भर्खरै :

पर्स र ब्याग बनाउने तालिम सम्पन्न

पर्स र ब्याग बनाउने तालिम सम्पन्न

भक्तपुर, २४ चैत । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को सेवा केन्द्र व्यवस्थापन उपसमिति, तेखापुखुको आयोजनामा दुईदिने कुरुश प्रयोग गरी पर्स र ब्याग बनाउने तालिमको समापन कार्यक्रम सिद्धि गणेश तालिम हल, खँचामा आइतबार सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले संस्थाको मुख्य उद्देश्य बचत तथा ऋण कारोबार गर्ने भए तापनि संस्थाले समुदायमा आधारित भई सदस्यहरूको आर्थिक तथा सामाजिक स्तर विकासको लागि निरन्तर कार्य गर्दै आएको बताउनुभयो ।
उहाँले संस्थाबाट निरन्तर सीपमूलक, आयमूलक तथा व्यक्तित्व विकास गर्ने तालिमहरू सञ्चालन गर्दै आएको बताउँदै तालिममा मात्र सीमित नराखी उद्यमशिलता विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संस्थाका सञ्चालक सदस्य रञ्जना प्रजापतिले सदस्यहरूलाई तालिमको सीप उपयोग घरेलु उत्पादनमा जोड दिन र विदेशी आयात घटाउन उपयोगी हुने बताउनुभयो ।
कार्यक्रममा तालिमका प्रशिक्षक एवं उपसमितिका सदस्य चम्पा खत्रीले आफूसँग भएको पर्स र ब्याग बनाउने सीप सदस्यहरूलाई पनि हस्तान्तरण गरी कम लगानीमा गुणस्तरीय एवं टिकाउ पर्स र ब्याग बनाई सदस्यहरूको सीप विकास एवं अनावश्यक खर्च कटौती गरी बचत गर्ने बानी विकास गराउने तालिमको उद्देश्य रहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिला गोसाईले संस्थाका सदस्यहरूलाई आर्थिक क्रियाकलापमा सक्रिय राख्न संस्थाबाट सदस्यहरूलाई विभिन्न सीपमूलक तालिम सञ्चालन गरी आर्थिक अवसरहरू प्रदान गर्दै आएको बताउनुभयो । उहाँले संस्थाबाट प्रदान गरेको सीपमूलक तालिमको सदुपयोग गरी सानो व्यवसाय सुरु गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सभापति एवं संस्थाका सञ्चालक सदस्य राधेश्याम सैँजुले सदस्यहरू ब्याजको प्रलोभनमा परी संस्थामा रहेको बचत रकम समस्याग्रस्त सहकारीमा राख्दा बचत रकमसमेत फिर्ता नपाएको उदाहरण दिँदैै ब्याजको प्रलोभनमा नपर्न सचेत गर्नुभयो । उहाँले तालिममा सिकेको सीप प्रमाणपत्रमा मात्र सीमित नराखी व्यवसायको लागि अफ्नो घरायसी प्रयोगको लागि भए पनि सदुपयोग गर्दै जानुपर्ने बताउनुभयो ।
उपसमितिका सचिव पुण्यराम कर्माचार्यले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उपसमितिका सदस्य मुतिराम स्वनेपा तथा प्रशिक्षार्थी बिना गोसाईले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *