भर्खरै :

चिनियाँ र जापानी भाषाका प्रशिक्षार्थीहरूलाई अभिमुखीकरण

चिनियाँ र जापानी भाषाका प्रशिक्षार्थीहरूलाई अभिमुखीकरण

भक्तपुर, ४ चैत । भक्तपुर नगरपालिकाद्वारा सञ्चालन हुने चारमहिने चिनियाँ भाषा र जापानी भाषा प्रशिक्षणका प्रशिक्षार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम सोमबार भनपा सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले भाषा देश चिन्ने र विचार आदानप्रदान गर्ने माध्यम भएको बताउँदै आफूले सिकेको ज्ञान र सीपबाट देशको सेवा गर्ने सोच युवाहरूमा हुनुपर्ने बताउनुभयो ।
नयाँ पुस्तालाई योग्य र सक्षम बनाउने उद्देश्यका साथ भक्तपुर नपाले विभिन्न विषय अध्ययन अध्यापन हुने शैक्षिक संस्थाहरू सञ्चालन गर्दै आएको बताउँदै उहाँले नगरपालिकाद्वारा सञ्चालित कलेजहरूमा अध्ययनरत विद्यार्थीहरूलाई आर्थिक र भौतिक सहयोग पनि गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपाले समाजलाई बुद्धिजीवीकरण गर्दै भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने दीर्घकालीन उद्देश्यका साथ काम गर्दै आएको बताउँदै उहाँले जुनसुकै क्षेत्रमा काम गरे पनि युवा विद्यार्थीले आफ्नो योग्यताअनुसार क्षमता प्रदर्शन गर्न प्रेरित गर्नुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले विदेशी भाषा र विभिन्न सीपमूलक तालिम सञ्चालन गर्दै नगरवासीहरूको अभिभावकीय दायित्व पूरा गर्दै आएको बताउनुभयो ।
उहाँले नपाबाट सञ्चालित विविध गतिविधिमा युवा, महिला र विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहँदै आएको बताउँदै भक्तपुरलाई आत्मनिर्भर बनाउने सोचका साथ भक्तपुरले आफ्नो विकास कार्यलाई अगाडि बढाउँदै आएको बताउनुभयो ।
कार्यक्रममा चिनियाँ भाषा प्रशिक्षक राजेन्द्र चवाल र जापानी भाषा प्रशिक्षक सीताराम सिबन्जारले भाषा अध्ययनको महत्वबारे प्रस्ट पार्दै अन्तर्राष्ट्रिय भाषा दुई देशबिचको सभ्यता र संस्कृति आदानप्रदान गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो ।
उक्त कार्यक्रममा चिनियाँ भाषा तालिमका संयोजक दीपेन्द्र प्रजापतिले चिनियाँ भाषा र जापानी भाषा पहिलो तह (आधारभूत) को तालिम २०८१ चैत १० गते आइतबारदेखि साँझ ५ः३० देखि ७ बजेसम्म भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ लमा सञ्चालन गरिने जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *