भर्खरै :

देश र जनताको निःस्वार्थरूपमा सेवा गर्नेहरू नयाँ पुस्ताको ताजा स्मरणमा रहने

देश र जनताको निःस्वार्थरूपमा सेवा गर्नेहरू नयाँ पुस्ताको ताजा स्मरणमा रहने

भक्तपुर, १२ चैत । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीका पूर्वसल्लाहकार, नेपाल क्रान्तिकारी किसान सङ्घका पूर्वकेन्द्रीय सदस्य ज्ञानबहादुर न्याइच्याईको १४ औँ स्मृति सभा मङ्गलबार सम्पन्न भयो ।
उक्त सभामा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले भन्नुभयो, “देश र जनताको निःस्वार्थरूपमा सेवा गर्नेहरू नयाँ पुस्ताको ताजा स्मरणमा रहनेछन् ।”
उहाँले भन्नुभयो, “सबै मानिस टोल, समाज, देशको सेवामा निःस्वार्थरूपले लाग्नु जरुरी छ ।”
नेपाल मजदुर किसान पार्टीले देश र जनताको निःस्वार्थरूपमा सेवा गर्ने राजनीति सबैसामु राख्दै आएको बताउँदै उहाँले २०२१ सालको भूमिसुधार ऐन र २०१६ सालको बिर्ता उन्मूलन ऐन ल्याइए पनि सामन्त र जमिनदारवर्गको कब्जामा रहेको जग्गा जोताहालाई वितरण गरी कृषि उत्पादन वृद्धि गर्ने काम कुनै पनि सरकारले नगरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारमा गएका पार्टीहरूको नाम फरक भए पनि काम एउटै हो – देश र जनतालाई घात गर्ने । यसकारण, शासक दलहरूको पछाडि नेपाली जनता लाग्नु हुँदैन ।”
नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका उपाध्यक्ष न्हुछेभक्त फोजूले पार्टीको आठौँ महाधिवेशनमा आर्थिक, नैतिक, भौतिक सहयोग गर्ने सर्वसाधारण जनतालाई धन्यवाद दिँदै अग्रज किसान कार्यकर्ता ज्ञानबहादुर न्याइच्याईको योगदानबारे स्पष्ट पार्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सचिव हरिराम सुवालले भक्तपुरलाई सफा नगर बनाउनमा ज्ञानबहादुर न्याइच्याईको पनि ठुलो योगदान छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय सदस्य महेन्द्र बखुन्छेले विगतको किसान सङ्घर्षबाट सिकेर नयाँ पुस्ताले देश र जनताको निःस्वार्थरूपले सेवा गर्नुपर्छ भन्नुभयो । शासक पार्टीहरूले देशका युवाहरूलाई विदेश पठाएर देश झन्झन् परनिर्भर हुँदै गएको उहाँले उल्लेख गर्नुभयो ।
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालको सभापतित्वमा भएको उक्त स्मृति सभामा नेमकिपा चाँगुनाराणका कृष्णराम सुलुले पनि ज्ञानबहादुर न्याइच्याईको योगदानबारे चर्चा गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *