भर्खरै :

(रोजा जन्म जयन्तीको अवसरमा प्रकाशित सामग्री) – असाधारण क्रान्तिकारी, साहसी महिला नेतृ रोजा लक्जेम्बर्गको जीवन–सङ्घर्ष र उनका कार्यहरू – १

(रोजा जन्म जयन्तीको अवसरमा प्रकाशित सामग्री) – असाधारण क्रान्तिकारी, साहसी महिला नेतृ रोजा लक्जेम्बर्गको जीवन–सङ्घर्ष र उनका कार्यहरू – १

रोजा लक्जेम्बर्ग विश्व सर्वहारा वर्गकी एक महान् क्रान्तिकारी नेतृ तथा योद्धा थिइन् । उनी माक्र्सवादी सिद्धान्तकार, दार्शनिक, अर्थशास्त्री र क्रान्तिकारी समाजवादी थिइन् । उनले सुधारवादको विरुद्धमा धेरै ठुलो सङ्घर्ष गरिन् र क्रान्तिलाई अगाडि बढाउने क्रममै आफ्नो प्राण उत्सर्ग गरिन् । दोस्रो अन्तर्राष्ट्रियमा क्रान्तिकारी धारको नेतृको रूपमा सुधारवादको विरूद्ध उनले सम्झौताहीन सङ्घर्ष गरिन् । उनी सन् १९१८ को जर्मन क्रान्तिको प्रमुख नेतृ थिइन् । उनले पोल्यान्ड र जर्मनीमा माक्र्सवादलाई नयाँ दिशा दिइन् । आफ्नो सङ्कल्प र निष्ठाको बलमा उनले सर्वहारा आन्दोलनलाई नयाँ दिशा दिन सफल भइन् । उनको बुलन्द प्रभावकारी आवाजको कारणले पुँजीपतिहरू काम्ने गर्दथे । तानाशाह शासकहरूको कुर्सी हल्लिन्थ्यो । रोजा बोल्न सुरु गर्दा सबै मानिस नतमस्तक हुन्थे । उनको हरेक बोलीमा सङ्घर्षको आतुरता, व्यङ्ग्य र उपहास भरिएको हुन्थ्यो । उनको आवाज तीक्ष्ण, शक्तिशाली र थरथराहटयुक्त हुँदै बाहिर आउँथ्यो र कानबाट सिधै हृदयमा बस्दथ्यो । उनी सुन्दर गीत पनि गाउँथिन् । उनको भाषण सुनेपछि मानिसहरू उनको प्रतिभालाई चमत्कार ठान्थे । उनी अत्यन्तै बुद्धिमान व्यक्तित्व थिइन् । उनी सामाजिक लोकतन्त्रवादी, समाजवादी, कम्युनिस्ट नेतृ थिइन् । उनलाई पत्रकारको रूपमा पनि चिनिन्छ । आफ्ना शक्तिशाली विचार र भाषणको कारण उनलाई संसारमा चिनिन्छ । सत्तासीन व्यक्तिलाई उनी जहिले पनि औँला ठड्याउँथिन् । राजनीतिक धृष्टता, सामाजिक असमानता, लैङ्गिक भेदभावको विरुद्ध उनका सम्पूर्ण जुझारू कार्यहरूले गर्दा आजसम्म संसारका अन्यायको विरुद्ध बोल्नेहरूका लागि उनी सदैव उच्च प्रेरणाको स्रोत बनिरहेकी छिन् । रोजाका राजनीतिक विचारधाराको कारण उनलाई ‘रेड रोजा’ उपनामले चिनिन्छ । उनले अन्तर्राष्ट्रिय स्तरमा समाजवादलाई स्थापित गराउनको लागि कैयौँ क्रान्तिकारी कदमहरू उठाइन् । उनको साहस, समर्पण, त्याग, बलिदानीभाव र वीरताको कारण उनी सदैव विश्व सर्वहारावर्गको निमित्त सम्मानित र महान् प्रेरणाको स्रोत रहिरहेकी छिन् ।
रोजा (रोजालिया) लक्जेम्बर्गको जन्म एक मध्यमवर्गीय यहुदी परिवारमा जारशाही रूसको अधीनमा रहेको पोल्यान्डको जेमोक नजिकै लुबलिन भन्ने ठाउँमा ५ मार्च १८७१ मा भएको थियो । उनको पिता एलियाश लक्जेम्बर्ग एक काठ व्यापारी थिए । रोजा पाँचौँ सन्तान थिइन् अर्थात् उनी पाँच भाइबहिनीहरूमा सबभन्दा कान्छी थिइन् । पाँच वर्षको उमेरमा खुट्टाको रोगको कारणले गर्दा उनी जीवनभरि अपाङ्गताको सिकार भएकी थिइन् । त्यतिबेलै उनको हिपको अपरेसन गरेर महिनौँ ओछ्यानमा परेकी थिइन् । रोजामा शारीरिक कमजोरी भए पनि उनी बच्चैदेखि दृढ, सङ्कल्पवान, प्रखर, मेधावी, पठनशील थिइन् । उनी बचपनदेखि नै नेतृत्वकारी गुणले भरिएकी थिइन् । उनी आफ्ना साथीहरूको बिचमा पनि लोकप्रिय थिइन् ।
रोजा ९ वर्षकी भएपछि उनीहरूको परिवार वार्सा गएको थियो । त्यसपछि उनलाई एक सरकारी स्कूलमा भर्ना गरियो । स्कूलमा उनले असाधारण प्रतिभा देखाइन् । युवा अवस्थामा पुग्दै गरेकी रोजाले अब समाजलाई बुझ्न लागेकी थिइन् । रोजा गोएथेका कवितालाई खुब मन पराउँथिन् । दोस्तोएब्स्की, चाल्र्स डिकेन्स, लाँगे, अनातोलेजस्ता विश्व प्रसिद्ध साहित्यकारहरूका रचनाहरू खुब मन लाएर पढ्थिन् । पियरे ब्रुडका उपन्यासहरूले उनलाई धेरै प्रभावित गरेका थिए । रोजा स्कूल पढ्दादेखि नै मजदुर आन्दोलनमा जोडिएकी थिइन् । उनी त्यसबेला पोल्यान्डको वाम सर्वहारा पार्टीसँग जोडिएकी थिइन् । उनको जीवन अभावै अभावले भरिएको थियो । समाजको आर्थिक स्तरमा विभाजन देख्दा र यी निरन्तर गहिरिँदै गएको देख्दा उनी दुःखित हुन्थिन् । श्रमिकहरूले आफ्नो दुर्दशालाई भाग्य ठानेर स्वीकार गर्ने अवस्थालाई देखेर उनी धेरै चिन्तिन हुन्थिन् । यस्तै बेलामा उनको कम्युनिस्ट आन्दोलनका नेताहरूसँग सम्पर्क भयो । माक्र्सका विचारको रोजामा अत्यन्तै ठुलो प्रभाव थियो । राजनीतिप्रति आकर्षणको कारण रोजा वामपन्थी पार्टीको सम्पर्कमा आइन् । सन् १८८६ मा उनले पोल्यान्डको वामपन्थी पार्टीको सदस्यता लिइन् । श्रमिक आन्दोलनमा भाग लिँदा उनको निर्भिक र प्रखर आन्दोलनकारी रूप प्रकट हुनलाग्यो । त्यतिबेला पोल्यान्डमा कम्युनिस्ट विचारधाराको प्रभाव निरन्तर बढ्दै गइरहेको थियो । पुँजीवादको विरोधमा सबै मानिसहरू सङ्गठित हुँदै गइरहेका थिए । उनले आफ्नो राजनीतिक जीवनको सुरुवात मजदुर वर्गको व्यापकरूपमा आमहडताल र धर्नाबाट सुरु गरेकी थिइन् । जार अलेक्जेन्डर तृतीयको अधिनायकवादी शासनमा स्वतन्त्र विचार, राजनीतिक व्यक्तिहरू र श्रमिक आन्दोलनलाई भयङ्कर दमन गरिन्थ्यो । जारशाहीको भीषण दमनसँगै त्यसबेला पार्टीका चार जना नेताहरूलाई फाँसीको सजाय भएको थियो र पार्टीलाई पूर्णरूपले प्रतिबन्ध लगाइएको थियो । मुख्य निशानामा रोजा पनि थिइन् । त्यसपछि पार्टीका अन्य नेता र सदस्यहरूसहित रोजा पनि भूमिगत रूपमा काम गर्न लागिन् । अब उनीहरूको सम्पूर्ण क्रियाकलाप भूमिगतरूपमा अगाडि बढ्न थाल्यो ।
सन् १८८७ मा रोजाले आफ्नो माध्यमिक परीक्षा पास गरिन् । त्यसपछि जारशाहीको गिरफ्तारीबाट बच्न र उच्च शिक्षा प्राप्त गर्नको लागि उनी सन् १८८९ मा स्वीट्जरल्यान्डको ज्युरिच गइन् र त्यहाँ ज्युरिच विश्वविद्यालयमा भर्ना भइन् । त्यसपछि उनले यहाँ कानुन र राजनीतिशास्त्रको पढाइ सुरु गरेकी थिइन् । सन् १९९८ मा उनले मानक उपाधि हासिल गरेकी थिइन् । उनले स्वर्ण पदक प्राप्त गरेकी थिइन् तर त्यो पदक लिन अस्वीकार गरिन् । पछि उनले सन् १८९७ मा पोल्यान्डको औद्योगिक क्रान्ति विषयमा शोध लेखेर विद्यावारिधीको उपाधि पनि प्राप्त गरेकी थिइन् ।
रोजाले स्वीट्जरल्यान्डमा निर्वासनमा रहेका अजेक्जेन्डर कोलोन्ताइ, प्लेखानोभ, लियो जोगिश र पावेल अक्सेलरोदजस्ता माक्र्सवादी र क्रान्तिकारीहरूसँग भेट गरिन् । रोजाको क्षमता र सिद्धान्तनिष्ठाले ती सबै नेताहरूलाई प्रभावित बनाएको थियो । ज्युरिचमा उनले इतिहास, राजनीति, दर्शन, गणित, समाजविज्ञान, अर्थशास्त्र आदि विषयहरूको गहन अध्ययन गरिन् । राजनीतिशास्त्र, अर्थशास्त्र, मध्ययुगको इतिहासजस्ता विषयहरूमा त उनले कुशलता हासिल गरेकी थिइन् । त्यसैगरी, राज्यको रूपमा मध्ययुगको आर्थिक स्थिति, शेयर बजारको सङ्कटमा पनि उनले विशेषज्ञता हासिल गरिन् । सन् १८९० मा उनको लियो जोगीशसँग प्रेम सम्बन्ध भयो । त्यसपछि कुनै रीतिरिवाजबिना नै उनीहरूको यो प्रेम सम्बन्ध मृत्युपर्यन्त कायम रह्यो ।
रोजा लक्जेम्बर्ग पोल्यान्डको समाजवादी पार्टीको राष्ट्रवादी नीतिसँग सहमत थिइनन् । उनी राष्ट्रवादी प्रवृत्तिहरूलाई सर्वहारा अन्तर्राष्ट्रतावादको लागि हानिकारक ठान्थिन् । सन् १८९३ मा लियो जोगिश र जुलियन मारक्लेभ्स्कीसँग मिलेर उनले स्प्राभा रोबोनित्कजा (मजदुरहरूको उद्देश्य) समाचारपत्र स्थापना गरिन् । यसको मुख्य उद्देश्य श्रमिकहरूको बिचमा वर्गीय चेतनाको विस्तार गर्नु थियो । यो समाचारपत्रको माध्यमबाट पोल्यान्डको समाजवादी पार्टीको राष्ट्रवादी नीतिको आलोचना गर्न लागिन् । पोलिस समाजवादी पार्टी रुसी साम्राज्यवादबाट पोल्यान्डको स्वतन्त्रताको माग गर्दथ्यो । रोजाले यो मागको विरोध गरिन् । त्यसपछि रोजा पोल्यान्डको समाजवादी पार्टीको निशानामा आइन् । रोजा र उनका साथीहरूको के मान्यता थियो भने जर्मनी, रूस, अस्ट्रियामा संयुक्त समाजवादी क्रान्तिबाट मात्र आत्मनिर्भर पोल्यान्डको जन्म हुनसक्छ । रोजाको मान्यताअनुसार सङ्घर्षको लक्ष्य राजनीतिक दासता र पुँजीवादी उत्पीडन दुवैबाट मुक्तिको लागि हुनुपर्दछ । उनीहरूको बिचमा मतभेद तीव्र हुँदै गएपछि सन् १८९३ मा लियो जोगिश, कोस्तान्जा शभा र जुलियस कास्र्कीसँग मिलेर पोल्यान्डको सामाजिक जनवादी पार्टीको स्थापना गरिन् । यो पार्टी पछि लिथुआनियाको सामाजिक जनवादी सङ्गठनसँग एकताबद्ध भयो र यसलाई पोल्यान्ड र लिथुआनियाको सामाजिक जनवादी पार्टी भन्न लागियो । रोजा त्यसपछि मजदुरहरूको उद्देश्य पत्रिकाको सम्पादनको लागि पेरिस आइन् ।
राष्ट्रियताको मुक्तिको सम्बन्धमा रोजाको विचार फरक थियो । उनका अनुसार पोल्यान्डको स्वतन्त्रताभन्दा पनि जर्मनी, रूस, अस्ट्रियाजस्ता मुलुकहरूमा समाजवादी क्रान्ति सम्पन्न भएपछि मात्र स्वतन्त्र र आत्मनिर्भर पोल्यान्ड अस्तित्वमा आउँछ । उनी साम्राज्यवादको चरणमा ठुला शक्तिहरू अस्तित्वमा आएपछि साना राष्ट्रियताहरूको लागि आत्मनिर्णयको अधिकारलाई भ्रामक मान्न लागेकी थिइन् । यी आधारहरूमा उनी पोल्यान्डको लागि स्वतन्त्रताको माग गर्दथिन् । यस सम्बन्धमा रोजाको लेनिनसँग ठुलो बहस भयो ।
सन् १९९८ मा रोजाले जर्मनी निवासी गुस्ताभ ल्युबेसँग विवाह गरिन् । यसको वास्तविक उद्देश्य जर्मनीको नागरिकता प्राप्त गरी अपेक्षाकृतरूपमा सुरक्षित हुनु थियो । यसपछि उनलाई जर्मन नागरिकता प्राप्त भयो । ५ वर्षपछि उनले गुस्ताभलाई आभार प्रकट गर्दै सम्बन्धविच्छेद गरिन् । रोजालाई के विश्वास थियो भने समाजवादी क्रान्ति सबभन्दा पहिले फ्रान्स र जर्मनीमा हुन्छ । जर्मनीको सामाजिक जनवादी पार्टी त्यसबेलाको सबभन्दा ठुलो संसदीय पार्टी बनिसकेको थियो । रोजा जर्मन सामाजिक जनवादी पार्टीसँग मिलेर काम गर्न चाहन्थिन् । त्यसकारण, उनी बर्लिन आइन् । यसपछि उनले सामाजिक जनवादी पार्टीको कार्यलाई अगाडि बढाउन लागिन् । यद्यपि, लियो जोगिशसँग मिलेर उनले पोल्यान्ड र लिथुआनियाको सामाजिक जनवादी पार्टीको पनि नेतृत्व सम्हालिरहिन् । सन् १८९९ मा प्रकाशित ‘द मिलिशिया एन्ड मिलिटरिज्म’ मा रोजाले जर्मन सैन्यवाद र साम्राज्यवादको जोडदार विरोध गरिन् । त्यसपछि आसन्न युद्ध रोक्नको लागि कार्यकर्ताहरूलाई एकजुट हुन पनि आह्वान गरिन् ।
जर्मनीको सामाजिक जनवादी पार्टी यतिखेर अवसरवाद र नोकरशाहीजस्ता गम्भीर रोगले ग्रसित थियो । जर्मनीको सामाजिक जनवादी पार्टीका क्रान्तिकारी वाम पक्षसँग मिलेर रोजाले अवसरवाद र नोकरशाहीको विरुद्ध आन्दोलन सुरु गरिन् । यसबेला जर्मनको सामाजिक जनवादी पार्टीमा संशोधनवाद तीव्ररूपमा प्रकट भएको थियो । पार्टीका एक प्रमुख नेता र सिद्धान्तकार एडवर्ड बर्नस्टीनले पुँजीवादले आफ्ना अन्तर्विरोधहरूबाट छुटकारा पाउन सक्दछ र विकसित पुँजीवादी देशहरूमा तीव्र औद्योगिक विकास तथा संसदीय जनवादद्वारा समाजवाद हासिल गर्न सम्भव छ भन्ने अवधारणा पेस गरेका थिए । यो अवधारणाअनुसार वर्गसङ्घर्षलाई र माक्र्सवादलाई छोड्नु थियो । यतिखेरै यहाँ उनको भेट प्रसिद्ध माक्र्सवादी विचारक कार्ल काउत्स्कीसँग भयो । यसपछि रोजाले कार्ल काउत्स्कीसँग मिलेर यो संशोधनवादी विचारको विरुद्धमा दृढतापूर्वक सङ्घर्ष गरिन् र माक्र्सवादको रक्षा गरिन् । रोजाले आफ्नो सङ्घर्षको क्रममा स्पष्टरूपमा के घोषणा गरिन् भने पुँजी र श्रमको बिचको अन्तर्विरोध केवल क्रान्ति र त्यसपछि उत्पादन सम्बन्धहरूमा आमूल परिवर्तनसँगै समाधान हुन सक्दछ । यही क्रममा सन् १८९९ मा उनले आफ्नो प्रसिद्ध पुस्तक सामाजिक सुधार वा क्रान्ति लेखिन् । यो किताब उनले बर्नस्टीनको किताब तेल्युसनरी सोसलिज्मको आलोचनामा लेखेकी थिइन् । अन्य पुस्तकभन्दा यो पुस्तकले कम्युनिस्ट कार्यकर्ताहरूलाई लागि धेरै प्रशिक्षित गरेको थियो । बर्नस्टीन संसद्को माध्यमबाट बिस्तारै–बिस्तारै कानुनी प्रक्रिया पालन गरेर अगाडि बढ्ने कुरा गर्थे । तर, रोजाको दृष्टि विद्यमान उत्पीडनको वास्तविक आधार श्रम दासता थियो । यो यस्तो चीज हो, जहाँ कानुनको त कुनै मुद्दा नै आउँदैन । रोजाका अनुसार श्रम दासता कानुनमा आधारित हुनुको सट्टा मुख्यतः आर्थिक कारकहरूद्वारा निर्धारित हुन्छ । त्यसकारण, पुँजीवादीवर्ग बर्चस्वको आधारभूत आधारलाई कानुनी सुधारद्वारा बदल्न सकिँदैन । किनकि, यो दासता कुनै कानुनद्वारा ल्याइएको होइन । रोजाका यी जोडदार क्रान्तिकारी तर्कहरूले जर्मन सामाजिक जनवादी पार्टीमा हलचल मच्चाइदियो र नेतृत्व दबाबमा आयो । कार्ल काउत्स्की र अगस्ट बेबेलले अन्ततः बहसमा उत्रिनुपर्यो । पार्टीका नेताहरूले देखावटीरूपमा बर्नस्टीनको आलोचना गरे पनि भित्रभित्रै सहमत थिए । रोजाले संशोधनवादीहरूलाई पार्टीबाट बाहिर निकाल्ने माग गरिन् । यो माग पूरा नभए पनि माक्र्सवादी दृष्टिकोण र सर्वहारा क्रान्तिलाई पार्टीको कार्यक्रममा स्वीकार गरियो ।

प्रस्तुति : एनजी

Leave a Reply

Your email address will not be published. Required fields are marked *