भर्खरै :

विकासको नाममा राकम कर्णाली बन्यो अव्यवस्थित : प्राकृतिक विपत्को प्रचुर सम्भावना

विकासको नाममा राकम कर्णाली बन्यो अव्यवस्थित : प्राकृतिक विपत्को प्रचुर सम्भावना

मध्य पहाडी राजमार्गले छोएको दैलेखको राकम कर्णाली आधुनिक सहरको निर्माण गर्ने सरकारको अवधारणाअनुसार एउटा हो । राकम कर्णालीबाहेकका अन्य ९ वटा आधुनिक सहरको स्तर उन्नति के कति भएको छ भन्नेबारे सोधखोज र अवलोकनबाट थाहा हुने हो । तर, दैलेख जिल्लाको पश्चिमी भाग आठबिस नगरपालिकाको वडा नं ४ मा रहेको राकम देशकै र लामो रमणीय नदी कर्णाली नदीको किनारमा रहेको छ । यस नदीले त्यहाँका नागरिकहरूलाई मात्र होइन, सुर्खेत, अछाम, कालीकोट, दैलेख, जुम्ला, कैलालीलगायत देशैभरिका नागरिकहरूलाई रमाउन र आनन्द प्राप्तिमा राहत प्रदान गरेको छ । स्थानीय बासिन्दा र व्यापारीहरू कर्णाली नदीमा पाइने, जुन स्वादको हिसाबले एकदमै राम्रो र मूल्यवान मानिन्छ, माछाले मनग्य आम्दानी दिएको छ । जुन सरकारले एक आधुनिक सहरको रूपमा विकास गर्ने अवधारणा ल्याएको छ, त्यसअनुसार पर्यटनको हिसाबले राम्रो पूर्वाधार विकास गर्न सकेको खण्डमा देश–विदेशका पर्यटक भित्रिने सम्भावना त्यत्तिकै रहेको छ । यसले राष्ट्रिय आम्दानी वृद्धिमा बल पुग्ने सम्भावना देखिन्छ । ठुलो नदी भएकोले पनि आनन्द र खुसीमात्र लिन सकिएको छैन । नदी किनारका बस्तीलाई निकै सास्ती व्यहोर्नुपर्ने कैयौँ वृत्तान्त ताजै छन् र मानवीय तथा भौतिक क्षतिसमेत विगतका दिनमा भएका छन् ।
सरकारको अवधारणा आएको लामो समय भइसक्दा पनि भर्खरै सहरी विकासको क्रममा बाटाहरू निर्माण हुन थालेका छन् । तर, निर्माण सामग्री – बालुवा, गिट्टी, ढुङ्गा, शरिया, सिमेन्ट, पाइपलगायतका थुप्रै आवश्यक सामग्रीहरू जथाभावी यत्रतत्र छन् । यतिमात्र होइन कर्णाली नदी किनारमा पाइने आम्दानीको एक मुख्य स्रोत – बालुवा गिट्टी पनि सुरक्षित र मापदण्डबिना नै प्रशोधन गर्दा जमिन कमजोर भइसकेको छ । नगरपालिकाको आम्दानीमा पनि पारदर्शी स्रोतको लेखाजोखा पाइँदैन । सुर्खेत र जुम्ला राजमार्गअन्तर्गत सडक खण्ड पनि दयनीय अवस्थामा देखिन्छ र बजारका दायाँबायाँ तथा सडक पेटीमा, सुर्ती, चुरोट, खैनी, जङ्क फुड (चाउचाउ, बिस्कुट, कुरकुरे), प्लास्टिकका थैला, विभिन्न ब्रान्डका बियर तथा रक्सीका बोटल तथा महिला र पुरुषले प्रयोग गर्ने कामविहीन अनैतिक र गोप्य सामग्रीहरूले बजार क्षेत्र दुर्गन्धित र सा¥है अव्यवस्थित देखिन्छ । वर्षाको पानी र खानेपानीका पाइप जथाभावी हुँदा खाल्डाखुल्डीमा पानी छताछुल्ल हुन्छ । वर्षात्को समयमा हिलाम्य र हिउँदमा धुलो र धुवाँको प्रदूषणका कारण विभिन्न प्रकारका रोगहरू सङ्क्रमित हुने सम्भावना छ । खेतीयोग्य जमिनको किनबेच चलिरहेको छ र मनोमानी हिसाबले पक्की घरहरू धमाधम बन्दै छन् । यावत कार्यका कारण मानिसहरूले आवतजावत गर्न पनि सास्ती खेपिरहेका छन् ।
दैलेख जिल्लाका खेतीयोग्य, पर्याप्त अन्न बाली र तरकारी फल्ने जमिनमध्येको प्रख्यात ठाउँ राकम कर्णाली अबको १०÷१२ वर्षमा सायद घरले भरिने होला । आठबिस नगरपालिकाको केन्द्र पनि पक्कापक्की सोही ठाउमा भइसकेको छ । अहिले भौतिक संरचनाहरू निर्माणाधीन अवस्थामा छन् ।
तर, भूगर्भीय संरचना, माटो, खनिज आदिमा ‘भूगर्भ विज्ञ’ (Geologist) को अध्ययनले पक्कै पनि संरचित ठाउँ सुरक्षित छ भनेर भन्दैन होला तर विज्ञको सल्लाहनुसार हुनुपर्ने हो । तापनि, विज्ञको उपस्थिति नभएकै होला वा मनोमानी र जबरजस्त नै संरचनाका जग बसालिएको होला । जुन ठाउँमा नगरपालिकाका नयाँ भौतिक संरचना तथा कार्यालयहरू बन्दै छन्, त्यहाँ जोखिमपूर्ण अवस्था देखिन्छ । बन्दै रहेका नयाँ भवनको सिरानमा सुर्खेत जुम्ला कर्णाली राजमार्ग सञ्चालनमा छ । छेउमा ५/६ तलाका ठुलै निजी घरहरू छन् र जग बलियो बनाएको भए पनि जगभन्दा तलको भाग तलतिरबाट नयाँ संरचित बन्ने भवन निर्माणले आफ्नो क्षेत्र समेट्दा माथिबाट दैनिक चल्ने लोडवाला यातायातका साधन र ठुलठुला घरका कारण जमिन भासिने सम्भावना छ । निर्माणाधीन स्थलको उत्तर पूर्वीभागको क्षितिज दक्षिणमा रहेको नाउली भन्ने ठाउँ विगत र हालसालै पनि कमेरो लिस्से माटोले गाउँ बस्तीलाई समस्यामा पारेको छ र अहिले जताततै डोजर प्रयोग गरिएको छ । लामो समय पानी परेको खण्डमा माटो बग्ने सम्भावना छ । यसले भौतिक र मानवीय दुवै क्षति हुने उत्तिकै छ ।
राकम कर्णाली भौगोलिक हिसाबले पूर्वी, उत्तरी र दक्षिणी भागबाट रसाएर आउने पानी जम्मा भई ‘काने गाड’ नामको खोला त्यही निर्माणाधीन भौतिक संरचनाको गोरेनतिरको जग हुँदै बग्ने गर्छ । तलतिर कर्णाली नदी र माथितिरका भागहरू जताततै बाटा, कुला, धारा निर्माणको नाममा बसेको माटो ढुङ्गा दलदलमा रहेकोले थोरै पानी पर्दा पनि धेरै कटान गर्ने हुनाले त्यो कमजोर भू–बनोटमा क्षति पु¥याउने सम्भावना देखिन्छ । यसले मानवीय र भौतिक दुवै क्षति नहोला भन्न सकिन्न ।
विकास निर्माण गर्दा दिगो विकास अवधारणा तयार गरी भविष्यमा सम्भावित समस्यालाई केलाएर गर्नु जरुरी हुन्छ । तर, अहिले राजनीति तथा व्यक्तिगत स्वार्थका आधारमा विकास निर्माणका कामहरू थालनी गरिने र त्यही पनि तोकिएको समत्न्दा धेरै पर गएर जेनतेन काम हुने गरेका छन् । खासमा विकास गर्ने कुरा विकास नभएको ठाउँमा हो । बल र पहुँचको आधारमा स्वार्थ सिद्ध गर्नुभन्दा सबैको हित हुने, सबैलाई पायक पर्ने काम गर्नु राम्रो हो । भू–बनोट र पायकको हिसाबले राकम कर्णाली सहरिया बस्ती भएको र अझै नयाँ आधुनिक सहर निर्माणको प्राथमिकतामा परेकोले त्यो ठाउँलाई पालिका केन्द्र नबनाई एक सु–सम्पन्न र व्यवस्थित व्यापारी केन्द्र बनाउँदा राम्रो हुन्थ्यो । नजिकै कर्णाली नदी बगिरहेको र गहिरो ठाउँमा अवस्थित ठाउँ जोखिम नै छ । राकम कर्णाली नै पालिका केन्द्र बनाउनु थियो भने त्यहाँको शेराबाडा तथा बाख्रेकोट बजारमा संरचना बनाउने कार्यमा सल्लाह किन गरिएन होला ? कुनै बेला प्राकृतिक विपत् र जोखिम सम्भावना हुनसक्ने अड्कल र अनुमान दृश्यले दर्साइरहेको छ । विकास गर्न चाहेको खण्डमा हिमाल, पहाड र तराई जहाँ पनि सुन्दर र रमणीय ठाउँ बन्न सक्ने उदाहरण विकसित देशहरूले देखाइसकेका छन् । तर, हाम्रो देशको राजनीतिक संस्कार, राजनीतिक शिक्षा र उच्च नेतृत्वले नेपाली नागरिकहरूलाई गरिखान सिकाएन । नयाँ ठाउँ बनाउन तथा विकसित गर्न सिकाएन । धेरैजसो स्थानीय स्तरमा नेतृत्व गर्ने व्यक्तिहरूले राकम कर्णालीमा घडेरी खरिद गरेका छन् । साबिकका ६ वटा गाउँपालिका मिलाएर बनेको बिना कुनै पूर्वाधार र मापदण्ड नै नपुगेको आठबिस नगरपालिका राकम कर्णाली निश्चित क्षेत्रमा विकास हुँदैमा बाँकी ५ वटा साबिकका गाउँपालिका कागलाई बेल पाक्यो हर्ष न विस्मात् भएको छ । केही विकास निर्माणका योजनाहरू दलीय स्वार्थको आधारमा पक्षपातपूर्ण तवरले गर्नु उचित होइन । क्षणिक स्वार्थ र फाइदा कसैले लिन सके पनि सफा पानी पिउन गाग्री सफा गर्ने होइन मुहान नै सफा गर्नुपर्छ । आफू खुसी काम गर्दा या सोच पु¥याएर काम नगर्ने हो भने त्योपछि झन् समस्या बन्छ । अतः काम गर्दा दूरदृष्टिका साथ गर्नुपर्छ । राष्ट्रको सम्पत्ति क्षति हुने र सबै नागरिकहरूको अहित हुने खालको काम गर्नुको सट्टा निःस्वार्थ जनताको सेवा गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *