भर्खरै :

भ्यालेन्टाइन डे !

 – राकस्था
बुधबार नेपाली युवा–युवतीले ‘प्रणय दिवस’ मनाए । यसलाई ‘भ्यालेन्टाइन डे’ भनी नयाँ दिवसको रुपमा लिइए तापनि प्रेमको कुरा नयाँ होइन । धेरै नेपालीले यही मौसममा नौलो जीवनको सुरुवात गर्छन् पनि । वसन्त ऋतुको आगमनसँगै नयाँ पालुवा पलाउँछ, गहुँ बाली हरियो भई लहलहाउन थाल्छ, नयाँ जीवन पाएका चराचुरुंगीहरू पनि गुँडबाट निस्केर सांसारिक जीवनमा विचरण गर्छन्, प्रकृति रंगीन र स्वप्निल हुन्छ । शिशिर ऋतुको कठ्याङ्ग्रिँदो दिनको बिदाइपछि आउने बसन्त सबैको निम्ति प्रिय हुन्छ, न जाडो न गर्मीको मौसम कसलाई पो मन पर्दैन र ¤  वसन्तलाई परिवर्तनको उपमा दिन पनि सकिन्छ ।
जीवनमा सधैं कठिनाइमात्र हुँदैन सुगत–सौरभको मौसम पनि आउँछ भन्ने आशा जगाउने ऋतुले मानिसमा उत्साह र उमंग भर्नु पनि उत्तिकै स्वाभाविक छ ।  प्रेम प्राकृतिक हुन्छ । जीवनसाथीको चयन पनि स्वाभाविक एवम् प्राकृतिक छ । जसरी प्रकृतिको आफ्नो नियम छ त्यसरी नै समाजले जीवन निर्वाहका केही नियम बसालेको छ, शताब्दियौंदेखि । समाजले तोकेको मूल्य र मान्यतामा अडिएको प्रेमले मानिसको जीवनलाई सफल बनाउँछ ।  आजकल युवाहरूमा देखिएको पश्चिमा संस्कृतिका अन्ध नक्कल प्रवृत्ति बढेको चिन्ता पनि त्यत्तिकै स्वाभाविक छ । अल्लारे प्रेमले हत्या, अपहरणजस्ता घटना भइरहेको पाइन्छ । आफ्नो समाज, परिस्थिति, स्तरअनुसारको जीवनसाथी चयन गरियो, परिवारको पृष्ठपोषण मिल्यो भने प्रेमले सफलता प्राप्त गर्ने हुन्छ अन्यथा विछोडलगायत अनेक दुर्घटना हुने सम्भावना हुन्छ । जीवन साथी छनोट गर्दा इज्जत, नैतिकता, इमानदारि, समाजप्रतिको जिम्मेवारीबोध, देशको निम्ति पु¥याउने योगदानलाई नापो बनाउने हो भने हाम्रो समाजमा अनैतिक, बद्मासी, कुविचारले विस्थापित हुन करै लाग्छ । शारीरिक सुन्दरतालाई मात्र आधार बनाई गर्ने प्रेम केही समय रंगीन होला, त्यस्तो प्रेम दीगो हुँदैन, किनभने शारीरिक सुन्दरता फूलजस्तै ओइलाउन सक्छ । हृदयको सुन्दरता भने सदाबहार रहन्छ ।  मानिसमा प्रेम स्वाभाविक हो । मानिस प्रेमाकाङ्क्षी हुन्छ नै ।
प्रेम अनुभूतिको विषय हो । भावना छुन सकिन्न तर अनुभव हुन्छ । प्रेममा त्याग, समर्पण र विश्वास हुन्छ । प्रेममा वार्ता हुन्छ, छलफल हुन्छ । एकले अर्काको आशा र इच्छा इसाराले पनि बुझ्छ । प्रेममा एकको इच्छा अर्कोमा लादिन्न बरु शालीन अस्वीकृति हुन्छ । प्रेममा असहमतिको स्वतन्त्रता हुन्छ† एकको स्वार्थमा अर्कोलाई प्रयोग गरिन्न । प्रेम अनुशासित हुन्छ तर यो बन्धन होइन, जसरी धागो भएन भने चङ्गा उड्दैन । प्रेममा लाज हुन्छ, तर प्रेमी निर्लज्ज हुन्नन् । एकको विचारको स्वतन्त्रताको निम्ति अर्कोले गर्धन पनि थाप्छ । प्रेममा बेमेलमा पनि मेल हुन्छ, मेल हुँदाहुँदै बेमेल हुनसक्छ । विचार उही तर दृष्टिकोण फरक, लक्ष्य उही बाटो फरक हुनसक्छ । फरक दृष्टिकोणमा कोही निराशा हुन्न । प्रेममा सुख र दुःख घामछायाँजस्तै हुन्छ । भौतिक चिजमा प्रेम अडिन्न । प्रेमलाई घर, गाडी, डिनरको तराजुमा जोखिन्न । प्रेममा ‘…साग र सिस्नु’ पनि आनन्दी मनले खाइन्छ ।
प्रेम अश्लील, भद्दा, अभद्र कदापि हुन्न ।  चिनियाँ केटीले वर खोज्दा हातमा माटो लागेको खोज्थे रे । श्रमको सम्मान गर्ने, श्रमिकलाई माया गर्ने, काम गरी खान लज्जाबोध नगर्ने, देशको सार्वभौमिकतालाई प्राणभन्दा प्यारो ठान्ने, सामूहिक भावनालाई प्राथमिकता दिने, कमजोरलाई उठ्न सहारा दिने, सत्य बोल्न निर्भिक हुने, गलत कुरोलाई जस्तै परिस्थितिमा पनि गलत नै भन्ने, समाजको हितमा व्यक्तिगत हित समवेत गर्ने, अरुलाई चोट लाग्दा दुखाइको अनुभव गर्ने, म होइन हामी भन्ने, सार्वजनिक सम्पत्तिको रक्षा गर्ने आदि गुण हरेक प्रेमी–प्रेमिकाले खोज्ने हो भने संसार अझै सुन्दर बन्छ ।
‘…आफू मिटाइ दिनु’ मा सुखानुभूति गर्नेले प्रेमको अनुभव गर्छ ।  प्रेम हिजो प्रतिबन्धित थियो । शासक वर्गले श्रमिक वर्गलाई प्रेममा प्रतिबन्ध लगाएको थियो । सामन्ती समाजमा प्रेम असम्भव थियो । तर आज समाज बदलिएको छ । चिनाजानी, भावनाको साटफेर, विचार–विमर्श, सांस्कृतिक आदान–प्रदान आदिको निम्ति प्रेम सशक्त माध्यम हुनसक्छ । संसारमा असङ्ख्य प्रेमी–प्रेमिका छन् तर माक्र्स र जेनी, लेनिन र क्रुप्सकाया, माओ र याङकाइ हुइ, किम इल सुङ र किम जोङ सुकको प्रेमलाई अद्वितीय मानिन्छ । देश र जनताको स्वतन्त्रताको निम्ति ती जोडीको प्रेम नमुना हो । तिनले जस्तोसुकै दुःख र पीडा सहनु परे पनि एकले अर्कोलाई साथ दिए, तिनी आफ्नो आस्था र विश्वासमा अडिग भए । सत्रुसामु कहिल्यै झुकेनन् ।  कार्ल माक्र्सले आफ्नी जीवन संगिनी जेनीलाई एक पटक लेखेको चिठीमा यस्तो छ, ‘हामीलाई छुट्टिनुमात्रै पर्छ, समयले मेरो प्रेमलाई त्यस्तै किसिमले हुर्काउँदै आएको रहेछ जसरी घाम र पानीले विरुवा हुर्काउँछ भन्ने कुरामा म झन् विश्वस्त हुनथाल्छु ।’  माक्र्स थप्छन्, ‘संसारमा थुप्रै आइमाई छन् र तीमध्ये कति त अति सुन्दरी हुन्छन् भन्ने कुरा निर्विवाद छ । तर म अरु कहाँ त्यस्तो अनुहार भेट्टाउन सक्छु जसको प्रत्येक रेखाले जसको चाउरीले समेत मेरो जीवनका उत्कृष्ट दिनहरूको सम्झना बिउँझाइदिन्छ ?
म तिम्रो प्यारो अनुहारमा चुम्बनको वर्षा गर्छु, यो कष्ट बिर्सिदिन्छु…. ।’ चिनियाँ क्रान्तिका नेता माओ र याङ काइहुईको प्रेम जोडीमा पनि त्यति नै समर्पण थियो । चीनको क्रान्तिमा विरांगना महिलाको उपमा पाएका याङलाई शासक वर्गले मार्नु अघि जीवन दानको प्रलोभन देखाइएको थियो, सर्त थियो, माओ कहाँ छन् बताउनुपर्ने । याङले ठाडै अस्वीकार गरिन् बरु मृत्युलाई आत्मसात गरिन् । शत्रुको गोलीबाट वीरगति प्राप्त गर्नु अघि उनले हुँकार गरेकी थिइन्, ‘मृत्यु महत्वपूर्ण होइन, चाँडो क्रान्तिको विजय मुख्य हो ¤’ रुसी क्रान्तिका नेता लेनिन र क्रान्तिकारी नेतृ क्रुप्स्कायाबीचको प्रेम पनि क्रान्तिप्रति समर्पित थियो । तिनी देश निकालामा पर्दा होस् वा स्वदेशमै भूमिगत छँदा एकले अर्कोलाई साथ दिन्थे । एकको परिपूरक अर्काे वा एकै सिक्काका दुई पाटाजस्ता । क्रुप्स्कायाले पार्टीको केन्द्रीय समितिमा रही क्रान्तिको रक्षा गरिन्, शिक्षामा क्रान्तिको नेतृत्व लिइन् ।
कोरियाली क्रान्तिका नेता किम इल सुङ र नेतृ किम जोङ सुकको जोडीलाई पनि क्रान्तिकारी प्रेम जोडीको उपमा दिन सकिन्छ ।  नेतृ किमले जापानी उपनिवेशबाट देशलाई मुक्त गर्न किम इल सुङलाई साथ मात्र दिएनन्, उनी आफैं युद्धको मोर्चामा सहभागी थिइन् ।  अन्तमा, प्रेम दिवसको सार्थकता तब हुन्छ, जब प्रेमले सृजना गर्छ, प्रेमले देश र जनताको आमूल परिवर्तनको आह्वान गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *