कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
कैलाली, १५ वैशाख । नेपाल मजदुर किसान पार्टी कैलालीको आयोजनामा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम लम्किचुहा नगरपालिका वडा नं. ७ हरैयापुरमा सोमबार सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा सुदूरपश्चिम प्रदेश सचिव तथा कैलाली अध्यक्ष रमेशकुमार रावलले राजनीति राम्रो भएमात्र सबै क्षेत्र राम्रो हुने भएकोले सबैले राजनीतिबारे चासो लिनुपर्ने बताउनुभयो ।
राजनीति निःस्वार्थरूपमा देश र जनताको सेवा गर्ने भावले हुनुपर्ने शिक्षा नेमकिपाले दिँदै आएको उल्लेख गर्दे उहाँले बहुसङ्ख्यक जनता राजनीतिकरूपमा सचेत भएमात्र क्रान्ति दिगो हुने धारणा व्यक्त गर्नुभयो ।
शासक पार्टीहरूले कामदार जनताको हितमा काम नगर्नेतर्फ सबै सचेत हुनुपर्ने र समाजवादी व्यवस्था स्थापना भएमात्र कामदार जनताले सुख पाउने भएकोले नेमकिपा समाजवादी व्यवस्था स्थापनाको लागि सङ्घर्षरत छ, उहाँले भन्नुभयो ।
नेमकिपा कैलालीका सचिव गगनबहादुर थापा मगरले नेमकिपाले सदैव काम गरी खाने जाताको हितको निमित्त सदन र सडकमा सङ्घर्ष गर्दै आएको बताउनुभयो ।
नेक्राविसङ्घ कैलाली अध्यक्ष एचबीले नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले मजदुर र किसानका छोराछोरीहरूको हितको लागि निःशुल्क शिक्षा, अनिवार्य र उत्पादन श्रमसँग जोडिएको वैज्ञानिक शिक्षा व्यवस्थाको निमित्त सङ्घर्ष गर्दै आएको बताउनुभयो ।
सोमबार लम्किचुहा नपा वडा नं.५ चौरीमा पनि नेमकिपा समर्थक कार्यकर्ताहरूसँग अध्यक्ष रावलले भेटघाट गर्नुभयो ।
Leave a Reply