भर्खरै :

कानुन व्यवसायीहरूले देश र जनताको पक्षमा कानुन निर्माण गर्न सहयोग गर्नुपर्ने

कानुन व्यवसायीहरूले देश र जनताको पक्षमा कानुन निर्माण गर्न सहयोग गर्नुपर्ने

भक्तपुर, २७ वैशाख । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कानुन व्यवसायीहरूले नयाँ नयाँ कानुनको अध्ययन गर्ने, देश र जनताको हितको पक्षमा कानुन निर्माणको लागि आवश्यक सहयोग गर्ने तथा संसद्मा प्रस्तुत विधेयकबारे नियमित अध्ययन गरी जनतालाई सचेत पार्ने काममा निरन्तर लागिरहनुपर्ने बताउनुभयो ।
कानुन अध्ययन समाज नेपालको प्रकाशन ‘न्यायदृष्टि’ सार्वजनिकीकरण गर्दै शनिबार प्रमुख प्रजापतिले न्यायदृष्टि प्रकाशनको निरन्तरताको कामना गर्नुभयो ।
सरकारले आफ्नो जिम्मेवारीअनुसार काम नगरेको कारण देशले अहिलेको दुर्दशा भोग्नुपरेको बताउँदै उहाँले भन्नुभयो, “दलहरूले सिद्धान्त त्याग गरेपछि जस्तोसुकै ठुलो पार्टी पनि पतन हुन्छ । समाजवादी विचार त्याग गरेकै कारण सोभियत सङ्घ पतन भएको उदाहरण हाम्रोसामु ताजै छ । कानुन व्यवसायीहरू क्रान्तिकारी विचारमा आबद्ध भएर निरन्तर काम गर्नुपर्छ । पैसाको लागि आफ्नो विचार त्याग्नु हुँदैन ।”
निष्कृय हुनेहरूको अस्तित्व बिलाएर जानेतर्फ ध्यान दिनुपर्ने बताउँदै उहाँले कानुन अध्ययन समाजका सदस्यहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन अध्ययन गरी जनताको सेवा गर्नुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले न्यायदृष्टिमा समाजलाई योगदान गर्ने लेखहरू प्रकाशन गर्न आग्रह गर्दै प्रकाशनको अन्तरक्रिया गर्न जोड दिनुभयो ।
उहाँले कानुन व्यवसायीहरूले जनताको निम्ति लेख्न र बोल्न छोड्न नहुने बताउँदै भन्नुभयो – “वकिलहरूले जनताको समस्याबारे नबोलेमा त्यो धोका र विश्वासघात गरेको ठहरिने छ । कानुन व्यवसाय नभई सेवा क्षेत्र हो ।”
कार्यक्रममा ख्वप कलेज अफ लका प्राचार्य अनिता जधारी र अधिवक्ता शिवराम बोहजुले न्यायदृष्टि प्रकाशनको औचित्यबारे प्रकाश पार्नुभएको थियो । कानुन अध्ययन समाज नेपालका अध्यक्ष रामप्रसाद प्रजापतिको सभापतित्वमा कार्यक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *