भर्खरै :

‘कम्युनिस्टहरू सबैभन्दा बढी प्रजातन्त्रवादी हुन्छन्’

‘कम्युनिस्टहरू सबैभन्दा बढी प्रजातन्त्रवादी हुन्छन्’

मोरङ, २७ वैशाख । “कम्युनिस्टहरू सबैभन्दा बढी प्रजातन्त्रवादी हुन्छन् । उनीहरू उत्पादनका साधन सामाजिकीकरण, व्यक्तित्व विकासमा समान अवसर, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त हुने समाजवादको निम्ति लड्छन् ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले शुक्रबार विराटनगरमा एलिट क्लवले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
नेपालको राष्ट्रिय राजनीति र सम्भावनाहरूबारे विराटनगरका बुद्धिजीवीहरूको सहभागितामा भएको सो छलफल र अन्तरक्रियामा उहाँले प्रजातन्त्र पुनःस्थापनाको ३५/३६ वर्षमा पनि जनताले प्रजातन्त्रको अनुभूति गर्न पाएका छैनन्; चुनावबाट सरकारमा जाने र समाजवाद स्थापना गर्ने अर्थात् क्रान्तिको बाटो त्याग्ने एमालेको ‘जबज’ संशोधनवादी विचार हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “वीपी कोइरालाले पनि समाजवादको कुरा गरे । काङ्ग्रेसको ‘समाजवाद’ र नेकपा एमालेको जबज सत्तामा उक्लिने भ¥याङ साबित भयो । राजनीतिक दल सिद्धान्तमा आधारित हुन्छ; कुनै एक वर्गको सेवा गर्छ । राजनीतिक पार्टी स्कूल या विश्वविद्यालयजस्तो हुन्छ ।”
शासक दलले कार्यकर्तालाई सिद्धान्त, विचारबारे सुसूचित नगर्दा र इमानदारी नसिकाउँदा राजनीति बदनाम भएको उल्लेख गर्दै अध्यक्ष रोहितले भन्नुभयो, “राजनीतिक कार्यकर्ताले इमानदारीपूर्वक काम गरेको भए राजनीतिप्रति घृणा हुँदैनथ्यो । राजनीति भनेको देश र जनताको निःस्वार्थ सेवा गर्नु हो । लोभलालच देखाई पैसाको छेलोखेलो गरी चुनाव जित्नु गलत हो । पैसा कमाउनको निम्ति राजनीतिमा आउने होइन व्यापार गर्ने हो ।”
सांसदहरूलाई नीति निर्माण र विधेयक निर्माणमा केन्द्रित गराउनुपर्नेमा विकास निर्माण या आर्थिक मामिलाको काम गर्न दिनु गलत भएको उल्लेख गर्दै उहाँले यसले विकास निर्माणमात्र असन्तुलित भएको होइन प्रजातन्त्रको अभ्याससमेत गलत भयो; जिल्ला विकास र स्थानीय तहलाई स–साना विकास निर्माणको जिम्मा दिनुपर्छ भन्नुभयो ।
“ब्रिटिस शैलीको प्रजातन्त्रमा दोस्रो ठुलो दल प्रतिपक्षमा बस्छ । नेपालमा दुई ठुला दलको सरकार छ । सरकारमा जान सिद्धान्त नै त्याग्नु गलत हो, यो प्रजातन्त्रको उपहास हो । हामी ब्रिटिस शैलीको प्रजातन्त्र मान्दैनौँ भने चीनको जस्तो प्रजातन्त्र लागु गर्ने कुरा मान्नुस् भनेर हामीले संसद्मै कुरा उठायौँ ।” उहाँले जोड्नुभयो ।
नेपालको राजनीतिमा एनजीओ र आइएनजीओको प्रभाव बढेको उल्लेख गर्दै उहाँले ल्याटिन अमेरिकामा एनजीओ र आइएनजीओले कम्युनिस्ट आन्दोलन नै खतम गरेको बताउनुभयो ।
“माओको साहित्यमा लेखिएझैँ बन्दुकको गोलीले जित्न नसकेको कम्युनिस्टलाई चास्नी पोतेको गोलीले जित्छ; यहाँको परिस्थिति फरक ढङ्गले उस्तै हो,” अध्यक्ष रोहितले भन्नुभयो ।
“नेपाली राजनीतिमा पुँजीपतिवर्गकै हालिमुहाली छ । पुँजीपतिवर्गले जनताको हितको निम्ति काम गरेको इतिहास संसारको कुनै पनि कुनामा भेटिन्न । हाम्रो शिक्षा र पाठ्यपुस्तक विदेशी प्रभावको छ । नेपालको इतिहास, भूगोल, अर्थशास्त्र विदेशीले लेखेको पठाइन्छ । अर्थशास्त्रका पिता भनिने एडम स्मिथ हाम्रो मान्छे होइन । चीनले उनको विचार पछाडि पार्याे । चीनको एडम् स्मिथ खोज्ने बेला हो यो । चिनियाँ अर्थशास्त्र पढ्ने बेला हो । इतिहासमा यति ठुलो व्यापार युद्ध भएकै छैन । तर, हाम्रो विश्वविद्यालयलाई यसको चासोसमेत छैन ।” अध्यक्ष बिजुक्छेँले विचार राख्नुभयो ।
उहाँले थप्नुभयो, “विराटनगर बुद्धिजीवीहरूको ठाउँ हो† मजदुर आन्दोलनको उद्गमस्थल हो । देशको राजनीति र अर्थतन्त्र विषयमा छलफल र आलोचना यहाँबाट हुनुपर्छ । बुद्धिजीवीले आफ्नो काम निःस्वार्थरूपले पालना गर्नुपर्छ ।”
भक्तपुरमा भइरहेको विकास निर्माणबारे उठेको जिज्ञासाबारे उहाँले भन्नुभयो, “हामीले श्रमदानमा जोड दियौँ । जनताकै पैसाले विकास ग¥यौँ । आत्मनिर्भरताको बाटो समायौँ । नगरपालिकाबाटै कलेज सञ्चालन भयो । मोरङमै ४५० भन्दा बढी इन्जिनियरले ख्वप इन्जिनियरिङ कलेजबाट पढेका छन् । मेडिकल कलेज र ख्वप विश्वविद्यालयको स्वीकृति भएको भए देशकै सेवा हुन्थ्यो ।”
कार्यक्रममा एलिट क्लवका अध्यक्ष विश्वनाथ रिसालले नेपालमा एकमात्र सिद्धान्तनिष्ठ पार्टी नेमकिपा हो भन्नुभयो ।
उहाँले विकास निर्माणको भक्तपुर मोडल सम्पूर्ण जिल्ला र स्थानीय तहले सिक्नुपर्ने बताउनुभयो ।
क्लवका महासचिव यज्ञप्रसाद शर्माले भन्नुभयो, “नेपालको राजनीतिमा प्रजातन्त्रप्रति विश्वास जगाउने काम नेमकिपाले गर्दै छ ।”
कार्यक्रममा प्रा.डा. लेनिनप्रसाद शर्मा, बाबुराम तिमिल्सिना, लिलाराम बास्तोला, सोमनाथ कार्की, शान्ति बस्नेत कार्कीलगायतले देशको समसामयिक विषयमा आ–आफ्नो विचार व्यक्त गर्नुभयो ।
यसैबिच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले झि पुचः नेपालभाषा तथा सांस्कृतिक सङ्घ विराटनगरका सदस्यहरूबिच भेटघाट गर्नुभयो ।
भेटघाटमा अध्यक्ष रोहितले भन्नुभयो, “प्राकृतिकबाहेक मानवनिर्मित हामीसँग जे छ त्यो हाम्रो कला–संस्कृति एवं मूर्त–अमूर्त सम्पदा हो । मानिसले भौतिक र चेतना दुवै काम गर्छ । अभिव्यक्ति, चेतनाले नै मान्छेलाई मानिस बनाउँछ । हाम्रो भाषा, कला, संस्कृति देशको लागि मात्र होइन सिङ्गो मानव जातिकै निधि हो, मानव सभ्यताको आधार हो । डार्बिनले हाडखोर जम्मा गरी जीव विज्ञान या मानिसको व्युत्पत्ति पत्ता लगाउनुभएझैँ हामीले हाम्रो काम, भाषा, रहनसहन, जात्रा पर्व, बाजागाजा या सम्पदाको पुनर्जागरण गर्नु आवश्यक छ ।”
नेवार जात होइन समुदाय हो भन्ने धारणा स्मरण गर्दै उहाँले नेवाः वास्तुकला (वास्तुशास्त्रको अनुभवसिद्ध विचार हो भन्नुभयो । उहाँले भन्नुभयो, “चन्द्र या पूर्णिमाको चक्रमा हुने चाडपर्व, संस्कार, संस्कृति, खानपानको वैज्ञानिकता खोजी गर्ने काम हाम्रो हो ।”
नेवाःहरूको भोज वैज्ञानिक छ भन्ने विदेशीहरूको अभिव्यक्तिको पनि उहाँले स्मरण गर्नुभयो ।
नेवाः समुदायमा मातृसत्तात्मक समाजको प्रभावबारे चर्चा गर्दै उहाँले भन्नुभयो, “कला संस्कृतिको अध्ययनमा मानिसको नामकरण पनि अध्ययन क्षेत्रमा पर्छ । नेवारहरूले मान्ने दिगुपूजाले आफू आएको दिशा या बास बसेको ठाउँको पूजालाई जनाउँछ । नेवा संस्कृतिमा पर्यावरण या वातावरण सरसफाइको महत्वबोध गराउने पर्व पनि छ ।”
नेवाः समुदायका पुराना गीत सङ्गीतको पुनःअध्ययन, नाच नृत्य एवं भागभङ्गीको अध्ययनतिर नयाँ पुस्तालाई उत्साहित गर्नुपर्नेमा जोड दिँदै उहाँले भाषा, पुरातत्व, मूर्त अमूर्त सम्पदा, संस्कृति जोगाउन सरकार र एकेडेमीहरूले ध्यान दिनुपर्छ भन्नुभयो ।
भेटघाटमा झी पुचःका उपाध्यक्ष शरद श्रेष्ठले विराटनगरमा नेवाः भाषा, कला, संस्कृति जगेर्ना र पुनर्उत्थानका लागि झि पुचःले नेपाल संवत् ११०१ देखि काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा झी पुचःका पूर्वअध्यक्ष र संरक्षकहरूले पनि बोल्नुभयो ।

पुँजीवादी व्यवस्थामा कामदार जनताको हित नहुने
मोरङ, २७ वैशाख । नेपाल मजदुर किसान पार्टी मोरङको आयोजनामा शनिबार विराटनगरमा विविध पुस्तकबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँले पुँजीवादी व्यवस्थामा नाफाको लागि काम गर्ने भएकोले कामदार जनताको हित नहुने बताउनुभयो । उहाँले पुँजीवादी व्यवस्थामा कामदार वर्गलाई शोषण गरेको हुन्छ भन्नुभयो । उहाँले अमेरिकी स्वतन्त्रता आन्दोलन नै बेलायतबाट उपनिवेश मुक्त भएको संसारको पहिलो स्वतन्त्रता आन्दोलन भएको उल्लेख गर्दै चिनियाँहरूले यसबाट सिकेर चीनमा क्रान्तिको तयारी गरेको बताउनुभयो ।
उहाँले सम्बन्धित विषयको ज्ञान नभएकालाई मन्त्री बनाउन नहुने विचार व्यक्त गर्दै मन्त्रीहरू भनेको राष्ट्रियस्तरको काम गर्ने व्यक्ति हुनुपर्छ भन्नुभयो । उहाँले नेता तथा सांसदले आफ्नो क्षेत्र विकासको नाउँमा ल्याएको बजेटको विषयमा जनताले प्रश्न गरेको पाइँदैन; तिनीहरूलाई जवाफदेही बनाउन जनता आफै सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सृजना सैंजूले आत्मनिर्भताको प्रश्न देशको सार्वभौमिकतासँग जोडिएको बताउँदै विदेशीको मुख ताकेर देश नबन्ने बताउनुभयो । उहाँले परिश्रम गर्ने युवा नै देशमा छैन भने देशको हित कसरी हुन्छ भन्ने प्रश्न गर्दै म्यानपावर कम्पनीहरू अधिकांश सरकारमा गएका पार्टीका नेताहरूको रहेको बताउनुभयो ।
नेमकिपा कोसी प्रदेशका संयोजक उकेश कवांले नेमकिपाले भक्तपुर नगरपालिकामा पार्टीको निर्देशनअनुसार नै जनताको सेवामा लागिपरेको बताउनुभयो ।
कार्यक्रममा उपस्थित सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा देशका विविध विषयमा सँगसँगै जानुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो । नेमकिपा मोरङ जिल्लाका अध्यक्ष शालिग्राम राउतले स्वागत गर्नुभएको थियो भने खेम नेपाली, दिनेश श्रेष्ठ, श्यामसुन्दर कार्की र श्याम नेपालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *