भर्खरै :

समाजवादी व्यवस्थाको लागि क्रान्ति आवश्यक

समाजवादी व्यवस्थाको लागि क्रान्ति आवश्यक

कैलाली, ८ चैत । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति कैलालीको आयोजनामा शुक्रबार जानकि गा.पा. ४ कञ्चनपुरमा कार्यकर्ता भेला गरी पार्टीको आठौँ महाधिवेशनबाट पारित निर्णय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्तावहरूबारे प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश समितिका संयोजक नवराज कोइरालाले मुट्ठीभर पुँजीवादी शासकहरूले व्यक्तिगत स्वार्थका लागि देशमा शासन गरिरहेको हुनाले देश कङ्गाल भइरहेको कारण मजदुर र किसानहरूले धेरै दुःख पाइरहेका छन् भन्नुभयो ।
यो दुःखबाट उम्कन मजदुर र किसान राजनीतिक रूपले सचेत भई समाजवादी व्यवस्थाको लागि क्रान्ति गर्न आवश्यक भएको उहाँले बताउनुभयो ।
पुँजीवादी शासक दलहरूले देशमा रोजगारी दिनुको सट्टा करोड हाराहारीमा युवाहरूलाई विदेशमा सस्तो ज्यामीको रूपमा पठाएको र यसले गर्दा कम्युनिस्ट आन्दोलन पनि पछाडि धकेलिएको उहाँले बताउनुभयो ।
केन्द्रीय सदस्य कोइरालाले कम्युनिस्ट आन्दोलनलाई धोका दिने काम कम्युनिस्ट नामधारी माओवादी र एमालेले गरिरहेका छन् भनुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले महाधिवेशनबाट पारित राष्ट्रिय प्रस्तावहरूबारे जानकारी गराउँदै सरकारमा गएका शासक पार्टीले गरेका जनविरोधी कदमबारे जनतालाई बताउनु जरूरी छ भन्नुभयो ।
पार्टी केन्द्रीय सदस्य तथा कैलाली अध्यक्ष रमेश कुमार रावलले नेमकिपाका कार्यक्रमहरूमा समय दिए खेर नजाने धारणा राख्दै नेमकिपाले मजदुर र किसान पक्षमा आवाज उठाइरहेको छ भन्नुभयो ।
कार्यक्रममा लक्ष्मी पुन, गगनबहादुर थापामगर, जी. शाही, मिनबहादुर धामी र एच. भण्डारीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *