ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
भक्तपुर, २७ वैशाख । भक्तपुर नगरपालिका ६ नं. वडा कार्यालयको आयोजना र ख्वप अस्पतालको प्राविधिक सहयोगमा भनपा वडा नं. ६ स्थित चोछेँ टोलमा नाक, कान, घाँटी र नसर्ने रोगसम्बन्धी स्वास्थ्य शिविर कार्यक्रम भयो ।
उक्त स्वास्थ्य शिविर कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ६ का वडाध्यक्ष हरिराम सुवालले भक्तपुर नगरपालिकाले सफाइ अभियानलाई विशेष महत्वका साथ जोड दिइरहेको उल्लेख गर्दै सांस्कृतिक नगर भक्तपुरलाई स्वच्छ, सफा, पर्यटकीय क्षेत्र बनाउन अहम् भूमिका निभाइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले कृषकहरूलाई मध्यनजर गरी कम्पोस्ट मल सहुलियत दरमा बिक्री वितरण गर्नुका साथै कृषि चुन पनि सहुलियत दरमा उपलब्ध भइरहेको जानकारी दिँदै आर्थिक अवस्था कमजोर भएकालाई उच्च शिक्षाबाट वञ्चित हुन नपरोस् भन्ने हेतुले ५ लाखसम्मको शैक्षिक ऋणको व्यवस्था तथा युवालक्षित विभिन्न सीपमूलक तालिम सञ्चालन भइरहेको उल्लेख गर्नुभयो ।
नगरका सम्पदा संरक्षण तथा पुनःनिर्माण र पूर्वाधार विकास निर्माणमा जनश्रमदानका साथ पारदर्शी रूपमा स्थानीय उपभोक्ता समितिमार्फत विकास निर्माण कार्यहरू अघि बढिरहेको बताउनुभयो ।
उहाँले युवाहरू दिनप्रतिदिन विदेश पलायन हुने क्रम बढिरहेकोमा चिन्ता व्यक्त गर्दै सत्तासीन दलहरूको गैरजिम्मेवारीका कारण सर्वसाधारण जनता विदेश जान बाध्य भएको उल्लेख गर्नुभयो ।
युवाहरू जुवातासजस्ता सामाजिक विकृति तथा विसङ्गतिबाट टाढा रहनुपर्ने बताउँदै उहाँले सुसंस्कृत समाज निर्माणमा युवाहरू क्रियाशील हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यपालिका सदस्य रोशनमैयाँ सुवालले भनपाले नगरवासीहरूको सुस्वास्थ्यलाई प्राथमिकता दिंँदै वडावडामा स्वास्थ्य शिविर कार्यक्रम भइरहेको उल्लेख गर्नुभयो ।
उहाँले सार्वजनिक जग्गा नगरवासीहरूको सम्पत्ति रहेको हुँदा सार्वजनिक सम्पत्ति संरक्षण गरिरहेको चर्चा गर्नुभयो ।
वडा सदस्य गोविन्द दुवालले रोग नै शत्रु रहेको र समयमै रोग पत्ता लगाउन नियमित स्वास्थ्य उपचार गरिरहनुपर्ने आवश्यकता औँल्याउँदै सत्तासीन दलहरूले देशका ठुलठुला उद्योगहरू कौडीको मूल्यमा निजीकरण गर्नु देश र जनताको हितमा नहुने उल्लेख गर्नुभयो ।
शिक्षक जगन्नाथ सुजखुले काठमाडाँै उपत्यका वायुप्रदूषित सहरको सूचीमा परेको उल्लेख गर्दै यसले विभिन्न प्राणघातक क्यान्सर रोगहरूको बिगबिगी बढिरहेको बताउनुभयो ।
स्वास्थ्य शिविर कार्यक्रममा वडा सदस्य सिद्धिराम अवाल, महिला स्वयम्सेविकाहरूद्वय सङ्गिता अवाल र निशा सुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply