भर्खरै :

अधिकारको निम्ति आन्दोलन

अधिकारको निम्ति आन्दोलन

सरकारले दिएको ऐन, कानुन र अधिकारको उपयोग गर्दै थप अधिकार पाउन कुनै राजनीतिक दल, समूह या पक्षले आन्दोलन गर्नु स्वाभाविक हो । कसैले सत्ता ढाल्न त कसैले सत्ता बचाउन आन्दोलन गरेको हुन्छ । कुनै दल, समूह या पक्षले सरकारको कमी कमजोरी औँल्याउन पाउँछ; कमी कमजोरी औँल्याएर सरकारलाई खबरदारी गर्न पाउँछ† जनतामाझ लगेर सुसूचित गर्न पाउँछ । परिस्थितिअनुसार कहिले कानुनी सङ्घर्ष हुन्छ भने कहिले गैरकानुनी सङ्घर्ष हुन्छ । आन्दोलन शान्तिपूर्ण र संयमतापूर्वक भए पनि प्रशासन या सरकारले दबायो या हस्तक्षेप गरेर बल प्रयोग ग¥यो भने प्रतिकार गर्नु पनि स्वाभाविक हो । भनिन्छ, जहाँ दमन हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ ।
सरकारलाई तर्साउने, खबरदारी गर्ने उपाय तोडफोड र आगजनी होइन । शान्तिपूर्ण आन्दोलन विथोल्ने, आन्दोलनकारीलाई हतोत्साही बनाउने, अश्रुग्यास छोड्ने, पानीको फोहरा प्रयोग गर्ने, लाठी प्रहार गरी पक्राउ गर्ने, आन्दोलनकारीलाई गोली ठोक्ने काम सरकारको होइन । आन्दोलन दबाउने नाउँमा बल प्रयोग गरेर प्रशासनले आतङ्कित पार्दा जनता उठ्नु स्वाभाविक हो । आन्दोलन दबाउनको निम्ति आन्दोलनभित्रै घुसपैठ हुन्छ; आन्दोलनभित्र घुसेका षड्यन्त्रकारीहरूले आन्दोलनकारीभित्रै उपद्रव गर्न सक्छन्; सुरक्षाकर्मीभित्रै इँटा ढुङ्गा बर्साएर आतङ्कित बनाउने काम गर्न सक्छन् । कति आन्दोलनकारीहरू नै उच्छृङ्खल स्वभावका हुन्छन् । उच्छृङ्खल आन्दोलनकारीहरूको कारण आन्दोलनमा उपद्रव हुन्छ र आन्दोलन बिथोलिन्छ । यस्तै अनेक षड्यन्त्र, उत्पात र उपद्रवले गर्दा आन्दोलन कहिले तोडफोड, कहिले आगजनी त कहिले लुटपाटमा बदलिन्छ । यसले आन्दोलन हिंसात्मक हुन्छ । हिंसात्मक आन्दोलनमा कुटपिट, मारपिट, तोडफोड र आगजन्य आदि हुन्छ ।
हिंसात्मक आन्दोलनले आन्दोलनकारीलाई फाइदा गर्दैन । आन्दोलन हिंसात्मक भएपछि सरकारले दबाउने बाटो पाउँछ । हिंसात्मक आन्दोलनले माग पूरा हुन्छ भन्ने पनि होइन । आन्दोलनलाई उत्तेजित पार्ने, उत्तेजित पार्न षड्यन्त्र गर्ने, आन्दोलन भड्काउन, आन्दोलन बिथोल्न या अर्कै बाटोमा मोड्न समाजका कुनै उच्छृङ्खल, गुप्तचरहरू घुसेका हुन्छन्; घुसेर आन्दोलनलाई बिथोलेका हुन्छन् । यस विषयमा आन्दोलनकारी पक्ष र सरकारी पक्षको पनि ध्यान पुग्नुपर्छ, ध्यान पु¥याएर समाधानको बाटो खोज्नुपर्छ ।
एमाले र नेकाको नेतृत्वमा बनेको सरकारले जनतालाई चित्तबुझ्दो काम गर्न नसकेको यथार्थ हो । शासकहरूले जनताको हितमा काम मात्र गर्न नसकेको होइन; पदको दुरूपयोग गरी अकुत सम्पत्ति कमाउन थाले† भ्रष्टाचारी र कमिसनखोरहरू शासकहरू वरिपरि घुमिरहेका छन् । उनीहरू सुरक्षित हुन्छन् । जनताको समस्या समाधान नगर्ने, दलगत र व्यक्तिगत स्वार्थमा लाग्ने, भ्रष्टाचारीहरूमाथि कारबाही गर्नुको सट्टा पृष्ठपोषण गर्ने काम भएपछि जनतामा असन्तोष बढ्नु स्वाभाविक हो । विभिन्न ठाउँमा जनता सडकमा उत्रनु र राजनीतिक नारा लगाउनु आदि असन्तोषकै कारण भएका हुन् । शासकहरू इमानदारीपूर्वक देश विकास गर्न र जनताको समस्या सम्बोधन गर्न अघि सरेका भए असन्तोषका पोकाहरू धेरै हुँदैनथ्यो; विरोधको स्वर सल्किँदैनथ्यो । सरकारको नेतृत्व गर्ने नाउँमा न नेकाले दलको सिद्वान्त र विचारअनुसार काम ग¥यो न त एमालेले आफ्नो सिद्वान्त र विचारअनुसार राजनीति ग¥यो । ‘कुण्ड कुण्ड पानी मुन्द मुन्द बुद्धि’ भनेझैँ सत्तासीन दलकै नेताहरू सरकारको कार्यशैलीप्रति सन्तुष्ट छैनन् ।
प्रजातान्त्रिक व्यवस्थामा हरेक नागरिक, समूह या दलले आ–आफ्नो माग पूरा गर्न र गराउन सरकारको विरोध गर्न पाइन्छ; प्रदर्शन गर्न पाइन्छ । आन्दोलनकारीले आन्दोलनलाई हिंसामा परिणत गर्ने, तोडफोड गर्ने तथा आन्दोलनकारीलाई दबाउने नाउँमा प्रशासनले शारीरिक र मानसिक यातना दिने, जाली मुद्दा लगाउने काम भयो भने त्यसले न आन्दोलनकारीलाई फाइदा गर्छ न त सरकारलाई नै बल पुग्छ । शान्तिपूर्ण आन्दोलन संयमित हुनुपर्छ । संयमित आन्दोलनलाई बिथोल्ने सरकारको तर्फबाट हुने कुनै पनि कुत्सित आन्दोलन जनताको निम्ति स्वीकार्य हुनेछैन । यसबारे आन्दोलनरत पक्ष र सरकारी पक्षबारे सुृसूचित हुनुपर्छ । आन्दोलनकारी र सरकारको कारण जनताको सम्पत्ति ध्वस्त गर्न पाइँदैन; कुनै आन्दोलनकारी र सञ्चारकर्मी मार्न पाइँदैन । यसतर्फ आन्दोलनरत पक्ष र सरकारको ध्यान जानुपर्छ । आन्दोलनरत पक्ष र सरकारी पक्षले सिंहावलोकन गरेर समाधानको उपाय खोज्नुपर्छ ।
हिंसात्मक र ध्वंसात्मक आन्दोलन गरेर देशमा राजतन्त्र फर्कँदैन । गणतन्त्रको विकल्प राजतन्त्र होइन । राजतन्त्र फर्काउने विचार प्रतिगामी हो । प्रतिगामी कदमको कुनै पनि गणतन्त्रवादीहरूले स्वीकार्दैनन् । बरु, जनताका यावत समस्या समाधान गर्न देशका सबै कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीप्रति आस्थावानहरू समाजवादी गणतन्त्रको तयारी हुनुपर्छ; समाजवादी गणतन्त्रात्मक व्यवस्था ल्याउन लाग्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *