नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
सन् २०२५ अप्रिल २२ को दिन अन्तर्राष्ट्रिय मुद्राकोषले आफ्नो वार्षिक प्रतिवेदन प्रकाशित ग¥यो । ‘विश्वको आर्थिक परिदृश्य’ नामक उक्त प्रतिवेदनको उपशीर्षक अर्थपूर्ण छ – एक सङ्गीन मोड र नीतिगत बदलाव । मुद्राकोषका अर्थविद् र तिनका सहयोगीहरूले फेरि पनि एउटा तगडा काम गरेका छन् । तिनले हतारहतार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरुमा धम्क्याउँदै लगाएको, पछि ढिलाइ गरेको र एकाएक अपुग भएझैँ गरी चीनविरुद्ध पुनः चालु राखेको र बढाएको भन्सार करको अर्थ निकालेका छन् । मुद्राकोषले सन् २०२४ मा ‘विश्व अर्थतन्त्र स्थिर’ भएको र ट्रम्पको भन्सार नीतिले विश्वको आर्थिक वृद्धिदर हाल घटिरहेको र ‘अन्योल’ एवम् ‘अनिश्चय’ को स्थिति पैदा भएको पुष्टि गर्न खोजेको छ ।
मुद्राकोष र विश्व बैङ्कको वार्षिक बैठक सप्ताहको सन्दर्भमा यो प्रतिवेदन सार्वजनिक भएको छ । बैठकको सुरुमै मुद्राकोषका निर्देशक क्रिस्तालिना ज्योर्जिएभाले विश्व अर्थतन्त्रको वर्तमान अवस्थाबारे सङ्क्षेपमा विचार राखिन् । त्यसपछि उनले ‘विश्वासमा स्खलन’ आएको हुनाले उथलपुथल आएको दाबी गरिन् । पहिले जस्तो आज एक देशले अर्कालाई नपत्याएको र तिनले विश्व व्यवस्थामाथि पनि विश्वास नगरेको उनले बताइन् । (अमेरिकाले) भन्सार नीति उल्ट्याउनुपर्ने र विश्वको आर्थिक मामिलामा पुनः विश्वासको वातावरण बनाउनुपर्ने मुद्राकोषको धारणा छ ।
मुद्राकोष र विश्व बैङ्कका बन्द बैठकहरूमा ट्रम्प सरकारको सनक र खासगरी ट्रम्पका बेठेगान वक्तव्यहरूबारे साउती सुनियो । आफूछेउ उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) का प्रमुखलाई राखेर ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा क्यानडा वास्तविक देश नभएको बरु संरा अमेरिकाभित्र ऊ उत्कृष्ट प्रदेश बन्न सक्ने बताए । यस्ता टीकाटिप्पणी बैठकभरि यत्रतत्र दमित हाँसोका विषयवस्तु बने । औपचारिक सभामा भने भद्र नारीपुरुषले विश्वको वर्तमान अवस्थाबारे चिन्तापूर्ण गम्भीरता दर्शाइरहे ।
बुझाइमा गल्ती
गत वर्ष पश्चिमा अर्थतन्त्रमा सबथोक स्थिर थियो भनी देख्न थाल्नु मुद्राकोषले गरेको विश्लेषण वा मूल्याङ्कनको महत्वपूर्ण गल्ती हो । भन्सार वृद्धिको धम्की र पछि चीनविरुद्ध लगाइएको भन्सार करले ‘आर्थिक वृद्धिमा एउटा ठुलो धक्का पुगेको’ सत्य हो । तर, यो वर्ष आर्थिक वृद्धिदरले नयाँ उचाइ छुने अपेक्षा सत्य होइन ।
सन् २००७–०८ मा सुरु भएको धितो सङ्कटले संरा अमेरिकामा वित्तीय मन्दी आयो र त्यसयता अमेरिकी वृद्धिदर उसको पुरानो स्तरभन्दा धेरै घटिसकेको छ । खासमा त्यसयता अमेरिकी वृद्धिदर झन्झन् घट्दै छ । सन् १९२९ को महामन्दीको १७ वर्षपछि अमेरिकाको वार्षिक कुल गार्हस्थ उत्पादन (जीडीपी) मोटामोटी ३.७ प्रतिशत थियो । अहिले विश्व वित्तीय मन्दी भएको आज १७ वर्षपछि अमेरिकाको वार्षिक वृद्धिदर मोटामोटी जम्मा २ प्रतिशत छ ।
सन् २०२४ अक्टोबरमा मुद्राकोषले अमेरिकाको वृद्धिदर २.२ प्रतिशत हुने प्रक्षेपण गरेको थियो र अहिले उसले त्यसलाई १.८ प्रतिशतमा झारेको छ । गत अक्टोबरमा उसले चीनको वृद्धिदर ४.५ प्रतिशत हुने र भारतको ६.५ प्रतिशत हुने बतायो । त्यो भनेको अमेरिकाको उन्नत अर्थतन्त्रको लागि प्रक्षेपण गरे (१.८ प्रतिशत) भन्दा धेरै उच्च हो । ट्रम्पको भन्सार नीतिले अमेरिकाका समस्याहरू झन् बढाइदिएको छ । तर, समस्याको कारण ट्रम्पको भन्सार नीति होइन । झन्डै दुई दशकदेखि अमेरिकाको वृद्धिदर चिप्लेकीराको गतिमा छ ।
त्यो दुर्गति हेर्दा मुद्राकोषको विश्लेषण हावादारी छ । मुद्राकोषले अमेरिकाको ‘मूल बृहत्–आर्थिक नीतिगत चुनौती’ उसको सरकारी ऋणभार भएको बतायो । अमेरिकाको केन्द्र सरकारको ऋण ३६२ खर्ब डलर (जीडीपीको १२४ प्रतिशत) छ । उत्तरी गोलाद्र्धका दस देशहरू विश्वका उच्च ऋण भएका २० देशमा पर्छन् । जस्तोः– जापान (२६६ प्रतिशत), ग्रीस (१९३ प्रतिशत), इटली (१५१ प्रतिशत), संरा अमेरिका (१२४ प्रतिशत), पोर्चुगल (१२२ प्रतिशत), स्पेन (११७ प्रतिशत), फ्रान्स (११२ प्रतिशत), बेल्जियम (१११ प्रतिशत), क्यानडा (१०९ प्रतिशत) र बेलायत (१०५ प्रतिशत) । व्यापार घाटा घटाउनु बृहत्–आर्थिक हिसाबले सही देखिन सक्छ । तर, त्यति गर्दैमा अमेरिका पुनः आर्थिक वृद्धिमा जान्छ भन्न मिल्दैन । सामाजिक कल्याणको क्षेत्रमा खर्च कटौती गर्दा व्यक्तिगत उपभोग घट्दै जानेछ । औद्योगीकरणका लागि धेरै ठुलो मात्रामा स्रोतसाधन परिचालन नगरी फगत केन्द्र सरकारको घाटा घटाउँदैमा अमेरिकी उत्पादन पुनः ब्युँताउने ट्रम्पको सपनाले काम गर्नेछैन । जनताको जीवनस्तर नखस्काउने हो भने अचाक्ली सैन्य खर्चमा कटौती गर्नुपर्ने हुन्छ अथवा अमेरिकाको असाध्यै निस्प्रभावी निजी स्वास्थ्य क्षेत्रमा सुधार गर्नुपर्ने हुन्छ । ट्रम्पले यस्ता नीति अपनाउने छैनन् ।
वास्तवमा मुद्राकोषले चीन सरकारलाई असाध्यै क्षुद्र सुझाव दिएको छ । उसले चीनले संरा अमेरिकाको विरोध होइन, अनुकरण गर्नुपर्ने सुझाव दिएको छ । मुद्राकोष भन्छ – ‘चीनले ‘अत्यन्त न्यून व्यक्तिगत उपभोगलाई बढाउनुपर्छ’ र ‘औद्योगिक नीति तथा उद्योगमा व्याप्त राजकीय संलग्नता उल्ट्याउनुपर्छ ।’ यसको अर्थ मुद्राकोष चीनले आफ्नो दिगो आर्थिक वृद्धि परित्याग गर्नुपर्छ र संरा अमेरिकाजस्तै सुस्त वृद्धिमा जानुपर्छ भन्दै छ !
सन् २०२४ नोभेम्बरमा मुद्राकोषले एउटा रोचक अध्ययनपत्र जारी ग¥यो । त्यसका तीन अर्थविद्हरूले अध्ययनको नाम दिए – दिगो र सन्तुलित वृद्धिका लागि चीनको बाटो । त्यो अध्ययन र ‘विश्व आर्थिक परिदृश्य’ ले एकै स्वरमा कोभिडको प्रताप, उच्च निर्यात, सार्वजनिक पूर्वाधारको खर्च धान्ने उच्च घरेलु बचतदर, सट्टेबाजीमा भन्दा उत्पादक गतिविधिलाई बढावा दिनका निम्ति वित्तीय तरलतालाई साना तथा मध्यम आकारका उद्यमतर्फ मोड्ने बैङ्किङ प्रणाली तथा उच्चस्तरको उत्पादक शक्तिका कारण चीनले अर्थतन्त्रको क्षेत्रमा बलियो प्रदर्शन गरेको बताए । यसलाई पछिल्लो अवधिमा चीनको आर्थिक वृद्धिको संरचनाको गतिलो सारसङ्क्षेप भन्न सकिन्छ । तर, यसपछि मुद्राकोषले चीनलाई दिएको सुझाव भने यो चित्रणको ठीक विपरीत छ । विकसित र उन्नत औद्योगिक देशहरूको लामो सुस्तताबाट चीनलाई पर राख्ने सबै नीतिको घाँटी निमोठ्न लगाउनु यस्तै सुझाव हो । (मुद्राकोषले चिनियाँ मुद्रा रेनमिनबीको मूल्य बढाउन दबाब दिँदै छ । अमेरिका पनि यही चाहन्छ । रेनमिनबीको मूल्य बढे अमेरिकाले आफ्नो उत्पादकत्व नबढाई केवल मौद्रिक लेनदेनबाट व्यापार असन्तुलन घटाउन सक्नेछ ।)
मुद्राकोषको भनाइ सत्य हो । आउँदा दिन अनिश्चयपूर्ण छ । तर, उसकै प्रतिवेदन र तालिकाहरूमा ठोस निश्चय पनि छ । निजी वित्तीय बजारमाथिको चरम निर्भरता र अर्बपतिहरूको सनकको पछि नलागी उच्च घरेलु बचत तथा (वित्तीय प्रणालीलगायत) संसाधनमाथि गतिलो सम्प्रभुता कायम गर्नुका साथै यी वित्तलाई उत्पादक क्षेत्रतिर मोड्नाले दीर्घकालमा अझ स्थिरता ल्याउँछ । तर, मुद्राकोषले यो खबरबाट आफ्नो प्रतिवेदन टुङ्ग्याएको छैन । बरु झ्यालबाहिर मुन्टो निकालेर पूर्वको शान्ति हेर्नुभन्दा ऊ पश्चिमा आकाशमा मडारिएको आँधी हेर्नमा मग्न छ ।
– ‘पिपल्स डिस्प्याच’ बाट
अनुवाद : सम्यक
Leave a Reply