भर्खरै :

स्वतन्त्रता पानीको एउटा आदिम प्यास

स्वतन्त्रता पानीको एउटा आदिम प्यास

थुनिएको पानी जहिले पनि तनावपूर्ण हुन्छ !
माथि हेर्दा त त्यो मौन शान्त देखिन्छ
तर त्यही नै त्यसको समर्पित स्वीकृतिको सबुद हैन
थुनिएको भाँडोभित्र कुन यस्तो ठाउँ छ
जहाँ त्यसको दबाउ नपरेको होस्
त्यहाँ कुन यस्तो क्षण छ
आफ्नो परिवेशको चेतबाट त्यो अलगिएर रहेको
मुक्तिको कुन बाटो र कहिले छोडेको छ ?
भाँडोलाई जता ढल्काऊ
तुरुन्त त्यो त्यहीं आइपुग्छ !
कतै प्वालमात्र परोस्
तत्काल त्यहाँबाट उफ्रेर त्यो बाहिर पुगिसक्छ
त्यहाँ त्यो जहिले पनि मुक्तिको लागि आतुर
जहाँ चाहिने जति फैलिने ठाउँलाई कुण्ठित पार्ने भित्ता छ
जहाँ त्यसको गति खोस्ने कठोर पर्खाल छ !
जति जोडले थिचे पनि
त्यसको सत्वको जुन विस्तार छ
त्यो कहिल्यै खुम्चिन्न ।
जस्तै लामो बन्धनमा पनि
बगिरहने त्यसको प्रवृत्ति कहिल्यै हराउन्न ।
हुन त भाँडोले कतै चलहल गर्न नसकिने गरी, छेकेर
त्यसलाई आफ्नै आकारमा ढाल्न खोज्छ !
रङ्गले बिस्तारै–बिस्तारै धमिल्याएर सिङ्गो त्यसलाई
आफ्नै रङ्गमा रङ्गाउन खोज्छ !
तर, त्यसको रूप र रङ्ग त्यही हैन
जुन भाँडोमा त्यसलाई थुनेको छ
जुन रङ्गमा त्यसलाई रङ्गेको छ
त्यो बन्धनभित्र पनि बन्धनभन्दा शिखरस्थ छ ।
नत्रभने,
भाँडो घोप्टिने बित्तिकै
भाँडोको छाप कत्ति नपरेर
त्यसकै बान्कीले बाहिरिएर कसरी बगिदिनसक्छ
रङ्गेको रङ्गबाट आफू अलिकति पनि नपोतिएर
त्यो फेरि घाममा
जा ! अहिले, अलिकता खुम्चेछ
अलिकता सुकेछ

तर, त्यहाँ अलिकताभित्र
एउटा भयङ्करताको डर छ
यसरी अनायास त्यसको चञ्चलता
टोलाइ टोलाइमै बिलाउँछ
त्यसका वैसका लहरहरू
अनायास मौन सुस्केरा भई उठ्छ
नितान्त निःशेष भएर !
फेरि…. फेरि पनि…. उठ्छ
केवल, शून्यता उठ्छ
त्यसमा पनि एउटा सपना थियो त्यसको
त्यहाँबाट कतै कलकलाइ बग्ने
त्यो पनि सुस्केराहरू सँगसँगै लुक्छ
नितान्त निःशेष भएर !

Leave a Reply

Your email address will not be published. Required fields are marked *