भर्खरै :

दुईदिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

दुईदिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

कालीकोट, ३१ चैत । नेपाल मजदुर किसान पार्टी, कालीकोट जिल्ला समितिले आयोजना गरेको दुईदिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले जनता जता जान्छन्, त्यतै जाने कि जनतालाई नेतृत्व गरेर सही ठाउँमा लाने भन्नेबारे कार्यकर्ता प्रस्ट हुनुपर्ने धारणा राख्नुभयो । उहाँले बाटोघाटोमात्र विकास भन्ने विचार गलत हो भन्दै शिक्षा, स्वास्थ्य, सरसफाइमा कतिको ध्यान दिऔँ भन्नेमा कार्यकर्ताले ख्याल गर्नुपर्ने विचार राख्दै केन्द्रीय सदस्य शाहीले ठुलाठालुले गरिबका छोराछोरी नपढून् भन्ने चाहेको तर्क गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले शिक्षाको विकास तथा राजनीतिक अभियानकै कारण कालीकोटजस्तो विकट जिल्लामा लैङ्गिक विभेद, जातीय भेदभावजस्ता सामाजिक विकृतिमा कमी आएको विचार राख्दै पुरानो पुस्तामा पुरानो मूल्यमान्यता कायमै रहेको भनाइ राख्नुभयो । कालीकोटमा रक्सीविरोधी आन्दोलन त भयो तर स्वदेशी तथा विदेशी रक्सीको बजार विस्तारप्रति सचेत हुनुपर्ने भन्दै मादक पदार्थको प्रयोग दुरूत्साहित गर्नुपर्ने भनाइ राख्नुभयो ।
कर्णालीमा भोकमरीको हल्ला फैलाएर चामलको व्यापार बढाउनेले षड्यन्त्र गरिएको भन्दै कर्णालीमा उत्पादन हुने मकै, आलु, कोदो, गहुँ, फापरको प्रयोग निरन्तर गर्ने हो भने भोकमरीको सिकार हुन्नथ्यो भन्नुभयो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा नेक्राविसङ्घका अध्यक्ष प्रकाश गुरूङले विद्यार्थीलाई सङ्गठित नगरी देशको परिवर्तन सम्भव नहुने धारणा राख्नुभयो । उहाँले कर्णाली र मधेस प्रदेशका विद्यार्थीमा चिट चोर्ने समस्या यथावत रहेको भन्दै चिट चोरेर पास हुने विचार गलत भएको विचार राख्नुभयो ।
नेक्राशिसङ्घका उपाध्यक्ष नरदीप शाहीले कर्णालीमा पेट पाल्न समस्या नभएको तर शिक्षा र स्वास्थ्यमा अझै समस्या रहेको भनाइ राख्नुभयो ।
नेमकिपा कालीकोटका अध्यक्ष खड्कराज शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव धनञ्जय अधिकारीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *