आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
समकालीन औद्योगिक समाजको व्याख्या गर्न र त्यसका विसङ्गतिहरूको समाधान पहिल्याउन शास्त्रीय माक्र्सवाद पर्याप्त छैन भन्दै त्यसमा फ्रायड, मैक्सवेबर, किर्केगार्ड, नित्से, कान्ट, हिगेल आदिका धारणाहरूलाई पनि समाविष्ट गर्ने, जीवनका भौतिक पक्षहरूलाई मात्र होइन, मानसिक तथा भावनात्मक पक्षहरूलाई पनि उत्तिकै महत्व दिने, माक्र्सवादलाई राजनीतिक अर्थशास्त्रको विज्ञानको रूपमा मात्र सीमित नराख्ने दृष्टिकोणसहित उदार र बहुआयामी तवरबाट वैज्ञानिक र मानवीय तत्वहरूको समन्वय गर्ने तेस्रो विकल्पको खोजी गरियो । ती वामपन्थी बुद्धिजीवीहरू सोभियत ढाँचाको समाजवाद र आफूकहाँको पुँजीवादप्रति उत्तिकै असन्तुष्ट थिए । त्यस दिशामा प्रभावको दृष्टिबाट विशेषतः जर्ज लुकाच, एन्टोनियो ग्राम्सकी, लुइस अल्थुसर र जाँ पाल सात्रको भूमिका उल्लेखनीय मानिएको छ । लुकाचले हेगेलीय दर्शन र माक्र्सवादमाझको अन्तः सम्बन्धमार्फत त्यसलाई मानवीय चैतन्यबाट सुसज्जित पार्ने र अल्थुसरले माक्र्सको हेगेलविरोधी भावनालाई यथावत् कायम राख्दै प्रत्येक सामाजिक सङ्घटनको स्वरूपमा विविधता र बहुलता रहने हुनाले अर्थतन्त्रको विशेष महत्व र प्रमुखता रहे पनि त्यसले समाजको राजनीति, विचारधारा आदिको सन्दर्भमा मात्र आफ्नो सार्थकता प्राप्त गर्न सक्दछ । त्यस्तो बहुलता अखण्डनीय भएकोले त्यसलाई अर्थतन्त्रमा मात्र घटाउन सकिन्न भन्दै लघुकरणवादी प्रवृत्तिको विरोधमा माक्र्सवादको संरचनावादी व्याख्या दिने प्रयास गरे । उनले इतिहासको एकरेखीय र एकरूपतावादी प्रक्रियाको पनि आलोचना गर्दै माक्र्सवादको मानवतावादी र अर्थतन्त्रवादी व्याख्याहरूप्रति असहमति जनाए । जाँ पाल सात्रले मनुष्यको स्वाधीनता र अस्तित्वबोधसित माक्र्सवादलाई मिलाएर हेरे, ग्राम्सकीले आर्थिक आधार र अधिरचनामाझको सम्बन्ध, विचारधाराको सापेक्ष स्वायत्तता, सर्वहारावर्ग र बुद्धिजीवीमाझको सम्बन्ध, क्याथोलिक धर्म आदि विषयहरूबारे विस्तारपूर्वक विवेचना गरे । शास्त्रीय माक्र्सवादका मान्यताहरूप्रति सचेत रहेर सामयिक समस्याहरूको नवीन व्याख्या गर्ने दिशामा अरू हेरी ग्राम्सकीको योगदान महत्वपूर्ण ठानिएको छ । त्यसैगरी, माक्र्सवादको उदारवादी विकास गर्ने दिशामा, युगोस्लाभियाको प्रैक्सि समूह, डच माक्र्सवादी सम्प्रदाय, डेला वोल्पको परिषद्वादी व्याख्या आदि पनि उल्लेखनीय रहेका छन् । माक्र्सवादलाई पश्चिमका सामान्य शिक्षित जनसमुदायहरूमाझ उदारतावादी तथा मानवतावादी रूपबाट चर्चित तुल्याउने दिशामा फ्रैँकफर्ट स्कूलका टी. एडोनो, एम. होर्खेमर, एरिक फ्रौम, एच. मार्कुस र अस्तित्ववादी सम्प्रदायका सात्र्र, आर. गरौडी, एल. गोल्डमैन, कामु आदिको ठुलो हात रहेको छ । उनीहरूले अर्थशास्त्र या राजनीतिमा भन्दा समाजशास्त्र, दर्शन, सौन्दर्यशास्त्र, धर्म, मनोविज्ञान आदि विषयहरूप्रति बढी अभिरुचि देखाउँदै बहुपक्षीय पद्धति अँगालेर विभिन्न विषयहरूसित माक्र्सवादको संश्लेषण गर्न खोजे, आधुनिक औद्योगिक समाजले उत्पन्न गरेका मानवीय समस्याहरूको विश्लेषण गरे र त्यसलाई रूढिगतरूपमा नहेरेर सिर्जनात्मक प्रयोगमा ल्याए ।
त्यसैगरी, मध्यमवर्गको विलिनीकरण, राष्ट्रवादको निरर्थकता, पुँजीवादको उत्तरोत्तर पतन, सबै ठाउँमा एकैपटक सामाजिक क्रान्तिको विस्तार आदिबारे माक्र्सवादका भविष्यवाणीहरू असत्य ठहरिएको कुरा पनि त्यसका आलोचकहरूबाट औँल्याउने गरिएको छ । यता आएर माक्र्सको भावी साम्यवादी समाजको सिद्धान्तलाई अव्यावहारिक, मानव स्वभावको प्रतिकूल र उद्धेश्यमूलक आदर्शवादी परिकल्पना भन्दै निकै भविष्यशास्त्रीहरूले वैज्ञानिक प्राविधिक विकासको वर्तमान सन्दर्भमा त्यस्तो पूर्वानुमानप्रति असहमति जनाएका छन् । हालको सबभन्दा ठुलो विवाद, प्रजातान्त्रिक बहुलवादीहरूबाट राज्य र राजनीतिको चरित्रसम्बन्धी माक्र्सका अवधारणाप्रति गरिएको आलोचनामा नै केन्द्रित रहेको छ । त्यसैगरी, दर्शनको मूल प्रश्न अर्थात् पदार्थ र चेतना माझको सम्बन्धलाई लिएर विशेषतः नवहेगेलवादी र नवकान्टवादीहरूबाट द्वन्द्वात्मक भौतिकवादको खण्डन गर्न खोजिएको छ । केही विद्वानहरूले त माक्र्सवादलाई एउटा समग्रतापूर्ण विचार–प्रणाली वा दर्शनभन्दा राजनीतिशास्त्र, अर्थशास्त्र वा समाजशास्त्र मात्र मानेका छन् । अझै पनि दर्शनको क्षेत्रमा माक्र्स र हेगेलबिचको सम्बन्धबारे चल्दै आएको विवाद टुङ्गिसकेको छैन । अर्काथरीका लेखकहरूको दृष्टिमा माक्र्सवाद कुनै शास्त्र नभएर एउटा उग्र सुधारात्मक मनोवृति वा आलोचनात्मक पद्धतिमात्र हो केहीले माक्र्सवाद पश्चिम युरोपको लागि मात्र उपयोगी रहेको र अन्य ठाउँहरूमा त्यसका सिद्धान्तहरू लागु हुन नसक्ने कुरा उठाएका छन् भने पूर्वीय दार्शनिकहरूबाट माक्र्सवादमा नैतिक तथा आध्यात्मिक पक्षहरूको पूर्णतः बेवास्ता गरिएको आरोप लगाइएको छ । केही परम्परावादी विचारकहरूको दृष्टिमा माक्र्सले तर्कशास्त्र, ज्ञान–मीमांसा, आचारशास्त्र र सौन्दर्यशास्त्रजस्ता महत्वपूर्ण विषयहरूमा कुनै क्रमबद्ध विवेचना नगरेको हुनाले उनको दर्शन शास्त्रीय अर्थमा अपूर्ण, अस्पष्ट र अपरिष्कृत हुन गएको छ । त्यसैले होला, राजनीति तथा अर्थशास्त्रको इतिहासमा उनको विस्तारपूर्ण मूल्याङ्कन भेटिए पनि पूर्व र पश्चिम दुवैका अधिकांश सांस्कृतिक इतिहासकारहरूले उनलाई पूर्णतः तिरस्कार गरेको वा उल्लेखसाथ पन्छाइदिन खोजेको पाइन्छ ।
तर, माथिका यी सबै आपत्तिहरूको जवाफ दिने क्रममा बहुसङ्ख्यक माक्र्सवादीहरूले त्यस्ता आलोचनाहरूलाई माक्र्स र एङ्गेल्सका कृतिहरूको अधकल्चो ज्ञान वा पूर्वाग्रहयुक्त अध्ययनको परिणाम र वैचारिक वर्गसङ्घर्षको प्रतिबिम्ब ठान्ने गरेको देखिन्छ । तर, ती मध्येकै अन्य केही लेखकहरूबाट आज समाजवादको निर्माण गर्ने क्रममा उत्पन्न हुने वस्तुगत कठिनाइहरू र अझै सुल्टाउन बाँकी रहेका सैद्धान्तिक एवम् व्यावहारिक समस्याहरूले गर्दा माक्र्सवादको प्रयोगमा केही भूल र दोषहरू भएको कुरा पनि स्वीकार गरिएको छ । अर्काथरी विद्वानहरूले माक्र्सका केही कृतिहरू पछि मात्र फेला परेका, उनका केही विचारहरू सूत्रका रूपमा मात्र रहेका, उग्रवादी र उदारवादीहरूबाट तिनको सरलीकरण वा विकृतीकरण गरिएको र समाजवादी मुलुकका केही सत्ताधारी पक्षहरूद्वारा आफ्नो सुविधाअनुसार धर्मान्धतासाथ तिनलाई रूढिवादमा परिणत गर्न खोजिएको जस्ता कारणहरूले गर्दा नै माक्र्सवाद अनेकार्थक र सन्दिग्ध हुन पुगेको तथ्यतर्फ औँल्याएका छन् ।
उता पश्चिम युरोप र अमेरिकाका माक्र्सवादीहरूले झैँ पूर्वी युरोपका समाजवादी मुलुकका बुद्धिजीवीहरूले पनि सामाजिक क्रान्ति वा निर्माणमा व्यक्तिगत स्वतन्त्रता तथा तत्परता, सिर्जनात्मक एवम् प्राज्ञिक स्वाधीनता, यान्त्रिक माक्र्सवादलाई जनवादीकरण र आधुनिकीकरण गर्नुपर्ने आवश्यकता आदि विषयहरूको महत्वमा जोड दिँदै, द्वितीय विश्वयुद्धपछि नै अति केन्द्रीयता, सर्वसत्तावाद, राज्यको निरङ्कुशतावादी र सर्वाधिकारवादी व्यवहार, हाकिमतन्त्र, सोभियत प्रभुत्व तथा नियन्त्रण आदिप्रति असन्तोष प्रकट गर्दै आफ्ना रचनाहरूमार्फत ‘मानवीय अनुहारको माक्र्सवाद’ का लागि बौद्धिक वातावरण तयार पार्ने काम थालिसकेका थिए । त्यसकै हाराहारीमा सम्पूर्ण साम्यवादी शिविरभित्रै, माक्र्सवादको व्याख्या र प्रयोगको सम्बन्धमा चर्को राजनीतिक विवादहरू उठे निकै अघिदेखि नै चीनमा माओ चे तुङ आफ्नो मुलुकको विशेष परिस्थितिअनुसार माक्र्सवादको प्रयोग गरिरहेका थिए । स्तालिन सत्तामा आएपछि नै लियन ट्रौट्स्की आदिसित उनको वैचारिक मतभेद सुरु भयो । पछि युगोस्लाभियाले आफ्नै स्वतन्त्र बाटो रोज्यो । त्यसअघि १९४३ को प्रस्तावद्वारा त्यस्तो कम्युनिस्ट इन्टरनेसनललाई विश्व कम्युनिस्ट आन्दोलनको केन्द्र नमान्ने घोषणासहित त्यसको विघटन गरिसकिएको थियो । स्तालिनको मृत्युपछि १९५६ ताक निकिता ख्रुश्चेभको नेतृत्वमा आयोजित सोभियत कम्युनिस्ट पार्टीको एक्काइसौँ महाधिवेशनपश्चात् विश्व कम्युनिस्ट शिविरमा अझै उदारतावादी प्रवृत्तिहरू बढे । त्यसै क्रममा पछि सोभियत चीन मतभेद बाहिर आयो । त्यसैगरी, हङ्गेरी र चेकोस्लोभाकियामा क्रमशः १९५६ र १९७८ मा सुधारवादीहरूले विद्रोह गरे पश्चिम युरोपका माक्र्सवादी बुद्धिजीवीहरू, विशेषतः फ्रान्स र इटालीका कम्युनिस्ट पार्टीहरूले समाजवादलाई जनतान्त्रिक रूप दिने र सोभियत मोडललाई अस्वीकार गरेर आफ्नै युरोपेली उदारवादी परम्परामा आधारित राष्ट्रिय साम्यवाद स्थापित गर्ने अभियानहरू चलाए । त्यसलाई पछि युरोकम्युनिज्म भन्ने नाउँ दिइयो । यसरी १९६० को दशकसम्ममा सोभियत सङ्घलाई माक्र्सवादको एकमात्र व्याख्याता वा प्रवक्ता ठान्ने परम्परामा ठुलो आघात पुगिसकेको थियो । त्यस्तो बहुलवादी प्रवृत्ति बढ्दै गएर पूर्वी युरोपको साम्यवादी शिविर भताभुङ्ग भयो । सोभियत सङ्घभित्रै १९८५ पछि मिखाइल गोर्बाचोभको नेतृत्वमा सुधार र खुलापनका नीतिहरू अँगालेर माक्र्सवादलाई २० औँ शताब्दीको अनुकूल बनाउने नयाँ चिन्तनको जोडदार लहर नै उठाइयो । त्यसकै फलस्वरूप र अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारणहरूबाट १९९० सम्ममा त्यहाँको कम्युनिस्ट पार्टी र सोभियत राज्यव्यवस्था नै विघटित हुने अवस्थामा पुगे । चीनले त्यसअघि १९७० को दशकको अन्त्यतिरै राष्ट्रिय वस्तुस्थितिको आधारमा माक्र्सवादको व्याख्या गर्दै समाजवादको चिनियाँ बाटो खोज्ने प्रयास थालिसकेको थियो र त्यो यथावत् त्यसै दिशातिर अहिले पनि बढिरहेको छ । हाल विश्वभरि नै आ–आफ्नो राष्ट्रिय विशेषताअनुसार माक्र्सवादको व्याख्या र प्रयोग गर्ने बहुलवादी प्रवृत्ति सशक्त हुँदै गइरहेको देखिन्छ ।
माक्र्सवादको विगत इतिहास, एकातिर आफूभित्रका जडवादी र अवसरवादी प्रवृत्तिहरू र अर्कोतिर आफूबाहिरका प्रतिद्वन्द्वी विचारहरूसितको जटिल सङ्घर्षका बिच विकसित हुँदै आएको छ । पाश्चात्य जगत् र पूर्वी युरोपको दार्शनिक–समाजशास्त्रीय चिन्तन क्षेत्रमा देखापरेका विभिन्न बौद्धिक वामपन्थहरूलाई निकै समयसम्म सोभियत सङ्घ, चीन तथा अन्य समाजवादी मुलुकका प्रशासकीय पक्षहरूबाट कठोर आलोचनात्मक र निन्दात्मक व्यवहारसहित माक्र्सवादविरोधी विचार भनेर पूर्णतः अस्वीकार गरिए तापनि यता आएर तिनको पुनर्मूल्याङ्कन गर्ने प्रवृत्ति पनि देखा परिरहेको छ । अझै पनि अनुदारवादी पक्षका केही माक्र्सवादीहरूले तिनका विरुद्ध क्रान्तिकारी व्यवहारसित नगाँसिएको असम्बद्ध भावनावाद, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको विपरीत आदर्शवाद वा अधिभौतिकवादबाट बढी प्रेरित भई माक्र्सवादको ठाउँमा पाश्चात्य उदारतावादको स्थापना गर्ने प्रयास गरेको भन्ने आदि आरोपहरू लगाउने गरेका छन् । उनीहरूले माक्र्सको दर्शनलाई पाश्चात्य माक्र्सवाद, पूर्वीय माक्र्सवाद सोभियत माक्र्सवाद, आदिमा विभाजित गर्ने प्रवृत्तिप्रति पनि अस्वीकृति जनाएका छन् । तर, अर्काथरी माक्र्सवादीहरूको विचारमा पाश्चात्य माक्र्सवादीहरूले पुँजीवादका विसङ्गतिहरूको आलोचनात्मक विश्लेषण गरेर आफ्नो समाजमा मानवीय मूल्य तथा क्रान्तिको लागि आफ्नै किसिमबाट बौद्धिक चेतना ल्याएको र औद्योगिक समाजका अन्तर्विरोधहरूलाई उङ्ग्याइदिएको कुरा प्रशंसा लायक छ । साथै पूर्वी युरोपका असहमत बौद्धिक जमात र परम्परागत माक्र्सवादभित्रका भिन्न मतावलम्बीहरूले यान्त्रिकता, अति केन्द्रीयता, व्यक्तिपूजा, सोभियत नेतृत्वप्रति अन्धनिष्ठा आदि समाजवादी व्यवस्थाका विभिन्न समस्याहरूतर्फ ध्यानाकर्षण गर्दै तिनमा सुधार ल्याउनको लागि चलाइएका प्रयासहरू पनि आफ्नो ठाउँमा उत्तिकै महत्वपूर्ण छन् ।
यता आएर १९८० को उत्तराद्र्धतिर पूर्वी युरोप र सोभियत सङ्घमा साम्यवादी राज्य व्यवस्थाको पतन भएपछि माक्र्सवाद फेरि विवादग्रस्त हुन पुगेको छ । विशेषतः पाश्चात्य जगत्का अनुदारवादीहरूबाट अब माक्र्सवाद सदाको लागि अन्त्य भएको आजको युगमा त्यो असत्य र अव्यावहारिक ठहरिएको छ भनेर व्यापक प्रचार गरिँदै छ । उदार पक्षका अधिकांश माक्र्सवादीहरू आफ्नो सिद्धान्तको पुनव्र्याख्या वा नवीकरण गर्ने र त्यसमा वर्तमान युगको विशिष्टताअनुसार सुधार, परिष्कार र संशोधन ल्याउने आवश्यकता अनुभव गरिरहेछन् । त्यसैगरी, केही विचारहरूबाट आज वैज्ञानिक–प्रौद्योगिक क्रान्तिले ल्याएका अभूतपूर्व चुनौतीहरूका साथै अत्याधुनिक जनसञ्चार माध्यमहरूको सर्वव्यापी प्रभाव, विश्व अर्थतन्त्रको पारस्परिक समाकलन, पृथ्वीका स्रोत–साधनहरूको घट्दो मात्रा, पर्यावरणको ¥हास र नाभिकीय युद्धको साझा खतराजस्ता तथ्यहरू औँल्याउँदै भविष्यमा पुँजीवादी व्यवस्था समाजवादी व्यवस्था प्रतिद्वन्द्वी नभएर एक बिन्दुमा मिल्ने, अनि ती दुवैका सबल पक्षहरूको संश्लेषणबाट एउटा नयाँ व्यवस्था र अझै पूर्णता प्राप्त विश्वसमुदायको प्रादुर्भाव हुने सहमिलन–सिद्धान्तको प्रतिपादन पनि गरिएको छ ।
माक्र्सवाद र त्यसकै अर्को रूप साम्यवादको जन्मजात वैरी पुँजीवादले पनि आफ्नै समाज र विश्वका मानवीय समस्याहरूको समाधान गर्ने दिशामा कुनै चित्तबुझ्दो विश्वदृष्टि वा सर्वसामान्य आदर्श दृष्टान्त प्रस्तुत गर्न सकेन । त्यहाँ अभूतपूर्व वैज्ञानिक प्राविधिक विकास त भयो, तर त्यसले ल्याएका अपार भौतिक उपलब्धिहरूमाथि अल्पसङ्ख्यक साहुमहाजनहरूकै एकलौटी अधिकार भएकोले त्यसमा विभिन्न अन्तर्विरोध र असन्तुलनहरू देखा परे । चरम व्यक्तिवादी जीवनदर्शन र घोर उपयोगितावादी जीवनशैलीले पर्यावरणको प्रदूषणका साथै नैतिक मूल्यहरूको पनि ¥हास हुन थाल्यो । सर्वसुलभ मनोरञ्जनको लागि उद्योगपतिहरूबाट संस्कृतिको बजारीकरण गरियो । सैन्यक्षेत्र र उद्योगक्षेत्रको साँठगाँठबाट बनेको अति शक्तिशाली समूहले राज्यमाथि पूर्ण नियन्त्रण जमायो । अविकसित मुलुकहरूप्रति उनीहरूद्वारा अँगालिएका प्रभुत्ववादी नीतिहरूबाट त्यहाँको आफ्नै समाज पनि अस्थिर, असुरक्षित र तनावपूर्ण हुन पुग्यो । पश्चिमका अनेक बुद्धिजीवीहरू पनि आफ्नो सभ्यताको भविष्यप्रति निराश, चिन्तित र शङ्काग्रस्त देखिए । आज उनीहरूको विचारमा मानवीय समाजको स्थापना गर्नु नै त्यहाँको सबभन्दा ठुलो समस्या भएको छ । त्यसैगरी, यान्त्रिक संस्कृतिले उत्पन्न गरेको मानसिक विराग, उपभोक्तावादी प्रवृत्ति, वस्तु–धर्मान्धता, जातीय भेदभाव, सांस्कृतिक उत्पीडन आदिको प्रतिक्रियास्वरूप त्यहाँ नववामपन्थी आन्दोलन र अन्य प्रकारका विरोध–प्रदर्शनहरू देखा परिरहेका छन् ।
उता विभिन्न वामपन्थी अभियान, राजनीतिक दल र समाजवादी मुलुकहरूबाट माक्र्सवादलाई आफ्नो निर्देशक सिद्धान्तको रूपमा प्रयोग गर्न थालिएपछि अनेक प्रकारका दार्शनिक एवं व्यावहारिक समस्याहरू उत्पन्न हुनु पनि स्वाभाविकै थियो । त्यसले गर्दा राज्य संरक्षण प्राप्त अन्य सिद्धान्तहरूमा झैँ त्यसमा पनि विभिन्न आन्तरिक एवं बाह्य कारणहरूले गर्दा अनुदारता, असहिष्णुता र जडताका लक्षणहरू देखा परे । त्यसले गर्दा नै माक्र्सवादीहरू सामान्यतः शास्त्रीय वा परम्परावादी पक्ष र उदार वा संशोधनवादी सुधारवादी पक्षमा विभक्त हुन पुगे । धेरैजसो समाजवादी मुलुकहरूमा अनुसन्धान, प्राज्ञिक वादविवाद र युगानुकूल परिष्कार गर्दै जाने प्रवृत्तिलाई हतोत्साह मात्र गरिएन अझ विधर्मको रूपमा त्यसलाई दबाउने कामसमेत भयो । एकताका त सोभियत सङ्घ वा चीन र माक्र्सवादलाई एउटै कुरासमेत मानियो । त्यसैगरी, आफ्नै शिविरभित्र पनि सिद्धान्त र व्यवहार दुवैमा केही ठुला समाजवादी राष्ट्र वा माक्र्सवादी पार्टीहरूको प्रभुत्ववादी कार्यशैलीले गर्दा त्यसमा मतभेद मात्र हैन, विभाजन र विखण्डनसमेत आयो । अति केन्द्रीयता, व्यक्तिपूजा र हाकिमतन्त्रको कठोर नियन्त्रणअन्तर्गत जन्मेका मनोगतवादी र अनुभववादी दृष्टिकोणहरूको फलस्वरूप सिद्धान्तअनुसार व्यवहार हुन पाएन । पछि गएर त्यसको एउटै सर्वमान्य अन्तर्राष्ट्रिय केन्द्र पनि रहेन । कम्युनिस्ट पार्टी र समाजवादी राज्यहरूद्वारा आफूभित्र वा परस्परमा आइपर्ने समस्याहरू समाधान गर्नका लागि सैद्धान्तिकभन्दा प्रशासकीय वा राजनीतिक तरिकाहरू अँगालिएको हुँदा अनेक अन्तर्विरोधहरू उत्पन्न भए । यी कुराहरूका साथै आफ्नो आमूल परिवर्तनवादी क्रान्तिकारी स्वभावले गर्दा माक्र्सवाद स्थानीय र अन्तर्राष्ट्रिय दुवै स्तरमा यथास्थितिवादी र प्रभुत्ववादीहरूद्वारा चलाइएको व्यापक प्रचार युद्धको तारो बन्यो । पुँजीवादी व्यवस्थाको इतिहास निकै लामो र त्यो औद्योगिक दृष्टिबाट पनि अत्यन्त समृद्ध भइसकेको थियो । राज्य सञ्चालन, अन्तर्राष्ट्रिय कूटनीति, आर्थिक व्यवस्थापन, उन्नत शस्त्रास्त्र उत्पादन, प्रचारकला आदि क्षेत्रहरूमा पनि त्यसका अनुभवहरू परिपक्व भइसकेका थिए । तर, माक्र्सवादीहरूको भने त्यस्तो कुनै लामो इतिहास वा आधार थिएन । अर्को कुरा पुँजीवादी जगतका चिन्तकहरूले आफ्नो विचारधारामा समयानुसार परिवर्तन र परिष्कार ल्याउँदै, अनि समाजवादबाट पनि केही उपयोगी कुराहरू लिँदै, आफूलाई नमनीय र गतिशील बनाइराखेको देखियो । समाजवादी शिविरमा भने धेरै ठुलो क्षति भइसकेपछि मात्र नयाँ चिन्तन र सुधारको हेक्का आयो । आफ्ना यिनै केही सैद्धान्तिक एवं व्यावहारिक दुर्बलताहरूले गर्दा माक्र्सवाद आज विवादास्पद र सङ्कटग्रस्त हुन पुगेको हो ।
स्रोत : गोविन्द भट्टका दार्शनिक रचनाहरूबाट
Leave a Reply