भर्खरै :

ट्रम्पले न्यायाधीशलाई महाभियोग लगाउने भनेपछि प्रधानन्यायाधीशले विज्ञप्ति निकालेर गरे निन्दा

ट्रम्पले न्यायाधीशलाई महाभियोग लगाउने भनेपछि प्रधानन्यायाधीशले विज्ञप्ति निकालेर गरे निन्दा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलाको आपराधिक समूह सदस्य भनेर देश निकाला गरिएका सयौँ आप्रवासीको मुद्दा हेरिरहेका सङ्घीय न्यायाधीशलाई महाभियोग लगाउने भनेपछि प्रधानन्यायाधीश जोन रोबट्र्सले त्यसको निन्दा गरेका छन् ।
भेनेजुयलाको आपराधिक समूह ‘ट्रेन दि अरागुआ’ का सदस्यहरू भन्दै २५० भन्दा बढी आप्रवासीलाई ट्रम्पले देश निकाला गरेका थिए ।
अमेरिकाको सङ्घीय अदालतअन्तर्गतको वासिङ्गटन डीसीमा रहेको जिल्ला अदालतका प्रमुख न्यायाधीश जेम्स बोजबर्गले १४ दिनको लागि उनीहरूलाई देश निकाला नगर्नु भन्ने अस्थायी आदेश गरे पनि ट्रम्प सरकारले उनीहरूलाई निकालेको थियो ।
ट्रम्प सरकारले अदालतको आदेश नमानेको भन्दै न्यायाधीश जेम्स बोजबर्गले त्यसबारे जवाफ मागेका छन् ।
बोजबर्गलाई रिपब्लिकन पार्टीबाट निर्वाचित तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुसले २००२ मा डिसी सुपरियर कोर्टमा न्यायाधीश नियुक्त गरेका थिए । उनलाई सन् २०११ मा डेमोक्र्याटिक पार्टीबाट निर्वाचित तत्कालीन राष्ट्रपति बाराक ओबामाले वासिङ्गटन डिसीमा रहेको जिल्ला अदालतमा बढुवा गरेका थिए ।
ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै बोजबर्गलाई महाभियोग लगाउनै पर्ने भनेका थिए । बोजबर्गलाई नियतवश निहुँ खोज्ने र कट्टर वामपन्थी बौलाहा भन्दै उनलाई ‘बाराक हुसेन ओबामा’ ले नियुक्त गरेको भने । ट्रम्प राजनीतिमा आउनुअघि नै तत्कालीन राष्ट्रपति ओबामा अमेरिकामा नजन्मेको गलत दाबी गर्दै उनी राष्ट्रपति हुन नपाउने भन्थे । त्यस्तै, ओबामा हवाई राज्यमा जन्मेका इसाई भए पनि उनको पूरा नाम ‘बाराक हुसेन ओबामा’ औंल्याउँदै उनी मुसलमान भएको झूटो दाबी गर्थे ।
“मतदाताहरूले मैले जे गरूँ भनेर चाहेका थिए, मैले त्यही गरिरहेको छु । मलाई अदालतमा हाजिर गराउने धेरै बेइमान न्यायाधीशहरूजस्तै यी न्यायाधीशलाई महाभियोग लगाइनुपर्छ,” ट्रम्पले बोजबर्ग विरूद्धको पोस्टमा लेखेका थिए ।
त्यसमा प्रतिक्रिया जनाउँदै प्रधानन्यायाधीश जोन रोबट्र्सले मङ्गलबार विज्ञप्ति निकालेर महाभियोग लगाउने मागको निन्दा गरेका छन् । अदालतहरूलाई परम्परागत मुद्दा प्रणालीमार्फत कानुनी विवादहरू समाधान गर्न छोडिनुपर्छ भनेर रोबट्र्सले भनेका छन् ।
“दुई शताब्दीभन्दा बढी समयदेखि यो स्थापित भएको छ कि न्यायिक निर्णयको सम्बन्धमा असहमतिका लागि महाभियोग उपयुक्त प्रतिक्रिया होइन । त्यस प्रयोजनका लागि पुनरावेदन समीक्षाको सामान्य प्रक्रिया छ,” रोबट्र्सले सो वक्तव्यमा भने ।
ट्रम्पले पहिलो कार्यकालमा सन् २०१८ मा आप्रवासनसम्बन्धी अर्को मुद्दामा फैसला गर्ने न्यायाधीशलाई ‘ओबामा न्यायाधीश’ भनेर आक्रमण गरेपछि पनि प्रधानन्यायाधीश रोबट्र्सले अदालतको बचाउमा विज्ञप्ति निकालेका थिए ।
“हामीसँग ओबामा न्यायाधीश वा ट्रम्प न्यायाधीश, बुश न्यायाधीश वा क्लिन्टन न्यायाधीश छैनन् । हामीसँग समर्पित न्यायाधीशहरूको असाधारण समूह छ, जो आफू समक्ष आएकाहरूलाई समान न्याय दिन आफूले सकेसम्म प्रयास गरिरहेका हुन्छन्,” रोबट्र्सले त्यतिबेला भनेका थिए ।
ट्रम्पनिकट धनाढ्य इलन मस्कलगायत धेरै रिपब्लकन नेताले ट्रम्प सरकारविरूद्ध आदेश दिने न्यायाधीशलाई महाभियोग लगाउनु पर्ने भनिरहेका छन् ।
ट्रम्पले पनि न्यायाधीश बोजबर्गलाई महाभियोग लगाउनुपर्ने भनेपछि रिपब्लिकन राष्ट्रपति जर्ज डब्ल्यु बुसले नियुक्त गरेका प्रधानन्यायाधीश रोबट्र्सले विज्ञप्ति निकालेर निन्दा गरेका हुन् ।
ट्रम्पले भेनेजुयलाको आपराधिक समूह ‘ट्रेन दि अरागुआ’ का सदस्यहरू भन्दै सयौँ आप्रवासीलाई देश निकाला गरेपछि यो विवाद सुरू भएको हो ।
ट्रम्पले युद्धकालका लागि बनाइएको सन् १७९८ को विदेशी शत्रु कानुन (एलियन इनिमी एक्ट) लाई ब्युँताएर आपराधिक समूह ‘ट्रेन दि अरागुआ’ का सदस्यहरू हुन् भनेर २५० बढी कैदीलाई एल साल्भाडोरको जेलमा पठाएका छन् ।
अन्तर्राष्ट्रिय मिडियाका अनुसार ट्रेन दि अरागुआ समूह विशेषगरी मानव बेचबिखनमा संलग्न छ ।
यससँगै यो समूह एक्सटर्सन (रकम असुली), अपहरण, मनी लाउन्डरिङ, पैसा लिएर मानिस हत्या गर्ने, तस्करी, पानामा देखि ब्राजिलसम्म सङ्गठित रूपमै चोरी गर्ने जस्ता आपराधिक गतिविधिमा संलग्न छ ।
यस समूहको नेतृत्व हेक्टर ‘निनो’ गुरेरोले गर्दै आएका छन् । उनी हाल फरार छन् । उनी सन् २०२३ मा भेनेजुयलाको टोकोरोन जेलमा प्रहरीले छापा मार्नुअघि फरार भएका थिए । (सेतोपाटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *