नाजुक युद्धविरामबिच अनिश्चित शान्ति प्रयास
- बैशाख ४, २०८३
डोनाल्ड ट्रम्पको राष्ट्रपतित्वको यो समयमा विश्वव्यापी कूटनीतिक वातावरण अभूतपूर्व तरिकाले परिवर्तन भयो । आर्थिक राष्ट्रवाद र अप्रत्याशित बयानबाजीका लागि परिचित ट्रम्पले एकतर्फी र प्रायः धम्कीपूर्ण विदेश नीति अपनाए । उनले भन्सार महसुललाई हतियार बनाए, सहयोगी तथा विरोधीहरूलाई अपमान गरे र गर्वका साथ घोषणा गरे कि अन्य विश्व नेताहरूले उनको सामु झुकेर भन्सार महसुलसम्बन्धी वार्ता गर्न आग्रह गरून् । विश्वभरका नेताहरूप्रति ट्रम्पको चरम अपमानित व्यवहार बाबजुद चीनबाहेक विश्वव्यापी प्रतिक्रिया अत्यधिक मौन रह्यो ।
ट्रम्पको विदेश नीति बहुपक्षीय कूटनीतिको हिसाबले अस्वीकार्य छ । ट्रम्पले खुलेआम सहयोगीहरूलाई धम्की दिए, प्रमुख अन्तर्राष्ट्रिय सम्झौताहरूबाट बाहिरिए र भन्सार महशुललाई हतियारको रूपमा प्रयोग गरे । सिनेमामा गुण्डाले प्रयोग गर्ने संवाद, ‘म जहाँ उभिन्छु त्यहीँबाट लाइन सुरु हुन्छ’ भनेजस्तै, अमेरिका पहिले आउँछ र अरूले उनलाई पछ्याउनु पर्छ’ भन्ने ट्रम्पको सोच छ । यदि अरु मुलुकले यसको प्रतिरोध गरे भने, दण्डित हुन्छ । अन्य नेताहरू कसरी उनको अगाडि झुके भन्नेबारेमा ट्रम्प घमण्ड गर्दै बखान गर्छन् ।
आधुनिक अमेरिकी इतिहासमा कुनै पनि राष्ट्रपतिले प्रभुत्व स्थापित गर्न यस्तो अकूटनीतिक भाषा र रणनीति प्रयोग गरेका छैनन् । अफ्रिकी देशहरूलाई ‘बकबास देशहरू’ भने र मेक्सिको, जर्मनी र बेलायतका नेताहरूको पनि खिल्ली उडाए । धेरै देशहरू छक्क परे । तर, धेरैजसो मौन रहे । सबै मुलुकले टकरावको जोखिम मोल्न चाहेनन् । तर, यसमा चीन अपवाद रह्यो ।
जहाँ १०० भन्दा बढी देशहरूले अमेरिकी दादागिरीको मौन सहिष्णुता रोजे, त्यहाँ चीनले दृढ भएर जवाफी प्रहार गर्यो । यो आर्थिक प्रतिशोधमात्र थिएन । यो सम्मान, सार्वभौम र दृष्टिकोणको विषय थियो । वैदेशिक धम्की दण्डविहीन नहुने चीनले स्पष्ट पारेको छ । विश्वका अरू शक्तिशाली मुलुकहरूले नसक्ने तर चीनले कसरी सक्यो ?
चीनको प्रतिक्रिया
डोनाल्ड ट्रम्पको प्रशासनले चीनमाथि व्यापार युद्ध थोपर्दा अमेरिकी साम्राज्यवादलाई ‘कागजी बाघ’ को संज्ञा दिने माओको शिक्षाबाट हुर्किएका चिनियाँ नेताहरूले माओकै शैलीमा ट्रम्पलाई प्रतिक्रिया दिए । ट्रम्पले कर लगाएपश्चात् चीनले पनि तुरुन्तै जवाफी कर लगायो । ट्रम्पले सार्वजनिक रूपमा चिनियाँ नेतृत्वको अपमान गरेपछि, चिनियाँ नेताहरूले त्यो अपमानलाई चुपचाप पचाएनन्, बरु उनीहरूले त्यसको कडा प्रतिक्रिया दिए । अमेरिकाले चीनलाई विश्व राजनीतिमा एक्ल्याउने प्रयास ग¥यो, तर चीनले उल्टै नयाँ–नयाँ साझेदारीहरू र गठबन्धनहरू बनाउँदै आफ्नो प्रभाव विस्तार गर्दै गयो ।
चीनको यस्तो सशक्त प्रतिरोध सम्भव हुनुका पछाडि केही ठोस आधारहरू थिए । आर्थिक दृष्टिले चीन विश्वको दोस्रो ठुलो अर्थतन्त्र हो, जसले विशाल घरेलु बजार, सशक्त राज्य नियमन र विश्वव्यापी व्यापार सञ्जालको लाभ छ । ट्रम्पको करले केही चिनियाँ उद्योगलाई हानि पु¥याए पनि चीनसँग त्यो धक्का सहेर पुनः प्रत्याक्रमण गर्ने क्षमता थियो । यस्तो आर्थिक आत्मनिर्भरता भएका कारण चीनले जुन प्रतिरोध देखायो, त्यो साना वा निर्भर राष्ट्रहरूले देखाउन सक्दैनन् ।
चिनियाँ सरकारको स्थिरता र राष्ट्रिय एकता पनि यस प्रतिरोधको आधार बन्यो । चिनियाँ कम्युनिस्ट पार्टीको शक्ति, नियन्त्रण र राष्ट्रिय स्वाभिमानसँग गाँसिएको छ । कुनै पनि विदेशी दबाबमा झुक्नुलाई आन्तरिकरूपमा कमजोरी ठानिएकैले चीनले आफ्नो सार्वभौमसत्ता र राष्ट्रिय मर्यादा बचाउन कुनै कसर बाँकी राखेन । यस्तो दृढ अडानले सरकारको छवि आम जनतामाझ अझ सशक्त बनायो ।
चीनको विदेश नीति अझै इतिहासबाट गहिरोरूपमा निर्देशित छ । ‘अपमानको शताब्दी’ का नामले चिनिने कालखण्डमा पश्चिमी शक्तिहरू तथा जापानद्वारा उपनिवेशीकरण, विभाजन र शोषणको पीडा चीनले भोगेको थियो । यही ऐतिहासिक स्मृतिले चिनियाँ जनचेतनामा एक किसिमको प्रतिरोधको भावना भरिदिएको छ । ट्रम्पको आक्रामकताले ती संवेदनशीलतालाई फेरि उजागर ग¥यो, जसले गर्दा चीनको जवाफ केबल रणनीतिक होइन, भावनात्मकरूपमा पनि सशक्त बन्यो ।
अर्को कुरा चीनले आफूलाई अमेरिकी प्रभुत्वको विकल्पको रूपमा प्रस्तुत गर्न खोजेको धारणा विश्वका धेरै देशहरूमा फैलिरहेको छ । पश्चिमी प्रभुत्वबाट थकित मुलुकहरूले चीनको दृष्टिकोणलाई गम्भीरतापूर्वक लिन थालेका छन् । यस्तो अवस्थामा चीनले आफ्नो छवि ‘शक्तिशाली तर न्यायपूर्ण’ राष्ट्रको रूपमा निर्माण ग¥यो, जुन आफ्नो भूराजनीतिक सफलताको अर्को आधार थियो ।
नेपालले चीनबाट सिक्नुपर्ने पाठ
नेपालका लागि पनि चीन–अमेरिकाबिचको व्यापार युद्धमा गहन पाठहरू निहित छन् । एउटा सानो, भूपरिवेष्ठित मुलुकका रूपमा नेपालसँग आर्थिक र सैनिक शक्ति चीनको जस्तो छैन, तर चीनले देखाएको दृढता नेपालका लागि उदाहरणीय बन्न सक्छ । पहिलो कुरा, नेपालले कुनै पनि अवस्थामा आफ्नो राष्ट्रिय मर्यादा कायम राख्नुपर्छ । ठुला राष्ट्रहरूको खेलमा नेपाल मोहरा बन्नु हुँदैन । कूटनीतिकरूपमा आत्मसम्मानयुक्त व्यवहारले मात्र अन्तर्राष्ट्रिय सम्मान प्राप्त हुन्छ । चीनले देखाएजस्तै सार्वभौम निर्णयमा दृढ रहने राष्ट्रको आवाज सुन्ने गरिन्छ ।
नेपालले आफ्नो आर्थिक र कूटनीतिक सम्बन्धहरूलाई विविधीकरण गर्नुपर्छ । चीनले कुनै एक मुलुकमा निर्भर नभएकै कारणले वैकल्पिक मार्गहरू अपनाएर चुनौतीहरूको सामना गर्न सक्यो । नेपालले पनि व्यापार, सहायता, लगानी र कूटनीतिक साझेदारीहरूलाई बहुपक्षीय बनाउनुपर्छ । यस्तो विविधीकरणले बाह्य दबाबलाई न्यूनीकरण गर्छ ।
इतिहास पनि सिकाइको स्रोत हो । चीनले आफ्नो विगतका अपमानजनक घटनाबाट आत्मबल निर्माण गरेजस्तै नेपालले पनि विगतका भारतीय नाकाबन्दी, असमान सन्धि र हस्तक्षेपहरू सम्झनुपर्छ – द्वेषको लागि नभई त्यो स्मरणले भविष्यमा चुक नगर्न सिकाउँछ ।
अन्ततः, राष्ट्रिय एकता नै सबैभन्दा ठुलो शक्ति हो । चीनले राष्ट्रिय एकताको बलमा अमेरिकाजस्तो शक्तिको सामु दृढताका साथ उभिन सक्यो । नेपालमा भने राजनीतिक अस्थिरता, दलगत स्वार्थ र आन्तरिक द्वन्द्वले राष्ट्रिय स्वर कमजोर बनाएको देखिन्छ । एकतामा बल हुन्छ; विभाजनमा कमजोरी । त्यसैले, नेपालले गम्भीरतापूर्वक आन्तरिक समन्वय, राजनीतिक स्थायित्व र साझा राष्ट्रिय दृष्टिकोणको निर्माण गर्नुपर्ने आवश्यकता छ । यही नै दीर्घकालीन स्वतन्त्रता र सम्मानको मूल आधार हुनेछ । अल्पकालीन लाभको लागि कहिल्यै पनि देशको मर्यादालाई बन्धकीमा राख्नु हुँदैन । दृढ भएर उभिने, रणनीतिकरूपमा सोच्ने र एकतामा काम गर्ने गर्दा साना देशहरूले आफ्नो सार्वभौमसत्ता जोगाउन सक्छन् ।
Leave a Reply