भर्खरै :

भक्तपुरमा वन मिचेर प्लटिङ गरेको भन्दै स्थानीयले मागे गुहार

भक्तपुरमा वन मिचेर प्लटिङ गरेको भन्दै स्थानीयले मागे गुहार

भक्तपुर, १८ वैशाख । भक्तपुरको सूर्यविनायक ९ काँक्राबारीमा वन मिचेर प्लटिङ सुरु गरेको भन्दै स्थानीयले विभिन्न निकायमा गुहार मागेका छन् ।
यस क्षेत्रमा झन्डै तीन दर्जन डोजरहरू दिनरात चलाएर सार्वजनिक सम्पत्ति मासेको भन्दै उनीहरूमाथि कारबाही नभएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।
सूर्यविनायक नगरपालिका वडा नं ९ (साबिक नंखेल गाविस वडा नं. ४ क र ख) काँक्रा बनस्थित घिसिङ डाँडामा रहेको निक भुजिकिक हाउजिङ कम्पनीले सञ्चालन गरिरहेको छ ।
बनको क्षेत्र अतिक्रमण गरेर काम भइरहेको महिनौँ बिते पनि कसैले वास्ता नगरेको उनीहरूको दुखेसो छ ।
स्थानीय जनताले प्रयोग गर्दै आएको खानेपानीको मूल तथा पानी, पर्धेरा, कुलो, बाटो पुर्नुका साथै खानेपानीको पाइपलाइनसमेत क्षतविक्षत गरेर स्थानीयलाई खानेपानीबाट बञ्चित गरेको उनीहरूले बताए ।
उक्त कम्पनीले डोजर चलाउँदा परम्परादेखि रहँदै आएको खोल्साखोल्सीसमेत पुरिएर पानीको निकाससमेत थुनिएको हुँदा वर्षामा आउने भेल बाढीले स्थानीयको घरबारीसमेत बगाउने खतरा बढ्दो छ । घिसिङ टोलमा आयोजना सञ्चालन गर्दा घिसिङ टोलभन्दा मुनि रहेको लामा टोल अति जोखिममा पर्न गएको छ ।
आयोजनाले स्थानीय जनताको सहमतिबिना जबरजस्ती व्यक्तिको जग्गासमेत खनेर व्यक्तिको बसोबास रहेको घरसमेत स्थानान्तरण गर्न बाध्य पारेको जनाइएको छ ।
वन क्षेत्रको जैविक विविधता, पर्यावरण र स्थानीय जनताको जीवनमा समेत गम्भीर असर पर्ने गरी सरकारी र सामुदायिक वन क्षेत्र अतिक्रमण गरेर निक भुजिकिक हाउजिङ कम्पनीले प्लटिङ आयोजना सञ्चालन गरेको हुँदा सो आयोजना तत्काल रोक्का गरी वनजङ्गल संरक्षण गर्नुपर्ने उनीहरूको माग छ ।
प्लटिङ गरेर प्राकृतिक पर्यावरण बिगार्ने काममा संलग्न हाउजिङ कम्पनीका डिल्ली बराइली, प्रवीण कुस्मा र जग्गाधनी भनिने सुधिरकुमार अधिकारी र यसै स्थानका शङ्कर तामाङ र हाउजिङ कम्पनीसँगको अवैध प्रतिबद्धतामा वन–जङ्गल अतिक्रमण गर्न सहमति दिने सबैलाई कारबाही गर्न उनीहरूले जिल्ला प्रशासन कार्यालय भक्तपुर, जिल्ला वन, सूर्यविनायक नगरपालिका, वडा कार्यालयसमेतलाई ज्ञापनपत्र बुझाएका छन् ।
स्थानीयले प्लटिङ रोक्न सङ्घर्ष समिति पनि गठन गरेका छन् ।
सङ्घर्ष समितिको अध्यक्षमा स्थानीय प्रेमबहादुर तामाङ, उपाध्यक्षमा एकराज तामाङ, सचिवमा सुनिल तामाङ दोङ र सदस्यहरूमा बाबुराम लामा, बुद्ध लामा, ज्ञानबहादुर लामा, देवबहादुर तामाङ (लो), केशव तामाङ, सानो तामाङलगायत रहनुभएको छ ।
प्लटिङ स्थल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको साँगा झोलुङ्गे पुलबाट सिधै पहाड माथिको जङ्गलैजङ्गलको बाटो भएर दस १२ किलोमिटर माथि पर्दछ । यहाँको पूरै क्षेत्र जङ्गलै जङ्गल रहेको छ । साथै केही घरहरू पनि छन् ।
सरोकारवालाहरूले बेवास्ता गरेपछि उनीहरू आफैं आन्दोलनको तयारीमा जुटेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *