भर्खरै :

पर्सामा युवा–विद्यार्थी भेला

पर्सामा युवा–विद्यार्थी भेला

वीरगञ्ज, ११ वैशाख । नेपाल मजदुर किसान पार्टी मधेश प्रदेश समितिको आयोजनामा बिहीबार वीरगञ्जमा पार्टी समर्थक युवा –विद्यार्थीहरूको भेला सम्पन्न भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य सरोज साहले शासक दलहरूको सिद्धान्तहिनता र भ्रष्ट व्यवहारका कारण देशमा प्रतिगामीहरूले टाउको उठाउन थालेको र साम्प्रदायिक हिंसा भड्काउने कोसिस भइरहेको बताउनुभयो ।
उहाँले मधेश प्रदेश सरकारमा रहेका दलहरूले जनताको वास्तविक समस्या समाधान गर्ने उद्देश्यले भन्दा ठेक्कापट्टामा कमिसन बढी खाने उद्देश्यले योजनामा बजेट लगाइरहेको बताउनुभयो ।
मधेशका युवाहरूले नेमकिपाजस्तो सिद्धान्तनिष्ठ र जनताको पार्टीमा सक्रिय भई राजनीति नगरेसम्म मधेशमा परिवर्तनको आशा वास्तविकतामा परिणत नहुने बताउनुभयो ।
नेमकिपा मधेश प्रदेश समितिका सचिव प्रकाश थुसाले नेपालका कम्युनिस्ट नामधारी राजनीतिक पार्टीहरूको नीति र व्यवहार कम्युनिस्टको नभएको बरु पुँजीवादी पार्टीकै भएको बताउनुभयो ।
नक्कली कम्युनिस्ट पार्टीहरूको धोकाको कारण देशमा कम्युनिस्ट आन्दोलनप्रति जनताको आशा कम हुँदै गएको उहाँले बताउनुभयो । उहाँले नेमकिपा आमूल परिवर्तनको निम्ति इमानदारीपूर्वक सङ्घर्ष गरिरहेको पार्टी भएको चर्चा गर्नुभयो ।
नेमकिपा मधेश प्रदेश समितिका सदस्य रमेश प्रजापतिले अहिले युवा – विद्यार्थीहरूमा देश छोडी विदेश जाने प्रवृत्ति बढ्नुमा शासक दलहरूको असक्षमता जिम्मेवार छ भन्नुभयो ।
देशमा क्रान्ति होला भन्ने डरले नै युवा विद्यार्थीहरूलाई विदेश पलायन गर्न सरकारमा गएका पार्टीहरू लागिरहेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा पर्साका सदस्य इस्लाम मियाले शासक दलका नेताहरूले सङ्घ र प्रदेश सरकारमा मात्र नभई स्थानीय तहमा पनि उत्तिकै भ्रष्टाचार र अनियमितता गरिरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *