भर्खरै :

नेक्राविसंघको नगर परिषद् सम्पन्न

भक्तपुर, ५ फागुन । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको प्रथम भक्तपुर नगर परिषद् शनिबार नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालको आतिथ्यमा सम्पन्न भयो ।  कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै सचिव सुवालले शिशु स्याहारदेखि मा.वि.सम्मको शिक्षा अनिवार्य र निःशुल्क हुनुपर्ने र विश्वविद्यालय शिक्षा निःशुल्क हुनुपर्ने बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘विद्यार्थीहरूले पाठ्यपुस्तकबाहेक देश र विदेशको मजदुर र किसान आन्दोलनहरूबारे अध्ययन गर्नु आवश्यक छ ।’ एक घर एक स्नातक नारा दिएर ख्वप मावि सञ्चालन भएको उल्लेख गर्दै उहाँले ख्वप विश्वविद्यालय स्थापना र सञ्चालन गरी अनुसन्धानमूलक शिक्षा अगाडि बढाउने बताउनुभयो ।  सचिव सुवालले भन्नुभयो, ‘निरङ्कुश राणा शासन र निर्दलीय पञ्चायती व्यवस्थामा पढ्न नपाएका नेपालीहरूले गणतन्त्रमा पनि पाएका छैनन् । ७० लाख युवाहरू वैदेशिक रोजगारीको निहुँमा दासजस्तै बेचिएका छन् । यसका दोषी सरकारमा गएका प्रधानमन्त्री र मन्त्रीहरू नै हुन् ।  राजनीति सबै नीतिको मुख्य नीति भएको बताउँदै उहाँले परिवर्तनको लागि राजनीतिक सचेतना आवश्यक भएको र विद्यार्थीहरूले पार्टीको प्रकाशन अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।  नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष नारायणबहादुर दुवालले व्यक्तिगत हितमा र परिवारको हितमा मात्र कार्य गर्नु पूँजीवादी विचारधारा बोक्ने सोच भएको बताउनुभयो ।  नेक्राविसङ्घ भक्तपुर नगर समितिका अध्यक्ष राजन अवालको सभापतित्वमा भएको उक्त परिषद्मा उपाध्यक्ष उत्तम सेजवाल, सचिव राजीव सुवाल र सविना त्वानावासुले पनि बोल्नुभएको थियो ।  परिषद्बाट राजन अवालको संयोजकत्वमा १३ सदस्यीय नेक्राविसङ्घ १३ औं सम्मेलन तयारी समिति गठन गरिएको छ । कार्यक्रमअघि प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाई र नेक्राविसङ्घ केन्द्रीय सचिव सविन ख्याजूले प्रशिक्षण दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *