चे, फिडेलको संस्मरणमा – १५
- कार्तिक ७, २०८२
भक्तपुर, २२ वैशाख । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.को २१ औँ स्थापना दिवसको उवसरमा ‘जारी सहकारी अध्यादेश, निर्देशन तथा मापदण्ड, बचत तथा ऋण सहकारीको आगामी मार्गचित्र’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेफस्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी संस्थाको नियमन तथा अनुगमनका लागि ९४४ वटा निकाय भए पनि नियमन नहुँदा सहकारीमा विकृति देखिएको भन्दै प्रभावकारी नियमन तथा अनुगमनको लागि दोस्रो तहको नियमक निकाय आवश्यक भएरै अभियानबाट माग भएको स्पष्ट पार्नुभयो । उहाँले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले निर्देशन तथा मापदण्ड जारी गरी हालको कानुनी अस्पष्टता तथा अन्यौलता हट्नेमा विश्वास व्यक्त गर्नुभयो । सहकारीमा गलत गर्ने र सही गर्नेको पहिचानबिना सहकारीको समस्या समाधान नहुने उहाँको भनाइ थियो ।
सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजूको सभापतित्वमा भएको सो कार्यक्रममा उहाँले सहकारी पीडितलाई बचत फिर्ताको सुनिश्चितता हुने गरी ऐन संशोधन हुन नसक्दा सहकारी ठगहरूलाई मलजल पुगेको बताउनुभयो । सहकारीमा बदमास गर्ने सहकारीलाई कारबाही गर्न सक्ने कानुनको माग गरेकोमा माग गर्ने सहकारीलाई नै सिध्याउने ढङ्गबाट ऐन, निर्देशन र मापदण्ड जारी गर्नु गलत भएको उहाँको भनाइ थियो । उहाँले सहकारी अभियान एकजुट भई आन्तरिक रूपमा समुदाय तथा सदस्यकेन्द्रित सहकारी मैत्री कानुन संशोधनका लागि पहल भइरहेको जानकारी गराउनुभयो ।
वाग्मती प्रदेश बचत तथा ऋण सहकारी सङ्घका अध्यक्ष उद्धव सापकोटाले सङ्घ संस्थाको स्तरीकरण गर्नुपर्ने बताउनुभयो ।
वाग्मती प्रोस्कुनले पहिलोचोटि सङ्घको स्तरीकरण कार्यक्रम सञ्चालन गरी सङ्घहरूको स्तरीकरणबाट प्रारम्भिक संस्थाहरूले गुणस्तरीय सेवा सुविधाको सुनिश्चितता हुने उहाँले बताउनुभयो ।
सङ्घका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले सङ्घ स्थापनाको चर्चा गर्दै सहकारीमा समयसँगै परिवर्तित सहकारी नियम कानुनबमोजिम कार्यशैली परिवर्तन गर्नुको विकल्प नभएको बताउनुभयो । उहाँले सहकारीमा विकृतिहरूको निराकरणका लागि सङ्घ स्थापनाकालदेखि नै सचेत गर्दै आए तापनि राज्यले ग्रहण नगर्दा हाल सहकारीमा विषम समस्या सिर्जना भएको हो भन्नुभयो ।
सङ्घका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य दिँदै सहकारी पीडितहरूको पक्षभन्दा पनि सहकारी ठगहरूको संरक्षणमा ऐनकानुनले बढी प्रशय पाएको बताउनुभयो । उहाँले सहकारीमा कानुनी जटीलताहरू थप्दै सहकारी अभियानलाई कमजोर पार्ने कामहरू भइरहेकोमा दुःख व्यक्त गर्दै समस्याको मूल जरासम्म पुगी समाधानको उपाय खोज्नुपर्ने विचार राख्नुभयो । सदस्य संस्थाहरूसँग अन्तरक्रियासहित सम्पन्न कार्यक्रममा सञ्चालन सङ्घका सचिव जगनाथ प्रजापतिले पनि बोल्नुभएको थियो ।
वाग्मती प्रोस्कुनका प्रमुख कार्यकारी अधिकृत केशवप्रसाद दाहालले जारी सहकारी विधेयक, निर्देशन तथा मापदण्ड, बचत तथा ऋण सहकारीको आगामी मार्गचित्र विषयमा कार्यपत्र प्रस्तुत गर्र्दै हालको परिस्थितिमा ऐन नियम तथा कानुनको परिपालनाको लागि तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सङ्घको सदस्य संस्थाहरूमध्ये सहकारी अभियानमा अनुकरणीय कार्य गर्ने उत्कृष्ट सहकारी व्यवसाय पुरस्कृत गर्ने उद्देश्यले सङ्घको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार कार्यविधि २०७८ बमोजिम जिल्लास्तरीय सहकारी व्यवसाय पुरस्कार युवा बचत तथा ऋण सहकारी संस्था लि., चा.न.पा. ६, चाँगुनारायण नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार देवी महिला बचत तथा ऋण सहकारी संस्था लि.,चा.न.पा. ९, भक्तपुर नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., भ.न.पा. २ ब्यासी, सूर्यविनायक नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार सुवर्णपुर बचत तथा ऋण सहकारी संस्था लि., सू.न.पा ५ र मध्यपुरथिमि नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि., मथिनपा ४ लाई पुरस्कृत गरियो । ६८ औँ राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित भक्तपुर नगरस्तरीय प्रभातफेरी कार्यक्रममा उत्कृष्ट सहभागिताको पुरस्कार जित्न सफल भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. भ.न.पा. ९, च्याम्हासिंह, बालाखु गणेश बचत तथा ऋण सहकारी संस्था लि.भ.न.पा २ र लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., भ.न.पा. २ लाई पुरस्कार तथा सम्मान वितरण गरिएको थियो ।
Leave a Reply