भर्खरै :

स्ववियु निर्वाचन र नेक्राविसङ्घ

स्ववियु निर्वाचन र नेक्राविसङ्घ

यही आउँदो चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदै छ । निर्वाचनको लागि तयारी गर्न विद्यार्थी सङ्गठनहरूले पूर्वाभ्यास गर्न थालेका छन् । क्याम्पस क्याम्पसमा विद्यार्थी नेताहरू तातिन थालेका छन् । स्ववियु निर्वाचनमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घसमेत २५ वटा विद्यार्थी सङ्गठन दर्ता भइसकेको खबर यसअघि नै प्रकाशमा आएको थियो । निर्वाचन कार्यतालिकाअनुसार निर्वाचित स्ववियु कार्य समितिको कार्यकाल २०८१ चैत ४ गतेदेखि स्वतः समाप्त हुने व्यवस्था छ । त्रिवि कार्यकारी परिषद्ले निर्देशिका जारी गर्दै निर्वाचनमा २८ वर्ष उमेर हदको व्यवस्था गरेको छ । चैत ५ गते निर्वाचनमा उम्मेदवारी दाखिला ०८१ फागुन २७ गते भएमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ २०५३ फागुन २८ गते वा सो भन्दा पछि जन्ममिति भएको विद्यार्थीले उम्मेदवारी दिन पाउने छन् । व्यवस्था गरिएअनुसार समितिमा क्याम्पस÷कलेज प्रमुखले तोकेबमोजिम दुई सय जनासम्म पाँच सदस्यीय, २०१ देखि एक हजारसम्म सात सदस्यीय, एक हजार एकदेखि तीन हजारसम्म नौ सदस्यीय, तीन हजारदेखि पाँच हजारसम्म ११ सदस्यीय र पाँच हजार एकदेखि माथि १३ सदस्यीय निर्वाचन समिति गठन गर्न सकिने व्यवस्था निर्देशिकाले गरेको छ ।
फागुन २६ गते मनोनयनपत्र वितरण गरिनेछ । फागुन २७ गते समानुपातिक र प्रत्यक्षतर्फको मनोनयन दर्ता, २८ गते प्रत्यक्ष समानुपातिकतर्फको उम्मेदवारको दाबी विरोध र २९ गते दिनको १ बजेसम्म उम्मेदवारीको नाम फिर्ता लिई अन्तिम नामावली प्रकाशन गरिनेछ । निर्वाचनको प्रचार प्रसार गर्ने समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्म हुनेछ । त्यसपछि मौन अवधि सुरू हुनेछ भने चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ । मौन अवधि सुरू भएपछि उम्मेदवारहरूले निर्वाचनसम्बन्धी गतिविधि गर्न पाउने छैनन् ।
स्ववियु निर्वाचन पनि वर्गसङ्घर्ष गर्ने थलो हो । विद्यार्थी सङ्गठनहरू राजनीतिक दलहरूकै वर्गीय सङ्गठनहरू हुन् । त्यसकारण, विद्यार्थी सङ्गठन आ–आफ्नो राजनीतिक दलको दर्शन, सिद्धान्त र विचारमा अडेको हुन्छ । नेक्राविसङ्घले स्थापनाकालदेखि निःशुल्क र अनिवार्य शिक्षाको माग गर्दै आएको हो । यो सङ्घले शैक्षिक आन्दोलनको साथै राष्ट्रिय र अन्तर्राष्ट्रिय समस्याबारे पनि उठाउँदै आएको छ । भारतीय पक्षले नेपाली भूमि मिच्दा होस् या अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत बाँध तथा तटबन्ध बनाउँदा होस् नेक्राविसङ्घले विरोध गरेको थियो, विरोध गर्दै छ ।
निर्वाचनको क्रममा हुने उच्छृङ्खल गतिविधि, अराजनीतिक गतिविधिको पनि यो सङ्घले विरोध गर्दै आएको हो । स्थानीय तह, प्रतिनिधिसभाको निर्वाचनमा जस्तै विगतको स्ववियुको निर्वाचनमा पनि पैसा बाँड्ने, होटेल नै कब्जा गरेर खाना–खाजाको व्यवस्था फ्रि गर्ने काम भएको थियो । आ–आफ्नो विद्यार्थी सङ्गठनको विचार प्रचार गरेर विद्याथीको मत लिनुपर्नेमा अनेकानेक लोभलालच, डर, धम्कीमा परेर मत लिने काम ठुला विद्यार्थी सङ्गठनहरूले गरेका थिए । आ–आफ्नो विद्यार्थी सङ्गठनका उम्मेदवार जिताउन अनियमित ढङ्गले विद्यार्थी भर्ना गरिएको थियो । विद्यार्थी हक हितको निम्ति लड्ने स्ववियु हाँक धाक देखाउने सङ्गठनको रूपमा विकास भयो । यसकारण, स्ववियुको निर्वाचनमा विद्यार्थी हकहितको निम्ति लड्ने अनुशासित, देशभक्त र देश र जनताप्रति समर्पित विद्यार्थी सङ्गठनका उम्मेदवारहरूलाई मतदान गरेर जिताउनुपर्छ ।
निर्वाचनमा हारजित स्वाभाविक छ । यो निर्वाचनमा विद्यार्थीहरूको आ–आफ्नो सैद्धान्तिक मत कसैको दबाब, धम्की र लहैलहैमा दिने होइन । विद्यार्थीहरूले आफ्नो सैद्धान्तिक मत सोच विचार गरेर दिनुपर्छ । इमानपूर्वक स्ववियु सञ्चालन गर्ने विद्यार्थी सङ्गठनका उम्मेदवारलाई मत दिनुपर्छ । स्ववियुमा रहेको कोष हिनामिना गर्ने, समग्र विद्यार्थीहरूको हितभन्दा आ–आफ्ना कार्यकर्ताहरू पोस्ने चरित्र बोकेको विद्यार्थी सङ्गठनलाई हामीले मतदान गर्नु हुँदैन । यो निर्वाचन शान्तिपूर्ण रूपमा सफल पार्नु सरकारको दायित्व हो । त्यो दायित्व त्रिभुवन विश्वविद्यालय र हरेक विद्यार्थी सङ्गठनको पनि हो । निर्वाचन स्वच्छ र शान्तिपूर्ण हुनुपर्छ । निर्वाचनमा धाँधली गर्नुहुँदैन । निर्वाचन बिथोल्ने, उपद्रव गर्ने, उच्छृङ्खल क्रियाकलाप गर्ने विद्यार्थीहरूलाई निगरानी राख्नुपर्छ र त्यसको लागि सुरक्षा व्यवस्था हुनुपर्छ । स्ववियु निर्वाचन सबै ठाउँमा शान्तिपूर्वक सफल होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *