सरकारी निकायले आफ्नो उपस्थिति पुष्टि गर्नुपर्ने
- जेष्ठ ११, २०८३
नेपालीमा एउटा भनाइ छ – कीराले हिरा बिगार्छ । एक मित्रका बुबाको निधनमा मलामीको लागि भक्तपुरको हनुमानघाटमा जाँदा गुठियारहरू आई नपुगुञ्जेल कुर्नुपर्ने भयो । यताउता घुम्दै गर्दा एउटा मन्दिरको गजुरतिर पिपलको बोट उम्रेको देखियो । हेर्दा अहिले सामान्य लागे पनि बेलैमा त्यो पिपल नउखेले त्यसले अन्ततः त्यो मन्दिरै भत्काउने निश्चित छ ।
सिद्धपोखरीको दक्षिणपूर्वी कुनामा रहेको विशाल पिपलले त्यहाँ रहेको मन्दिर निलेको अहिले देख्न सकिन्छ । त्यस्तै, भक्तपुर अस्पतालको मूल गेट छेउमा नै रहेको अर्काे विशाल पिपलले मन्दिर खाएको दृष्टान्त छ ।
त्रिपुरासुन्दरीस्थित अरनिको सभाभवनको पूर्वतिरको मन्दिर केही वर्षअगाडि मात्र पुनर्निर्माण गरिएको हो । त्यो पनि पिपलको रुखैले बिगारेको हो । त्यसैले, विष्णु भगवान् मानेर पुजिने पिपल कसैको घरको छाना, कौसी वा जहाँ उम्रे पनि उखेलेजस्तै हनुमानघाटको उक्त मन्दिरमा उम्रेको पिपल पनि उखेल्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्न चाहन्छु । नत्र कीराले हिरा बिगार्छ ।
Leave a Reply