भर्खरै :

भक्तपुर महोत्सव २०८१ को प्रतिवेदन हस्तान्तरण

भक्तपुर महोत्सव २०८१ को प्रतिवेदन हस्तान्तरण

भक्तपुर, ७ चैत । ‘भक्तपुर महोत्सव प्रतिवेदन – २०८१’ को प्रतिवेदन एक कार्यक्रमबिच भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई भक्तपुर महोत्सव सचिवालयका संयोजक गौतमप्रसाद लासिवाले बिहीबार हस्तान्तरण गर्नुभयो ।
उक्त कार्यक्रममा प्रमुख प्रजापतिले मङ्सिर २८ गतेदेखि पुस २ गतेसम्म (पाँच दिन) भएको भक्तपुर महोत्सव सफल पार्न प्रत्यक्ष र अप्रत्यक्ष सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
हरेक काम सफल हुनुमा पछाडि बसेर काम गर्नेहरूको भूमिका धेरै हुने चर्चा गर्दै प्रमुख प्रजापतिले कार्यालयले दिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने साथीहरू सबै धन्यवादका पात्र हुन् भन्नुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर महोत्सवको भिडियो रेकर्ड र फोटो पुस्तक तयार गर्न सके अझ बढी प्रभावकारी हुनेछ । भक्तपुर महोत्सवमा आएका लाखौँ अवलोकनकर्ताहरूले नयाँ नयाँ दृश्यहरूको अनुभव गर्न पाएका थिए ।”
उपप्रमुख रजनी जोशीले भक्तपुर महोत्सवले भक्तपुरको पहिचानलाई उचाइमा पु¥याउन तथा नगरलाई जीवन्त बनाउन सफल भएको धारणा राख्दै भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउन महोत्सवले टेवा पु¥याएको बताउनुभयो । भक्तपुर महोत्सवमा हरेक नागरिकले अपनत्व ग्रहण गरी साथ दिएकोमा खुसी व्यक्त गर्दै उपप्रमुख जोशीले महोत्सवलाई शोध विषयको रूपमा ख्वप इन्जिनियरिङ कलेजका विद्यार्थीहरूले अध्ययन र अनुसन्धानको लागि छनोट गर्नु खुसीको कुरा हो भन्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले भक्तपुर महोत्सवलाई सफल पार्न जनप्रतिनिधि, कर्मचारीहरूको अथक मिहेनत, प्रयास र योगदान रहेको चर्चा गर्दै भक्तपुर महोत्सवले इतिहासको पानामा नाम राख्न सफल भएको धारणा राख्नुभयो ।
उहाँले भक्तपुर महोत्सवको ‘स्वट एनालाइसिस’ ९क्ध्इत् ब्लबथिकष्क० बाट समीक्षा गरी सबल, दुर्बल, अवसर र चुनौती केलाई आगामी दिनमा अझ बढी प्रभावकारी रूपमा कार्य गर्न सकिने बताउनुभयो ।
भक्तपुर महोत्सवका संयोजक गौतमप्रसाद लासिवाले महोत्सव सचिवालयद्वारा ७७७ पृष्ठको भक्तपुर महोत्सव प्रतिवेदन तयार गरी महोत्सवका सम्पूर्ण गतिविधिहरूलाई समेट्न खोजेको चर्चा गर्दै प्रतिवेदनले भविष्यमा भक्तपुर महोत्सव आयोजना गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भक्तपुर महोत्सवमा आठ लाख बयालीस हजार स्वदेशी एवं विदेशीहरूले अवलोकन गरेको उल्लेख गर्दै प्रतिवेदनमा समेटिएका विषयवस्तुलाई सार सङ्क्षेपमा प्रस्तुत गर्नुभएको थियो ।
भक्तपुर नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर सुवालले पनि बोल्नुभएको उक्त कार्यक्रममा सचिवालय कर्मचारी, फोटोग्राफर, बालमैत्री गतिविधिका सहयोगी शिक्षक, चित्रकलाका कलाकारहरूलाई धन्यवाद तथा प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *