भर्खरै :

शिक्षक सतिस रोकायको श्रद्धाञ्जली कार्यक्रम

शिक्षक सतिस रोकायको श्रद्धाञ्जली कार्यक्रम

सुर्खेत, २४ चैत । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ तिलागुफा नगर समितिका सदस्य सतिसबहादुर रोकायको ४५ दिनको तिथिको अवसरमा आइतबार श्रद्धाञ्जली सभा गरिएको छ ।
सुर्खेतको वीरेन्द्रनगर–९, अलायचौरस्थित सतिस रोकायको घरआँगनमा सम्पन्न कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका कार्यकर्ता तथा समर्थकले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्नुको साथै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको थियो ।
कार्यक्रममा पार्र्टीका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश संयोजक सरोजराज गोसाई प्रतिक्रियावादीहरूको मृत्यु प्वाँखभन्दा हलुङ्गो र क्रान्तिकारीहरूको मृत्यु पहाडजतिकै गहुँ¥गो हुने विचार राख्नुभयो । उहाँले मानिसको मृत्युपछि बाँकी रहने भनेको समाज परिवर्तनमा गरेको योगदानमात्र हो भन्दै सतिस रोकायको सपना नेपाल क्रान्तिकारी शिक्षक सङ्घले बोकेको शिक्षामा आमूल परिवर्तन गर्नु रहेको भनाइ राख्नुभयो ।
श्रद्धाञ्जली कार्यक्रममा नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर बोहरा, नेक्रामसङ्घ सुर्खेतका अध्यक्ष तुल्सी खड्का, नेक्राशिसङ्घ कालीकोटका अध्यक्ष मनमोहन पाण्डे, नेमकिपा वीरेन्द्रनगर न.पा. ९ का अध्यक्ष लोकबहादुर शाही, वीरेन्द्रनगर न.पा. ९ का वडा अध्यक्ष ऋषि गिरीलगायतले सतिस रोकायाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको योगदानको चर्चा गर्नुभएको थियो ।
२०६५ सालदेखि शिक्षण पेसामा आबद्ध सतिस रोकायको जन्म २०४१ चैत १२ गते साबिक कालीकोटको चिल्खाया–७ रूडुगाउँ भएको थियो । २०८१ माघ १२ गते ट्याक्टर दुर्घटनामा परी घाइते भएका रोकायको फागुन १० गते उपचारको क्रममा निधन भयो । मृतकका श्रीमती र दुई छोराहरू छन् । उहाँले तिलागुफा न.पा.–१० को महादेव माविमा राहत कोटामा नेपाली विषय अध्यापन गराउँदै आउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *