भर्खरै :

ब्रान्डेड सामान : गुणस्तर आश्वासन वा मार्केटिङ भ्रम ?

ब्रान्डेड सामान : गुणस्तर आश्वासन वा मार्केटिङ भ्रम ?

पूर्व प्रम प्रचण्डको छोरीले बोकेको गुची (Gucci) ब्रान्डको झोलाको मूल्य २ लाख पर्छ भनेर मिडियामा आएको समाचार तपाईले सुन्नुभएको थियो ? साँच्चै हल्लामात्र हो कि वास्तकिता के हो भनेर नेपालीहरू जिब्रो टोक्दै गफिरहेका थिए । Gucci जस्तो लक्जरी ब्रान्डको झोला २,००० डलर (करिब २ लाख ६५ हजार रुपैयाँ) मा बिक्री हुन्छ भने उस्तै छालाको, उस्तै डिजाइनको नन–ब्रान्डेड झोला २० डलर (करिब २,६०० रुपैयाँ) मा पाइन्छ । दुवैको उत्पादन लागत लगभग २०–५० डलर जति मात्रै पर्छ । तर Gucci जस्तो ब्रान्डले ‘प्रतिष्ठा’,‘स्टेटस सिम्बोल’, ‘सीमित उत्पादन’ र ‘प्रसिद्ध व्यक्तिहरूद्वारा प्रयोग’ जस्ता कुरामा आधारित भएर आफ्नो मूल्य सयौँ गुणा बढाएको हुन्छ । यस्तो अवस्थामा उपभोक्ताले झोला मात्र होइन, त्यो झोलासँग जोडिएको ‘भावना र प्रतिष्ठा’ पनि किनिरहेका हुन्छन् ।
माथिको ब्रान्डेड वस्तुको सन्दर्भलाई हालैको चीन र अमेरिकी व्यापार युद्धले सतहमा ल्याएको छ । अहिले चीन–अमेरिका व्यापार युद्ध नयाँ मोडमा प्रवेश गरेको छ । लहरो तान्दा पहरो गर्जियो भनेजस्तै भन्सार महशुल विवादमा मात्र सीमित नरही अमेरिकी विश्व विख्यात ब्रान्डका सामानमाथि समेत ग्रहण लाग्ने सम्भावना बढेको छ । ब्रान्डेड बहसले चीन र विश्व बजारमा देखिएको व्यापारिक रणनीति तथा त्यसको असरलाई प्रस्ट रूपमा उजागर गरेको छ । अहिलेको समय विश्वव्यापी व्यापारिक प्रतिस्पर्धाको हो र त्यसमा चीनले अपनाएको रणनीति निकै चतुर देखिन्छ ।
उच्च भन्सार दरको प्रतिक्रियामा चीनको रणनीति
चीनबाट आयात हुने वस्तुहरूमा अमेरिकाले २४५ प्रतिशतसम्मको उच्च भन्सार शुल्क लगाएपछि चीनले पनि व्यापार रणनीतिमा परिवर्तन गर्दै विश्व प्रसिद्ध अमेरिकी ब्रान्डेड कम्पनी तहसनहस बनाउने तरखरमा छ । चाखलाग्दो कुरा के छ भने, विश्व बजारमा आफ्नो प्रतिष्ठा बनाएका एप्पल, नाइक, एडिडासजस्ता सयौँ ब्रान्डेड वस्तुहरूको उत्पादन भने चीनमै हुँदै आएको छ । चीनले यिनै प्रविधि र अनुभवको भरमा अब ती सामानहरू आफैं सस्तोमा उत्पादन गरी बजारमा ल्याउन थालेपछि, ‘ब्रान्डको बल’ भन्दा ‘मूल्य र पहुँच’ बढी प्रभावकारी बनेको छ ।
मोबाइल, लुगा, इलेक्ट्रोनिक्सजस्ता दुनियाँभर चर्चित भएका ब्रान्डेड सामानहरूको उत्पादन चीनमै हुन्छ । यिनीहरूको डिजाइन, मार्केटिङ र ब्रान्डको स्वामित्व पश्चिमी मुलुकहरूमा भए पनि सस्तो श्रम र स्रोतको उपयोग गर्दै उत्पादन चीनमा हुँदै आएको छ । हाल चीनले ती सामानलाई अब विदेशी ब्रान्डको नाममा होइन, आफ्नो ब्रान्ड वा ‘नो–ब्रान्ड’ को रूपमा अत्यन्तै सस्तो मूल्यमा विश्व बजारमा बेच्न थालेको छ । ती सामानहरू उस्तै गुणस्तरका भए पनि ब्रान्डको नाम नभएको हुनाले मूल्य निकै कम पर्छ । यस्तो कदमले चीनले विश्व बजारमै सिधा प्रतिस्पर्धा गर्ने रणनीति अपनाएको देखिन्छ ।
चीनले उस्तै गुणस्तरका सामानहरू धेरै सस्तोमा बेच्न थालेपछि केवल नाम, मार्केटिङ र मूल्यवृद्धिको भरमा बजार कब्जा गरेका ती नाम चलेका ब्रान्डहरू अहिले टिक्नै नसक्ने स्थितिमा पुगेका छन् । उनीहरूले उपभोक्ताको भरोसा र बजार हिस्सा गुमाउँदै गएका छन् र कतिपय कम्पनीहरू व्यवसायिक सङ्कटमा छन् अर्थात् ‘डुब्ने’ अवस्थामा छन् ।
चीनले विश्व बजारमा आफ्नो पहुँचलाई अझ बलियो बनाउने उद्देश्यले अपनाएको यो रणनीति, उच्च शुल्क लगाउने अमेरिकी नीतिको जवाफमा आएको देखिन्छ । अहिले चीनले ती सामानहरू अझै सस्तोमा बेच्न थाल्यो भने दीर्घकालमा त्यसले ती ब्रान्डहरूलाई नै विस्थापित गर्ने सम्भावना बढेको छ । केवल नाम र छवि नभई उत्पादन क्षमता र मूल्य प्रतिस्पर्धा नै निर्णायक तत्व बन्न थालेको अवस्थामा विश्व बजारको संरचना नै फेरिन सक्ने सम्भावना ल्याएको छ ।
उपभोक्तावादको नयाँ रूप
चीनले ब्रान्डेड सामानलाई सस्तो मूल्यमा बेच्न थालेपछि उपभोक्तावादको स्वरूपमा ठुलो परिवर्तन आएको देखिन्छ । पहिले नामी ब्रान्ड र त्यसको प्रतिष्ठाको आधारमा सामान किन्ने उपभोक्ताहरू अहिले त्यही गुणस्तरका वस्तुहरू सस्तोमा उपलब्ध भएपछि मूल्यलाई प्राथमिकता दिन थालेका छन् । यसले उपभोक्तावाद अब केवल ‘ब्रान्डको मोह’ नभएर ‘उपलब्धता, गुणस्तर र किफायत’ मा आधारित हुँदै गएको देखाउँछ । चीनको यस्तो रणनीतिले गर्दा उपभोक्ताले सस्तोमा राम्रो विकल्प रोज्न सक्ने स्वतन्त्रता पाएका छन् ।
पछिल्लो समय उपभोक्तावादमा देखिएको परिवर्तनको एक उदाहरण ब्रान्डेड र नन–ब्रान्डेड जुत्ताबिचको मूल्य अन्तरबाट स्पष्ट हुन्छ । जस्तै, एउटै गुणस्तरको नन–ब्रान्डेड जुत्ता करिब १०–१५ डलरमा पाइन्छ भने सोही स्तरको Nike जुत्ता १००–१५० डलरमा बिक्री हुन्छ । यथार्थमा उत्पादन लागत झन्डै उस्तै भए पनि ब्रान्डको नाम, प्रचार, डिजाइन र सामाजिक छविका कारण ब्रान्डेड वस्तु अत्यन्त महँगो हुने गर्छ । यस्तो अवस्थाले उपभोक्ताहरूलाई मूल्य र गुणस्तरको विवेचना गर्न बाध्य बनाएको छ, जसले उपभोक्तावादलाई बिस्तारै बिस्तारै ब्रान्डभन्दा व्यवहारिक सोचतर्फ डो¥याइरहेको देखिन्छ ।
चीनको यस्तो रणनीतिले उपभोक्तावादी सोचलाई सशक्त र सचेत बनाउँदै छ । उपभोक्ताहरूलाई वस्तुको वास्तविक गुणस्तर, मूल उत्पादन देश, मूल्य र टिकाउपनका आधारमा निर्णय लिन उत्प्रेरित गर्ने नीति लिएको छ  । यसले उपभोक्तालाई ‘नाम हेरेर किन्ने’ मानसिकता होइन, ‘गुणस्तर र मूल्यको तौलमा किन्ने’ सोचतर्फ डो¥याउनेछ । यसले उपभोक्ताहरूलाई बढी विकल्प, किफायती मूल्य र समान गुणस्तरका वस्तुहरूको पहुँच दिलाएको छ । तर, यसले दीर्घकालमा विश्व बजारको संरचना परिवर्तन गर्नुका साथै पुराना ब्रान्डहरूको अस्तित्वमाथि नै प्रश्नचिह्न खडा गरेको छ ।
चीनले पछिल्ला दशकहरूमा अपनाउँदै आएको व्यापारिक रणनीतिले विश्व बजारमा मात्र होइन, उपभोक्तावादी सोच र प्रतिस्पर्धाको मापन प्रणालीमा नै आमूल परिवर्तन ल्याएको छ । विगतमा तेस्रो देशका प्रतिष्ठित नाममा उत्पादन गरिने ब्रान्डेड सामानहरू चीनले अहिले आफैं सस्तो मूल्यमा बिक्री गर्न थालेपछि उपभोक्ताको प्राथमिकता, मूल्य–गुणस्तरको सम्बन्ध र व्यापार नीति सबै पुनः परिभाषित भइरहेका छन् ।
मूल्य र उपलब्धता प्रमुख मूल्याङ्कनका आधार बन्दै जाँदा पछिल्लो परिवर्तनले उपभोक्तावादलाई नयाँ मोडमा ल्याएको छ । यदि एउटै गुणस्तरको सामान कम मूल्यमा पाइन्छ भने केवल नामको लागि कैयौँ गुणा बढी मूल्य किन तिर्नु भनेर उपभोक्ताहरूले सोच्न थालेका छन् । यसले ब्रान्डहरूलाई पनि झस्काइरहेको छ—अब केवल मार्केटिङ र ब्रान्ड इमेज होइन, उत्पादन मूल्य र वस्तुको वास्तविक उपयोगिता मुख्य आधार बन्न थालेको छ । यसले ब्रान्ड र मूल्यबिचको परम्परागत सम्बन्धलाई कमजोर पार्दै छ । उपभोक्ताहरू अहिले ‘नाम होइन, काम हेर्ने’ सोचतर्फ उन्मुख हुँदै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *