भर्खरै :

२०८२ को नयाँ वर्षको शुभकामना !

२०८२ को नयाँ वर्षको शुभकामना !

अचेल काठमाडौँ उपत्यकामा नेपाल संवत्को नयाँ वर्षको पहिलो दिनमा ‘न्हु दँया’ भिन्तुना प्रचलित छ । चैत महिनाको अन्त र वैशाख १ गतेको दिनबारे भक्तपुरको ‘लिङ्गो र दुई पत्ताका’ बारे अनेक किंवदन्तीहरू छन् । नेपालका प्राचीन कथाहरूमा अनेक प्रतीकहरू पाइन्छ । जानकारहरू बताउँछन्, यो वैशाखको लिङ्गो ढल्नुको अर्थ २०८१ को दिनको वर्ष अन्त्य भएको हो अर्थात् वैशाख १ गते २०८२ को सुरु भयो भन्ने सूचना हो ।
१ वैशाखको दिन हरेक वर्ष बोलीचालीको भाषामा दुई हात भनिएका प्रतीकले उत्तर र दक्षिणको प्रतिनिधित्व गर्छ भने लिङ्गोको छायाँ नहुने वा दिन र रात बराबर भएको अर्थमा लिइन्छ । तर, त्यस पर्वलाई व्यक्तिपरक बनाइएको देखिन्छ – नाग र नागिनीको रूपमा दुई पताकालाई !
यसबारे ज्योतिषहरूको छलफल हरेक साल भएमा अर्थको अनर्थ हुने थिएन र अन्धविश्वासको रातमा प्रकाश छरेजस्तै नयाँ पुस्तामा पृथ्वी गोल भएको, विषुवत् रेखा, पृथ्वीले आफै घुम्दै वर्षको एकपटक आफ्नो अण्डाकार कक्षमा सूर्यलाई परिक्रमा गरेको र ऋतु परिवर्तनबारे ज्ञान प्राप्त गर्ने गर्छ ।

XXX

आपसमा नेपाली जनताले नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान गर्छन् । यो परम्परा एक सभ्य औपचारिकता हो । तर, त्यसलाई जनताका जिम्मेवारी बोकेका संस्थालाई एक वर्ष समीक्षा गरेको भोलिपल्ट नयाँ वर्षमा गरिने नयाँ–नयाँ योजनाको सूचना देशवासीलाई दिने दिन हुनुपर्ने हो । हरेक वर्ष वैशाख १ देशको नयाँ–नयाँ योजना, आम्दानी र खर्चको लेखा वा बजेट प्रस्तुत गर्ने दिन हुनुपर्ने हो ।
तर अफसोच ¤ भारतको बजेटको आधारमा नेपालको बजेट बनाउने परम्परा मल्ल शासनपछि नयाँ वर्षमा तलेजुमा गर्ने विधि–विधान अगाडि बढाउन गोर्खाको फूल तलेजुमा चढाउने परम्परा भएजस्तै भारतप्रति भक्तिको भावना जगाउने हरेक पाइला देशको स्वतन्त्रता र सार्वभौमिकतासँग सम्बन्धित विषय हुनुपर्छ भन्नेबारे सरकारका सल्लाहकारहरू सचेत हुनैपर्छ ।
‘आउला त यथार्थ परक बजेट ?’ शीर्षकमा नेपाल सरकारको बजेटबारे र सफलताबारे संशय फैलियो (अन्नपूर्ण पोस्ट, १ वैशाख २०८२ ) ।
साँचोमा बजेट ‘यथार्थ परक’ हुने गर्दैन । ‘बजेट’ अङ्क र अङ्कगणितसँग सम्बन्ध भए पनि बजेट अनुमान र ‘सरकारको आर्थिक नीति’ ले निर्णय गर्छ । नेपाली जनताले नयाँ बजेटबारे प्रश्न उठाउनुपर्ने विषय हो – अब आउने २०८२ को बजेटले पुँजीपति र मारवाडी वर्गको हित गर्नेछ वा नेपाली जनता र नेपालको हित गर्नेछ । बहुमत गरिब जनताले ‘काम, माम, कपडा’ को राम्रो बन्दोबस्त प्राप्त गर्नेछन् वा छैनन्, उपभोग्य वस्तुको मूल्य घट्छ कि घट्दैन, देशमा उद्योग र कलकारखाना पुनः स्थापना भई जनताले काम पाउँछन् वा पाउँदैनन्, खेतीपाती, कुटीर व्यवसाय र घरेलु उद्योगले स्थान पाउँछ वा पाउँदैन ? झन्डै एक करोड नेपाली जनताले आफ्नै भूमिमा पसिना बगाउने अवसर पाई आफ्नै देशको विकास हुन्छ वा हुँदैन ?
‘कोरला नाका खुल्यो, भएन व्यापार सहज’ वा उत्तरी सीमा क्षेत्रका जनताले सजिलै व्यापार गर्न पाएनन् । भारतको सङ्केतमा नेपालका उद्योग–वाणिज्य मन्त्रालय, परराष्ट्र र गृह मन्त्रालयले उत्तरसँगको व्यापारलाई खोल्न भन्सार कार्यालयलाई थर्काउँछन् भन्ने जनताको गुनासो छ । नेपालीको नाममा उत्तरी सीमाका नाकाहरू दलाई लामाका दलालहरूमार्फत नेपाली भन्सारका कर्मचारीहरूलाई तर्साउँछन् वा आफ्नो तखतमा राख्न खोज्छन् । सरकारको आँखा खोल्न जनताले अपिल गरिरहेको व्यापक चर्चा छ ।

XXX

हिजोको प्रभाव वर्तमानमा पर्दै छ र आजको प्रभाव २०८२ मा पर्नेवाला छ । देशको विकासको निम्ति विभिन्न जात–जाति र भाषा–भाषीको विकास आवश्यक छ । आ–आफ्नै भाषामा तलदेखि विश्व विद्यालयसम्म पढ्ने बन्दोबस्त हुनुले राष्ट्रिय भावना जगाउनु न्यायोचित हुन्छ । हरेक नेपाली शिक्षकहरूले आ–आफ्नो मातृभाषाबाहेक मैथली, भोजपुरी, थारु, गुरुङ, मगर, राई, लिम्बु आदि विभिन्न जातिका भाषा पनि अनिवार्य गर्नु राष्ट्रिय एकताको आधार हुनेछ । शिक्षक र कर्मचारीहरूको नियुक्तिमा स्थानीय भाषा जान्ने शिक्षकलाई मात्र तत्तत् जिल्ला र प्रदेशमा पठाउँदा जनतामा सद्भावना बढ्नुको साथै देशको शीघ्र विकास सम्भव हुन्छ । ३१ चैत २०८१ को कान्तिपुर दैनिकले लेख्यो – ‘११ दिनदेखि राजधानीको सडकमा छन् शिक्षक’ ।
इमानदार र जनताका शिक्षकहरूले समाजको आमूल परिवर्तन गर्न ‘विद्यालय’ र विश्वविद्यालयहरूलाई ‘साम्राज्यवादी’ शिक्षाको विरोधमा ‘समाजवादी’ शिक्षाको निम्ति विचारको बारुद खाना बनाउनु उचित हुनेछ । शिक्षकहरू आफ्नो व्यक्तिगत स्वार्थको निम्ति होइन व्यापक देश र नयाँ पुस्तालाई प्रगतिशील समाज निर्माणमा सहयोगी बनाउन कोसिस चालु राख्नु समय सुहाउँदो हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *