भर्खरै :

रौतहटमा पार्टी कार्यकर्ता भेला

रौतहटमा पार्टी कार्यकर्ता भेला

रौतहट, १३ वैशाख । नेपाल मजदुर किसान पार्टी मधेस प्रदेश समितिको आयोजनामा रौतहटको देवाही–गोनाही नगरमा पार्टी कार्यकर्ता भेला शनिबार सम्पन्न भयो ।
भेलमा नेमकिपाका केन्द्रीय सदस्य सरोज साहले पार्टीले स्थापनाकालदेखि नै कामदारवर्गका जनतालाई राजनीतिकरूपमा सचेत र सङ्गठित पार्दै समाजमा आमूल परिवर्तनका लागि सङ्घर्ष गर्दै आएको बताउनुभयो । उहाँले देशमा शासक दलहरूको भ्रष्ट आचरण र जनताप्रतिको धोकाका कारण राजनीतिप्रति नै वितृष्णा बढेको बताउँदै कामदारवर्गका जनताले नेमकिपाजस्तो सिद्धान्तनिष्ठ पार्टीमा सङ्गठित भई सङ्घर्ष अघि बढाउनुको विकल्प छैन भन्नुभयो ।
नेमकिपा मधेस प्रदेश समितिका सचिव प्रकाश थुसाले कम्युनिस्ट नामधारी पार्टीहरूको बिसर्जनवाद र पतनले नेपालको कम्युनिस्ट आन्दोलनलाई असफल र कमजोर पारेको चर्चा गर्नुभयो ।
नेमकिपा मधेस प्रदेश समितिका सदस्य रमेश प्रजापतिले शासक दलहरूले देशका युवाहरूलाई विदेश पलायन गराएर देश र जनताविरोधी नीति लागु गरिरहेको प्रस्ट पार्नुभयो ।
सभापतिको आसनबाट नेमकिपा रौतहट जिल्ला समितिका अध्यक्ष दिनेशप्रसाद साहले आफ्नो स्थितिमा परिवर्तन ल्याउन आफै सङ्गठित भएर सङ्घर्ष गर्नुको विकल्प छैन भन्नुभयो ।
त्यस्तै शनिबार नै रौतहटको बाँधिमाइ नपाको इनरवारी बजारमा पार्टी कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *