भर्खरै :

नगर प्रमुख प्रजापति र जलेश्वर नपा प्रमुख सुरेश साह सोनारबिच भेट

नगर प्रमुख प्रजापति र जलेश्वर नपा प्रमुख सुरेश साह सोनारबिच भेट

महोत्तरी, १९ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र महोत्तरी जिल्ला जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारबिच बुधबार जलेश्वरमा भेटघाट भयो । नगर प्रमुख प्रजापतिसहितको प्रतिनिधिमण्डललाई प्रमुख सोनारले खादा ओढाई जलेश्वर नगरपालिकामा स्वागत गर्नुभयो । भेटमा दुई नगर प्रमुखबिच भक्तपुर र जलेश्वरको सांस्कृतिक पर्यटन प्रवद्र्धन र सेवा प्रवाहबारे अनुभव आदानप्रदान भयो ।
नगर प्रमुख प्रजापतिले जलेश्वर नगरपालिकाको सरसफाइ, पोखरी व्यवस्थापन विगतको तुलनामा सुधार भएको आफूले अनुभव गरेको बताउँदै आर्थिक रूपले सक्षम भएमात्रै नगरको विकास गर्न सहज हुने बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर पनि धार्मिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले सुन्दर र आकर्षक नगर भएको बताउँदै जनताले तिरेको कर र पर्यटकहरूबाट केही सेवाशुल्कबापत उठेको रकम पालिकाको आन्तरिक स्रोतबाट पर्यटन, शिक्षा, स्वास्थ्य, विकास निर्माणलगायतका क्षेत्रको काम गर्दै आएको बताउनुभयो ।
प्रमुख सोनारले स्थानीय तह अधिकार सम्पन्न हुन सकेमात्र नगरको विकास द्रुतगतिमा अगाडि बढ्ने बताउँदै महोत्तरी जिल्लाको सदरमुकामको रूपमा रहेको जलेश्वर नपाको स्थापना २०३९ मा भएको बताउनुभयो ।
जनसङ्ख्या ४० हजारको हाराहारीमा रहेको र हाल १२ वडा विभाजित जलेश्वर नपामा खासै ठुलो व्यापारिक कारोबार नरहेको बताउँदै उहाँले जलेश्वर मन्दिर सिङ्गो जनकपुर भेगकै प्रसिद्ध तीर्थस्थलको रुपमा प्रसिद्ध रहेको बताउनुभयो ।
भेटपश्चात् दुई नगर प्रमुखबिच उपहार र मायाको चिनो आदानप्रदानभयो ।
उक्त भेटमा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, कार्यपालिका सदस्य रोशनमैंयाँ सुवाल र जलेश्वर नपाका शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *