व्यापार घाटा बढ्दै जानु परनिर्भरताको सङ्केत हो
- बैशाख १०, २०८२
भक्तपुर नगरपालिकाले वर्षौँदेखि कर नतिर्ने उद्योगहरूमा तालाबन्दी गरेको थाहा भएको छ । भक्तपुर औद्योगिक क्षेत्रमा स्थापित केही उद्योगहरूले लामो समयदेखि कर नतिरेको हुँदा तालाबन्दीको अवस्था आएको नगरपालिकाले जनाएको छ । उद्योगपति विमलकुमार अग्रवालको नाउँमा दर्ता भएका कृति टेक्सटाइलले रु. ११ लाख ९ हजार र समृद्ध टेक्स टाइलले रु. ७ लाख ७६ हजार कर नतिरेको नगरपालिका कर शाखाको रेकर्डमा छ ।
भक्तपुर औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरूको तिर्न बाँकी करका सम्बन्धमा पटक पटक सरोकारवालाहरूको बैठक बसेको र उद्योपतिहरूले कर तिर्ने सहमति गर्ने तर कर नतिर्ने गर्दै आएको नगरपालिकाको भनाइ छ । तत्कालीन प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठ, उद्योग वाणिज्य सङ्घ, औद्योगिक क्षेत्र व्यवस्थापन समिति र उद्योगपतिहरूसमेतको उपस्थितिमा २०७५ भदौ ६ गते र असोज १६ गते बसेको बैठकले ‘भक्तपुर औद्योगिक क्षेत्रमा क्रियाशील उद्योगीहरूले नगरपालिकामा हालसम्म तिर्नपर्ने रकम २०७५ चैत महिनाको मसान्तसम्म किस्ताबन्दीमा कर तिर्न हामी उद्योगी व्यवसायीहरू सहमत छौँ’ भनी निर्णय गरेको थियो ।
सोही निर्णयको आधारमा भक्तपुर नगरपालिकाले त्यहाँ सञ्चालित उद्योगीहरूलाई पटक पटक पत्राचार गरी कर तिर्न ताकेता गर्दै आएको थियो । अर्बपति ती केही उद्योगीहरूले विभिन्न बहानाबाजी गर्दै कर तिर्न अस्वीकार गर्दै आएका हुन् । अन्तिम पटक भक्तपुर नगरपालिकाले २०८१ माघ ३० गते म्याद तोकी कर तिर्न अनुरोध गरेकोमा सो म्यादभित्र कर तिर्ने कुनै सङ्केत नदेखाएपछि भक्तपुर नगरपालिकाले फागुन २३ गतेबाट तालाबन्दी गरेको नगरपालिकाले जनाएको छ ।
भक्तपुर औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरूबाट उत्पादित ध्वनि, धुँवा र रसायनलगायतको प्रदूषणको कारण स्थानीय नगरवासीहरूको स्वास्थ्यमा प्रतिकूल असर परेको, विद्यार्थीहरूको पढाइमा बाधा पुगेको भनी पटक पटक स्थानीय जनताले नगरपालिकाको ध्यानाकर्षण गर्दै आएका थिए । नगरपालिकाले पनि औद्योगिक क्षेत्र काठमाडौँ उपत्यका बाहिर स्थानान्तरणको लागि पहल गर्दै आएको हो । नेपाल सरकारले उपत्यकाका उद्योगहरू उपत्यका बाहिर स्थानान्तरण गर्ने नीति बनाए पनि हालसम्म कार्यान्वयन गर्न सकेको छैन ।
भक्तपुर औद्योगिक क्षेत्र २०३६ सालमा स्थापना भएको हो । त्यतिबेला भक्तपुरमा कममात्र जनसङ्ख्या थियो । त्यतिबेला हस्तकला उद्योगहरूमात्र सञ्चालनमा थिए । पछि ठुलठुला उद्योग स्थापना गर्न थालियो । हाल औद्योगिक क्षेत्रको वरिपरि सबै बस्ती विकास भइसकेको छ । नगरपालिका कार्यालय नै औद्योगिक क्षेत्रसँग जोडिएको छ । त्यहाँ उत्पादित धुँवा, ध्वनि, रसायनले गर्दा जनताको स्वास्थ्यमा असर पर्ने गरेको र पर्यटन व्यवसायमा समेत नकारात्मक असर पर्ने भएकोले ती प्रदूषण फाल्ने उद्योगहरू बन्द नै गर्नुपर्ने स्थानीय बासीको माग छ ।
२४ सै घण्टा उद्योग सञ्चालन हुँदा ससाना बालबालिका, ज्येष्ठ नागरिक र दीर्घ रोगीहरूको लागि गम्भीर असर परिरहेको स्थानीयहरूको भनाइ छ । ती कतिपय उद्योगहरूले रसायनयुक्त फोहर सिधै ढलमा मिसाइएको गुनासो पनि पटक पटक आउने गरेको नगरपालिकाको भनाइ छ ।
भक्तपुर नगरपालिकाले जनताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने खालका उद्योगहरू बिस्थापन गरी हस्तकलामा आधारित स्थानीय सीप र साधनको प्रयोग गरी त्यस क्षेत्रलाई हस्तग्रामको रूपमा विकास गर्न जोड दिँदै आएको छ ।
भक्तपुर नपा कर शाखाका अनुसार हालसम्म औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूले नगरपालिकालाई १ करोड २२ लाखभन्दा बढी कर तिर्न बाँकी रहेको छ ।
नगरवासीहरूको स्वास्थ्यमाथि खेलबाड गर्ने उद्योगहरूलाई किन नगरपालिकाले सञ्चालन गर्न दियो भने जनताको गुनासो छ । कर नतिर्ने तर नाफा मात्र खोज्ने नाफाखोर उद्योगीहरूलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने जनताको माग छ ।
Leave a Reply