भर्खरै :

समाजवाद नारामात्र हुनुहुँदैन

समाजवाद नारामात्र हुनुहुँदैन

मानव समाजको विकास क्रममा प्रादुर्भाव भएका व्यवस्थामध्ये समाजवादलाई आदर्श व्यवस्था मान्ने गरिन्छ । कम्युनिस्ट तथा वामपन्थी मात्रै होइन, दक्षिणपन्थी तथा प्रतिक्रियावादी शक्तिले पनि समाजवादको वकालत गर्छन् । संसारमा अधिकांश देशले यो व्यवस्थाका मूल्य र मान्यतालाई केही हदसम्म भए पनि अपनाउने प्रयास गरेका छन् । पूर्व सोभियत सङ्घ र चीनले समाजवादको बाटोमा हिँड्ने प्रयास गरे तर उनीहरूले पनि त्यसलाई निरन्तरता दिन सकेनन् । तर, यस आधारमा यो व्यवस्था नै असफल भयो भन्न मिल्दैन ।
उत्पादनको साधनमाथि सामूहिक स्वामित्व तथा त्यहीअनुरूप उत्पादनको वितरण हुनु नै समाजवादको सार हो । यस प्रकारको स्वामित्व तथा वितरण प्रणालीका कारण नै श्रमजीवी वर्गले समाजवादी व्यवस्थामा आफूलाई काम गर्ने औजारजस्तो ठान्दैनन् । यो व्यवस्थामा अपनत्वको अनुभूति गरेकै कारण उनीहरूको सिर्जना गुणात्मक रूपमा नै वृद्धि हुँदै गइरहेको हुन्छ । चीनमा नयाँ जनवादी क्रान्तिपश्चात् चिनियाँ विशेषताको समाजवादमार्फत आर्थिक र राजनीतिक रूपमा गुणात्मक फड्को मार्नुको मूल कारण पनि यही हो ।
समाजवादी सोभियत सङ्घको विघटनपछि विश्वस्तरमा समाजवादी मुलुकले बाटो बिराउँदै गइरहे पनि पुँजीवादी मुलुकले आफूभित्रका अन्तरविरोधलाई साम्य पार्न समाजवादी मूल्य र मान्यतालाई केही हदसम्म भए पनि अङ्गीकार गर्न बाध्य भएको पाइन्छ । समाजवादी नीति अवलम्बन गरेकै कारण स्विडेन, नर्वे, फिनल्यान्ड, आइसल्यान्ड, डेनमार्कजस्ता स्केनडेभियन (नर्डिक) देशहरू मानव विकास सूचकाङ्कमा धेरै अगाडि छन् । शिक्षा र स्वास्थ्यमा उनीहरूले अत्यधिक मात्रामा समाजवादी नीति अवलम्बन गर्दै आइरहेका छन् । विशेष गरेर लोककल्याणकारी राज्य तथा सामाजिक न्यायको मान्यतालाई उनीहरूले अवलम्बन गर्दै आइरहेका छन् ।
नेपालका सन्दर्भमा २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना कालदेखि नै समाजवादलाई राजनीतिको विषयवस्तु बनाउँदै आएको पाइन्छ । २०१५ सालमा वीपी कोइरालाले जमिन जोत्नेको हुनुपर्ने तथा शिक्षा, स्वास्थ्य र रोजगारमा सबैको पहँच हुनुपर्नेलगायतका मान्यतासाथ समाजवादको परिभाषा गरेको र त्यहीअनुरूपको व्यवस्था हुनुपर्ने बताएका थिए । हाल नेपालको संविधानमा पनि समाजवादोन्मुख शब्द उल्लेख गर्नु एउटा महङ्खवपूर्ण राजनीतिक उपलब्धिका रूपमा मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।
समाजवाद रणनीतिक विषय हुन सक्छ । समाजवादोन्मुख तथा समाजवादी अभ्यास कार्यनीति हो । उन्मुख भनेको त्यो दिशामा अगाडि बढ्ने भनेको हो । समाजवाद मात्र किन साम्यवादोन्मुख पनि हाम्रो कार्यदिशा हुन सक्ने भयो । साम्यवाद हाम्रो आदर्श व्यवस्था हो भने हाम्रो गन्तव्य त्यतैतिर हुने हो । अनि, साम्यवादोन्मुख भन्न केको आपत्ति ? समाजवादको अभ्यास त आजैबाट आफू र आफ्नो सोच, आफ्नो परिवार, आफ्नो गाउँ र आफ्नो समाजबाट सुरु गर्ने हो । गाँस, बास र कपास नपाएर छटपटाइरहेका नेपाली जनतालाई ‘भोलि हामीले जनताको प्रजातन्त्रको क्रान्ति गरेर समाजवादमा पुगेपछि सबै आवश्यकता पूरा गरिदिनेछौँ’ मात्र भन्यौँ भने के उनीहरूको विश्वास जित्न सकिएला ? उनीहरूलाई भविष्यमा होइन, तत्काल भोको पेट भर्नुपरेको छ, राम्रो बास चाहिएको छ । उनीहरूलाई समाधान र परिवर्तन चाहिएको छ त्यसैले तत्काल उनीहरूलाई राहत दिलाउन केही न केही सुरु गर्नैपर्ने हुन्छ ।
नेपालीको जीवनमा आमूल परिवर्तन समाजवाद तथा साम्यवादमा मात्रै पूरा हुनेछ । जनताको प्रजातन्त्र क्रान्तिले त्यसका लागि आधार तयार पार्नेछ । तर, ती दीर्घकालीन रणनीतिमा केन्द्रित भइरहँदा आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा तत्काल केही परिवर्तन नहुने नै हो त ? प्रतिक्रियावादी राज्य संरचनाअन्तर्गत जनस्तरबाट दबाब दिँदै केही गर्न नसकिने नै हो त ? जनताको प्रजातन्त्रको क्रान्तिपछि समाजवाद आउने होला तर समाजवादको दिशामा एक दुई पाइला चाल्नै नहुने हो त ? नेपाली जनताको समृद्धि समाजवादमा आउने हो । तर, समृद्धितर्फको बाटोमा हिँड्नै नहुने हो त । यदि हिँड्न सकिन्छ भने त्यो नै समाजवादोन्मुख बाटो हो ।
नेपालको संविधानमा समाजवादोन्मुख शब्द लेखिए पनि विगतदेखिका सरकार तथा अहिलेको ओली सरकार त्यो दिशामा नरहेकोे सत्य हो । तर, व्यापक जनदबाब तथा जनआन्दोलनद्वारा यी सरकारलाई त्यो दिशामा हिँड्न बाध्य पार्न सकिन्छ । समाजवादोन्मुख भनेको समाजवादको बीजारोपण हो । आमजनता र राज्यको काम गर्ने शैलीमा परिवर्तन ल्याएर पनि समाजवादोन्मुख दिशा पक्रन सम्भव हुन्छ । संसारमा थुप्रै प्रतिक्रियावादी राज्य संरचना भएका मुलुकमा त्यस प्रकारको दिशा पक्रन सफल भएका थुप्रै उदाहरण हामी पाउँछौ ।
समाजवादी मूल्य मान्यताको प्रयोग गर्ने भनेको सामन्ती सोच, दृष्टिकोण र संस्कारलाई तोड्दै जाने हो । सभा गोेष्ठीमा निकै क्रान्तिकारी भाषण गर्दै हिँडिरहेका हुन्छौँ तर व्यवहारमा आफ्नै घरमा महिलामाथि शोषण गरिरहेका हुन्छौँ । आफूले खाएको जुठो थाल श्रीमतीले धुनुपर्ने यस प्रकारको सामन्ती सोचबाट हामी मुक्त हुन सकिरहेका छैनौँ । महिलालाई सम्पत्तिमा समान अधिकार दिन सकिरहेका छैनौँ । रुढीवाद तथा परम्परागत मूल्य मान्यतामा अल्झिरहेका हुन्छौँ । यस प्रकारका परम्परागत मूल्य मान्यता तोड्नु पनि समाजवादोन्मुख कार्य दिशा हो ।
त्यसकारण, समाजवादोन्मुख कार्यदिशा भनेको यस प्रकारका सामन्तवाद तथा दलाल पुँजीवादमाथिको प्रहार पनि एउटा महत्त्वपूर्ण कदम हो । नेपाली जनताको समृद्धि चाहने हो भने यी प्रतिक्रियावादी संरचनामाथि केही न केही रुपमा भए पनि प्रहार गर्दै जानुपर्ने नै हुन्छ । कैलालीका किसान केरा खेती गर्दै केही मात्रामा भए पनि समृद्धि चाहन्छन् भने भारतबाट आउने विषादीयुक्त केरामा प्रतिबन्ध लगाउनुपर्ने नै हुुन्छ र त्यसका लागि आन्दोलित हुनुपर्दछ । कैलालीका किसानको आन्दोलनले केही मात्रामा सफलता पाएको छ । त्यो सफलताले समृद्धिको दिशामा केही असर त पार्यो । यसबाट पनि प्रस्ट हुन्छ, परिवर्तन ससाना कुराबाट नै सुरु गर्ने हो । र, त्यसले नै ठूलो तथा आमूल परिवर्तनका लागि आधार तयार पार्ने हो । तसर्थ समाजवाद र साम्यवाद नारामात्र हुनुहुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *