पूर्वी युरोपका सौन्दर्यशास्त्रीहरूले साहित्य तथा कलाका क्षेत्रमा सामाजिक यथार्थवादको सिद्धान्तलाई आफ्नै किसिमले प्रयोग गर्ने, अर्थतन्त्र र राजनीतिका रूढिगत विषयवस्तुहरूमा मात्र सीमित नरही मनुष्य जीवनका आन्तरिक मनोवैज्ञानिक पक्षहरूलाई पनि अभिव्यक्ति दिने, सोभियत मान्यता वा मापदण्डको मात्र अन्धानुकरण नगरेर आफ्ना राष्ट्रिय परम्परा तथा विशेषताहरूलाई पनि आत्मसात् गर्नेजस्ता कुराहरूमा बल दिए । उनीहरूले सिर्जनात्मक रचनाकर्म र अभिव्यक्तिको स्वतन्त्रतालाई माक्र्सवादी सिद्धान्तसित समायोजित गर्ने क्रममा, पार्टी–हाकिमतन्त्रका अनावश्यक हस्तक्षेप र नियन्त्रणविरुद्ध पनि आफ्नै प्रतीकात्मक तवरबाट रोष प्रकट गरे । जनगणतन्त्र चीनमा पनि त्यहाँका विशिष्टता र सांस्कृतिक परम्पराहरूसित माक्र्सवादी सौन्दर्यशास्त्रका मूल सिद्धान्तहरूलाई मिलाउँदै, माओ त्सेतुङको येनान गोष्ठीसम्बन्धी सुप्रसिद्ध प्रवचनलाई आधार बनाएर नवीन प्रयोगहरू गरिए । चीनले सामाजिक यथार्थवादका साथै सयौँ फूलहरू फुल्न दिने र सयौँ विचारहरूलाई प्रतिस्पर्धा गर्न दिने नीतिअनुसार साहित्य, कला, सङ्गीत र फिल्महरूको संवद्र्धन गर्दै आएको छ ।
मानव समाज तथा इतिहासको वैज्ञानिक विश्लेषणबाट पुँजीवादको अनिवार्य पतन र अन्त्यमा साम्यवादको अवश्यम्भावी विजय हुने निष्कर्षमा पुगेको, सबै प्रकारका रूढिवाद र यथास्थितिवादका विरुद्ध सम्पूर्ण राजनीतिक–सामाजिक व्यवस्थामा आमूल परिवर्तनको उद्देश्य लिएको र क्रान्तिकारी सिद्धान्तबिना क्रान्तिकारी आन्दोलन हुनसक्दैन भनेर आफूलाई सर्वहारावर्गको सैद्धान्तिक हतियार घोषित गर्ने क्रान्तिकारी दर्शन भएको हुनाले नै माक्र्सवाद विश्वव्यापीरूपमा बढी चर्चा, विवाद र अभिरुचिको विषय हुन पुगेको हो ।
त्यसैकारण, माक्र्सवादी दर्शन आफ्नो जन्मकालदेखि नै चर्को सैद्धान्तिक वादविवादको विषय रहँदै आएको देखिन्छ । त्यसका आलोचकहरूमात्र होइन, अनुयायी वा समर्थकहरू पनि आ–आफ्नो समझदारी र व्याख्याको आधारमा विभिन्न सम्प्रदायहरूमा विभाजित भएका छन् । प्रथम विश्वयुद्धसम्म युरोपमा विभिन्न सामाजिक जनवादी पार्टीहरू माक्र्सवादबाट प्रभावित र प्रेरित रहे पनि त्यसपछि युरोपेली श्रमिक आन्दोलन पूर्णतः सुधारवादी संशोधनवादी र क्रान्तिकारी शिविरहरूमा टुक्रियो । उन्नाइसौँ शताब्दीको अन्त्य र बीसौँ शताब्दीको सुरुतिर एड्वर्ड बर्नस्टाइन (१८५०–१९३२) ले विकासवादी समाजवादको सिद्धान्त प्रतिपादित गर्दै कान्ट र हेगेलका विचारहरूको आलोकमा, वर्गसङ्घर्ष, क्रान्तिमार्फत सर्वहारा अधिनायकत्वको स्थापना, द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादको दर्शनजस्ता माक्र्सका आधारभूत प्रस्थापनाहरूमै हेरफेर गर्न खोज्दै शान्तिपूर्ण वा संसदीय बाटोमार्फत समाजवाद आउन सक्ने विचार प्रस्तुत गरे र पछि गएर उनी संशोधनवादका प्रमुख सिद्धान्तकार मानिए । त्यो माक्र्सवादको विरुद्ध चौतर्फी रूपबाट प्रस्तुत गरिएको पहिलो सैद्धान्तिक विकल्प थियो । त्यसले जर्मनी, रुस, फ्रान्स र अस्ट्रो–हङ्गेरीमा आफ्नो प्रभाव पारेको थियो ।
बर्नस्टाइनको त्यस्तो द्वन्द्वात्मक भौतिकवादविरोधी दृष्टिकोणको प्रतिरोध गर्दै रोजा लक्जेमबर्गले आफ्नो वामपन्थी अडान प्रस्तुत गरे तापनि पछि गएर विभिन्न महत्वपूर्ण प्रश्नहरूमा लेनिन तथा बोल्शेभिक पार्टीसित उनका पनि मतभेदहरू देखिए । रुसमा १९१७ को अक्टोबर क्रान्तिपश्चात् धेरै वर्षहरूसम्म सोभियत सङ्घ तेस्रो अन्तर्राष्ट्रिय (१९१९–१९४३) मार्फत समाजवादी शिविरको निर्विवाद केन्द्र र त्यहाँको कम्युनिस्ट पार्टी माक्र्सवादको सर्वाधिकारसम्पन्न प्रवक्ता रहे तापनि, १९२१ को दशकदेखि नै युरोपका उदारवादी वामपन्थी बुद्धिजीवीहरूले सोभियत ढाँचाको माक्र्सवादभन्दा फरक आफ्नै पश्चिमी ढाँचाको माक्र्सवादको सूत्रपात गर्न थालिसकेका थिए ।
पश्चिमी मुलुकहरूमा १९३० को दशकतिर तत्कालीन सामाजिक, आर्थिक र अन्तर्राष्ट्रिय कारणहरूले गर्दा अन्तर्बोधवाद, स्वेच्छावाद, अबुद्धिवाद, नवकान्टवाद, नवहेगेलवाद, नवफ्रायडवादजस्ता भावनावादी प्रवृत्तिहरूको जन्म भयो । त्यस अवधिमा ए. ग्राम्स्की, पी. टोग्लियाटी, राम थोरेज, ई थेलमान, डब्लु फोस्टर, जि दिमित्रोभ आदि माक्र्सवादी नेता र लेखकहरूले तिनको खण्डन गरेका थिए । दोस्रो विश्वयुद्धपछि युरोपमा अनेक समाजवादी राष्ट्रहरूको उदय र एसिया तथा अफ्रिकामा राष्ट्रिय मुक्ति आन्दोलनहरूको विजयले गर्दा माक्र्सवादको प्रभाव अझै बढ्न गयो । त्यस्तो बेलामा साम्यवादविरोधी शिविरका नवथोमसवाद, नवप्रत्यक्षवाद, तार्किक अनुभववाद, व्यवहारवाद, अस्तित्ववादजस्ता अधिभौतिकवादी दर्शनहरूले माक्र्सवादको प्रतिरोध गरे । तर, पुँजीवादी मुलुकहरूकै एम. कर्नफोर्थ, जे. लेविस, एच. वेल्स, एच. पार्सन्स, एच. सेल्सम, एल. सेभ आदि चिन्तकहरूबाट माक्र्सवादको रक्षा गरिएको थियो ।
त्यसैगरी, नव क्लासिकीय अर्थशास्त्रीहरूबाट पुँजीवादको युग, त्यसको शोषणकारी स्वभाव, अतिरिक्त मूल्यको सिद्धान्त, पुँजीवादमा नाफाको घट्दो दर आदिबारे माक्र्सका विचारको आलोचना गरियो । केही समाजशास्त्रीहरूले इतिहासको भौतिकवादी धारणा, पाश्चात्य जगत्मा पुँजीवादको उदय र विकास, आधुनिक राज्यको प्रकृति, सामाजिक वर्गहरूको व्याख्या, आर्थिक आधार र सामाजिक चेतनामाझको सम्बन्ध, इतिहासलाई विज्ञानको स्थान दिने अडान, राज्य–संस्थाको क्रमशः विलीनीकरण हुने निष्कर्षजस्ता विषयमा माक्र्सवादका तर्कहरूप्रति आपत्ति जनाए । बीसौँ शताब्दीको प्रथम दशकमा अस्ट्रियाका मैक्स एडलर, कार्ल रेनर, एडल्फ हिलफरडिङ, गुस्ताभ एकस्टाइन आदि समाजवादीहरूले ऐतिहासिक भौतिकवादमा संशोधन ल्याउन खोज्दै पुँजीवादी समाजको बदलिँदो वर्गस्वरूप, सामाजिक सुधारमा ऐन कानुनको महत्वपूर्ण स्थान, कल्याणकारी राज्यमा राज्यको हस्तक्षेपकारी भूमिका, ऐन कानुनमा अर्थतन्त्रको प्रतिबिम्बमात्र होइन, त्यसको स्वायत्त भूमिका पनि हुने गर्दछ भन्ने फरक विचारहरू अघि सारे । त्यसका साथै उनीहरूले समाज कार्यकारणको सम्बन्धद्वारा यान्त्रिकरूपमा सञ्चालित हुँदैन । त्यसमा चेतनाको पनि मध्यस्थता रहने गर्दछ भन्दै पारिवारिक सम्बन्ध, संस्कृतिको भूमिका, राष्ट्रियता र जातीयताका समस्याहरू जस्ता कुराहरूमा पनि जोड दिए । तीमध्ये वित्तीय पुँजी तथा एकाधिकारी पुँजीवाद र त्यसको साम्राज्यवादी स्वरूपको विषयमा हिलफरडिङका विश्लेषणहरूको आफ्नै महत्व रहेको मानिन्छ ।
बीसौँ शताब्दीको तेस्रो दशकमा, सोभियत कम्युनिस्ट पार्टी र माक्र्सवाद समानार्थक र एउटै कुरा हुन् भन्ने एकपक्षीय सोचाइको विरुद्ध आलोचनात्मक सिद्धान्तको प्रतिपादन गर्दै जी. लुकाच र कार्ल कोशर्चले सोभियत माक्र्सवादको मूल्याङ्कन पनि माक्र्सवादी पद्धतिबाटै हुनुपर्दछ भन्ने आवाज उठाए । त्यसपछि माक्र्सका वास्तविक विचारहरूको पुनरूद्धार गर्ने उद्देश्यबाट नवमाक्र्सवादको चिन्तनधारा पाश्चात्य मुलुकहरूमा सुरु भयो ।
– गोविन्द भट्टका दार्शनिक रचनाहरूबाट
Leave a Reply