भर्खरै :

भक्तपुर बहुमुखी क्याम्पसमा फर्जी मत देखियो, निर्वाचन धाँधलीको आरोप

भक्तपुर बहुमुखी क्याम्पसमा फर्जी मत देखियो, निर्वाचन धाँधलीको आरोप

भक्तपुर, ६ चैत । भक्तपुर बहुमुखी क्याम्पसमा चैत ५ गते मङ्गलबार सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मतगणनामा फर्जी मत देखिएपछि नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले निर्वाचनमा धाँधली भएको बताएको छ । फर्जी मत देखिएको बारे प्रश्न उठाइएकोमा निर्वाचन समितिले चित्तबुझ्दो जवाफ नदिइकन नै एकपक्षीय रूपमा मतगणना अगाडि बढाएको थियो ।
निर्वाचनमा धाँधलीको विरोधमा बुधबार नेक्राविसङ्घले मतगणना बहिष्कार गरेको थियो र क्याम्पस गेटमा धर्ना दिएको थियो । धर्ना दिइरहेका नेक्राविसङ्घका कार्यकर्ताहरूमाथि प्रहरी परिचालन गरी दमनको प्रयास भयो । प्रहरी दमनविरूद्ध नेक्राविसङ्घले क्याम्पस गेटदेखि जिल्ला प्रशासन कार्यालय दरबार स्क्वायरसम्म विरोध जुलुस गरी साङ्केतिक धर्ना दिएको थियो ।
भक्तपुर बहुमुखी क्याम्पसमा नेक्राविसङ्घका अध्यक्ष उम्मेदवार सुजी ह्याँेंगोले निर्वाचन समितिले निष्पक्षता देखाउन नसकेको र फर्जी मत बढेकोमा जवाफ दिन नसकेको बताउनुभयो । नेक्राविसङ्घले निष्पक्षता र न्यायको माग गर्दा प्रहरी प्रशासन गुहारेर दमनको प्रयास गरेको बताउनुभयो ।
त्यसअघि नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भक्तपुर बहुमुखी क्याम्पस समितिका संयोजक कल्पना कोजुको हस्ताक्षरमा बुधबार एक प्रेस विज्ञप्ति निकालेको थियो । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा गैरजिम्मेवार व्यक्तिलाई निर्वाचनको जिम्मेवारी दिइएको भन्दै विरोध स्वरूप निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ –
भक्तपुर बहुमुखी क्याम्पसमा यही चैत ५ गते सम्पन्न निर्वाचनमा गैरजिम्मेवार व्यक्तिलाई निर्वाचनजस्तो संवेदनशील विषयमा जिम्मेवारी दिइएकोमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।
एकै विद्यार्थीको नाममा एकभन्दा बढी मतदान गरेको आशङ्काको बिचमा ‘घ’ बुथको मतगणना गर्ने क्रममा मुचुल्का उठाइएको भन्दा बढी मतपत्र भेटिएको सार्वजनिक भएको छ । सो विषयमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले प्रश्न उठाउँदा निर्वाचन समितिले चित्तबुझ्दो जवाफ दिएन । नेक्राविसङ्घका प्रतिनिधिहरूको विरोधपछि मतगणना स्थगित भयो ।
समस्या समाधानका लागि आज बिहान १० बजे बोलाइएको सर्वदलीय बैठकमा प्रमुख निर्वाचन अधिकृतले नेक्राविसङ्घले उठाएका प्रश्नहरूको उत्तर दिनुभन्दा अन्य विषयमा अल्झाउने काम गर्नुभयो । निर्वाचन समितिको गतिविधि हेर्दा निर्वाचन धाँधलीपूर्ण भएको प्रस्ट देखिन्छ । यस विषयमा एउटा जिम्मेवार विद्यार्थी सङ्गठनको नाताले नेक्राविसङ्घले उठाएका विषयहरूको उचित सम्बोधन गरी समस्या समाधान गर्न नेक्राविसङ्घ जोडदार माग गर्दछ । अन्यथा प्रमुख निर्वाचन अधिकृतलगायत निर्वाचन समितिका पदाधिकारीहरूले तत्काल राजीनामा दिई निर्वाचन प्रणालीलाई निष्पक्ष र धाँधलीरहित रूपमा सम्पन्न गर्न नेक्राविसङ्घ माग गर्दछ । यसबाट सिर्जना हुने प्रतिकूल परिस्थितिको सम्पूर्ण जिम्मेवार र जवाफदेही निर्वाचन समिति हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *