भर्खरै :

भारतीय शासकवर्गको युद्धपिपासु मानसिकता

भारतीय शासकवर्गको युद्धपिपासु मानसिकता

काश्मिरी जनताको स्वतन्त्रताको आकाङ्क्षालाई भारतीय शासकवर्गले नमान्दा काश्मिरमा आज पनि द्वन्द्व जारी छ । गएको अप्रिल २२ का दिन भारत प्रशासित काश्मिरको पहलगाममा कथित कश्मिरी बन्दुकधारीहरूले पर्यटकलक्षित आक्रमण गरे । उनीहरूले एक नेपालीसहित २८ जना पुरुषलाई गोली हानेर मारे । व्यक्तिहत्याको राजनीति जुनसुकै माग र उद्देश्यको निम्ति गरिए पनि गलत नै हो । उक्त घटनाको लगत्तै पछि संलग्नहरूको खोजी गरी कारबाही गर्नुको साटो भारत सरकार उक्त घटनाको दोष पूर्णतया पाकिस्तानमाथि थोपरेर युद्ध गर्न तम्सियो । पाकिस्तानका प्रधानमन्त्री सहवाज सरिफले उक्त घटनामा आफ्नो देशको कुनैखाले संलग्नता नभएको र उक्त घटनाको अन्तर्राष्ट्रिय समिति बनाई अनुसन्धान गर्नुपर्ने माग अघि सारे । भारत सरकार भने कुनै अनुसन्धानको पक्षमा छैन र यही निहुँमा युद्ध गरी पाकिस्तानमा विध्वंस मच्चाउन उद्यत देखियो । पहलगाम घटनामा सुरक्षा चुकको विश्लेषण र दोषीहरूको खोजीमा लाग्नुभन्दा भारत सरकार सिधै पाकिस्तान र मुसलमानहरूमाथि दोष थोपरेर पाकिस्तानसित युद्धको तयारीमा लाग्यो । भारतीय मिडियाहरूको कुरा पत्याउने हो भने भारतले पाकिस्तानमाथि ३६ घण्टाभित्र आक्रमण गर्ने पूरा तयारी गरेको थियो र ‘अचानकको रणनीतिक हमला’ समेत गरिसकेको छ । यसले भारतीय शासक वर्गमा रहेको पाकिस्तानप्रतिको घृणा र युद्धपिपासु मानसिकता राम्ररी नै उदाङ्गो पारिदिएको छ । यद्यपि चीन, रुस, टर्की, साउदी अरेवियालगायत देशहरूको कूटनीतिक सक्रियताका कारण सम्भावित भारत–पाकिस्तान युद्धको तनाव केही हदसम्म घटेको छ ।
मोदी नेतृत्वको सरकार र सिङ्गो भाजपाको हिन्दु–मुसलमान विभाजनको राजनीति र दुष्प्रचारले गर्दा भारतका विभिन्न राज्य, सहर र गाउँहरूमा अल्पसङ्ख्यक मुसलमानहरू खतरामा रहेका समाचार भारतीय सञ्चारमाध्यमहरूले दिइरहेका छन् । मुसलमान हुनुबाहेक काश्मिरसित कुनै साइनो नभएका मुसलमानहरू पीडित भइरहेका छन् । भारतमा व्यापार र व्यवसाय गरिरहेका पाकिस्तानीहरू जबरजस्ती धपाउन थालिएका छन् । भाजपा र राष्ट्रिय स्वयम्सेवा सङ्घका कार्यकर्ताहरू भारतमा पुनः हिन्दू–मुस्लिम दङ्गाको डढेलो लगाउन उद्यत छन् । पश्चिमा तथा सरकार समर्थक भारतीय टेलिभिजन च्यानलहरूले त भारत र पाकिस्तानसित भएका सेना र हतियारको सङ्ख्या आदिको तुलना गरी युद्ध भएमा भारतको अगाडि पाकिस्तान कति दिन टिक्न सक्छ भनी हचुवा विश्लेषण गर्नसमेत भ्याइसकेका छन् ।
काश्मिरका बहुमत जनता स्वतन्त्र काश्मिरको पक्षमा रहेको कुरा कसैले लुकाउन सकिने तथ्य होइन । तर, त्यसका निम्ति सबै जनता सशस्त्र युद्धको पक्षमा छैनन् । नरमपन्थी काश्मिरी नेता र दलहरूले स्वायत्त काश्मिर हुँदै स्वतन्त्रता प्राप्त गर्ने बाटो जनतामाझ राखिरहेका छन् । भारतीय शासक वर्गले सेना र सेनाजतिकै हतियारबद्ध प्रहरी र अर्धसैनिक बलहरूको आधारमा काश्मिरी जनतामाथि शासन र शोषण गर्दै आएका छन् । काश्मिरमा शान्ति र आतङ्कवादविरुद्ध कारबाहीका नाममा भारतीय सैनिक बलहरूले सन् १९४७ यता जनतामाझ त्राहिमाम मच्चाउँदै आएको यथार्थ काश्मिरबारे चासो राख्ने जो कोही जानकार छन् ।
पहलगाम घटनाको दस दिन बित्न लाग्दा पनि संलग्नहरूलाई पक्राउ गर्न नसक्नु र भारत सरकार अन्तर्राष्ट्रिय टोलीमार्फत अनुसन्धानको पक्षमा नरहनुले उक्त घटना प्रायोजित त होइन भनी भारत मामिलाका जानकारहरूले आशङ्का व्यक्त गर्न थालेका छन् । २०१९ मा काश्मिरकै जम्मु–श्रीनगर राजमार्गको पुलावामामा ठुलो मात्राको विस्फोटकसहितको एउटा कार भारतीय केन्द्रीय प्रहरी बल (सीआरपीएफ)हरू चढेको बससित ठोकाएर आत्मघाती विस्फोट गराउँदा ४० जवान भारतीय प्रहरीको पनि ज्यान गएको थियो । त्यतिबेला पनि त्यति ठुलो मात्रामा आरडीएक्स सामान्य काश्मिरी लडाकु समूहले प्राप्त गर्न र भण्डार गर्नै नसक्ने र त्यसमा भारतकै शासकवर्गको प्रत्यक्ष वा परोक्ष सहयोग रहेकै हुनुपर्ने कुरा उठेको थियो । त्यतिबेला नरेन्द्र मोदी नेतृत्वको भाजपा सरकारले त्यसमाथि निष्पक्ष अनुसन्धान गर्न र गराउन चाहेन बरु त्यसै आक्रमणको बदला लिने नारामा त्यस वर्षको लोकसभा निर्वाचन जितेको थियो । कतै पहलगाम आक्रमणको घटना पनि भारतमा धार्मिक विभाजनको राजनीतिलाई बढावा दिन र यसै वर्ष र आगामी वर्षमा हुने विधानसभा र लोकसभाका निर्वाचनहरू भारतीय जनता पार्टीको पक्षमा पार्ने रणनीति त होइन भनी प्रश्न उठ्न थालेका छन् ।
अर्काथरी अन्तर्राष्ट्रिय राजनीतिका विश्लेषकहरू पहलगाम घटनालाई भारत–चीन द्वन्द्व बढाउने अमेरिकी संस्थापन र सीआईएको षड्यन्त्र हुनसक्ने आशङ्का व्यक्त गर्छन् । किनभने अमेरिकी शासकवर्गले एकातिर भारतीय शासकहरूलाई उक्साएर चीन–पाकिस्तानलगायत छिमेकीसित मुठभेदमा जान कान भरिरहेका छन् भने अर्कोतिर चीनसित रणनीतिक साझेदारी गरिसकेको पाकिस्तानका शासकवर्ग, सेना र बन्दुकधारी समूहहरूलाई समेत आर्थिक सङ्कटबाट निक्लिने नाउँमा रकम सहायता गरेर आफ्ना दलालहरू तयार गरिरहेको छ । भारत–पाकिस्तान युद्ध भएमा रणनीतिक साझेदारी सम्झौताको आधारमा पाकिस्तानलाई अस्त्रशस्त्र उपलब्ध गराउन चीन बाध्य हुनेछ । त्यही निहुँमा भारत–चीनबिच तनाब बढ्ने छ र दुई देशबिचको व्यापार ठप्प हुनेछ । युद्धकै कारण पाकिस्तानमा बनिरहेका चीन–पाकिस्तान साझेदारीका आर्थिक तथा विकास योजनाहरूमा नकारात्मक असर पर्न जानेछ । चीनविरुद्ध ट्यारिफ युद्धमा उत्रेको संरा अमेरिकाले चीनलाई घेर्ने रणनीतिअन्तर्गत नै पहलगाम घटनाको प्रायोजन गरेको हुनसक्ने आशङ्कालाई कमजोर मान्न सकिन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *