भर्खरै :

आइन्स्टाइन यहुदीवादका विरोधी हुनुहुन्थ्यो

आइन्स्टाइन यहुदीवादका विरोधी हुनुहुन्थ्यो

इजरायलको स्थापना हुनुभन्दा केही हप्ताअघि सेपार्ड रिफ्किनले एउटा प्रतिनिधिमण्डललाई संरा अमेरिका गएर अल्बर्ट आइन्स्टाइनलाई भेट्न भने । रिफ्किन थिए स्टर्न दस्ताका मुख्य निर्देशक । आइन्स्टाइन ‘त्यो युगका महानतम यहुदी हस्ती’ हुनुहुन्थ्यो । प्रतिनिधिमण्डलसँग आइन्स्टाइनले स्पष्ट भाषामा भन्नुभयो, “प्यालेस्टिनमा जब हामीमाथि वास्तविक र अन्तिम प्रलय बज्रिनेछ तब त्यसको पहिलो दोष बेलायतलाई र दोस्रो दोष त्यस प्रलयका रचयिता आतङ्ककारी सङ्गठनहरूलाई जानेछ । ती आतङ्ककारी सङ्गठन हाम्रै मानिसहरूले बन्नेछन् । म हाम्रा मानिसहरू ती बरालिएका र आपराधिक व्यक्तिहरूतिर लागेको हेर्न चाहन्न ।” (यस लेखमा उल्लेख सबै भनाइ ‘इजरायल र यहुदीवादबारे आइन्स्टाइनको विचार’ पुस्तकबाट साभार गरिएका हुन् । टिपोट)
आइन्स्टाइनको भविष्य चेत बुझ्न ‘बेलायत’ को ठाउँमा ‘अमेरिका’ तथा स्टर्न र इर्गुन समूह जस्ता ‘आतङ्कवादी सङ्गठनहरू’ को ठाउँमा ‘नेतन्याहु सरकार’ लाई राखे पुग्छ । पछि इजरायलका प्रधानमन्त्री बनेका मेनाहेम बेगिन र यित्जाक समिर कुनै बेला स्टर्न र इर्गुन समूहका नेता थिए । आजका नेतन्याहु बेगिन र समिरका राजनीतिक वारिस हुन् ।
आइन्स्टाइनले आफ्नो ‘जीवन समीकरण र राजनीतिबिच बाँडिएको’ बताउनुभएको थियो । यद्यपि, उहाँको जीवनी लेख्ने (सयौँ) लेखक तथा मूलधारे मिडियाले इजरायल र यहुदीवादबारे उहाँको राजनीतिक लेखनीलाई सकेसम्म लुकाउँदै आएका छन् । कतिपयले उहाँको विचारलाई बङ्ग्याएर उहाँलाई इजरायलको समर्थक बताउने गरेका छन् ।
आइन्स्टाइनको विचार बङ्ग्याउने यही मेलोमा निस्कियो फ्रेड जेरोमको पुस्तक ‘इजरायल र यहुदीवादबारे आइन्स्टाइनको विचार’ । जेरोमले मेहनतसाथ इजरायल र यहुदीवादबारे आइन्स्टाइनका रचनाहरू खोजे र भेटाए पनि । धेरै रचना जर्मन भाषामा थिए । तिनलाई उनले अङ्ग्रेजी भाषामा उल्था गरे ।
दुःखको कुरो यो किताबको पहिलो संस्करणका धेरै प्रति उपलब्ध छैनन् । पुस्तक न्युयोर्कको एउटा प्रकाशन गृहले छापेको थियो । यहुदीवादीहरूले प्रकाशकलाई ठुलो दबाब दिएको हुनाले प्रकाशक झुक्न बाध्य भए । एकै खेपमा सबै प्रति झ्यापझुप बिक्री गरियो । यसबारे कहिल्यै प्रचार गरिएन । यसको ई–बुक संस्करण पनि बनाइएन । यसकारण, लेखककी विधवा पत्नी जोसेलिन जेरोमसँग अनुमति मागेर बाराका बुक्सले यो पुस्तकको नयाँ संस्करण प्रकाशित गरेको छ ।
सन् १९२० को दशकमा जर्मनीमा यहुदीविरोधी भावनाले सीमा नाघ्यो । आइन्स्टाइनको ‘सापेक्षताको सिद्धान्त’ लाई ‘यहुदी विज्ञान’ भनेर प्रचार गरियो । यसकारण, उहाँ यहुदीवादी आन्दोलनमा तानिनुभयो । सन् १९१४ मा आइन्स्टाइन जर्मनी जानुभयो । त्यहाँ उहाँले पहिलोपल्ट आफू यहुदी भएको थाहा पाउनुभयो । यो कुरा उहाँलाई ‘यहुदीहरूले नभई गैरयहुदीहरू’ ले महसुस गराएका थिए । त्यसअघि उहाँ आफूलाई मानव प्रजातिको रूपमा मात्र हेर्नुहुन्थ्यो ।
उहाँ आफूलाई ‘सांस्कृतिक यहुदीवादी’ भन्नुहुन्थ्यो । कर्ट ब्लुमेनफेल्ड यहुदीवादी अभियन्ता थिए । उनले सन् १९२१ मा आइन्स्टाइनलाई यहुदीवादी आन्दोलनमा आउन पत्राचार गरे । उनलाई सचेत पार्दै यहुदीवादी नेता हाइम वाइजमनले आइन्स्टाइनबारे बताए, “तिमीलाई थाहै छ, आइन्स्टाइन यहुदीवादी होइनन् । तिमीसँग मेरो अनुरोध छ – उनलाई यहुदीवादी बनाउन नखोज, उनलाई हाम्रो सङ्गठनसँग जोड्न नखोज । आइन्स्टाइनको झुकाव समाजवादतिर छ । उनी आफूलाई यहुदी कामदार र मजदुरहरूको हकहितसँग जोडिएको महसुस गर्छन् । मैले सुनेँ, तिमी आइन्स्टाइनले मन्तव्य राखिदिऊन् भन्ने चाहन्छौ । यसमा धेरै होस पु¥याउनु है । आइन्स्टाइन प्रायः हामीलाई अमान्य हुने सीधा कुरा बोल्छन् ।”
आइन्स्टाइनको तथाकथित ‘सीधापन’ एकातिर राखौँ । खासमा प्यालेस्टिनलाई उपनिवेश बनाउने र इजरायलको स्थापना गर्ने काममा यहुदीवादी योजनाको लागि आइन्स्टाइन आँखाको कसिङ्गर बनिरहनुभयो । यो क्रम सन् १९५५ मा आइन्स्टाइनको निधनसँगै टुङ्गियो ।
यहाँ हामी केही उदाहरणको चर्चा गरौँ ।
हाइम वाइजमनसँग आइन्स्टाइनको पत्राचार हुन्थ्यो । (वाइजमन पछि गएर इजरायलका राष्ट्रपति बने ।) ती पत्राचारबाट आइन्स्टाइनलाई यहुदीवादीहरूले अति मूल्यवान व्यक्ति ठानेको स्पष्ट हुन्छ । साथै, पत्राचार पढ्दा आइन्स्टाइन यहुदीवादीहरूबाट एकदम अलग भएको तथ्य पनि उजागर हुन्छ । सन् १९२९ नोभेम्बर २५ को पत्रमा आइन्स्टाइन लेख्नुहुन्छ, “हामीले अरबका जनतासँग इमानदार सहकार्य र इमानदार सुलहको बाटो खोज्न सकेनौँ भने यसको अर्थ हामीले दुई हजार वर्ष लामो हाम्रो पीडा र सास्तीबाट केही सिकेनछौँ र हामीमाथि जुन बज्रपात हुनेछ, हामी त्यसकै हकदार रहेछौँ ।”
आइन्स्टाइनको लेखनीमा ‘हामीमाथि बज्रपात हुनेछ’ भन्ने विचार पटकपटक दोहोरिएको पाइन्छ । सन् १९२९ मै उहाँले भविष्य देखिसकेको प्रतीत हुन्छ । यहुदीवादीहरूले आफ्ना प्यालेस्टिनी छिमेकीहरूसँग ‘इमानदार सहकार्य र इमानदार सुलह’ नगरी इजरायल राज्यको स्थापना गर्ने सपना बुन्दै छन् भन्ने उहाँले भेउ पाइसक्नुभएको थियो । आज इजरायल यहुदीहरूको लागि सबैभन्दा खतरनाक ठाउँ बनेको छ । सन् १९२९ मै आइन्स्टाइनलाई यसको अन्दाज थियो ।
केही सातापछि सन् १९२९ डिसेम्बर १४ को दिन आइन्स्टाइनले अर्को पत्र लेख्नुभयो । लन्डनको यहुदीवादी सङ्गठनका नेता सेलिग ब्रोडेत्स्कीलाई पठाइएको सो पत्रमा उहाँले लेख्नुभयो, “हामीसँग सत्ता नभएकोमा म खुसी नै छु । हाम्रो राष्ट्रिय जिद्दीपन बलियो भयो भने हामीले आफ्नै बुद्धि भुट्नेछौँ किनभने हामी यसैलायक छौँ ।”
सुरुसुरुमा आइन्स्टाइनका रचना सम्पादन तथा अनुवाद गर्ने लियोँ सिमोँले लेखे, “प्रोफेसर आइन्स्टाइनको राष्ट्रवादमा आक्रामकता वा अहङ्कारको लेस पनि छैन । उहाँ प्यालेस्टिनमा अरबी जनतामाथि यहुदीले हैकम चलाए अथवा यी दुईबिच परस्पर विद्वेषको स्थिति रहे यहुदीवाद असफल हुन्छ भन्नुहुन्थ्यो ।”
अधिकांश यहुदीवादीहरू प्यालेस्टिनमा अलग्गै राज्य बनाउनुपर्ने पक्षमा थिए । आइन्स्टाइन भने ‘यहुदी बस्ती’ को पक्षमा हुनुहुन्थ्यो । उहाँको यो विचार धर्मसँग पटक्कै जोडिएको थिएन । केही यहुदीवादीहरूले चीन, पेरु वा सोभियत सङ्घको बिरोबिद्जानमा ‘यहुदी भूमि’ स्थापना गर्नुपर्ने विचार राखेका थिए । जहाँ स्थापना गरे पनि त्यहाँका राज्य अधिकारी वा जनताको पूर्ण सहमतिमा त्यसो गर्नुपर्ने उनीहरूको राय थियो ।
आइन्स्टाइन यी विचारको पक्षमा उभिनुभयो । उदाहरणको लागि, दोस्रो विश्वयुद्धपछि सोभियत सङ्घभित्र बिरोबिद्जानमा यहुदी बस्ती बसाल्ने विषयमा उहाँले लेख्नुभयो, “हामीले भुल्नुहुँदैन, यहुदी जनताको आततायी संहार चलिरहँदा सोभियत रुस लाखौँ यहुदी जीवन जोगाउने एकमात्र महान् राष्ट्र थियो । युद्धमा टुहुरा बनेका ३० हजार यहुदी बालबालिकालाई बिरोबिद्जानमा राख्ने र तिनलाई सुरक्षित एवम् सन्तोषजनक भविष्य दिने प्रस्ताव हामी यहुदी जनताप्रतिको रुसको मानवीय भावनाको नयाँ प्रमाण हो । यसमा हामीले प्रभावकारी हातेमालो गरे युरोपका बाँकी यहुदीहरूको मुक्तिमा योगदान पुग्ने थियो ।”
विश्वयुद्धका महत्वपूर्ण वर्षपछि आइन्स्टाइनले आजीवन यहुदी राज्य स्थापनाको योजनाविरुद्ध खुलेर बोल्नुभयो । सन् १९४६ को जनवरी महिनामा उहाँलाई वासिङ्टन डीसीमा प्यालेस्टिनको विषयमा निर्मित अङ्ग्रेज–अमेरिकी समितिमा बयान दिन बोलाइयो । इजरायल राज्य निर्माण गर्ने कि सांस्कृतिक बस्ती बसाल्ने भनी प्रश्न सोध्दा आइन्स्टाइनले भन्नुभयो, “म कहिल्यै पनि राज्यको पक्षमा थिइनँ ।”
सन् १९४७ को मार्चमा आइजे डेभिडले आइन्स्टाइनलाई प्रश्नैप्रश्न गरी एउटा पत्र पठाए । डेभिड हेनाहेम बेगिनले नेतृत्व गरेको आतङ्ककारी समूह इर्गुनका सदस्य थिए । आइन्स्टाइनले कठोर र स्पष्ट शब्दमा जवाफ दिनुभयो :
प्रश्न : स्वतन्त्र राष्ट्रिय यहुदी प्यालेस्टिनको स्थापना गर्ने विषयमा तपाईँको धारणा के हो ?
आइन्स्टाइन : यहुदी राष्ट्रिय बस्ती ? हुन्छ । यहुदी राष्ट्रिय प्यालेस्टिन ? हुन्न । म अरबी जनतासँगको सहमतिमा स्वतन्त्र, दुई–राष्ट्र प्यालेस्टिन निर्माण गर्नुपर्छ भन्ने पक्षमा छु ।
प्रश्न : प्यालेस्टिनको विभाजन र हाइम वाइजमनले प्रस्ताव गरेको पुनः विभाजनबारे तपाईँको विचार के छ ?
आइन्स्टाइन : म विभाजनको विपक्षमा छु ।”
बेलायती र अमेरिकी साम्राज्यवादबारे आइन्स्टाइनमा कुनै भ्रम थिएन । लन्डनले आफ्नो साम्राज्यवाद वासिङ्टनलाई हस्तान्तरण गरेको थियो । आइन्स्टाइन लेख्नुहुन्छ, “हाम्रा प्रिय अमेरिकीहरूले अहिले आफ्नो विदेश नीति जर्मनहरूकै ढाँचामा ढालिरहेको देख्छु म । किनभने, अमेरिकीहरूले अहिले जर्मनहरूकै मात र अहङ्कार अङ्गीकार गरेको देखिन्छ । झट्ट हेर्दा, तिनले हिजोसम्म बेलायतले खेलेको भूमिका खेल्न खोजेका छन् । तिनीहरू एकअर्काबाट सिक्न चाहँदैनन् । तिनले आफ्नै कठोर अनुभवबाट पनि थोरै मात्र सिकेको देखियो । कलिलो उमेरबाटै दिमागमा जे भ¥यो त्यो अनुभव र तर्कभन्दा पनि बलियो गरी गढ्छ । अङ्ग्रेजहरू यसका अर्का नमुना हुन् । जनतालाई दबाउने तिनको आफ्नै पुरानो विधि छ । अर्थतन्त्रको माथिल्लो तप्काका केही अनाचारी र बेइमान तत्वले अपनाउने त्यो विधिको मूल्य तिनको समग्र साम्राज्यले छिट्टै चुकाउनेछ । तैपनि, तिनले आफ्नो विधि बदल्न सकिरहेका छैनन् । टोरी भन्नुस् वा समाजवादी, दुवै उही ड्याङका हुन् । जर्मनहरू पनि त्यस्तै थिए । तिनको दिन सकियो, राम्रै भयो । असल तत्व र उत्पीडितहरूलाई हानि भयो, दुःखको कुरा यत्ति हो ।” (हान्स मुहसामलाई लेखिएको पत्रबाट)
इजरायलको वर्तमान नेतन्याहु सरकारका राजनीतिक पूर्वज र तिनका राजनीतिक दलको आइन्स्टाइनले धतुरो झार्नुभएको थियो । ‘द न्युयोर्क टाइम्स’ मा लेख लेखेर उहाँले तत्कालीन यहुदीवादी नेता र तिनका दलको खण्डन गर्नुभएको थियो । सन् १९४८ को अन्त्यतिर मेनाहेम बेगिन न्युयोर्क भ्रमणमा थिए । आइन्स्टाइन, हाना अरेन्डजस्ता अमेरिकामा बसोबास गरिरहेका मूर्धन्य यहुदी हस्तीले बेगिन र उनको सङ्गठनको निन्दा गर्दै एउटा पत्र लेखे । पत्रमा बेगिनको दललाई ‘सङ्गठन, विधि, राजनीतिक दर्शन र सामाजिक आह्वानको हिसाबले नाजी र फासीवादी पार्टीहरूसँग धेरै नजिक रहेको राजनीतिक पार्टी’ भनिएको थियो । पत्रमा बेगिनको समूहले प्यालेस्टिनको देयर यासिन गाउँमा २४० जना महिला, पुरुष र बालबालिकाको नरहत्या गरेको उल्लेख थियो ।
आइन्स्टाइनले आजीवन यो आरोप दोहो¥याइरहनुभयो । (सन् १९५५) मा मृत्यु हुनुअघि पनि उहाँ लेख्दै हुनुहुन्थ्यो, “कुविचार र कुकर्मले यिनीहरू नाजी हुन् ।” आजभोलि मूलधारे मिडियामा कसैले यी कुरा लेखे वा बोले तत्काल तिनलाई यहुदीविरोधीको आरोप लगाइनेछ र उपरान्त त्यहाँ लेख्न–बोल्न प्रतिबन्ध लगाइनेछ ।
सन् १९५२ मा हाइम वाइजमनको निधन भयो । लगत्तै इजरायली प्रधानमन्त्रीले अल्बर्ट आइन्स्टाइनलाई इजरायलको राष्ट्रपति बन्न प्रस्ताव पठाए । यो घटना सामान्य ज्ञान बनिसकेको छ । तर, आइन्स्टाइनले त्यो प्रस्ताव अस्वीकार गर्नुका कारणबारे भने धेरैलाई थाहा छैन । जवाफमा उहाँले लेख्नुभयो, “मैले इजरायली जनतालाई उनीहरूले सुन्न नचाहेको कुरा भन्नुपर्ने हुन्छ ।” यसमा बेन गुरियोनको टिप्पणी त झन् धेरैलाई थाहै छैन । उनले भनेका थिए, “उनले हुन्छ भने के गर्ने, भन त ! मैले त्यो पद दिनैपर्छ किनभने नदिन सम्भव थिएन । तर, उनले स्वीकारे हामी अक्करमा पर्ने थियौँ ।”
हजारौँ मानिसलाई यहुदीविरोधीको आरोप लगाइँदै छ । तिनले इजरायलको आलोचना गर्ने आँट गरेकै हुनाले; इजरायललाई जातिभेदी राज्य भनेको हुनाले; प्यालेस्टिनीहरू जनताको जातिसंहार गरेकोमा इजरायलको निन्दा गरेको हुनाले तिनलाई जागिरबाट निकालिँदै छ । तिनलाई पीर नमान्नु भन्न सकिन्छ । तिनीहरू इतिहासको सही कित्तामा छन् । किनभने, आज आइन्स्टाइन जीवित हुनुहुन्थ्यो भने उहाँ तिनीहरूको जुलुसको अघिल्लो लहरमा उभिनुहुने थियो ।
(क्यानडाको टोरोन्टो विश्वविद्यालयबाट दीक्षित लेखक फिलपोट हाल मोन्ट्रियल सहरमा अवस्थित ‘बाराका बुक्स’ का संस्थापक हुन् । उनी ‘क्युवेकको जनइतिहास’ (२००९) र ‘रुवान्डा र अफ्रिकाको नयाँ लुछाचुँडी : त्रासदीदेखि उपयोगी साम्राज्यवादी कल्पनासम्म’ (२०१३) लगायत कृतिका लेखक हुन् ।)

स्रोत : कोभर्ट एक्सन म्यागेजिन
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *