नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
आदिमकालमा मान्छेको जीवन आजजस्तो सहज थिएन । मानिस आजजस्तो बलवान् पनि थिएन । ऊ प्रकृतिको दास नै थियो । प्रकृतिमाथि मानिसको हैसियत त्यति नै थियो जति जङ्गलमा रहेका जनावरहरूको थियो । आजजस्तो स्वर्ग, नर्क, भुत–प्रेत, देवी–देवताजस्ता कुराहरूसँग आदिम मान्छे बिल्कुल अनविज्ञ थिए । अर्धवन्य अवस्थामा आइपुगेपछि मात्र मान्छेले प्रकृतिमाथि केही अलौकिक शक्ति छ भन्ने विश्वास गर्न थालेका हुन् । वन्य अवस्थामा त्यसको कुनै अस्तित्व थिएन ।
बानरका रूपमा रहेका हाम्रा पुर्खाहरू जङ्गलमा अनकौँ प्रकारका साङ्लाहरूले बाँधिएका हुन्थे । मान्छेले आफ्नो विकासक्रममा प्रकृतिमा रहेका अनेक बार–बन्धनहरूलाई तोडेर अगाडि बढ्न सिक्यो । रुखको कापमा बसेर रुखको फल खाने बानरको अवस्थाबाट भुँइमा ओर्लिएर दुईखुट्टाले हिँड्न जानेपछि मान्छेले आफ्ना दुईओटा हातलाई स्वतन्त्रतापूर्वक आफ्नो सुरक्षामा लगाउन जान्यो । मान्छेको प्रागऐतिहासिक पूर्वजहरूलाई जङ्गलको पिंजडा तोडेर स्वतन्त्ररूपले रुखहरू नभएका ठूला तथा फराकिला घाँसे मैदानहरूमा आफ्नो निवास बनाउन लाखौँ वर्ष लाग्यो ।
प्राचीनकालमा मान्छेले ओत लाग्नको लागि ओडारको आश्रय लिनुपथ्र्याे । आजजस्तो घर निर्माण गर्ने बुद्धि उतिबेलाका मान्छेमा थिएन । मान्छे नाङ्गै विचरण गर्थे । समयक्रममा शरीर ढाक्नको निम्ति मान्छेले रुखका पात, पशुका छालाहरू प्रयोग गर्न जाने । छालाको डोरीले बाँधेको काठका दापमा घोटेर धारिलो बनाएको ढुङ्गाको बन्चरोलगायतका हतियार मान्छेले शिकारको निम्ति प्रयोग गर्न थाले । अनुहारको दा¥ही जुङ्गा काट्न मान्छेलाई त्यतिबेला आजजस्तो ब्लेड उपलब्ध थिएन । मान्छे जङ्गलमै थिए । जङ्गली मान्छेलाई आजजस्तो दिनको घडी, घन्टा र समयको ज्ञान थिएन । सूर्य, तारा, चन्द्रमाको गति नियाल्नुपथ्र्याे । बलियो खाले लठ्ठीमा छालाको पातलो डोरीले बाँधेर तयार पारेको धनुष र तीरको वाण जोडेर प्रत्यञ्चा (ताँडो) कस्दै टाढा रहेको शिकारमाथि प्रहार गर्ने प्रविधि मान्छेले समयक्रममा पत्ता लगायो । मुश्किलले भेटेको शिकारको शरीरबाट निस्केको तातो–तातो रगत पिउने र शरीरलाई टोकेरै खाने बाध्यता उतिखेर थियो । मानिस समूहमा नहिँड्दा, हतियार नबोक्दा, जङ्गली ब्वाँसा, भालु, बाघको शिकार कुनै पनि बेला हुन सक्थे । यसर्थ मानिस समूहमा झुन्ड झुन्ड भएर हिँड्न थाले ।
पानी पर्याप्त पाइने नदी किनारबाट मान्छेको सभ्यता सुरु भएको मानिन्छ । बोल्गा, युफ्रेटिस, टिग्रिस, नाइल, ह्वाङ्हो, सिन्धुलगायतका नदी किनारमा मान्छेले आफ्नो सभ्यता निर्माण गरेको इतिहास हामीले पढेका छौँ । पानीले माटो मलिलो तथा उर्वर, ओसिलो बनाउँछ । पानी पर्याप्त भएको ठाउँमा प्राणी जीवन हुर्कनु स्वाभाविकै हो । वन्य अवस्थामा मान्छेको समूह कुनै एकै ठाउँमा स्थायीरूपले बस्दैनथे । आसपास शिकार पाउन छाडेपछि, वरपर कन्दमूल, फलफूल बाँकी नरहेपछि उनीहरू बसाइँ सर्थे । आज पनि नेपालमा त्यसको अवशेष ‘राउटे’ समुदाय जीवित छ । आज पनि उनीहरू घुमन्ते जीवन बिताउँछन् ।
प्रकृतिसँग जुझ्दै, लड्दै–भिड्दै अगाडि बढ्दा मान्छेले आगो पत्ता लगायो । आकाशमा बिजुली चम्किएर जङ्गलमा आगो लाग्नु, आगोको संरक्षण गर्न सक्नु र त्यसको रापबाट न्यानो महसुस गर्नु मान्छेको जीवनमा एउटा ठूलै क्रान्ति थियो । मान्छेले बिस्तारै आगोको महत्व बुझ्न थाले । तर, आजजस्तो मान्छेले चाहेको बखत सलाई कोरेर, लाइटर प्रयोग गरेर आगो बाल्न सक्दैनथे । चकमक ढुङ्गा जुधाएर, काठमा काठ रगडेर बडो मेहनतका साथ आगो बाल्नुपथ्र्याे । यसर्थ मान्छेले एकपटक बालेको आगोलाई जीवित राख्न सुकेका काठहरू झोस्दै निरन्तर बाली रहन्थे । आगोको वरपर बसेर आफ्नो शरीरलाई न्यानो पार्थे । मारेर ल्याएको शिकार आगोको वरिपरि बसेर बाँडीचुँडी खाने परम्परा थियो । आगोको सुखमय तातो स्पर्शले शरीरका अङ्ग अङ्गलाई मजबुत पारिँथ्यो । यसैकारण होला प्राचीन धर्मग्रन्थहरूमा आगोको वर्णन धेरै गरीएको पाइन्छ । आर्यहरूको प्राचीन ग्रन्थ ऋग्वेदको पहिलो मन्त्र नै आगोसँग जोडिएको छ । ऋग्वेदमा अंगिरस नामका व्यक्तिले अग्निको खोज गरेर गुफामा ल्याएर संरक्षित गरेको उल्लेख छ । ग्रीक किंवदन्तीका अनुसार प्रोमिथियसले मानव जातिको निम्ति स्वर्गबाट आगो ल्याइदिएको कथा रचियो । आगोप्रति मान्छे निकै कृतज्ञ भए । आगोकै कारण मान्छेलाई जङ्गली जनावरबाट डर भएन । आगोको बारेमा एँगेल्सले भन्नुभएको छ, “व्यावहारिक रूपमा यान्त्रिक गतिलाई तापमा परिणत गर्ने प्रविधिको अनुसन्धान अत्यन्त प्राचीन हो । यसको आरम्भ मानव जातिका इतिहास सँगसँगै सम्पन्न भयो होला । औजारहरूको निर्माण र पशुपालनलगायत पहिले जतिसुकै आविष्कारहरू भए पनि दुईटा वस्तु घोटेर आगो उत्पन्न गर्नु नै सबभन्दा पहिलो आविष्कार थियो ।”
आगोको आविष्कारपछि मान्छेको जीवनमा ठूलो परिवर्तन आयो । आगोको संरक्षण गरेर त्यसको उपयोग गर्न जानेपछि आर्यहरूको साम्य सङ्घ ‘ब्रह्म’ अस्तित्वमा आयो । आगोको वरिपरि बस्ने, खोजेर ल्याएका शिकार आगोकै सामु बसेर बाँडेर खाने, समूहमा मिलेर बस्ने आर्यहरूको उतिबेलाको जीवन प्रणालीलाई ‘यज्ञ’ भनिन्थ्यो । निजी सम्पत्ति, वर्गहरू र शासन सत्ताको उत्पत्ति नभएसम्म आर्यहरूको जीवन पद्धति तथा सामुहिक उत्पादन प्रणालीसँग सम्बन्धित थियो ‘यज्ञ’ । (आदिम साम्यवाददेखि दासप्रथासम्मको इतिहास, श्रीपाद अमृत डाँगे) तर, पछिल्लो काल ‘यज्ञ’ चलाख पुरोहितहरूको निम्ति आजीविकाको साधन मात्र बन्न पुग्यो । अहिले ‘यज्ञ’ विधि विधान र सामाजिक संस्कारका रूपमा सीमित छ । तन्त्रमन्त्रका तानाबाना पनि यसमा बुनिए । प्राचीन कालमा ‘यज्ञ’ मान्छेको जीवन पद्धतिसँग जोडिएको यथार्थ थियो, अहिले मिथ्या तथा केवल परम्परा धान्ने रूपमा सीमित रह्यो । हुँदै नभएको अलौकिक शक्तिलाई खुशी पार्ने नाममा मान्छेलाई भ्रम छर्ने साधनको रूपमा मात्र रह्यो । ‘यज्ञ’ गर्ने भन्दै आजकल केही छट्टुहरूले जनतामाथि भ्रम छरेर व्यापार गर्दै छन् । अकुत सम्पत्ति कमाउन लुट मच्चाउँदै छन् । यसर्थ यथार्थ बुझ्नु जरुरी छ ।
२०८१ चैत ३ गते
Leave a Reply