भर्खरै :

असाधारण क्रान्तिकारी, साहसी महिला नेतृ रोजा लक्जेम्बर्गको जीवन–सङ्घर्ष र उनका कार्यहरू – २

असाधारण क्रान्तिकारी, साहसी महिला नेतृ रोजा लक्जेम्बर्गको जीवन–सङ्घर्ष र उनका कार्यहरू – २

(रोजा जन्म जयन्तीको अवसरमा प्रकाशित सामग्री)

रोजा लक्जेम्बर्गले आफ्नो पत्रिकामा सन् १९०० पछिको सामाजिक आर्थिक समस्याहरूमाथि विश्लेषण प्रकाशित गरिन् । युद्धको आशङ्कालाई दृष्टि दिँदै उनले जर्मन सैन्यवाद र साम्राज्यवादको तीव्र आलोचना गरिन् । सन् १९०० मा रोजाले युरोपियन देशहरूका आर्थिक समस्याहरूको विश्लेषण गर्दै एउटा लेख लेखिन्, जसमा उनले पुँजी तथा श्रमको अन्तर्सम्बन्धलाई अत्यन्तै गहिराइपूर्वक विश्लेषण गरेकी थिइन् । यही क्रमसँगै रूसमा लेनिनको नेतृत्वमा मजदुर–किसान सङ्गठित भएर रूसको जारशाहीको विरुद्धमा सङ्घर्ष गरिरहेका थिए । सन् १९०५ मा रूसमा बोल्शेभिक क्रान्ति भयो । रोजा र उनका साथी लियो जोगिशलाई क्रान्तिकारीलाई साथ दिएको र हिंसा भड्काउन सहयोग गरेको आरोपमा गिरफ्तार गरियो । सन् १९०४ देखि सन् १९०६ को बिचमा आफ्ना राजनीतिक कारबाहीहरूलाई अगाडि बढाउने क्रममा उनी तीनपटक गिरफ्तार भएर जेल गइन् । सन् सन् १९०५ मा अगस्ट बेबेलले रोजा लक्जेम्बर्गलाई सामाजिक जनवादी पार्टीको मुखपत्र भोरवाटर्स (अग्रीम) को सम्पादक बनाए । यही बिचमा पोल्यान्डको स्वाधीनतालाई लिएर रोजा र लेनिनको बिचमा मतभेदसमेत भएको थियो । रोजा पोल्यान्डको लागि सम्पूर्ण स्वाधीनताको माग गरिरहेकी थिइन् भने लेनिन पोल्यान्डलाई राजनीतिक स्वायत्ततामात्र दिने पक्षमा थिए । आफ्नो विरोधलाई रचनात्मक रूप दिँदै रोजाले सन् १९०४ मा ‘अगर्नाइजेसनल क्वोइसन अफ रसियन डेमोक्रेसी’ शीर्षक रचना लेखिन् । यसमा उनले लेनिनको बर्चस्वकारी राजनीतिको आलोचना गरेकी थिइन् । रोजाका अनुसार यदि लेनिनका विचारहरूको आधारमा क्रान्ति भयो भने त्यसको परिणाम अन्ततः कम्युनिस्ट अधिनायकवादको रूपमा हुनेछ ।
सन् १९०५ को रूसी क्रान्तिको समयमा रोजा र लियो जोगिश वार्सा फर्किए तर उनीहरू त्यहाँ तुरुन्तै गिरफ्तार भए । रूसको असफल क्रान्तिले समग्र क्रान्तिको सन्दर्भमा रोजा लक्जेम्बर्गको धारणामा केही परिवर्तन गरिदियो । पहिले उनी समाजवादी क्रान्ति विकसित पुँजीवादी मुलुकहरूमा मात्र हुन सक्दछ भन्ने कुरा मान्थिन् र अब उनी रूस जस्तो पिछडिएको मुलुकमा पनि क्रान्ति हुन सक्दछ भन्ने निष्कर्षमा पुगिन् । दोस्रो १९०५ को क्रान्तिमा उनले बोल्शेभिक र मेन्सेभिकहरूको कार्यनीतिको फरकलाई महसुस गरिन् । बोल्शेभिकहरू क्रान्तिको भरपुर समर्थन गरिरहेका थिए भने मेन्सेभिकको दृष्टिकोण ढुलमुले प्रकारको र पुँजीपतिहरूको पिछलग्गू बन्ने खालको थियो । उनले आमहडताल र मजदुरवर्गको उभारलाई पनि देखिन् तथा सोभियतहरूको रूपमा सर्वहारा अधिनायकत्वका नयाँ रूपहरूलाई पनि देखिन् । यो क्रान्तिपछि उनले पूर्णरूपमा बोल्शेभिकहरूको समर्थन गर्न थालिन् ।
सन् १९०६ मा रोजाले ‘आमहडताल, राजनीतिक पार्टी र ट्रेड युनियन’ नामक एक पुस्तक प्रकाशित गरिन् । यो पुस्तकमा उनले आम हडतालभित्र मजदुरहरूको चेतना र सङ्घर्षको स्तरलाई माथि उठाउने तथा समाजवादी क्रान्ति सम्पन्न गर्ने भौतिक शक्ति हुन्छ भन्ने कुरा स्पष्ट पारिन् । यो पुस्तकमा उनले उल्लेख गरेअनुसार हडतालद्वारा श्रमिकहरूलाई प्रगतिशील समाजवादी बनाएर क्रान्तिप्रति उन्मुख बनाउने मात्र होइन, बरू युद्धउन्मादमा डुबेको र स्वार्थपरकता एवम् साम्राज्यवादी लालसाले संसारलाई मृत्युको मुखमा धकेलिरहेको सरकारलाई पनि प्रतिहिंसात्मक गतिविधिहरूबाट पछि हट्न बाध्य बनाउन सकिन्छ । उनले लेखिन् – जनआन्दोलनको रूपमा हडताल स्वाभाविक र निर्णायक गतिविधि हो । पुँजीवादको विरूद्ध सङ्घर्षमा सर्वहारावर्गको यो एकदम अपरिहार्य र विशिष्ट औजार हो । उनका अनुसार प्राचीन कालमा युद्ध सैन्य अड्डा र युद्धमैदानमा लडिन्थे तर अहिले सर्वहारावर्गको सङ्घर्ष खुला सडकहरूमा तथा गल्लीहरूमा लडिन्छ । अन्ततः त्यो निर्णायक र परिवर्तनकारी सिद्ध हुन्छ । पछि आमहडतालहरूको महत्वलाई बुझेर रोजा लक्जेम्बर्गले जर्मन साम्राज्यवाद र सैन्यवादको विरुद्धमा मजदुरहरूको आमहडतालको सुझाव जर्मन पार्टीलाई दिइन् तर पार्टीले उनको सुझावलाई स्वीकार गरेन ।
रोजाले निरन्तररूपमा जर्मन सरकारको साम्राज्यवादी युद्धनीतिको विरोध गरिरहिन् । उनका अनुसार श्रमिकवर्गले सङ्गठित भएर हडताल, धर्ना आदि अहिंस्रक गतिविधिको माध्यमबाट सरकारमा दबाब बढाएपछि युद्ध रोक्न सकिन्छ भन्ने थियो । रोजाको यस्तो विचारलाई सामाजिक जनवादी पार्टीले अस्वीकार गर्यो । यो विषयलाई लिएर रोजा र काउत्स्की बिचमा मतभेद सुरु भयो । रोजाका कैयौँ साथीहरू पहिले नै गिरफ्तार भइसकेका थिए । केही भूमिगत रहेर जसोतसो आन्दोलन अगाडि बढाइरहेका थिए ।
सन् १९०७ बाट रोजाले सामाजिक जनवादी पार्टीका नेता र विशेषगरी नवयुवाहरूलाई समाजवादी विचारधाराको बारेमा शिक्षा दिने जिम्मेवारी लिएकी थिइन् । वार्सा जेलबाट रिहा भएपछि रोजाले सामाजिक जनवादीको पार्टी स्कूलमा सन् १९०७ देखि १४ सम्म अध्यापनको काम गरिन् । उनका विद्यार्थीहरूमा फ्रेड्रिक इबर्टजस्ता ठुला नेता पनि थिए । अध्यापकको रूपमा उनले माक्र्सवाद र समाजवादी दर्शनको बारेमा शिक्षा दिने काम गरिन् । उनले माक्र्सवादको बारेमा शिक्षा दिँदा पुनरावृत्तिको रूपमा होइन, बरू असहमतिसहित र आलोचनात्मक ढङ्गले दिने गर्थिन् । रोजाले माक्र्सको मूल्यको श्रमसिद्धान्तको मौलिक व्याख्या पनि गरिन् । उनले पुँजीको दोस्रो खण्डमा देखिएका कमजोरीहरूलाई पनि समीक्षा गरिन् । सन् १९०७ मा उनी रूसी सामाजिक जनवादी पार्टीको लण्डनमा भएको पाँचौँ महाधिवेशनमा सामेल भइन् । यही महाधिवेशनमा लेनिनसँग उनको भेट भयो । लेनिनसँग कैयौँ विषयहरूमा फरक मत हुनुको बाबजुद क्रान्तिकारी माक्र्सवादको रक्षाको लागि लेनिन रोजालाई अत्यन्तै सम्मान गर्दथे ।
सन् १९०७ मा स्टुटगार्टमा भएको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा रोजाले साम्राज्यवादी मुलुकहरूले गरेका युद्धका प्रयासहरूको विरोधमा सर्वहारा अन्तर्राष्ट्रवादलाई बुलन्द गर्दै सबै समाजवादी पार्टीहरूसँग आफ्नो देशमा युद्धको विरोध गर्ने कुराको अपिल गरिन् तथा युद्धको विरोधमा एक प्रस्ताव पेस गरिन् । यो प्रस्ताव स्वीकार गरिएको थियो । उनले महाधिवेशनमा भनिन्, “युद्ध हुने खतराको बिचमा मजदुर र तिनीहरूका संसदीय प्रतिनिधिहरूको कर्तव्य के हुन्छ भने उनीहरूले सम्बन्धित देशमा युद्ध रोक्नको लागि सबै उचित प्रयास गर्नुपर्दछ, जसमा निश्चितरूपमा वर्गसङ्घर्षको स्थिति र राजनीतिक स्थितिअनुरूप परिवर्तन वा तीव्रता ल्याउन सकिन्छ । यदि युद्ध सुरु भयो भने पनि उनीहरूको कर्तव्य के हुन्छ भने यसलाई छिट्टै अन्त गर्नको लागि आवाज उठाउने र युद्धबाट उत्पन्न आर्थिक, राजनीतिक सङ्कटको प्रयोग विभिन्न सामाजिक स्तरलाई जागृत गरी पुँजीवादी शासनलाई शीघ्ररूपमा उखेलेर फ्याँक्नु पर्दछ ।” सम्मेलनमा साम्राज्यवाद, युद्ध तथा उपनिवेशवाद विरोधी एउटा साझा पर्चा तयार गरिएको थियो । यो पर्चा पढ्नको लागि लेनिनले आफ्नो स्थितिको प्रतिनिधिको रूपमा दोस्रो इन्टरनेसनलमा रोजाको नाम अगाडि बढाए । वैचारिक यात्रामा उनी कैयौँपटक लेनिनको निकट रहिन् । सो सम्मेलनमा रोजा एकमात्र महिला प्रतिनिधि थिइन् । यहाँ रोजा महिलाको सम्बन्धमा कैयौँ मुद्दालाई राजनीतिक धरातलमा प्रस्तुत गर्न सफल भइन् । महिला अधिकारको पक्षलाई सबल बनाउनमा रोजाले कैयौँ तर्क राखिन् । दोस्रो इन्टरनेसनलमा रोजाद्वारा प्रस्तुत गरिएको प्रस्तावलाई लेनिनले असाधारण महत्वपूर्ण बताएका थिए । मजदुरहरूमा महिला मजदुरहरूको आवश्यकता र उनीहरूको आवाजलाई राजनीतिक मञ्चमा प्रस्तुत गर्ने सबभन्दा प्रखर स्त्रीको रूपमा रोजालाई चिनिन्थ्यो । रोजाले स्वयंलाई स्थापित गर्न धेरै सङ्घर्ष गर्नुपरेको थियो । किनकि, उनी एक यहुदी महिला थिइन् र एक उत्पीडित राष्ट्र पोल्यान्ड निवासी थिइन् ।
रोजा लक्जेम्बर्गको मौलिक विचार प्रथम विश्वयुद्धमा उनले खेलेको महत्वपूर्ण भूमिकाबाट स्पष्ट हुन्छ । उनले सर्वहारा शक्तिको उपयोग युद्धबाट देशलाई बचाउनको लागि गर्नुपर्ने विचार स्पष्टरूपमा राखेकी थिइन् । सन् १९१२ मा भएको युरोपियन समाजवादी सङ्गठनको महाधिवेशनमा रोजा जर्मन सामाजिक जनवादी पार्टीकी प्रतिनिधि छनोट भइन् । त्यतिबेला विश्वमा युद्धको सघन बादल मडारिन लागेको थियो । जर्मनी सेनाहरूलाई युद्धको तयारीमा लगाइएको थियो । राष्ट्रवादी नेताहरू पनि युद्धकै समर्थनमा थिए । उनले फ्रान्सेली समाजवादी जीन जोरेसँग युद्ध सुरु भएपछि युरोपका सबै मजदुर पार्टीहरूले युद्धको विरोध गर्नुपर्ने कुरा आग्रह गरिन् । सन् १९१३ मा एक विशाल सभामा मजदुरहरूलाई सम्बोधन गर्दै उनले भनिन्, “यदि उनीहरू हामी आफ्ना फ्रान्सेली र अन्य बन्धुहरूको विरुद्धमा हतियार उठाउन सोच्छन्” भने हामीले भन्नुपर्दछ, “हामी यसो कदापि गर्नेछैनौँ ।” तर, सन् १९१४ मा प्रथम विश्वयुद्ध सुरु भएपछि जर्मन सामाजिक जनवादी पार्टीसहित फ्रान्सेली सामाजिक जनवादी पार्टी र अधिकांश सामाजिक जनवादी पार्टीहरू युद्धउन्मादमा बहकिए र आ–आफ्ना देशका पुँजीपतिहरूका पिछलग्गू बन्न पुगे । जर्मन संसद् मजदुर प्रतिनिधिहरूले सरकारको युद्धनीतिको पक्षमा मतदान गरे तथा सरकारलाई युद्धको क्रममा हडताल नगर्ने आश्वासन दिए । रोजा यी सबै घटनाक्रमबाट बडो चिन्तित थिइन् । राजनीतिक अवसरवाद पुनः एकपटक विजयी भएको थियो । रोजाले सुरुदेखि नै विरोध गर्दै आएकी प्रतिक्रियावादी नेता आफ्ना कुरामा सफल भएका थिए । पार्टी नीतिको कुनै वास्ता नगरी रोजाले युद्धविरोधी नीति जारी राखिन् । यसबेला जर्मनीमा रोजा लक्जेम्बर्ग, कार्ल लिब्नेख्त, क्लारा जेट्किन, फ्रान्च मेहिरिङजस्ता मजदुरवर्गका सच्चा नेताहरूले युद्धको विरोध गरे । रोजा लक्जेम्बर्गले फ्रयाङ्कफर्टमा एक युद्धविरोधी ¥याली आयोजना गरिन्, जसमा उनले सैन्य भर्तीको विरोध गर्ने तथा सरकारी आदेश नमान्ने कुरा अपिल गरिन् । रोजाले प्रदर्शन र जनसभामार्फत जनतामा चेतना फैलाउनुका साथै लेखन कार्यलाई पनि निरन्तरता दिइरहेकी थिइन् । सन् १९१३ मा उनको एक महान् कृति ‘द एक्युमुलेसन अफ क्यापिटल ः एक कन्ट्रिव्युसन टु इन इकोनोमिक एक्सप्लेनेसन अफ इम्पियरिलिज्म’ प्रकाशित भयो । यसमा पुँजीको साम्राज्यवादी चरित्र र त्यसको बर्चस्वकारी रणनीतिमाथि गम्भीर विचारविमर्श गरिएको थियो । रोजाले यसमा कार्ल माक्र्सको पुँजीमा दिइएका प्रस्तावनाहरूको गहिरो छानबिन गरेकी थिइन् । यो पुस्तकलाई माक्र्सको पद्धतिको उपयोग गरी माक्र्सवादी दर्शनलाई समृद्ध बनाउने सबभन्दा महत्वपूर्ण कृति मानिन्छ । यो पुस्तकमा निहित सिद्धान्तको अन्तर्वस्तु सरल छ । माक्र्सवाद कुन अनुमानमा आधारित छ भने पुँजीवाद आफ्नो अन्तर्विरोधहरूको भारले गर्दा ढल्नेछ । माक्र्स स्वयंले यो अवधारणालाई गणितीय र अनुभवजन्य प्रमाणहरूको आधारमा अगाडि बढाए । रोजा लक्जेम्बर्गको तर्क के थियो भने माक्र्सद्वारा दिइएका यी प्रमाण परिणामका अनुकूल छैनन् । गणितीय आँकलनहरूको आधारमा पुँजीवाद ढल्ने भविष्यवाणी असफल रहेको स्थितिमा उनले यो ढल्ने कारणहरूको खोजी गर्न सुरु गरिन् । पुँजीवाद अस्तित्वमा रहिरहने र यसले निरन्तर विकास गर्दै जाने कारणलाई रोजाले प्राक–पुँजीवादी समाजलाई आफ्नो कब्जामा लिने त्यसको क्षमतामा खोजिन् । पुँजीवाद उसको अस्तित्वमा कायम रहने कारण विकासबाट अछुतो रहेका यी क्षेत्रहरूलाई पुँजीवादी औपनिवेशिकको आर्थिक क्षेत्रमा ल्याउने र प्रभावित गर्ने उसको क्षमतामा निहित छ । जब पृथ्वीको सम्पूर्ण सतह पुँजीवादी सञ्चयको प्रभावबाट आकर्षित हुनेछ, तब पुँजीवादको लागि फैलिने आधार स्वतः समाप्त हुन्छ । परिणामस्वरूप त्यो स्वयं ध्वंस हुन्छ । पुँजीवादी उत्पादनको क्षेत्र गैरपुँजीवादी क्षेत्रहरूमा टिकिरहन्छ । यो कुरा रोजाको मौलिक प्रस्तावना थियो । रोजाले यसलाई साम्राज्यवाद र उपनिवेशवादको सन्दर्भमा परिभाषित गरिन् । यो पुस्तकको प्रकाशनपछि रोजा लक्जेम्बर्गलाई त्यसबेलाका विद्वान माक्र्सवादी विचारकहरूमा राखिएको थियो । यो पुस्तक प्रकाशित भएपछि रोजालाई पार्टीको वामपन्थी विभागको प्रतिष्ठित सदस्य बनाइएको थियो । रोजाको पुँजीवादविरोधी क्रियाकलाप निरन्तर तीव्र हुँदै गइरहेको थियो । प्रत्येक कार्यक्रममा उनी श्रमिकहरूलाई सङ्गठित विरोधको लागि तयार हुन, एकताबद्ध भएर बुर्जुवा समाजमा आक्रमण गर्न आह्वान गर्थिन् । उनको निरन्तर बढ्दै गएको लोकप्रियताको कारण पार्टीभित्र कैयौँ विरोधीहरू प्रकट भएका थिए । यतिबेलै उनका पुराना साथीहरू कार्ल काउत्स्की र अगस्ट बेबेलसँग मतभेद बढ्दै गइरहेको थियो ।
पार्टीको वामपन्थी शाखा विश्वयुद्ध हुन नदिनको लागि लगातार प्रयासरत थियो । युद्धकै क्रममा सन् १९१४ मा कार्ल लिब्नेख्त, क्लारा जेटकिन, फ्रान्च मेहरिङ, पोल लेभी आदिसँग मिलेर उनले ‘द इन्टरनेसनल समूह’ को स्थापना गरिन्, जसलाई सन् १९१६ मा स्पार्टाकस लीग भनियो । यो एक भूमिगत सङ्गठन थियो । यो सङ्गठनको उद्देश्य पुँजीवादी र साम्राज्यवादी सरकारहरूको युद्धउन्मादताको विरोधमा जनचेतना फैलाउनु थियो । रोजाको भूमिगत नाम जीनियस थियो । वामपन्थी विचारधारामा समर्पित स्पार्टाकस लीगले समाजवादी जनवादी पार्टीको युद्धनीतिको विरोध गर्दै जर्मनीका श्रमिकहरूलाई युद्धको विरोधमा अगाडि बढ्नको लागि आह्वान गर्यो । यसले आफ्ना विचारहरूलाई ‘स्पार्टाकस लेटर’ नामक पत्रिकामा प्रकाशित गरेको थियो । मई १९१६ मा स्पार्टाकस लीगले खुलेर काम गर्ने निर्णय लियो र विश्वयुद्धको विरूद्धमा बर्लिनमा एक प्रदर्शन आयोजना गर्यो । रोजा लक्जेम्बर्ग र कार्ल लिब्नेख्तसहित स्पार्टाकसका नेतालाई गिरफ्तार गरियो । जेलमा रहँदा पनि रोजाले आफ्ना क्रान्तिकारी गतिविधिहरूको नेतृत्व गरिरहिन् । जेलभित्र रोजाले कैयौँ दस्ताबेजहरू लेखिन् । यी दस्ताबेजहरू उनका साथीहरूको माध्यमबाट बाहिर आएर प्रकाशित भइरहे । यिनीहरूमध्ये जिनियस छद्म नामबाट लिखित जर्मन सामाजिक जनवादको सङ्कट धेरै प्रसिद्ध भयो । जिनियस पम्प्लेटको नामले प्रसिद्ध यो दस्ताबेजमा रोजाले बोल्शेभिक पार्टीका नेता लेनिनको पुँजीवादी शासनलाई बलपूर्वक उखेलेर फ्याँक्ने तथा विश्वयुद्धमा रोक लगाउने उद्देश्यले एक नयाँ अन्तर्राष्ट्रियको गठनका विचारहरूलाई समर्थन गरिन् । यद्यपि, उनले बोल्सेभिक क्रान्तिको पद्धतिलाई लिएर त्यसको आलोचना गरिन् । बोल्सेभिक क्रान्तिको परिणामस्वरूप रूसमा भएको सत्ता परिवर्तनलाई उनले सर्वहारा अधिनायकवाद भनिन् । उनले भनिन्, स्वाधीनता सदैव त्यो व्यक्तिलाई प्राप्त हुन्छ, जो अन्यबाट अलग रहेर नयाँ ढङ्गले सोच्दछ । रोजाले पछि ‘द क्राइसिस अफ सोसल डेमोक्रेसी’ लेखिन् । यसमा उनले जनवादी प्रणालीका अन्तर्विरोधहरू तथा चुनौतीहरूको चर्चा गरेकी थिइन् । बोल्शेभिकहरूको नेतृत्वमा अक्टोबर क्रान्ति सम्पन्न भएपछि पनि लेनिनसँग रोजाका कैयौँ मतभेद निरन्तर रहे । रोजा जनवादी केन्द्रीयतामा जनवादलाई बढी जोड दिन्थिन् । सर्वहारावर्गको अधिनायकत्वको समर्थक भएर पनि उनी एकदलीय सर्वहारा पार्टीको शासनको विरोधी थिइन् ।
रोजा लक्जेम्बर्ग ८ नोभेम्बर १९१८ मा जेलबाट रिहा भइन् । उनीसँगै कार्ल लिब्नेख्त पनि रिहा भए । रोजा जेलमै भएको बेला सन् १९१७ मा सामाजिक जनवादी पार्टीको युद्ध समर्थक नीतिको विरोधमा त्यसका केही सदस्यहरू अलग भएर इन्डिपेन्डेन्ट सोसल डेमोक्रेटिक पार्टीको स्थापना गरेका थिए । त्यसपछि यो पार्टी र स्पार्टाकस लीगबिच गठबन्धन भएको थियो ।

प्रस्तुति : एन गिरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *