भर्खरै :

स्ववियू निर्वाचन स्थगित गरिएकोमा नेक्राविसङ्घको विरोध

सुर्खेत, २९ फागुन । सुर्खेत बहुमुखी क्याम्पस स्ववियु निर्वाचन समितिले फागुन २८ गते सूचना जारी गर्दै चैत ५ गते हुने भनिएको स्ववियु निर्वाचनको कार्यक्रम स्थगित गरेकोप्रति नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले एक विज्ञप्ति जारी गर्दै त्यसमा सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ –
सूचनामा दर्ताको क्रममा उत्पन्न विवादलाई वार्ता एवम् छलफलमार्फत समाधान गरी निर्वाचनको थप कार्यक्रम सुचारु राख्नका लागि गरिएको प्रयास असफल भएपछि निर्वाचन समितिको बैठकले निर्णय गरेबमोजिम प्राप्त उम्मेदवारी दर्ता गरी निर्वाचनको थप प्रक्रिया सुचारु गर्न खोज्दा विद्यार्थीहरूले नाराबाजी गर्दै क्याम्पसमा तोडफोड गरेकोले असहज परिस्थितिको सिर्जना भई शान्ति सुरक्षा एवम् सार्वजनिक सम्पतिको क्षतिलाई समेत मध्यनजर गर्दै स्थगित गरिएको सार्वजनिक भयो ।
नाराबाजी र तोडफोड गर्ने विद्यार्थीहरू कुन संसद्वादी दलका विद्यार्थी हुन्, क्याम्पस प्रशासनले सार्वजनिक गर्नु जरुरी छ । आउँदा दिनमा कुन–कुन विद्यार्थी सङ्गठनले नाराबाजी गरेमा स्ववियु निर्वाचन स्थगित गरिने हो सो समेत क्याम्पस प्रशासनले सार्वजनिक गर्नु जरुरी छ । क्याम्पस प्रशासन प्रायोजित रूपमा स्ववियु निर्वाचन स्थगित गर्नेतर्फ उत्साहित हुनुहुँदैन ।
यथासक्य भयरहित वातावरणमा निर्वाचन समितिले शान्तिपूर्ण, निष्पक्ष, धाँधलीरहित ढङ्गले तोकिएको समयमा नै स्ववियु निर्वाचन गराउन नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ सम्बन्धित सबैसँग जोडदार माग गर्दछ ।
विज्ञप्तिमा नेक्राविसङ्घ सुर्खेत बहुमुखी क्याम्पस एकाइ समितिका अध्यक्ष कमल शाहीले हस्ताक्षर गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *