भर्खरै :

रूसी शैलीको प्रजातन्त्र

रूसी शैलीको प्रजातन्त्र

भर्खरै रूसले तीनदिने निर्वाचन प्रक्रिया सयायो । यसले आगामी ६ वर्षका लागि राष्ट्रको आन्तरिक दिशा तय गर्नेछ । यसो गर्दै जाँदा अबको दशकौँसम्म विश्वव्यापी रूपान्तरणमा रूस एक अगुवा शक्तिको रूपमा सक्रिय रहनेछ । रूसमा कुल ११ करोड २३ लाख मतदाता दर्ज छन् । मार्च १५ देखि मार्च १७ सम्म ७७ प्रतिशतभन्दा बढी मतदाताले मत खसाले आगामी ६ वर्षका लागि आफ्नो राष्ट्रपति छनोट गरे । तीमध्ये ८८ प्रतिशत मतदाताले निवर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनलाई मत दिए ।
मनमा शङ्का नराखौँ – निर्वाचनको परिणाम लगभग सबैलाई थाहा थियो । यो निर्वाचन पनि भ्लादिमिर पुटिनले नै जित्ने थिए ।
मनमा अर्को शङ्का पनि नराखौँ – निश्चय नै सन् २०२४ को रूसको राष्ट्रपति निर्वाचन शीतयुद्धपछिकै सबैभन्दा महत्वपूर्ण राजनीतिक घटना हो । यो निर्वाचन आधुनिक संसारको एउटा महानतम् प्रजातान्त्रिक मनोबलको प्रदर्शन हो ।
एक व्यक्तिमाथिको जनविश्वासको प्रदर्शनमात्र थिएन यो निर्वाचन । यो शताब्दीको सुरुआतसँगै भ्लादिमिर पुटिन रूसमा एक प्रभावशाली राजनीतिक शक्ति साबित हुँदै आएका छन् । मनोबलको बलियो प्रदर्शन गर्ने व्यक्ति सिद्ध भएका छन् उनी । उनले रूसलाई सन् १९९० को दशकका कालरात्रीहरूबाट बाहिर निकाले । रूसलाई आधुनिक जमानाको एक शक्तिशाली र प्रभावशाली मुलुकको हैसियतमा उकासे ।
निर्वाचनमा प्रदर्शन भएको जनादेश युक्रेन युद्धका लागि थिएन । युक्रेनको मुद्दा सन् २०२२ को अन्त्यतिर टुङ्गो लागिसकेको थियो । त्यतिबेला रूस आफ्नो जनशक्ति र सैन्य शक्तिलाई परिचालन गर्न बाध्य भएको थियो । युक्रेनविरुद्ध छोटो सैन्य अभियानको रूपमा त्यसको योजना बुनिएको थियो । तर, पश्चिमाहरू सबै युक्रेन पछाडि एकजुट भएपछि त्यो अभियान पश्चिमाहरूविरुद्ध व्यापक र दीर्घकालीन सैन्य सङ्घर्षमा परिणत भयो ।
साधारण भाषामा भन्दा युक्रेन द्वन्द्व सन् २०२४ को चुनावी मुद्दा थिएन ।
चुनावी मुद्दा थियो समग्र रूसको भविष्य ।
उमेरले भ्लादिमिर पुटिन ७१ वर्ष पुगे । चुनावी विजयले अबका ६ वर्ष उनी राष्ट्रपति रहनेछन् । उनको कार्यकाल सन् २०३० मा टुङ्गिन्छ । त्यसबेला उनी ७७ वर्ष पुग्नेछन् ।
रूसीहरू इतिहासका विद्यार्थी हुन् । सोभियतकालको आर्थिक गतिरोधको तीतो अनुभव उनीहरूसित छ । त्यो गतिरोध सन् १९६० को दशकको आधाआधीबाट सुरु भएको थियो, लियोनिद ब्रेझनेभको पालामा । राष्ट्रपति छँदै ७५ वर्षको उमेरमा बितेका ब्रेझनेभ मानसिक र शारीरिक रूपमा थलिसकेका थिए । उनको ठाउँमा युरी आन्द्रोपोभ आए । दुई वर्षपछि ६९ वर्षको उमेरमा उनको पनि देहान्त भयो । त्यसपछि राष्ट्रपति बने कोन्स्तान्तिन चेर्नेन्कोभ । सन् १९८५ मा ७३ को उमेरमा उनको पनि निधन भयो ।
भ्लादिमिर पुटिन आफ्नो नयाँ कार्यकालभरि शारीरिक र मानसिक रूपमा चुस्त रहने छैनन् भनी पत्याउने ठाउँ छैन । तैपनि, सबै मानिस समान छन् । बुढ्यौली सबैमाथि भारी हुन्छ । भ्लादिमिर पुटिनजस्ता अपवाद पनि प्रकृतिको नियमबाहिर नरहलान् ।
पछिल्लो पच्चीस वर्ष भ्लादिमिर पुटिन राजकाजमा आफ्ना सल्लाहकार र उच्च अधिकारीहरूको बलियो समूहमाथि निर्भर रहे । तिनकै सल्लाहको भरमा उनले रूसलाई पुनर्जीवनको पथमा लगे । यो समूह निकै क्षमतावान ठहरियो । तर, यसले पनि प्रकृतिको नियम मान्नुपर्छ । मानव अस्तित्वलाई जस्तै प्रकृतिले अन्त्यमा सबैलाई खरानी पार्छ ।
कोही पनि अजर–अमर छैन ।
यद्यपि रूस सदैव रूसी राष्ट्रका जनताको मनमुटुमा छ ।
भ्लादिमिर पुटिनले रूसलाई सन् १९९० को दशकको अभाव र दरिद्रबाट बाहिर निकालेका मात्र होइनन् । जब संरा अमेरिकाको नेतृत्वमा पश्चिमा मुलुकहरूको जत्थाले रूसलाई टुक्राटुक्रा पार्ने योजना बुनिरहेका थिए, पुटिनले इतिहासबाट पाठ सिकिरहे । शासक पक्षले आफूपछि को सत्तासीन हुन्छ भन्ने हेक्का नै नराखी ढलीमली गर्दा के हुन्छ भन्ने कुरा रूसी इतिहासको महत्वपूर्ण शिक्षा हो ।
मिखाइल गोर्भाचोभले रूसलाई सोभियतकालीन आर्थिक गतिरोधबाट बाहिर निकाल्न खोजे । यसको लागि उनले सुसङ्गत योजना नबनाई प्रतिक्रियावादी बाटो लिए । परिणाम, सोभियत सङ्घको विघटन भयो र रूसी जनताले सन् १९९० को डरलाग्दो दशक भोग्नुप¥यो ।
भ्लादिमिर पुटिनले अबका ६ वर्ष पनि आफ्ना अघिल्ला कार्यकालजस्तै जारी राख्ने हो भने उनले रूसलाई इतिहासको पुरानै खाडलमा खसाल्नेछन् । टारेर नटर्ने भवितव्य नजिकिँदै जाँदा के गर्ने भनी प्रस्ट योजना नहुँदा उनी सरकारका एक वयोवृद्ध मुखिया साबित हुनेछन् ।
छोटकरीमा भन्दा, सन् २०३० को राष्ट्रपति निर्वाचनमा पनि भ्लादिमिर पुटिन थप ६ वर्षका लागि निर्वाचित हुने बाध्यता महसुस गर्छन् भने रूस गतिरोधको अर्को भड्खालोमा डुब्ने खतरा मडारिनेछ । त्यो स्थितिमा पुटिनले आफ्नो तीसवर्षे शासनकालमा हासिल गरेका उपलब्धि तहसनहस हुनेछ । तब, सन् १९९० को दशकको जस्तो सामाजिक विघटनले फँडा उठाउनेछ ।
यसकारण, सन् २०२४ को राष्ट्रपति निर्वाचनको नतिजामा ८८ प्रतिशत मतदाताले भ्लादिमिर पुटिनलाई चयन गरे भन्नु महत्वपूर्ण होइन । बरु, ७७ प्रतिशत मतदाता रूसी राज्यको पक्षमा उभिए भन्नु महत्वपूर्ण हो । निर्वाचनमा मतदाताको सहभागिताले सरकारप्रतिको जनविश्वासलाई प्रतिबिम्बित गर्ने मानिन्छ । निर्वाचनमा सहभागी भएर जुन सरकारलाई आफूले टिकाउन खोजेको हो, देशप्रतिको त्यो सरकारको दृष्टिकोण पनि आफ्नोजस्तै रहने जनता ठान्छन् ।
यहाँनिर संरा अमेरिकाको सन् २०२० को राष्ट्रपति निर्वाचनको तुलना गर्न सकिन्छ । त्यो वर्ष अमेरिकी इतिहासमै सबैभन्दा बढी मतदाता निर्वाचनमा सहभागी भए । ६६ प्रतिशत अमेरिकी मतदाताले त्यो निर्वाचनमा मत खसाले ।
सन् २०२४ को रूसको राष्ट्रपति निर्वाचनले त्यसलाई ११ प्रतिशतले पछारेको छ ।
यसको अर्थ ७१ वर्षीय भ्लादिमिर पुटिनले आफूलाई ऐतिहासिक भवितव्यको खाडलतिर लग्ने छैनन् भनी रूसी जनता विश्वस्त छन् । यसको विपरीत रूसी जनता भ्लादिमिर पुटिनले देशलाई यहाँसम्म ल्याइपु¥याएको हुनाले उनले प्राप्त उपलब्धिलाई जोगाउँदै देशलाई थप समृद्धिको बाटोमा अघि बढाउने र रूसलाई पुटिनपछिको युगमा लग्ने सामथ्र्य राख्छन् भनी आश्वस्त छन् ।
सन् २०२४ को रूसी राष्ट्रपति निर्वाचन फगत यथास्थिति कायम राख्ने निर्वाचन थिएन ।
यो निर्वाचन परिवर्तनका लागि थियो ।
भ्लादिमिर पुटिन यो परिवर्तनलाई मलजल गर्ने व्यक्ति बन्नेछन् ।
आउँदो महिना रक्षक बदल्ने यो कार्यको थालनी हुने अपेक्षा छ । रूसलाई आजको अवस्थामा ल्याउन पुटिनलाई सहयोग गर्ने रूसी नेताहरूलाई एकातिर राखिनेछ र भ्लादिमिर पुटिनको मार्गदर्शन एवम् नेतृत्वमा तिनको स्थानमा नयाँ पुस्ताका रूसी नेताहरूलाई ल्याइनेछ । यो पुस्ताले भ्लादिमिर पुटिन राष्ट्रपति नरहँदाको बखतमा आउने चुनौतीहरूको सामना गर्न रूसलाई तयार पार्नेछ ।
यो परिवर्तन कसरी प्रकट होला भन्ने कुरा अझै अज्ञात छ । मस्कोकेन्द्रित शासकहरूको ठाउँमा रूसका विभिन्न क्षेत्रका शासकलाई शासनतन्त्रमा ल्याउने हुनसक्छ । जे होला र जसरी होला, परिवर्तन हुनेछ किनभने परिवर्तन हुनैपर्छ ।
यही परिवर्तनको चाहना मतदाताले राखेका हुन् ।
पश्चिमाहरूले रूसको पछिल्लो राष्ट्रपति निर्वाचनलाई धोकाधडी भनेर उपहास गरे ।
यो आरोप सत्यबाट कोसौँ टाढा छ ।
रूसमा सम्पन्न सन् २०२४ को राष्ट्रपति निर्वाचन एउटा जल्दोबल्दो प्रजातन्त्रको नमुना हो । तर, यो प्रजातन्त्रलाई रूसी जनताले परिभाषित गरेका हुन् ।
पश्चिमाहरू भ्लादिमिर पुटिनले ८८ प्रतिशत मत पाएको कुरामा जोड दिन्छन् र जनतालाई एकमात्र विकल्प दिने व्यवस्थामा नतिजा पूर्वनिर्धारित हुने भन्दै उपहास गर्छन् ।
साँचो कुरा के हो भने निर्वाचनमा ७७ प्रतिशत जनसहभागिताले रूसी प्रजातन्त्रलाई परिभाषित गर्छ । यसमा रूसी राज्यको क्षमतामाथि जनविश्वास प्रतिबिम्बित हुन्छ । भ्लादिमिर पुटिनले रूसी जनतालाई जुन बलियो धरातलमा उतारे त्यो सबलता पुटिनपछिको युगमा पनि जोगाइनेछ भन्ने विश्वास प्रकट भएको छ ।
विगतलाई पुनः उचित ठह¥याउने जनादेश होइन यो । बरु, रूसी राष्ट्रको भविष्यका लागि आवश्यक निर्णायक परिवर्तनलाई अघि बढाउनुपर्छ भनेर सरकारलाई शक्तिसम्पन्न बताउने जनादेश हो ।
यो रूसी शैलीको प्रजातन्त्रको उत्तम अभिव्यक्ति हो ।

(स्रोत : ग्लोबल रिसर्च । सम्यक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *