लेनिनका सम्झनाहरू
- बैशाख ११, २०८२
भक्तपुर, ३० चैत । नेमकिपा सूर्यविनायक नगरपालिका वडा नं. ५ एकाइ समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीको सम्पन्न आठौँ महाधिवेशनको सन्देश प्रवाह र नयाँ वषको शुभकामना आदान प्रदान कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवम् नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले राजनीति असल र खराबबिचको लडाइँ भएको र बहुमत जनताले त्यो भेद छुट्याउन नसक्दा जनता दुःख भोग्न विवश रहेको बताउनुभयो ।
जनताको राजनीतिक चेतनास्तर उठाउन पार्टी समिति र कार्यकर्ताले आफ्नो गतिविधि र सक्रियता बढाउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो ।
केन्द्रीय सदस्य थापामगरले देशमा समाजवादउन्मुख संविधान घोषणा भएको झन्डै दशक लाग्दा समेत सोअनुसार कानुन निर्माण र बन्दोबस्तमा सरकार र शासक दलहरू नलागेका कारण देश परनिर्भर मात्र नभई भारतीय शासक दलको चङ्गुलमा फस्दै गइरहेको प्रस्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “सरकारमा जानेहरूले विस्तारवादी भारत र साम्राज्यवादी अमेरिकालाई सहयोग हुने गरी देशलाई रित्तो बनाउन युवा–विद्यार्थीलाई देशबाट लखेट्ने दुष्कार्यबाहेक अरू केही गरेनन् ।”
देश जोगाउन नयाँ पुस्तालाई तयार गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “राजनीतिकरूपले सचेत र सङ्गठित नयाँ पुस्ताले प्रतिक्रियावादी र भ्रष्ट शोषकहरूको शासन व्यवस्था ध्वस्त पार्ने भएकाले देश युवा–विद्यार्थीविहीन बनाउन शासक दलहरू लागिपरेका छन् ।”
उहाँले साम्राज्यवादी अमेरिका र फासीवादी इजरायलले प्यालेस्टिन कब्जा गर्न नयाँ पुस्ता नै समाप्त गर्ने गरी महिला, गर्भवती महिला र बालबालिकाको नृशंस हत्या गरिरहेको चर्चा गर्नुभयो ।
कार्यक्रममा नेमकिपा सूनपा सचिव महेन्द्र बखुन्छेले पार्टीको आठौँ महाधिवेशनको निर्णय र प्रस्तावबारे चर्चा गर्दै पुँजीवादी व्यवस्थाले जनताको हित नगर्ने भएकोले समाजवादी व्यवस्थाको प्रचार प्रसारलाई व्यापक बनाउनुपर्ने उल्लेख गर्नुभयो ।
चाड–पर्वलाई फजुल खर्चको रूपमा नमनाई सामाजिक सम्बन्ध र सांस्कृतिक स्तर उठाउने हिसाबले मनाउन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घ सूर्यविनायक नगर समितिका अध्यक्ष राजेन्द्र बखुन्छेले किसानका समस्या र समाधानबारे धारणा राख्नुभयो ।
आयोजक समितिका अध्यक्ष रामकृष्ण बखुन्छेँको सभापतित्वमा भएको उक्त कार्यक्रममा राधेश्याम भुजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply